इन्टरनेटमा चिनियाँ छलाङ
2015-02-25 19:07:47CRI
Share with:

इन्टरनेटमा चिनियाँ छलाङ

सन् 2001 मा चीनको सांघाईमा एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकको शिखर सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका औद्योगिक तथा वाणिज्य नेताहरु एक्काईसौँ शताब्दीको आरम्भसँगै व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि इन्टरनेट अपरिहार्य रहेको भन्दै गम्भीर वहस गरेका थिए। शांघहाई एपेक शिखर सम्मेलन चलिरहेको हलदेखि करीब दुई सय किलोमिटरको दुरीमा रहेको हाङ्ग चौ शहरमा मा युन नामका एक जना चिनियाँ युवा एक विद्युत्तीय वाणिज्य वेभसाइटको संचालन गर्न निकै व्यस्त देखिन्थे। तिनै मा युनले विकास गरेको अलीबाबा नामको वेभसाइटले अहिले न्युयोर्क स्टक एक्सचेन्जमा सफलताका साथ स्टक बिक्री गर्न थालेको छ। ती चिनियाँ युवा मा युनलाई पश्चिमा देशहरुमा ज्याक मा भनेर चिनिन्छ।

इन्टरनेटको ब्यापारमा मात्र होइन चीनको समाज सेवामा पनि ज्याक मा अगाडि छन्। उनले सन् 2014 मा चीनको सामाजिक सेवामा सबैभन्दा धेरै चन्दादान गरेका छन्। अलिबाबाका प्रमुख कार्यकारी अधिकृत ज्याक माले 16 अर्ब 90 करोड युआन दिएर सबैभन्दा धेरै चन्दादान गर्नेमा प्रथम स्थानमा छ। त्यसैगरी दोस्रोमा अलिबाबाकै प्रमुख वित्त अधिकृत जोसेफ साइले 7 अर्ब 24 करोड युआन चन्दा दिएका छन्। सन् 2014 मा चीनमा एक सयजनाबाट प्राप्त चन्दा रकम 30 अर्ब 40 करोड युआन उठेको छ। सन् 2013 मा 15 अर्ब 70 करोड उठेको थियो।

इन्टरनेटमा चिनियाँ छलाङ

यसरी चन्दादान गर्नेमा चीनका पूर्व प्रधानमन्त्री चु रोङचीले पनि नाम कमाएका छन्। उनले एक करोड 52 लाख युआन चन्दा दिएका छन्। धेरै चन्दादातामा उनी 87 औँ नम्बरमा पर्छन्। उनी 1998 देखि 2003 सम्म चीनका प्रधानमन्त्री थिए। उनले 'चु रोङचीका पत्रकार सम्मेलन' र 'चुरोङचीका अन्तर्वार्ताहरु' नामका पुस्तक प्रकाशन गरेका छन्। यी पुस्तकहरु चीनमा सर्वाधिक विक्रीमा पर्छन्।

संयोग कस्तो परेको छ भने अलिबाबाको सफलताकै वर्षमा चीनले दोस्रोपटक एपेक शिखर सम्मेलनको आयोजना भव्य रुपमा सम्पन्न गरेको छ। विगत तेह्र वर्षमा चीनको इन्टरनेट अर्थतन्त्रले विश्वलाई आश्चर्य पार्ने गरी छलाङ मारेको छ।

सन् 2014 सेप्टेम्बर 19 तारिख विहान साढे नौ बजे अलीबाबा वेभसाइटले न्युयोर्क स्टक एक्सचेन्जमा पहिलो पटक स्टक बिक्री गर्न थालेको छ। सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको अन्तिम कारोबार बन्द हुँदा अलीबाबाको कुल मूल्य करीब दुई खर्ब चालीस अर्ब अमेरिकी डलर पुगेको थियो। अलीबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ।

पछिल्लो तथ्यांकअनुसार, चिनियाँ वेभसाइटहरुको संख्या पैंतीस लाखभन्दा बढी पुगेको छ। विश्वका दशवटा ठूला इन्टरनेट कम्पनीमध्ये तीनवटा चिनियाँ छन्। चीनको ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बीस करोडभन्दा बढी छ। मोबाइल इन्टरनेटका प्रयोगकर्ताहरुको संख्या पचासी करोडभन्दा बढी छ। चीनको इन्टरनेट अर्थतन्त्रको विकास स्तर विश्वको अत्याधुनिक स्तरमा पुगेको छ। गत वर्ष चीनको अनलाइन व्यापारको कुल परिमाण एक सय खर्ब चिनियाँ युआनभन्दा बढी भएको थियो। चीन अनलाइन मार्फत सामान किनमेलका लागि विश्वको दोस्रो ठूलो बजार बनेको छ।

