चीनमा दुई सन्तानको नीति
2015-12-10 10:45:04CRI
Share with:

चीनमा दुई सन्तानको नीति

एक अर्ब सैतीस करोड जनसंख्या भएको चीनले साढे तीन दसक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै विश्वव्यापी दुई सन्तानको नीति अँगालेको छ। दोस्रो आर्थिक शक्तिका रुपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरैजनसंख्या भएको देश हो। चीनको नयाँ नीति यतिबेला विश्वमै चर्चा र वहसको विषय बनेको छ। गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले सो निर्णय गरेको हो। चीनले सन् 1980 देखि एक सन्तानको नीति अबलम्बन गरेपछि चिनियाँ जनसंख्यालाई कडाइका साथ नियन्त्रण गर्दै आएको थियो।

लामो समयसम्म चलेको जापान विरुद्धको युद्ध,दोस्रो विश्वयुद्ध र आन्तरिक गृहयुद्धका कारण बीसौँ शताब्दीमा मात्र चीनले करौँडौँ आफ्ना नागरिक गुमाउनु परेको थियो। त्यसमाथिको भोकमरी र राजनीतिक कोपभाजनका कारण भोगेको आर्थिक नाकाबन्दीले जर्जर बनेको चीनलाई कम्युनिष्ट शासनको सुरुवातसँगै जनसंख्या नियन्त्रण गर्नुपर्ने चुनौति देखिएको थियो। सन् 1970 मा चीनको जनसंख्या 80 करोड नाघेपछि चीनले सन् 1975 मा 'ढिलो,लामो र थोरै'अर्थात्'लेट,लङ एण्ड फिउ' भन्ने नारा अगाडि बढायो। यसको अर्थ ढिलो बिबाह गर,लामो समयसम्म बच्चा नजन्माउ र थोरै जन्माउ भन्ने थियो। त्यतिबेलै दम्पत्तिलाई एकमात्र सन्तान जन्माउन प्रोत्साहन गर्दै दुई भन्दा बढी सन्तान नजन्माउन भनियो। सन् 1980 देखि चीनमा नयाँ बैबाहिक कानुन लागू भयो।। यो कानुनमा एक मात्र सन्तान जन्माउन पाउने प्रावधान थियो जसलाई निकै कडाइका साथ लागू गरिएको थियो।

चीनमा दुई सन्तानको नीति

सन् 1984 मा ग्रामिण क्षेत्रमा बसोबास गर्ने सीमित दम्पत्तिले दोस्रो सन्तान जन्माउन पाउने नीति ल्याइयो। जसमा दम्पत्ति दुवै एक्लो सन्तान हुनु पर्ने थियो। त्यसैगरी केही अल्पसंख्यक जातिलाई पनि दोस्रो सन्तान जन्माउने अधिकार दिइयो। यो परिधिभित्र नपरेका दम्पत्तिले दोस्रो सन्तान जन्माएमा कानुनी कारवाही भोग्नु पर्ने थियो। सन् 2001 मा एक सन्तान नीतिको उलङ्घन गरेर बढी सन्तान जन्माउने दम्पत्तिलाई आर्थिक जरिमाना तिर्नुपर्ने प्रावधान ल्याइयो। फलस्वरुप थुप्रै दम्पत्ति बारम्बार गर्भपतन गर्न र जन्मिएको दोस्रो सन्तानलाई सरकारी पन्जिकाधिकारीकहाँ दर्ता नगराइकन अबैध बच्चाको रुपमा लुकाएर राख्न बाध्य थिए। त्यस्ता बालबच्चाको शिक्षा,स्वास्थ्य विमा अधिकार लगायतबा बन्चित हुनुपर्दछ। चीनमा अबैध बच्चा हुन्छन् भन्ने कुराको पुष्टि सन् 2008 मा चीनको सिचुवान प्रान्तमा गएको भूकम्पपछि सरकारले जारीको सूचनाबाट पनि पुष्टि हुन्छ। त्यसबेला लाखौँ मान्छे मरेका थिए। एक सन्तान हुनेहरुले सन्तान गुमाउनु परेको पीडामा सरकारले सूचना जारी गर्दै भनेको थियो'यदि कुनै अभिभावकका बालबच्चाको भूकम्पमा मृत्यु भएको भएमा उनीहरुका दर्ता नभएका छोराछोरी(अबैध)छन् भने सरकारले दर्ता गरिदिन्छ। यसमा कुनै जरिमाना तिर्नुपर्दैन।'

सन् 2013 को अक्टोबरमा दम्पत्ति मध्ये कुनै एकजना एक्लो सन्तान भएमा दुई सन्तान जन्माउन पाउने नीति ल्याइयो। यस नीति अनुसार एक करोड दस लाख दम्पत्ति दोस्रो सन्तान जन्माउने मापदण्डमा परेका थिए तर जम्मा 15 लाख दम्पत्तिले मात्र दोस्रो सन्तान जन्माउन राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगमा आवेदन दिए। यसबाट के देखिन्छ भने चाहना भएर पनि कतिपय दम्पत्ति दोस्रो सन्तान जन्माउन तयार छैन। दम्पत्ति नै कामकाजी हुने र बच्चा जन्माउन तथा हुर्काउने व्ययभारका डरले दोस्रो सन्तान जन्माउने इच्छालाई कुल्चिएर एउटै सन्तानमा चित्त बुझाउनु चिनियाँका लागि बानी परिसकेको छ।

