चीनमा भ्रष्टाचारविरोधी अभियान
2015-02-12 16:34:59CRI
Share with:

            चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष सन् 2015 का अवसरमा चिनियाँ सरकारी सञ्चार माध्यममार्फत शुभकामना व्यक्त गर्दा भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो अभियानलाई अझै तीव्र बनाउने कुरालाई दोहोर्‍याए। 'प्रहार भएको तीर फिर्ता हुनसक्दैन, सुधार गर्दा बहादुरले मात्र जित्न सक्छ' भन्दै उनले आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन्। चिनियाँ नेता तथा प्रशासकमा कार्यशैली र अनुशासनमा सुधार ल्याउनुपर्ने बताउँदै उनले भने, 'भ्रष्टाचारमाथिको कारबाहीमा हामी उदार हुने छैनौँ, भ्रष्टाचार विरोधी अभियानलाई अझै कडा बनाइनेछ।'

           सीको नेतृत्वमा चीनमा भ्रष्टाचारमाथिको अभियानलाई धेरै चिनियाँले प्रशंसा गरेका छन्। चिनियाँ सपनाको नारासँगै भ्रष्टाचारमाथिको कारबाहीलाई चिनियाँ जनसमर्थन प्राप्त भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ प्रणालीका आलोचकले चाहिँ व्याप्त भ्रष्टाचार विरुद्धको अभियानलाई राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीभित्र रहेका आफ्ना विरोधीहरूलाई निर्मूल पार्ने अभियान भन्दै आलोचना गरेका छन्। पूर्व रक्षाप्रमुख चौ योङखाङमाथिको कारबाही भ्रष्टाचारका नाममा विरोधीमाथिको आक्रमण भनी पश्चिमा सञ्चारमाध्यमले प्रचार गरे पनि चिनियाँ बुद्धिजीवी र विश्लेषकहरू त्यसलाई स्वीकार गर्दैनन्। चीनमा भ्रष्टाचारमाथिको कारबाही गर्ने मूलत: दुईवटा निकाय छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले पार्टीका नेता तथा सदस्यमाथि निगरानी राख्छ र गम्भीर अनुशासन उल्लंघन गरेको पाइएमा पार्टीबाट निलम्बन गरेर कारबाही अगाडि बढाउँछ। त्यसैगरी आमरूपमा भ्रष्टाचारमाथि कारबाही गर्ने अर्को सरकारी उच्च संयन्त्रका रूपमा रहेको सर्वोच्च जनअनुसन्धान तथा कारबाही ब्युरोले आर्थिक अनियमितता तथा भ्रष्टाचारमाथि कारबाही गर्छ।

           चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोग र सर्वोच्च जनअनुसन्धान तथा कारबाही ब्युरोले सन् 2014 सम्ममा लगभग 6 लाख व्यक्तिमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ। यी दुई निकायको अनुसन्धानमा अहिलेसम्म चिनियाँ कम्युनिष्ट पार्टीका तीनजना पोलिटब्युरो सदस्यमाथि भ्रष्टाचारको मुद्दा चलाइएको छ। अदालतबाट दोषी ठहरिएका ती पोलिटब्युरो सदस्यहरूमा सन् 1997 मा छन सिथोङ, 2006 मा छन लियाङयु र 2012 मा बो सिलाई रहेका छन्। भ्रष्टाचारको मुद्दा लाग्नेमा 1 लाख 82 हजार चिनियाँ कम्युनिष्ट पार्टीका अफिसरहरू छन् भने 32 जना उपमन्त्री वा सोभन्दा माथिल्लो तहका छन्। वर्तमान चिनियाँ कम्युनिष्ट पार्टीको पाँचजना केन्द्रीय सदस्यहरूमाथि पनि भ्रष्टाचारको मुद्दा लागेको छ। सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र रेलवे सेवा हो। अनि अहिलेसम्म भएका ठूला कारबाही पनि रेलवे सेवा नै परेको छ। पेट्रोलियम आपूर्ति सेवा अर्को प्रमुख भ्रष्टाचारको क्षेत्र हो भने तेस्रोमा आवास परियोजना (रियल स्टेट) रहेको बताइएको छ।