इन्टरनेटमा चिनियाँ छलाङ

अनलाइनबाट किनमेल गर्दा दिइने छुट र अधिक बिक्री हुने दिन पश्चिमा देशहरुमा क्रिसमस हुन्छ भने चीनमा चाहिँ नोभेम्बर 11 तारिख हुन्छ। वास्तवमा नोभेम्बर 11 तारिख चीनमा प्रणय दिवसको विरुद्धमा सुरु भएको एउटा पर्व हो। यो दिन वर्ष भरिमा सबैभन्दा धेरै 1 हुने दिन हो। एघार महिनाको एघार तारिखमा चारवटा 1 हुन्छन् जसले एकल व्यक्तिलाई प्रतिनिधित्व गरेको हुन्छ। विविध समस्याका कारण चीनमा बिहे नगरीकन बसेका एकल व्यक्तिहरुको संख्या हरेक वर्ष बढिरहेको छ। एक सन्तानको चिनियाँ नीति र लैंगिक विभेदका कारणले पुरुषको जनसंख्या महिलाको तुलनामा अधिक रहेकाले चिनियाँ केटाले बिहे गर्नका लागि केटी पाउन मुस्किल बन्दै गएको छ। तसर्थ नोभेम्बर 11 तारिखलाई प्रेममा नपरेका र जोडी नभएकाहरुले आफ्नो दिवसका रुपमा मनाउँछन्। यो दिन चिनियाँ अनलाइन सेवाहरुले सामान किन्दा 70 प्रतिशतसम्म छुट दिने भएकाले रातभर नसुतीकन इन्टरनेटबाट सामान अर्डर गर्ने चिनियाँको संख्या करोडौँ रहन्छ।

नोभेम्बर 11 भन्दा अगाडी नै चिनियाँहरु ब्राण्डेड सुपर मार्केटमा जान्छन् र आफूलाई मन परेका पोशाक शरीरमा मिल्छ मिल्दैन लगाएर हेर्छन्। त्यतिबेला उनीहरुले पोशाकको रङ, साइज, ब्राण्डको नाम र मोडल नम्बर टिपेर ल्याउँछन्। घरमा आएर इन्टरनेटको थाउ पाउको वेभसाइटमा गएर त्यही ब्राण्डको त्यो मोडल नम्बर रोजेर मूल्य हेर्ने गर्छन्। सामान्यतः अन्य समयमा पनि बजारमाभन्दा अनलाइनमा खरिद गर्दा उल्लेख्य सस्तो सामान पाइन्छ त्यसमाथि नोभेम्बर 11 तारिख दिइने 70 प्रतिशतसम्मको छुटले गर्दा नसोचेको मूल्यमा सामान पाइन्छ। अनलाइनबाट सामान किन्दा सक्कली हो कि नक्कली भनेर छुट्ट्याउनका लागि पहिले बजारमा गएर सामान हेर्ने र मोडल नम्बर तथा ब्राण्ड कण्ठ गर्नु पर्ने हुन्छ। नत्र नककली सामान पर्ने संभावना पनि रहन्छ।

इन्टरनेटमा चिनियाँ छलाङ

सन् 2014 नोभेम्बर 11 तारिखमा 55 सेकेण्डभित्रै दस करोड चिनियाँ युआनको कारोबार भएको थियो। सो दिन बिक्री गरिएका महिलाका भित्री पोशाकलाई एउटा थुप्रो बनाउँदा त्यस्को उचाइ सगरमाथाको भन्दा तीनगुना बढी हुने लोकप्रिय चिनियाँ अनलाइन सेवा थाउपाउले जनाएको छ। गत वर्ष सन् 2013 को नोभेम्बर एघार तारिख थाउपाउको वेभसाइटबाट पैंतीस अर्ब चिनियाँ युआनको बिक्री भएको थियो। सन् 2014 को नोभेम्बर 11 तारिख थाउ पाउ वेभसाइटबाट सन्ताउन्न अर्ब दश करोड चिनियाँ युआनको बिक्री भएको छ।

एकै दिनमा एउटै वेभसाइटबाट यतिको बिक्री हुने र लाखौँ मानिसले एकैचोटी वेभसाइटबाट सामान अर्डर गर्ने हुनाले कतिपय अवस्थामा वेभसाइटले काम गर्न नसकेर निस्क्रिय हुने अथवा अर्डर लिन नसकेर फेरि प्रयास गर्नुहोला भन्ने सन्देश आउँछ। तसर्थ यो दिन चिनियाँहरु रातभर जाग्राम बसेर सामान अर्डर गर्नमा तल्लिन हुन्छन्।

थाउ पाउ पछि अमेजन तथा जेडी जस्ता विश्वकै प्रख्यात अनलाइन किनमेल इन्टरनेट सेवाहरु पनि चीनमा लोकप्रिय रहेका छन्।

सूचना प्रविधिको विकाससँगै अनलाइन किनमेल चीनमा अत्यधिक फस्टाएको छ। चिनियाँहरु नुनदेखि सुनसम्म अनि चचुरोटदेखि चियासम्म किन्नका लागि इन्टरनेट सर्फिङ गर्नु चिनियाँका लागि सामान्य बनिसकेको छ। इन्टरनेटबाट सामान किन्दा सस्तो पर्ने र बजार गएर सामान खोज्ने समयको पनि बचत हुने भएकाले विश्वमा बढ्दै गएको अनलाइन किनमेल चीनमा पछिल्लो समय ह्वात्तै बढेको छ।

