नेपालको सबै भन्दा पुरानो अस्पताल गत आइतबारदेखि 1 सय 18 औं वर्षमा प्रवेश गरेको छ । यो अस्पतालको स्थापनासँगै नेपाल आधुनिक चिकित्सा पद्घतिमा प्रवेश गरेको हो ।
जनताको अस्पतालका रूपमा ख्याति कमाएको वीर अस्पताललाई गुणस्तरको निःशुल्क सेवा दिन भने आर्थिक समस्याले पिरोलेको जनाइन्छ । अस्पतालले हाल करिब 9 करोड रुपैयाँ आम्दानी र 18 करोड सरकारबाट अनुदान पाउने गरेको छ । बिरामीको शुल्क नबढाई उच्च गुणस्तरयुक्त अत्याधुनिक सेवा दिन अस्पतालले चिकित्सा विज्ञानमा स्नातक (एमबीबीएस) को पढाइ सुरु गरेर अर्थ संकलन गर्ने रणनीति लिएको छ ।
प्राप्त जानकारी अनुसार अस्पतालमा स्नातकोत्तर तहको पढाइ हुँदै आएको छ । त्यहाँ अधिकांश सरकारी अस्पतालमा कार्यरत 1 सय 72 चिकित्सक अध्ययनरत छन्। एमबीबीएसको पढाइबाट बर्सेनि करिब 25 करोड आम्दानी हुन सक्छ । 9 शय्याबाट सुरु भएको वीर अस्पतालमा हाल 4 सय 58 शय्या छन् । केही महिनामै भारत सरकारको सहयोगमा थप दुई सय शय्याको ट्रमा वार्ड थपिने कार्यक्रम रहेको छ भने यसै वर्ष आईसीयूमा 15 शय्या थपिने कुरा पनि जानकारीमा आएको छ ।
|