चीनमा भ्रष्टाचारविरोधी अभियान

            चीनले एक्काइसौँ शताब्दीको सुरुदेखि रेलवे सञ्जाल र तीव्र गतिका रेलवे सञ्जाल विस्तार गर्दै कैयौँ निर्माणकार्य सम्पन्न गरेको छ। ती परियोजनामा भएका भ्रष्टाचारमा मन्त्रीदेखि विभागीय प्रमुखहरूलाई अहिले आएर धमाधम मृत्युदण्डको सजाय दिन थालिएको छ। रेलवे मन्त्रालयको पूर्वव्युरो निर्देशक चाङ शुकुङलाई दुई वर्षपछि मृत्युदण्ड दिनेगरी बेइजिङ दुई नम्बर मध्य जनअदालतले सन् 2014 अक्टोबर 17 तारिख फैसला गरेको छ। 4 करोड 75 लाख 50 हजार युआन घूस खाएको अभियोगमा सन् 2013 को सेप्टेम्बर 10 देखि चाङ विरुद्ध अदालतमा सुनवाइ भइरहेको थियो। च्यांसु प्रान्तका 57 वर्षीय चाङ भ्रष्टाचार अभियोगमा सजाय पाएका चीनको रेलवे अधिकारीमा दोस्रो उच्च व्यक्ति हुन्। रेलवे सेवाको इन्जिनियरिङ विभागका पूर्वउपप्रमुख समेत रहेका उनी पूर्व रेलमन्त्री लिउ चिचुनका दाहिना हात मानिन्थे। पूर्व रेलमन्त्री लिउ चिचुनलाई 6 करोड 46 लाख युआन घूस खाएको र अधिकार दुरुपयोग गरेको अभियोगमा सन् 2013 जुलाईमा दुई वर्षपछि मृत्युदण्ड दिनेगरी फैसला भइसकेको छ।

            बेइजिङ दुई नम्बर मध्य जनअदालतले चीनकै एक प्रख्यात रेलवे सेवा निर्माण कम्पनीकी प्रमुख तिङ युसिनलाई 25 लाख युआन जरिमाना र 20 वर्ष जेल जयाज सुनाएको छ। पोयु इन्भेस्टमेन्ट म्यानेजमेन्ट कर्पोरेसनकी अध्यक्ष तिङलाई सरकारी कर्मचारीलाई घूस खुवाएकोमा 15 वर्ष र अवैध रूपमा आफ्नो व्यापार व्यवसाय बढाएकोमा अन्य 15 वर्ष सजाय सुनाएकोमा अदातलले एकमुष्ट रूपमा उनलाई 20 वर्ष जेल जीवनसँगै 25 लाख युआन जरिमाना र उनको व्यक्तिगत सम्पत्ति 2 करोड युआन जफत गर्ने निर्णय गरेको हो। 59 वर्षीय तिङ शान्सी प्रान्तबाट आएकी हुन् र उनको खास नाम तिङ शुम्यावो हो। उनलाई सन् 2011 मा पक्राउ गरिएको थियो र 2014 को सेप्टेम्बरदेखि अदालतमा सुनवाइका लागि उभ्याइएको थियो। सन् 2004 देखि 2011 सम्म तिङलाई अकुत सम्पत्ति आर्जन गर्न पूर्व रेलवे मन्त्री लिउ चिचुनले सहयोग गरेका थिए।

