बेइजिङमा धूम्रपान निशेध
2015-06-23 10:03:42CRI
Share with:

बेइजिङमा धूम्रपान निशेध

          चीनको राजधानी बेइजिङमा जुन एक तारिख (जेठ 18 गते) सोमबारदेखि सार्वजनिक स्थलमा धूम्रपानमाथि प्रतिवन्ध लगाइएको छ। रेष्टुरेन्ट, कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूम्रपान गरेमा दुई सय चिनियाँ युवान जरिमाना तिर्नु पर्ने प्रावधान छ। पहिले यस्तो ठाउँमा धूम्रपान गरेमा 10 युआन जरिमानाको व्यठवस्था थियो तर लागू भएको थिएन। यी स्थानसँगै मनोरन्जनात्मक क्षेत्र (चलचित्र, थिएटर, रङ्गशाला, उत्सव आयोजित स्थल आदि), स्वास्थ्य सेवा स्थल, शैक्षिक क्षेत्रस्थल, सरकारी कार्यालय लगायतका स्थलमा पनि अब धूम्रपान गर्न पाइने छैन।

          बेइजिङ स्थानीय सरकारले ल्याएको यो नीतिको समर्थन गर्दै विश्व स्वास्थ्य संगठनले बेइजिङलाई विश्व धूम्रपान रहित दिवसका अवसरमा पुरस्कृत पनि गरेको छ। विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक शिन यौङ सूले यो कुराले आफ्ना नागरिकको स्वास्थ्य प्रति बेइजिङ नगर सरकार जिम्मेवार र जवाफदेही छ भन्ने कुरा पुष्टि भएको भन्दै विश्व धूम्रपान रहित पुरस्कार बेइजिङलाई प्रदान गरिएको स्पष्ट पार्नु भएको छ।

          बेइजिङले अगाडि सारेको नयाँ नियम अनुसार कुनै व्यक्तिले तीनपटकसम्म यो नियम उल्लङ्घन गरेमा उसको नाम सरकारी वेभसाइटमा प्रकाशन गरेर समाजमा सर्मनाक बनाइने बताइएको छ। यसैगरी अटेर गरी धूम्रपान गर्ने विरुद्ध उजुरी दिन हटलाइनको व्यवस्था पनि गरेको छ। बेइजिङ सहरभर राता ब्यानरहरुमा धूम्रपान विरुद्धका नाराहरु लेखिएर विभिन्न सार्वजनिक ठाउँमा झुन्ड्याइएको छ भने धूम्रपान निशेधका सूचनाहरु जताजतै टाँसिएको छ।

          चीनमा गत मार्चमा सम्पन्न चिनियाँ राष्ट्रिय जनकंग्रेसले धूम्रपानमाथि प्रतिवन्ध लगाउने कानुन पारित गरेको थियो। सोही कानुन अनुसार अहिले मनोरन्जनात्मक क्षेत्र र स्वास्थ्य सेवा क्षेत्र लगायतका ठाउँमा धूम्रपानमाथि कडाइका साथ निशेध गरिने सूचनाहरु जारी गरिएका छन्। सम्बन्धित व्यवसायीले आफ्नो परिसरमा धूम्रपान गर्ने अनुमति दिएमा दस हजार युआनसम्म जरिवाना गरिने बताइएको छ। त्यसैगरी पूर्व प्राथमिक र प्राथमिक विद्यालयको एक सय मिटरको दुरीमा चुरोट बेच्न पनि प्रतिबन्ध लगाइएको छ।

बेइजिङमा धूम्रपान निशेध

         बेइजिङले अगाडि सारेको यो कारवाहीलाई क्रमशः चीनभरि लागू गरिने बताइए पनि चीनमा यस्ता स्वंसेवी कानुनहरु लागू हुने कुरामा चिनियाँहरु नै विश्वस्त छैनन्। चिनियाँहरु भन्ने गर्छन् 'चीनमा राम्रा कानुनहरु प्रयार्प्त छन् र कार्यान्वयनमा सरकारले ध्यान दिँदैन।' यस पटक भने बेइजिङ नगरले धूम्रपान निशेधको नियमलाई कडाइका साथ लागू गर्ने बताएको छ।

