भूकम्प संग्रहालय
2015-06-23 10:06:43CRI
Share with:

भूकम्प संग्रहालय

        चीनको सिचुवान प्रान्तको वेनछ्वान जिल्ला भूकम्प संग्राहलय र भूकम्प स्मृति पार्कले गर्दा विश्वमै प्रख्यात छ। सन् 2008 मे 12 दिउँसो 2 बजेर 28 मिनेट जाँदा चीनको सिचुवान प्रान्तको वनछ्वानमा आठ रेक्टर स्केलको भूकम्प गएको थियो। दुई मिनेटसम्म गएको भूकम्पको गहिराई 14 किलोमिटर थियो र पाँच लाख वर्ग किलोमिटर क्षेत्रमा रहेका 417 काउन्टी, 4 हजार 6 सय 67 टाउन र 48 हजार 8 सय 10 गाउँमा असर पुर्‍याएको थियो। भूकम्पको केन्द्रबिन्दूबाट नजिकै रहेका 51 वटा काउन्टीमा गम्भीर असर पुर्‍याएको थियो भने 15 करोड दस लाख मानिसलाई उद्दार गरेर सुरक्षित ठाउँमा सार्नु परेको थियो। भूकम्पमा परी चार करोड 30 लाख मानिस घाइते भएका थिए। ती घाइतेमध्ये गम्भीर अवस्थामा रहेका 10 हजार मानिसलाई 370 वटा अस्पतालमा उपचार गरिएको थियो।

        चीनमा वनछ्वान भूकम्पका नामले चिनिने यो भूकम्पले 69 हजार एक सय 95 जनाको मृत्य भएको थियो भने 18 हजार 3 सय 92 जना बेपत्ता भएका थिए। भूकम्पले 48 लाख मानिसलाई बेघरबार बनाएको थियो। भूकम्पमा परेका 84 हजार 17 जनालाई सकुसल उद्दार गरिएको थियो। प्रभावित बनेका 88 लाख 10 हजार मानिसलाई आर्थिक राहत वितरण गरिएको थियो। भूकम्पबाट 8 खर्ब 45 अर्ब युआनको नोक्सानी भएको थियो। भूकम्पले सिचुवान,कान्सु र शान्षी प्रान्तमा क्षति पुर्‍याएको थियो। भूकम्पबाट सिचुवान प्रान्तको पैछुआन काउन्टीको छनचिअबा गाउँ पूरै पुरिएको थियो।

भूकम्प संग्रहालय

        वनछ्वान भूकम्प र त्यसको क्षतिलाई चिरस्मरण गर्नका लागि वनछवानमा भूकम्प स्मारक पार्क र संग्रहालय बनाइएको छ। वनछ्वान जिल्लाको यिङ स्यु टाउनमा रहेको स्येन खौ माध्यमिक विद्यालय भूकम्पमा भत्कदा 55 जना विद्यार्थी र शिक्षकको मृत्यु भएको थियो। त्यो विद्यालय र आसपासको क्षेत्रलाई स्मृति पार्कको रुपमा संरक्षण गरिएको छ। आंशिक रुपा ध्वस्त भएको र ढल्किएको विद्यालयको भवनलाई जस्ताको तस्तै संरक्षण गरिएको छ।

        त्यसैगरी भूकम्पपछि उद्दार क्रममा एउटा हेलिकप्टर दुर्घटनामा परेको थियो। सो हेलिकप्टर दुर्घटनाको स्थलमा मृत्यु भएकाहरुलाई समाधिस्त पनि हेलिकप्टरकै आकारमा बनाइएको छ।

भूकम्प संग्रहालय

         भूकम्प गएको एक वर्षपछि खोलिएको वनछ्वान भूकम्प संग्रहालयले त्यहाँ भ्रमण गर्ने सबैलाई भावुक बनाउँछ। सिचुवान प्रान्तको ता यी जिल्लाको आन रन कु टाउनमा रहेको यो संग्रहालयको क्षेत्रफल छ हजार वर्गमिटर रहेको छ। तीन करोड चिनियाँ युआनको लगानीमा बनेको यो संग्रहालयमा तीसभन्दा बढी प्रदर्शनी कक्षहरु रहेका छन्।

         संग्रहालयमा दुर्घटना भएको हेलिकप्टरका अवशेषहरु र उद्दारकार्यमा खटिएका उद्दारकर्मीका पोशाकदेखि पत्रकारहरुले भूकम्पको समयमा संप्रेषण गरेका समाचारका कटिङहरु संकलन गरिएको छ। त्यसैगरी सम्बन्धित समाचारका श्रव्यदृश्य सामग्रीहरु र स्लाइड सोहरु पनि राखिएको छ। भूकम्पमा ज्यान गुमाएका व्यक्तिका विभिन्न लुगा कपडा तथा उनीहरुलाई सम्झना गराउने व्यक्तिगत फोटो र सामग्रीहरु पनि संग्रहालयमा राखिएको छ।

भूकम्प संग्रहालय

         भूकम्पपछि मरेका उद्दारकर्मीहरुको फोटो सहितको परिचय झल्किने सामग्रीहरु पनि संग्रहालयमा राखिएको छ। त्यसैगरी संग्रहालयमा राखिएका मृतक तथा वेपत्ता भएका नागरिकका आफन्तले लेखेका चिठीपत्रहरु पढ्दा सबैलाई भावुक बनाउँछ। संग्रहालयमा उद्दारमा प्रयोग भएका औजारहरु हेलमेट,सावेल,वाकीटकी,टेलिफोन,कलम,कोदालो,स्टेचर लगायतका सामग्रीलाई राखिएको छ। त्यसैगरी ध्वस्त संचरनाका अवशेषका रुपमा इँटा,रड,ढुङ्गा,माटो,रङ जस्ता सामानहरु पनि सङ्कलन गरिएको छ।

         भूकम्पमा लेखिएका कविता तथा श्रद्धान्जली र समवेदनाहरु पनि संग्राहलयमा राखिएको छ।

         वनछ्वान भूकम्प संग्रहालय र स्मृति पार्कले सन् 2008 मा चीनको सिचुवानमा गएको भूकम्पलाई सम्झाउने मात्र होइन विपत्तिलाई समाना गर्न र चेतना छर्नका लागि जीवन्त श्रोत बनेको छ भने भूकम्प अध्ययन कर्ताका लागि एक प्रकारको प्रयोगशाला पनि बनिरहेको छ।

भूकम्प संग्रहालय

         सडक,अस्पताल,भवन,स्कुल,विजुल,दूरसंचार जस्ता पूर्वाधार ध्वस्त भएको र भयावह रुपमा जनधनको क्षति पुर्‍याएको वनछ्वान भूकम्प गएपछि चीन सरकारले एक हजार दिनभित्र पुन निर्माण गरिसक्ने संकल्पसहितको घोषणा गरेको थियो। फलस्वरुप सन् 2011 भित्र पूर्ण रुपमा पुन निर्माणका कार्य सम्पन्न गरेर सिचुवान प्रान्त तथा वनछ्वान जिल्लालाई चीनले संवृद्धिको बाटोमा डोर्‍याएको छ। अहिले विश्वभरिका पर्यटकहरु सिचुवानमा भूकम्पको अवशेष हेर्न झुमिन्छन् र पुननिर्माण हेरेर लोभिने गर्छन्।

         साभारः कान्तिपुर दैनिक (कोसेली)2072 असार 5 (2015 जुन 20) शनिबार