मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास
2013-11-02 09:28:20CRI
Share with:

मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास

          चिनियाँ लेखक मो यानको उपन्यास'जीवन र मृत्युको दोसाँधमा'(Life and Death wearing me out)ले साहित्यमा नोबल पुरस्कार प्राप्त गरेपछि थप चर्चित बनेको छ। यद्यपि मो यानका केही उपन्यस यसभन्दा पहिले नै बहुचर्चित थिए। उनले लेखेका भएको राता जुनेलोघारी,लसुनको सवाइ,तेर्‍ह पाइला,शाकाहारी परिवार,ठूला स्तन र चौडा नितम्ब,रक्सीको गणतन्त्र,रातो जङ्गल,रक्तचन्दनको मृत्यु जस्ता उनका उपन्यास तथा गद्य साहित्यले विश्व साहित्यमा राम्रो ख्याति, चर्चा, पुरस्कार र विवाद कमाइसकेका छन्। मो यान साहित्यको उच्च सम्मान नोबल पुरस्कार प्राप्त गर्ने पहिलो चिनियाँ साहित्यकार हुन्।

           मो यानको पछिल्लो उपन्यास 'जीवन र मृत्युको दोसाँधमा' चीनको सन् 1950 देखि सन् 2000 सम्मको जिवन्त इतिहास हो। सन् 1949 अक्टोबर 1 मा नयाँ चीन स्थापना भएको हो। मो यानले सो उपन्यासमा नयाँ चीन स्थापना भएपछिको चिनियाँ समाज,संस्कृति,विकास र आरोहअवरोहको शूक्ष्म विश्लेषण गरेका छन्। उनले आफ्नो उपन्यासमा विशेष गरी लुकेका कुरालाई दर्पण छायाजस्तै छर्लङ्ग बनाइदिएका छन्। पाँस सय चालीस पृष्ठकी यो उपन्यास उनले 42 दिनमा लेखेका हुन्।

मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास

           मो यानको उपन्यास चीनको सान्तोङ प्रान्तमा पर्ने उत्तर काउमी नगरबाट शुरु भएको छ। यो सहर मो यानको जन्मस्थल पनि हो। उपन्यासले काउमी गाउँ कसरी सहरी क्षेत्रमा रुपान्तर भयो भन्ने कुरालाई केस्रा केस्रा केलाएर प्रस्तुत गरेका छन्। मो यानले आफ्नो उपन्यासलाई मूलत:पाँचभागमा वर्गीकरण गरेका छन्। काउमीमा जन्मिएका एकजना जमिन्दारले मृत्युपछि गधाको रुपमा पुनर्जन्म प्राप्त गरेको र गधाले भोगेको जीवनलाई उपन्यासको पहिलो भाग मानिएको छ। गधा आफैँले वाचन गरेको घटना अनुसार कम्युन र सहकारी निर्माण गरेर विकास निर्माण तीब्र गतिमा बढाइएको कुरा निकै रोचक ढंगमा प्रस्तुत गरिएको छ।

          उपन्यासमा काउमीका जमिनदार सिमन नाओ सुरुदेखि अन्तसम्म देखा पर्छन्। सिमन नाओकी श्रीमतीको नाम सिमन पाई हो तर श्रीमतीबाट सिमन नाओका सन्तान हुँदैनन्। उनका यिङ छुन र ऊ छयौस्याङ नामका दुईजना रखेल हुन्छन्। उनले एउटा टुहुरो बालकलाई बाटोमा भेटेर ल्याएका हुन्छन्। उसको नाम लान लियान हुन्छ। लान लियानलाई सिमन नाओले धर्मपुत्रको रुपमा पालेका हुन्छन्। नयाँ चीन स्थापना भएपछि अध्यक्ष माओत्सेतुङले थालनी गरेको भूमि पुनर्संरचनाको शुरुमै अर्थात् सन् 1950 मा सिमन नाओको मृत्यु हुन्छ। आफू अन्यायमा परेको बताएपछि भगवानले सिमन नाओलाई गधाको रुपमा पुनर्जन्म हुने अवसर दिन्छन्। सिमन नाओ आफ्नै धर्मपुत्र लान लियानको घरमा गधाको रुपमा जन्मन्छन् र उपन्यासले गति लिन्छ। खुट्टा भाँचिएर घाइते भएको गधालाई स्थानीय व्यक्तिले काटेर खाएपछि सिमन नाओको पुनर्जन्म गोरुका रुपमा हुन्छ। गोरुको मृत्युपछि सुँगुर अनि कुकुर र बाँदर भएर उनी जन्मन्छन्। सिमन नाओले सन् 2000 को जनवरी 1 तारिखमा ठूलो टाउको भएको केटाको रुपमा छैट्यौँ पटक पुनर्जन्म लिन्छन् र उसलाई शताब्दी पुरुष नाम राखिन्छ। मो यानले उपन्यासको अन्तलाई थालनी भनेर उल्लेख गरेका छन्।