        चीन विश्वकै सबैभन्दा धेरै तमाखु उत्पादन गर्ने मुलुक हो र विश्वकै सबैभन्दा धेरै चुरोट खपत हुने मुलुक पनि चीन नै हो। यसर्थ पनि चीनमा धूम्रपानका उपभोक्ता अधिक रहेका छन्। 

         राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगकी माओ छ्युनानका अनुसार रेष्टुरेन्टका कर्मचारीहरुले धूम्रपान नगर्नका लागि ग्राहकहरुलाई सचेत गराउनेछन्। यदि उनीहरुले भनेको नसुनकीकन धूम्रपान गरेमा रेष्टुरेन्टका कर्मचारीले प्रहरीलाई खबर गर्नेछन् र कानुन कार्यान्वयन अधिकारीहरुले उनीहरु विरुद्ध मुद्दा दायर गर्नेछन्। तर यसले रेष्टुरेन्टको व्यवसायमा समेत असर पुर्‍याउने देखिन्छ। बेइजिङमा रेष्टुरेन्टभित्र बसेर अधिक धूम्रपान गरिन्छ। जाडो मौसममा झ्याल लगाइएका रेष्टुरेन्टका कोठाहरु चुरोटको धुँवाले भरिएका हुन्छन्। त्यस्ता धूम्रपान गर्ने विरुद्ध कदम चाल्दा रेष्टुरेन्टमा ग्राहक घटेर व्यवसायमा घाटा हुने संभावना छ भने धूम्रपान गर्न दिँदा रेष्टुरेन्ट व्यवसायीले 10 हजार युआन जरिवाना तिर्नु पर्ने कानुनी प्रावधान रहेको छ।

         स्वास्थ्य सम्बन्धी विभिन्न प्रतिवेदनका अनुसार चीनमा तीस करोडभन्दा बढी व्यक्तिले धूम्रपान सेवन गर्छन्। उनीहरुले गरेको धूम्रपानबाट प्रभावित (सेकेण्डह्याण्ड स्मोकर) व्यक्तिको संख्या 54 करोडभन्दा बढी छ। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार योजनाले चीनमा हरेक वर्ष कम्तिमा 10 व्यक्तिको धूम्रपानबाट मृत्यु हुने गरेको जनाएको छ। त्यसो त चीनका 60 प्रतिशत पुरुष चिकित्सकले धूम्रपान गर्ने गरेको प्रतिवेदन समेत सार्वजनिक भएको छ। यो दर संसारकै सबैभन्दा उच्च रहेको विश्व स्वास्थ्य संगठनले औँल्याएको छ।

         ठूलो संख्यामा चिनियाँ किशोरहरु पनि धूम्रपानको कुलतमा फसिरहेका छन्। पछिल्लो तथ्याङ्क अनुसार एक करोड 50 लाख चिनियाँ किशोरहरुले धूम्रपान गर्छन्। चीनमा 7 प्रतिशत किशोरहरु धूम्रपानमा फसेको चीनको सरकारी तथ्याङ्कले उल्लेख गरेपछि चीन सरकार र विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेका थिए। तसर्थ पनि बेइजिङको पछिल्लो कदमलाई सबैतिरबाट प्रशंसा गरिएको छ र कडाइका साथ कार्यान्वयन हुने कुरामा सबै आशावादी छन्।

         चिनियाँ चुरोटका बट्टामा 'धूम्रपान स्वास्थ्यका लागि हानीकारक छ' भन्ने नारा साना अक्षरमा लेखिएका हुन्छन् भने धूम्रपानबाट उत्पन्न स्वास्थ्य खतरा जनाउने कुनै पनि चित्रहरु उल्लेख गरिएको हुँदैन।

