उद्धार सामग्री लिएर 33 चिनियाँ ट्रक आउँदै
2015-05-26 09:33:37CRI
Share with:

 बेइजिङ - चीनको तिब्बत स्वायत्त प्रदेशबाट सहयोग सामग्री बोकेका 33 वटा ट्रक बुधबार नेपाल भित्रिने छन्। तिब्बतको ल्हासाबाट साता अगाडि हिँडेका ती ट्रक पछिल्लो ठूलो भूकम्पका कारण तिब्बतको लार्चेमा रोकिएका थिए।

ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चिनियाँ सेनाका ती ट्रकमा 60 लाख चिनियाँ युआन अर्थात् झन्डै दस करोड रुपैयाँका सामग्री छन्। ट्रकमा ब्ल्यांकेट, त्रिपाल, चामल र तन्ना छन्। महावाणिज्य दूतावासको सक्रियतामा 5 ट्रक सामग्री संकलन गरिएको थियो। बाँकीसामग्री तिब्बत सरकारले सहयोग स्वरूप प्रदान गरेको हो। ती ट्रकमा 80 टन चामल, 7 सय त्रिपाल, 2 हजार तन्ना र ब्ल्यांकेट रहेको बस्यालले बताए।

उनका अनुसार बुधबार साँझसम्ममा चिनियाँ ट्रकहरू बाह्रबिसे पुग्ने र ती सामग्री चीनको तिब्बतसँग सीमा जोडिएका जिल्लाहरूमा राहतका रूपमा वितरण गरिनेछ। उद्धार सामग्री बोकेका ट्रकहरूसँगै गत मंगलबार महावाणिज्य राजदूत बस्याल पनि ल्हासाबाट खासा जाँदै थिए। तर खासा पुग्न 3 सय किलोमिटरको दूरीमा रहेको लार्चेमा पुग्दा दोस्रो ठूलो भूकम्प गयो। अनि ती ट्रकहरू अगाडि बढ्न सकेनन्। बस्याल पनि ल्हासा फर्किए।

तिब्बतका अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा आइसकेका छन्। अब चिनियाँ सशस्त्र प्रहरीले अरनिको राजमार्ग र केरुङ राजमार्गको मर्मतमा ध्यान केन्द्रित गर्न थालेका छन्। अर्को चरणमा चीनले स्थलमार्गबाट मोबाइल अस्पताल निर्माणका सामग्री पठाउने तयारी गरेको छ।

महाभूकम्पबाट तिब्बतमा पनि क्षति भएको छ। तिब्बतमा 27 जनाको मृत्यु भयो। 3 जना बेपत्ता छन्। 8 सय 60 जना घाइते छन्। तिब्बत प्रान्तीय सरकारले नेपालीहरूलाई गरेको सहयोग र उद्धार कार्य अत्यन्त प्रशंसनीय रहेको बस्यालले बताए। तिब्बतका अस्पतालहरूमा 97 जना नेपालीको उपचार भइरहेको छ। घाइते नेपालीमध्ये सरोज अधिकारीको अवस्था गम्भीर थियो। उनलाई ल्हासाको पिपुल्स अस्पतालमा दुईपटक मस्तिष्कको शल्यक्रिया गरिएको छ।

उद्धार सामग्री लिएर 33 चिनियाँ ट्रक आउँदै
साभारः कान्तिपुर दैनिक। 2072 जेठ 6 (2015 मे 20)बुधबार