चिनियाँ संग्रहालयमा नेपाली उपहार
2015-08-11 15:28:59CRI
Share with:

                                                                                       ------चेतनाथ आचार्य

चिनियाँ संग्रहालयमा नेपाली उपहार

विश्वकै सबैभन्दा ठूलो चोक चीनको राजधानी पैचिङमा रहेको थिएनानमन स्क्वाइर हो। यो चोकको उत्तरपट्टि विश्वकै सबैभन्दा ठूलो दरवार अर्थात् फोर्बिडन सिटी रहेको छभने पश्चिमतिर विश्वकै सबैभन्दा ठूलो संसद अर्थात् जनवृहत सभाभवन रहेको छ। चोकको दक्षिणपट्टि अध्यक्ष माओत्सेतुङको शवलाई संरक्षण गरिएको गृह छ भने पूर्वपट्टि विश्वकै सबैभन्दा ठूलो चीनको राष्ट्रिय संग्रहालय रहेको छ।

सन् 1912 जुलाई 9 तारिखमा चिनियाँ इतिहासको संग्रहालयका नाममा यसको स्थापना भएको थियो। सन् 1949 अक्टोबर 1 तारिख नयाँ चीन स्थापना भएपछि यसको नाम पैचिङ इतिहासको सग्रहालय राखियो। अनि सन् 1959 मा यसलाई पुनः न्वारान गर्दै चिनियाँ इतिहासको राष्ट्रिय संग्रहालय राखियो। सन् 2003 मा चिनियाँ क्रान्तिको संग्रहालय र चिनियाँ इतिहासको राष्ट्रिय संग्रहालयलाई जोडेर यसको नाम चीको राष्ट्रिय संग्रहालय राखियो। सन् 2007 को मार्चदेखि 2011 को डिसेम्बरसम्म बिस्तार गरी बनाइएको चीनको राष्ट्रिय संग्राहलयले एक लाख 92 हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ। क्षेत्रफल र यसमा संग्रहित सामग्रीका आधारमा यो विश्वको सबैभन्दा ठूलो संग्रहालय पनि हो। चीनको पाँच हजार वर्षको इतिहास र सभ्यतासँगै विश्वका विभिन्न ऐतिहासिक महत्वका सामग्री राखिएको यो संग्रहालयमा 40 भन्दा बढी वटा ठूला हलहरु रहेका छन्। पूरा अवलोकन गर्नका लागि पनि एक दिन पूरा समय लाग्ने गर्छ।

चिनियाँ संग्रहालयमा नेपाली उपहार

यो संग्रहालयमा अफ्रिकन कलादेखि पश्चिमा सभ्यताका पूरातात्विक वस्तुहरु पनि राखिएको छ। अवलोकनकर्ताले निःशुल्क प्रवेश पाउने र संग्रहालयमा समसायमिक रुपमा आधुनिक चित्रकलाका अस्थायी प्रदर्शनी पनि भइरहने हुनाले दैनिक हजारौँ अवलोकनकर्ताहरु यहाँ जाने गर्छन्। विशेषगरी चीनमा बिदा पर्ने शनिबार र आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन यो संग्रहालयमा निकै भीड लाग्ने गर्छ। 

यो संग्रहालयमा अवलोकन गर्दा म त्यतिखेर पुलकित भएँ जतिबेला नेपाली नेताहरुले चिनियाँ नेतालाई दिनुभएको उपहार सजाएर राखिएको देखेँ। संसारकै सबैभन्दा ठूलो संग्रहालयमा नेपाली हस्तकलाका सामग्रीको प्रदर्शनीसँगै दुई देशबीचको सम्बन्धलाई झल्काएको पाउँदा म एक प्रकारले उत्तेजित पनि भएको थिएँ। नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धले 60 वर्ष पार गर्दा यस प्रकारका मैत्रीपूर्ण सम्बन्ध दर्शाउने थुप्रै कामहरु भएका छन् जसले नयाँ पुस्तालाई पनि प्रेरित गर्नेछ र दुई देशबीचको सम्बन्धलाई सधैँ ताजा र जिबन्त बनाउनेछ। यो संग्रहालयमा मूलतः चारजना नेपाली नेताले विभिन्न समयमा चिनियाँ नेतालाई उपहार प्रदान गर्नु भएको नेपाली हस्तकलाका सामग्री राखिएको छ।