          उपन्यासमा पात्रहरुले अनौठो ढङ्गबाट कथा वाचन गरेका छन्। सिमन नाओले पुनर्जन्म लिएको गधा,सुँगुर र कुकुरले आफैँ कथा सुनाउँछन्। उनीहरुले आफूले भोगिरहेको कुरा वाचन गरेर पाठकलाई तत्कालीन चिनियाँ समाजको समाजशास्त्रीय संरचनाको ऐना देखाएका छन्। त्यसैगरी उपन्यासमा घटनाक्रमलाई वर्णन गर्न ‌लान चाइफाङ उपस्थित भएका छन्। उपन्यासका विभिन्न भागमा एउटा लेखक र साहित्यकारको प्रसङ्ग उल्लेख गरिएको छ,त्यो साहित्यकार तथा लेखकको नाम पनि मो यान नै हुन्छ। उपन्यासकारले आफूलाई पनि एउटा पात्रका रुपमा उपन्यासमा उभ्याएका छन्। फरक के छ भने मो यानको खास उमेरभन्दा र उन्यासमा देखिएको पात्र मो यानको उमेर पाँच वर्ष जेठो छ।

           उपन्यासमा सिमन नाओले बारम्बार पुनर्जन्म लिए पनि मुख्य पात्र उनी होइनन्। उपन्यासका मुख्य पात्र उनकै धर्मपुत्र लान लियान हुन् जो नयाँ चीन स्थापना भएको आधा शताब्दीसम्म कम्युन र सहकारीमा सहभागी नभइकन स्वतन्त्र किसानका रुपमा रहन्छन्। लान लियानलाई समाजवादी चीनको यात्रामा एउटा अवरोधका रुपमा स्थानीयले लिएका हुन्छन्। उनलाई कम्युन र सहकारीमा आवद्ध हुन बारम्बार दवाव दिइन्छ। यो दवाव उनकै छोराले दिँदा पनि उनी दृढताका साथ स्वतन्त्र किसानको पक्षमा उभिन्छन्। उपन्यासको सुरु र मध्यभागमा उनलाई झण्डै झण्डै खलनायकको रुपमा उभ्याइएको छ। तर पाठकबाट उनले कहिल्यै पनि घृणा पाउँदैनन् र जब उनको मृत्यु हुन्छ तब उनले सबैभन्दा बढी सहानुभूति प्राप्त गर्छन्। उनले आफ्नो मृत्यु हुनुपूर्व नै आफ्नो लासलाई कुनै सार्वजनिक समाधिस्थलमा नभई आफूले कमाउँदै आएको डेढ एक्कड जमिनमा चिहान खनेर गाड्नुपर्ने इच्छा राखेका हुन्छन्। लान लियानपछिका अर्का प्रमुख पात्र उनकै कान्छा छोरा लान चिफोङ हुन्। लान लियानको निलो अनुहार हुन्छ र उनका छोरामा लान चिफोङको अनुहारमा पनि सोही वंशाणुगत गुण सरेको हुन्छ। उपन्यासमा घटनालाई सबिस्तार वर्णन गर्ने एक मात्र मानव पात्र लान चिफोङ हुन्।

मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास

           उपन्यास लेखनको परम्परामा मो यानले 'जीवन र मृत्युको दोदाँसमा' कृतिमा केही चुनौति दिएका छन्। सबैभन्दा ठूलो चुनौति चिनियाँ समाजलाई जस्ताको तस्तै उतार्नु रहेको छ। जनमुक्ति सेनामा जागिर खाएर सेवा निर्वृत्त भएका मो यानले चिनियाँ समाजमा भएका राम्रा मात्र होइन नराम्रा कुरालाई पनि संसारभर उजागर गरेका छन्। फलत:उनले थुप्रै चिनियाँ लेखक,बुद्धिजीवी र पाठकबाट आलोचित हुनु परेको छ। त्यसैगरी समाजमा भएको राजनीतिक,आर्थिक,सांस्कृतिक र पारिवारिक विकासलाई पचासवर्षको लामो अवधिमा सविस्तार वर्णन गरेर विशुद्ध साहित्यिक कृति सिर्जना गर्नु मो यानले दिएको अर्को चुनौति हो। मो यानको उपन्यास सितिमिति सबै पाठकले बुझ्न मस्किल छ किनभने उनको उपन्यास बुझ्नका लागि चिनियाँ समाज,चिनियाँ राजनीतिक परिपाटी र चिनियाँ इतिहासको धेरथोर अध्ययन गरेकै हुनुपर्छ। तसर्थ उपन्यासले यसरी पाठक छनोट गर्नु पनि चुनौति हो। उपन्यासमा गधा,सुँगुर र कुकुरले आफ्ना अनुभूतिहरु व्यक्त गर्दा स्वैरकाल्पनिक घटना सिर्जना भएको छ। कुकुरले सभा गरेको,अध्यक्ष छानेको,सुँगुरले पानीमा डुबेका ससाना बालकहरुलाई उतारेको,गोरुले कहिले दुईवटा खुट्टा मात्र टेकेर हिँडेको त कहिले टाउको टेकेर उभिण्डो परेको कुराले कहिलकाहीँ उपन्यासलाई अस्वभाविक बनाइदिएको छ। अनि पछि यी उपन्यासका आधारमा कुनै चलचित्र तथा टेलिसिरियल बनाउनुपर्‍यो भने पनि यस्ता कुराले चुनौति थपेको छ। पाठकले उपन्यास पढ्नका लागि चिनियाँ भाषाको उच्चारण पद्धति र पारिवारिक परिपाटीका बारेमा पनि जानकारी राख्न आवश्यक छ। एउटा मात्र वर्णको फरकले उपन्यासको पात्र नै फरक पर्छ। अनि सरसर्ती पढ्दै जाँदा कुन पात्र हो भन्ने कुराले पाठकमा दुविधा पैदा गराउन सक्छ।

मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास

          मो यानले चीन जस्तो विशाल मुलुकले पचास वर्षको अवधिमा भोगेका सालाखाला कुरालाई कलात्मक रुपमा पस्किएका छन्। पाठकले उपन्यास पढिसकेपछि मात्र उपन्याससँगसँगै इतिहास पनि पढेँछु भन्ने कुरा अनुभव हुन्छ। उपन्यासमा घटनाको वर्णन गर्नका लागि उनले गधा,सुँगुर र कुकुरलाई प्रयोग गरेका छन्। कतिपय कुरामा मान्छेभन्दा जनावरमा राम्रो संस्कार र स्मरण शक्ति हुन्छ भन्ने कुरालाई पनि उनले निकै रमाइलो तरिकाले प्रस्तुत गरेका छन्। उपन्यासमा सबै पात्रमाथि सर्जकले समान न्याय गरेका छन्। सबैका दोष र गुणलाई जस्ताको तस्तै राखेर पात्र विशेषप्रति दयाभाव प्रकट गरेका छैनन्। उपन्यास पढिसकेपछि पाठकलाई चिनियाँ समाज,संस्कृति,चिनियाँ अर्थव्यवस्था,राजनीतिक परिपाटी र चिनियाँ भाषाको अध्ययन गर्न मन लाग्छ। अनि यदि त्यो पाठकले मो यानको जीवन र मृत्युको दोसाँधमा उपन्यास पढिसकेपछि चीनका बारेमा थप अध्ययन गर्‍यो भने पक्कै पनि उसले फेरि त्यो उपन्यास दोहोर्‍याएर पढ्छ।

