चीन-तिब्बत अनुसन्धान परिषद तथा विदेशी पत्रकार बीच प्रेस भेटघाट
2014-04-10 19:09:15CRI
Share with:

        चीन-तिब्बत अनुसन्धान परिषदले आज तिब्बतीहरूको दैनिक जीवन सम्बन्धमा विदेशी पत्रकार बीच एक प्रेस भेटघाटको आयोजना गरेको छ। बताए अनुसार, सो परिषदको यो 47औं पत्रकार भेटघाट हो।

        चीन-तिब्बत अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता लियन सियाङ्ग मिङ्ग तथा सोही परिषदका उप-अनुसन्धानकर्ता छ रन याङ्गचुङ्गले चीनको तिब्बत शान्तिपूर्ण मुक्ति भएदेखि तिब्बती सर्वसाधारण तथा तिब्बतको समग्र विकास तिव्र गतिमा हुँदैआएको विषयलाई प्रस्ट्याउंदै विदेशी पत्रकारका प्रश्नहरूको पनि स्पष्ट रुपमा उत्तर दिनुभएको छ। साथै केही पश्चिमा पत्रकार तथा सम्बन्धित संस्थाहरुले एकतर्फि रुपमा चीन र चीनको तिब्बतको बारेमा अनर्गल सामग्री प्रकाशन तथा प्रसारण गर्दै आएको पनि अनुसन्धानकर्ता मिङ्गले बताउनुभयो।

          सो क्रममा हाल तिब्बतीहरूको आयु 68 वर्ष पुगेको बाल मृत्यु दर धेरै नै घटेको र आर्थिक वृद्धि दर चीनका सबै प्रदेश तथा प्रान्तहरूमध्ये तिब्बतको सबैभन्दा बढी 12 दशमलब 5 प्रतिशत भएको तथा कुल ग्राहस्थ उत्पादन असी करोड पुगेको पनि बताउनुभयो।

          त्यसैगरी एक विदेशी पत्रकारको हाल ल्हासामा चीनको अरु शहरजस्तै अग्ला भवन र व्यापारिक भवनहरूको निर्माण भएको र चीन सरकारले आफ्नो प्रभाव विस्तार गरेको हो कि भन्ने प्रश्नमा यो सबै आधुनिकीकरणको नतिजा भएको तापनि ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदा, संस्कृति र सांस्कृतिक धरोहरहरूको संरक्षण बेतोड रुपमा गर्दै आएको बताउनुभयो। त्यस्तै केही तिब्बतीहरूले आत्मदाह गरेको प्रसङ्गमा पनि अनुसन्धानकर्ताले यसमा वैदेशिक तत्वको हात भएको र यस्ता गतिविधी मध्यपूर्वबाट अनुकरण गरेको साथै एकाध रुपमा भएको यस्तो घटनाले समग्र तिब्बती उत्पीडनमा नरहेको पनि बताउनुभयो। साथै तिब्बती तथा हान लगायत अरु जाती बीच अन्तर्जातीय विवाह हुँदैआएको र वातावरण सौहार्दपूर्ण रहेको पनि बताउनुभयो।

          सो परिषदअन्तर्गत पाँच वटा अनुसन्धान संस्था, प्रकाशन गृह, पुस्तकालय र सङ्ग्रहालय रहेको पनि प्रेस भेटघाटमा जानकारी गराइएको थियो।