सन् 1972 मा नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले अध्यक्ष माओत्सेतुङलाई उपहार दिनु भएको तामाको महाबुद्ध मन्दिरले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको अनुभूति लिन सकिन्छ। चीनमा ताओ धर्मपछि सबैभन्दा धेरै व्यक्तिले बौद्ध धर्म मान्छन्। चिनियाँ पर्यटकका लागि नेपाल भ्रमणसँग भगवान बुद्धको जन्मस्थल लुम्बिनीप्रतिको आर्कषण पनि थपिदै गएको छ। चीनले पनि 17 वर्ष अगाडि

चिनियाँ संग्रहालयमा नेपाली उपहार

लुम्बिनीमा चिनियाँ मन्दिर निर्माण गरेको छ। आजभन्दा 43 वर्ष पहिले नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले चीनका नेता माओलाई दिनु भएको महाबुद्ध मन्दिरले नेपाली कला र संस्कृतिलाई चीनसम्म ल्याइदिएको छ। अब त्यो संग्राहलयमा अमर बनेर युगौँयुग जिबित बनेको छ र नयाँ पुस्तालाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको सन्देश बाँडिरहेको छ।

संग्रहालयको सोही कक्षमा सन् 1979 मा नेपालका तत्कालीन राजा बीरेन्द्रले आधुनिक चीनका महान् नेता तथा खुला र सुधारका प्रवर्द्धक तङ स्याओफिङलाई उपहार प्रदान गर्नुभएको काठको मयुर झ्याल राखिएको छ। मयुर झ्याल काठमाडौँ उपत्यकामा रहेको परम्परागत नेवारी शैलीको झ्याल हो। अहिले पनि पाटनका हस्तकला पसलमा सर्वाधिक बिक्री हुनेमा यही झ्याल दरिएको छ। नेपाली कालीगडले हजारौँ वर्षदेखि बचाएर राखेको र नेवार समुदायका परम्परागत घरमा कुँदिने यस्ता मयुर झ्याल अब नेपालमा पनि व्यावहारिक रुपमा प्रयोग नभए पनि हस्तकलाका रुपमा लोकप्रिय नै बनेको छ। विश्वकै चर्चित संग्रहालयमा राखिएको नेपाली उपहार मयुरको झ्यालले चिनियाँ पुस्तौँ पुस्तालाई नेपाली कला र शैलीका बारेमा ज्ञान छर्न सफल भएको छ। यो मयुरको झ्याल नियाल्दा मैले नेपालका वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई सम्झिएँ। उहाँले मलाई भन्नु भएको थियो 'नेपालमा नपाइने पुरातत्व महत्व भएका नेपाली वस्तु चीनमा संरक्षित छन्।'

चिनियाँ संग्रहालयमा नेपाली उपहार

संग्रहालयको अवलोकन गर्दागर्दै मलाई अर्को नेपाली उपहारले तान्यो। सन् 1992 मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनका तत्कालीन राष्ट्राध्यक्ष याङ शाङखुनलाई उपहार दिनु भएको अर्को आकर्षक काठको मयुर झ्याल संग्रहालयमा राखिएको छ। 13 वर्ष अगाडि तत्कालीन राजा बीरेन्द्रले चिनियाँ नेता तङ स्याओ फिङलाई दिएको उपहारभन्दा यो नयाँ र चम्किलो देखिन्छ। चिनियाँ नेता याङ शाङखुन सन् 1988 देखि 1993 सम्म चीनका राष्ट्राध्यक्ष हुनुहुन्थ्यो।