          तिङले वैदेशिक लगानी परियोजनाका पूर्वनिर्देशक फान चङयुलाई चार करोड युआनभन्दा बढी घूस खुवाएको पनि अभियोग लगाइएको छ। चिनियाँ राज्य परिषदको अधीनमा रहेको वैदेशिक लगानी परियोजनाले गरिबी निवारण र विकास कार्यालयलाई सहयोग प्रदान गर्छ। चन्दा र सहयोगका रूपमा तिङले वैदेशिक परियोजनाका पूर्वनिर्देशक फानलाई 38 पटकमा चार करोड युआनभन्दा बढी रकम दिएकी थिइन्। फान चङयुमाथि पनि बेइजिङ एक नम्बर मध्य जनअदालतमा भ्रष्टाचारको अभियोगमा लगाइएको मुद्दामा 2014 को जनवरीमा सुनवाइ भएको थियो र फैसला हुन बाँकी छ। सन् 2007 देखि 2010 सम्म विभिन्न 57 वटा रेलवे निर्माण परियोजनाको निर्माण कार्यको बोलपत्रको प्रतिस्पर्धामा भाग लिएर आफ्नो पक्षमा परियोजना पार्न 23 वटा कम्पनीबाट तिङ लागयतका समूहले काम गरेको र उनीहरूबाट एजेन्सी शुल्कबापत तीस लाख युआन असुलेको अदालतको फैसला छ, जसमा बीस लाख युआन तिङ एक्लैले असुलेकी थिइन्। अदालतको सुनवाइमा तिङले भनिन्, 'तत्कालीन रेलवे मन्त्री लिउ चिचुनले जे भने मैले त्यही गरेँ। मन्त्रीलाई कति पैसा दिएँ भन्ने ठूलो कुरा होइन, किनभने मलाई मन्त्रीले रेलवे निर्माण परियोजना पारिदिएर उनलाई दिएकोभन्दा सयौँ गुणा बढी पैसा कमाउन सहयोग गरेका छन्।'

            भ्रष्टाचार विरोधी अभियानमा कुन नेता कतिखेर कारबाहीमा पर्छ भन्ने थाहा नै हुँदैन। चीनको पुरानो राजधानी नानचिङका पार्टी प्रमुख सन् 2015 को प्रारम्भमै अभियानको फन्दामा परे। चिनियाँ कम्युनिष्ट पार्टीको नानचिङ प्रमुख याङ वइच गत जनवरी एक तारिख नयाँ वर्षको अवसरमा नानचिङमा आयोजित चार हजार मिटर दौड प्रतियोगिताको नेतृत्व गरिरहेका थिए। त्यसको तीन दिनपछि जनवरी 4 तारिख उनलाई पार्टीले निलम्बन गरेर छानबिन सुरु गर्‍यो। गम्भीर अनुशासन उल्लंघन गरेको अभियोगमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको छ। चीनको पुरानो राजधानी नानचिङ च्यांसु प्रान्तको सदरमुकाम हो। 53 वर्षीय याङ सन् 2011 देखि नानचिङ सहरका पार्टी प्रमुख थिए। 2014 मा नानचिङका पूर्वमेयर चीन चिआन्यमाथि 2 करोड युआनभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा अदातलमा मुद्दा चलिरहेको छ।

          भ्रष्टाचारको कारबाहीमा कमै पर्ने कूटनीतिक क्षेत्रमा पनि अभियानले पन्जा फैलाएको छ। चीनका सहायक विदेशमन्त्री चाङ खुनसङलाई भ्रष्टाचार गरेको र अनुशासन उल्लंघन गरेको अभियोगमा पदबाट हटाइएको छ। चीनमा जारी रहेको भ्रष्टाचार विरुद्धको अभियानमा कारबाही भोग्ने चाङ उपल्लो चिनियाँ कूटनीतिज्ञ हुन्। उनलाई 2014 को अन्त्यमा कारबाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ काङले बताए। चाङ खुनसङ चीनको परराष्ट्र मन्त्रालयका चारजना सहायक मन्त्रीमध्ये एकजना थिए। चीनको परराष्ट्र सेवामा तीस वर्ष बिताएका वरिष्ठ कूटनीतिज्ञ चाङले बेइजिङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गरेका छन्। उनी चिनियाँ परराष्ट्र मन्त्रालयको ल्याटिन अमेरिका तथा क्यारेबियन विभागका प्रमुख थिए।