इन्टरनेटमा चिनियाँ छलाङ

इन्टरनेटको विकासका लागि चीन सरकारले विभिन्न नीतिहरु सार्वजनिक गरेको छ। चीनले सन् 2007 मा विद्युत्तीय व्यापारको विकासम्बन्धी राष्ट्रिय र सरकारी रणनीति तय गरेको थियो। सन् 2009 मा 3जी र सन् 2013 मा 4 जीको अनुमति पत्र वितरण गरेपछि चिनियाँ इन्टरनेटका प्रयोगकर्ताको संख्या तीब्र रुपमा बृद्धि भएर विश्वको पहिलो स्थानमा पुगेको छ। हाल चीनले नयाँ सूचनाको आधारभूत प्रबन्धको निर्माण गर्न र आधुनिक सूचना प्रविधि व्यवसायको विकास गर्न प्रयास गरिरहेको छ। चीनका उद्योग तथा सूचनाकरण मन्त्री मिओ वैका अनुसार चीनले एक रणनीतिक परियोजनाको तर्जुमा गरेका छ। सो परियोजना अनुसार सन् 2015 को अन्त्यसम्म सहरी परिवारले प्रयोग गर्ने ब्रोड्ब्याण्ड बीस मेघाबाइट पुग्नेछ। चीनले टेलिकम संचालक उद्योग-व्यवसायमा थप लगानी गर्ने र इन्टरनेटको प्रयोग शुल्क घटाउने नीति पनि बनाउँदै छ।

विगत गत तेह्र वर्षमा चिनियाँ इन्टरनेट र इन्टरनेट अर्थतन्त्रमा ठूलो परिवर्तन आएको छ। इन्टरनेटको विकासमा चीनले प्राप्त गरेको अभूतपूर्व विकासकै कारण सन् 2014 नोभेम्बर 19 देखि 21 तारिखसम्म चीनको चच्याङ प्रान्तको ऊ चनमा पहिलो विश्व इन्टरनेट सम्मेलनको आयोजना भयो। सो सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शुभकामना सन्देश पठाउँदै विश्वका विभिन्न मुलुकसँग आपसी सम्मान र विश्वासमा अन्तर्राष्ट्रिय सहयोग गहन पार्नका लागि इन्टरनेटलाई स्वतन्त्र रुपमा प्रयोग गर्न दिने उद्घोष गर्नु भएको थियो। उहाँले इन्टरनेटलाई ह्याकिङबाट जोगाउँदै शान्तिसुरक्षा र खुला तथा सहयोगी इन्टरनेट क्षेत्रको सिर्जना गरेर बहु-पक्षीय, लोकतान्त्रिक र पारदर्शी अन्तर्राष्ट्रिय इन्टरनेट व्यवस्थापन प्रणालीको स्थापना गर्ने कुरामा जोड दिनुभयो।

इन्टरनेटमा चिनियाँ छलाङ

सन् 2014 जुन महिनासम्मको तथ्याङ्कमा 84 प्रतिशत चिनियाँहरुले मोबाइल फोनबाट इन्टरनेट चलाउने गरेको चिनियाँ इन्टरनेट सञ्जाल सूचना केन्द्रले उल्लेख गरेको छ। हिजोआज पीसी अथवा ल्यापटपबाट इन्टरनेट चलाउने चिनियाँको संख्या घट्दो छ भने स्मार्ट फोन र ट्याबलेटहरुबाट इन्टरनेट चलाउनेहरुको संख्या बढीरहेको पनि केन्द्रले सार्वजनिक गरेको छ।

चीनबाट सुरु भएको नोभेम्बर 11 को इन्टरनेट किनबेच अहिले संसारभर छाएको छ। इन्टरनेटको विश्वव्यापीकरणसँगै चिनियाँ कम्पनी अलीबाबाको प्रभावले चीनमा 'सिङ्गल डे' भनेर चिनिने नोभेमब्र 11 लाई अमेरिकामा चाहिँ 'सपिङ होलिडे' भन्न थालिएको छ।

सन् 2014 को नोभेम्बर 11 मा चीनमा एपेक शिखर सम्मेलन भइरहेको थियो। शिखर सम्मेलनमा छलफल भएका विषयमध्ये इन्टरनेटको सुरक्षा तथा उपभोक्ता अधिकार पनि एउटा रहेको थियो। तेह्र वर्षको अन्तरालमा चीनले दुई पटक एपेक शिखर सम्मेलनको आतिथ्य गरेको छ। अघिल्लोपटकको एपेक शिखर सम्मेलनमा चिनियाँ इन्टरनेट विश्वमा पहिचान बनाउन संघर्ष गर्दै थियो भने यसपटकको शिखर सम्मेलनसम्ममा चिनियाँ इन्टरनेटले विश्वमा आधिपत्य जमाएको छ। अहिले चिनियाँ जीवनशैलीका लागि इन्टरनेट परिहार्य बन्दै गएको छ।