           नयाँ चीन स्थापनापछि सन् 1950 देखि 1965 सम्म चिनियाँले गर्नु परेको परिश्रम,पूँजीवादी परिपाटीबाट समाजवादी परिपाटीमा रुपान्तरण हुँदाको समस्या,जमिनको अधिग्रहण,कम्युन र सहकारीको स्थापना,जनमिलिसियाको सक्रियतालाई एउटा गधाले वर्णन गरेको छ। प्रतीकात्मक रुपमा एउटा गधाले जस्तै निरन्तर परिश्रम गरेर

मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास

चिनियाँले चीन बनाएको कुरा बुझ्न त्यति गार्‍हो पर्दैन। सन् 1966 देखि 1976 सम्म भएको चिनियाँ सांस्कृतिक क्रान्तिमा भएका उग्र घटनासँगै चिनियाँहरुमा देखा परेको नयाँ शैली र व्यवहारलाई एउटै परिवारमा भएको घटनामार्फत मो यानले पाठकलाई प्रष्ट्याएका छन्। हरेक घटनाका लागि लेखकले फरक फरक पात्र उभ्याएका छन् र घटनालाई पुष्टि गरेका छन्। सांस्कृतिक क्रान्तिको समयमा चीनमा ख्याति कमाएका खालीखुट्टे चिकित्सकदेखि जनमिलिसिया हुँदै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन अनि चिनियाँ राष्ट्रिय जनकंग्रेससम्मको वर्णन पात्र मार्फत गरिएको छ। सन् 1980 पछि चीनमा देखिएको सुधार र खुलापनको विकाससँग चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय कमाएको र अन्तर्राष्ट्रिय संस्कृतिले चीनमा प्रवेश पाएको कुरा उपन्यास क्रमिक रुपमा आएका छन्। एउटा सानो खोल्सो अन्य खोल्साहरुमा मिसिँदै मिसिँदै ठूलो नदी बन्ने र त्यो ठूलो नदी अन्तत समुन्द्रमा समाहित भएजस्तै उपन्यास एउटा सानो गाउँको एउटा किसान परिवारबाट थालनी भएर विशाल चीनभरि फैलिएको छ। उपन्यासका हरेक अंश, हरेक पृष्ठ र हरेक वाक्य उत्तिकै महत्वपूर्ण छन्। उपन्यास पढिसकेपछि पाठकले चीनको पचास वर्षको इतिहास पढ्नै पर्दैन।

           बीसौँ शताब्दीको अन्ततिर चीनले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सफलता प्राप्त गर्न सफल भएसँगै चिनियाँ नयाँ पुस्तामा आएको भड्कावलाई मो यानले आफ्नो उपन्यासमा सविस्तार वर्णन गर्न कन्जुस्याइ गरेका छैनन्। सन् 1985 पछि जन्मिएका व्यक्तिहरुमा देखिएको स्वच्छन्दता,आधुनिता र विश्वमा देखिएको उत्तरआधुनिक छलाङले चिनियाँ नयाँ पुस्तालाई गाँजेको कुरा प्रात्रको चरित्रचित्रण र घटनाद्वारा लेखकले पाठकलाई सूचित गराएका छन्। पछिल्लो समयमा चीनमा छाएको भ्रष्टाचार,पद र पैसाको दुरुपयोग अनि धनी र गरीबबीचको दुरी विस्तारलाई उपन्यासमा सरल र सहज तरिकाले प्रवेश गराइएको छ। अनि धनी व्यापारीका छोराछोरी र कम्युनिष्ट पार्टीको विभिन्न तहका नेताहरुका छोराछोरीमा शक्ति र पैसाको घमण्डले भविष्य वर्वाद बनाएको कुरालाई पनि उनले निर्धक्क प्रस्तुत गरेका छन्। युवा पुस्ताले पैसा र यौनलाई मात्र प्राथमिकता दिँने,मदिरापान तथा धुमपानको कुलतमा लाग्ने र परिवार तथा सांस्कृतिक विखण्डनतिर गएको कुरालाई उनले संकेत गरेका छन्। तसर्थ यो उपन्यासलाई चीनको लुकेको तस्बिर पनि भनिन्छ।

chetnath@gmail.com

साभारः कमाण्डर पोष्ट राष्ट्रिय दैनिक,नोभेम्बर 2 शनिबार 2013(कात्तिक 16 गते,2070)