          भ्रष्टाचारमा चिनियाँ जनमुक्ति सेना पनि अछुतो रहन सकेको छैन। सेनाका 2 सयभन्दा बढी उच्च अधिकारीहरूमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। जनमुक्ति सेनाका उच्च अधिकारीलाई विभिन्न अनुदानका नाममा वितरण गरिएको 1 करोड 20 लाख युआन क्षतिपूर्ति भराइसकिएको छ भने जनमुक्ति सेनामा हुने पूर्वाधार निर्माणको बजेटमा 19 अर्ब युआन कटौती गरिएको छ। केन्द्रीय सैन्य आयोगका पूर्वउपाध्यक्ष सु छाइहाउमाथि सेनाका गोप्य सूचना बेचेको अभियोगमा भ्रष्टाचारको मुद्दा लागेको छ। राष्ट्राध्यक्ष सीले यसलाई चीनले अहिलेसम्म भोगेको अत्यन्त गम्भीर र निर्लज्ज अपराध भनेका छन्।

            भ्रष्टाचार विरुद्धको अभियानमा गत अक्टोबरमा राष्ट्रिय ऊर्जा प्रशासनको कोइला विभागका पूर्व उपनिर्देशक वई फङयुआनको घरबाट लुकाएर राखेको बीस करोड युआन बरामद गरेको थियो। उनी 2008 देखि 2014 को मेसम्म सो विभागका उपनिर्देशक थिए। गत वर्षको मेमा उनलाई निलम्बन गरी छानबिन सुरु भएको थियो।

            सरकारलाई पारदर्शी र मितव्ययी बनाउनका लागि राष्ट्राध्यक्ष सी चिनफिङले निकै कडाइ गरेका छन्। सत्तासीन हुनासाथ उनले सबैभन्दा पहिले सरकारी भवन निर्माणमा रोक लगाए। त्यसपछि सरकारी कार्यक्रमका खर्च र चिनियाँ कम्युनिष्ट पार्टीको विभिन्न निकायले गर्ने खर्चमाथि अंकुश लगाए। सरकारी खर्चमा छापिने नयाँ वर्षका क्यालेन्डर र ग्रिटिङ पोष्टकार्डमाथि पूर्ण प्रतिबन्ध लगाइयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन आयोगले 2013 अक्टोबर 31 तारिखमा नयाँ वर्षमा उपहारका रूपमा छापिने क्यालेन्डर, ग्रिटिङ कार्ड तथा अन्य पोष्टकार्ड छाप्न प्रतिबन्ध लगाएको थियो। त्यसैगरी नयाँ वर्ष अथवा अन्य कुनै उत्सवका रूपमा होटलहरूमा पार्टी तथा अन्य कार्यक्रम गर्नसमेत प्रतिबन्ध लगाइएको छ। पहिले-पहिले चिनियाँ नयाँ वर्ष वसन्त चाडको समयमा बेइजिङका ठूला रेष्टुरेन्टहरूमा सरकारी उत्सव र भोजहरूको आयोजना हुनका लागि दुई महिना अघिदेखि बुकिङ हुन्थे। अहिले त्यस्ता उत्सव र भोज सीमित रूपमा निजी कम्पनी तथा विदेशी नियोगले मात्र गरिरहेका छन्।

           चीनमा चालु भ्रष्टाचार विरुद्धको अभियानले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाएको चाहिँ पूर्वसुरक्षा प्रमुख चौ योङखाङलाई गिरफ्तार गरेपछि हो। चौ चिनियाँ कम्युनिष्ट पार्टीको पूर्व पोलिटब्युरो स्थायी समितिबाट सन् 2012 मा निवृत्त भएका थिए। लामो समय तेल उत्खनन तथा ऊर्जा क्षेत्रमा काम गरेका चौले भ्रष्टाचार गरेको, पदीय आचरणको ख्याल नगरी पार्टीको अनुशासन भङ्ग गरेको तथा राष्ट्रलाई अहित पार्नेगरी सूचना बेचेको जस्ता गम्भीर अभियोग लगाइएको छ। चीनले सन् 1978 मा सुधार र खुलापन अँगालेपछि कारबाही भोग्ने उनी अहिलेसम्मका सबैभन्दा उच्च व्यक्ति हुन्।

           साभारः कान्तिपुर राष्ट्रिय दैनिक। 2071 माघ 29 गते (12 फेब्रुअरी 2015)बिहीबार।