चीनको राष्ट्रिय संग्रहालयमा सजाइएको चौथो नेपाली उपहार पनि मयुर झ्याल नै रहेको छ। सन् 1993 मा नेपालका तत्कालीन राजा बीरेन्द्रले चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका तत्कालीन अध्यक्ष ली रूइहुआनलाई दिनु भएको काठको मयुरको झ्याल अघिल्ला दुईवटा झ्यालको तुलनामा बढी उचाइको रहेको छ। अघिल्ला दुईवटा मयुर झ्यालहरु बढी चौडा आकारका छन् भने यो झ्याल चाहिँ कम चौडा र बढी उचाइ भएको छ। चिनियाँ नेता ली सन् 1993 देखि 2003 सम्म चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको अध्यक्ष हुनुहुन्थ्यो जुन संस्थाको संस्थापक अध्यक्ष माओत्सेतुङ हुनुहुन्थ्यो भने पछि चाउ एनलाई र तङ स्याओफिङ पनि सोही संस्थाका अध्यक्ष हुनुभयो। ली चीनका विद्वान र समझदार नेताका रुपमा चिनिनुहुन्छ।

अर्को नेपाली उपहार सन् 2009 मा नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चीनका तत्कालीन राष्ट्राध्यक्ष हु चिन थावोलाई दिनुभएको तामाको आकर्षक बुद्धमूर्ति रहेको छ। बुद्धको मूर्तिलाई चीनमा निकै सम्मान गरिन्छ। त्यही संग्रहालयमा एउटा ठूलो कक्षलाई भगवान बुद्धको प्रदर्शनी कक्षका रुपमा छुट्ट्याइएको छ। जहाँ बुद्धका विभिन्न आकृतिका मूर्तिहरु र बुद्धसम्बन्धी अनेकौँ वस्तुहरु राखिएका छन्। प्रदर्शनी अवलोकनकर्ताले नेपालका

चिनियाँ संग्रहालयमा नेपाली उपहार

प्रधानमन्त्रीले चीनका राष्ट्राध्यक्षलाई उपहार दिएको बुद्धको मूर्तिले नेपालको बुद्धसँगको सम्बन्धलाई पनि उजिल्याएको छ। अहिले चिनियाँ बजारमा नेपाली हस्तकलाका सामग्रीमा थाङ्का र बुद्धमूर्ति अत्यन्त लोकप्रिय मानिन्छन्। यो उपहारले पनि नेपाली हस्तकलाको बजारलाई थप उजागर गरेको छ।

नेपालको पञ्चायती व्यवस्था, बहुदलीय प्रजातान्त्रिक व्यवस्था र गणतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाका नेताहरुले चिनियाँ नेतालाई दिनु भएको उपहार यस संग्रहलायमा राखिनु आफैँमा ऐतिहासिक छ। नेपालका तीनवटा राजनीतिक व्यवस्थाका नेतृत्वले प्रदान गरेको उपहारलाई सम्मानपूर्वक राखेर चीनले असल छिमेकी मित्रराष्ट्रको पहिचानलाई सार्थक बनाएको छ।

विश्वकै सर्वाधिक ठूलो मानिएको संग्राहलयमा नेपालका पाँचजना नेताले प्रदान गरेको उपहार राखिनुले चीनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई महत्व दिएको प्रष्ट हुन्छ। किनभने यो संग्रहालय भनेको चीनको हजारौँ वर्षको इतिहास बोकेको र एक अर्ब 37 करोड चिनियाँको गौरवको प्रतीक हो। अनि यो गौरबभित्र नेपाल सम्मानपूर्वक समेटिनुलाई एउटा नेपालीका नाताले मैले पनि गौरव मानेको छु।

चिनियाँ संग्रहालयमा नेपाली उपहार
साभारः कान्तिपुर दैनिक (कोसेली) 2015 अगष्ट 1 तारिख (2072 साउन 16 गते शनिबार)