         चीनले सन् 2009 मै धूम्रपानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो। चीन सरकारले त्यतिबेला स्वास्थ्य प्रशासन कार्यालय र चिकित्सा सेवा क्षेत्रलाई सन् 2011 सम्ममा धुमपान मुक्त बनाउने निर्णय गरेको थियो। विश्व स्वास्थ्य संगठनले पारित गरेको तमाखु नियन्त्रण महासन्धिलाई सन् 2005 को अक्टोबर 11 तारिख चीनले पारित गरको थियो। चीनभन्दा अगाडि 77 मुलुकले यो महासन्धि पारित गरिसकेका थिए। यो महासन्धिसँगै कुनै पनि कार्यक्रम प्रायोजन गर्न र सार्वजनिक संचार मध्याम तथा इन्टरनेटबाट धूम्रपानको विज्ञापनमा 5 वर्षभित्र पूर्ण प्रतिवन्ध लगाउने पनि चीनले प्रतिवद्धता गरेको थियो। फलतः चिनियाँ आमसंचारमाध्यम र इन्टरनेटबाट यतिबेला धूम्रपानका विज्ञापनहरु प्रसारित हुँदैनन् र कुनै पनि तमाखु उद्योगले सार्वजनिक समारोह तथा खेलकूद प्रतियोगिताको प्रायोजन गर्न पाउँदैनन्। चीनले 2008 मा बेइजिङमा आयोजित 29 ओलम्पिक खेलकूद र 2010 मा सांघाईमा आयोजित विश्व एक्स्पोमा पनि धूम्रपान प्रतिवन्ध लगाएको थियो। 

बेइजिङमा धूम्रपान निशेध

          चिनियाँ समाजमा चुरोट तान्नु सामाजिक प्रतिष्ठाको विषय मानिन्छ। जसले जति महङ्गो चुरोट तान्छ उसको इज्जत उति सम्मानित मानिन्छ। पाहुनालाई चुरोट दिनुलाई उच्च सम्मान ठानिन्छ र अस्वीकार गर्नु पाहुनाले अनादर गरेको ठानिने हुनाले चुरोट संस्कृति चिनियाँ समाजमा सम्मानित बनिरहेको छ। चीनमा उपहारमा चुरोटका प्याकेटहरु टक्र्याउने प्रचलन निकै लोकप्रिय छ। कतिपय समारोह तथा जमघटमा एक अर्काको चुरोट साटेर सेवन गर्ने चलन पनि छ। बेइजिङका बजारमा एक बट्टा चुरोटको पाँच युआनदेखि सयौँ युआन पर्ने चुरोटहरु पाइन्छन्।

          सामाजिक र सांस्कृतिक पक्षसँग जोडिएको चिनियाँ धूम्रपानको आर्थिक पक्ष पनि उत्तिकै सशक्त छ। तसर्थ पनि बेइजिङले उक्त नियम पालना गर्दा केही आर्थिक क्षति बोहेर्नु पर्ने संभावना पनि रहेको छ। विश्वको 42 प्रतिशत चुरोट चीनले उत्पादन गर्दछ। चिनियाँ राष्ट्रिय तमाखु कर्पोरेसन विश्वकै सबैभन्दा ठूलो तमाखु उत्पादक एकल कम्पनी हो र चीनको सरकारी राजस्वमा यो संस्थाले मात्र 7 देखि 10 प्रतिशत बहन गरेको छ।

          सिन्ह्वा समाचार समितिका अनुसार बेइजिङले चालु वर्ष सन् 2015 मा 16 अर्ब अमेरिकी डलर राजस्व चुरोटबाट मात्र संकलन गर्दैछ। राज्यद्वारा संचालित चिनियाँ तमाखु कम्पनीले सन् 2012 मा दैनिक 7 करोड 50 लाख अमेरिकी डलर नाफा कमाएको आर्थिक समाचार साइट यीछाइ डट कमले उल्लेख गरेको छ। धम्रपानमाथिको नियन्त्रणले चीनको कूल ग्राहस्थ उत्पादमा समेत असर पार्ने देखिन्छ। धूम्रपान निशेष र तमाखु उद्योगमाथिको कडाइले चिनियाँ सरकारी राजस्व र ती उद्योग धन्दामा कार्यरत मजुदरका समस्या थप चुनौति हुन सक्छन्।

          सार्वजनिक चोकमा बसेर चेन स्मोकरका रुपमा निरन्तर चुरोट तान्दै तास खेल्ने बुढ्यौली पुस्ताका चिनियाँलाई नयाँ नियम निकै कठोर लाग्ने चिनियाँ समाजिक संजालमा लेखिएको छ। पछिल्लो समय चीनले विकास गरेको धूम्रपानको कूलतबाट हटाउने विद्युतीय चुरोटले चीनमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमै लोकप्रियता कमाएको छ। नयाँ निमयसँगै बेइजिङका बजारमा त्यस्ता विद्युतीय चुरोटको बजार बढ्ने अनुमान गरिएको छ।