चीनमा दुई सन्तानको नीति

चीनमा आगामी वर्षमा दुई करोड शिशुहरु जन्मने राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगका उपमन्त्री वाङ फइआनले बताएका छन्। उनका अनुसार नयाँ नीतिले सन् 2050 सम्ममा 16 देखि 59 वर्ष उमेर समूहका कामकाजी 3 करोड व्यक्ति थपिनेछन्। चीन सरकारले मध्यमदेखि उच्च आर्थिक वृद्धिदर कायम राख्दै कूल गार्हस्थ उत्पादनलाई सन् 2010 को तुलनामा सन् 2020 मा डब्बल बनाउने नीतिसँगै दुई सन्तान जन्माउने अधिकारलाई खुला गरेको हो। यो अधिकार जोसुकैले पाए पनि बच्चा जन्माउनुभन्दा अगाडि स्थानीय प्रशासनमा गएर आवेदन दिनुपर्ने हुन्छ। यसो गर्दा नवजात शिशुका लागि गरिने तयारी र सामाजिक आर्थिक असरमा सरकार सावधान रहने हुनाले यस्तो प्रणालीको स्थापना गरिएको उपमन्त्री वाङले बताए।

चीन सरकारको नयाँ नीति पारित गरिसक्दा यसको पहिलो असर सेयर बजारमा परेको छ। पारित गरेको भोलिपल्टै बजार खुल्नासाथ 10 प्रतिशतले शेयरको सूचकाङ्क वृद्धि भएको थियो। बालबालिकाका खाद्य उत्पादक, स्वास्थ्य प्रदायक, विमा, बालबच्चा सम्बन्धी अन्य उत्पादक कम्पनीको शेयर बजारमा तत्काल वृद्धि भएकाले सूचकाङ्कमा प्रगति भएको हो।

नयाँ नीति अनुसार नौ करोड चिनियाँ दम्पत्ति लाभांवित हुनेछन्। तर आर्थिक बोझ र एक सन्तानको अभ्यासले गर्दा सन् 2016 देखि 18 सम्ममा 56 लाख नयाँ शिशुहरु जन्मने चीन सरकारले अनुमान गरेको छ। यी शिशुहरुको तीन वर्षको खर्च तीन खर्ब चिनियाँ युआन अर्थात् 47 अर्ब 30 करोड अमेरिकी डलर हुनेछ। यसको प्रत्यक्ष फाइदा बेबी केयर,बच्चाहरुको फर्मुला दूत र औषधि कम्पनीहरुले लिनेछन्।

किन ल्याइयो दुई सन्तानको नीति?

चीन सरकारले दुई सन्तानको नीति ल्याएपछि अधिकांश चिनियाँहरु खुशी छन्। चालीस वर्ष कटेका दम्पत्तिहरु चाहिँ दोस्रो सन्तान जन्माउन असमर्थ जनाउँदै आफ्ना छोराछोरीले यसको फाइदा लिने बताउँदै छन्। एक सन्तानको चिनियाँ नीतिले चीनको जनसंख्या त नियन्त्रण गरेको थियो तर यसले सामाजिक तथा मनोवैज्ञानिक रुपमा जनमानसमा व्याकप नकारात्मक असर पारेको थियो।

चीनमा दुई सन्तानको नीति

एउटा मात्र सन्तान हुने र हुर्किएपछि अवसरको खोजीमा आफूबाट टाढा भएपछि उमेर ढल्केका बाबुआमा एक्लै जीवन जिउन बाध्य थिए। एउटा सन्तानलाई बाबुआमा मावली तथा घरपटिका बाजेबोजु गरी छ जनाले लुछाचुँडी गर्दै हुर्काउँदा बढी माया पाएकाले सन्तान बिग्रिएर नराम्रो बाटोमा लागेका उदाहरुणहरु विभिन्न चिनियाँ समाजिक सन्जालमा उल्लेख गरिएका छन्। घरमा सहोदर खेल्ने दाजुभाइ अथवा दिदी बहिनी नभएकै कारणले चिनियाँ युवापुस्तामा कुनै कुरा पनि अरुलाई बाँड्नुपर्छ भन्ने भावना नभएको र स्वार्थी तथा असामाजिक भावनाको विकासले गर्दा त्यसको दुर्गामी असर राज्यले भोग्नु परेको अनुसन्धानका रिपोर्टहरुमा उल्लेख गरिएका छन्। त्यसमाथि कुनै प्राकृतिक प्रकोप अथवा दुर्घटनामा भएको एक सन्तान गुमाउनु पर्दा दम्पत्ति नै विक्षिप्त अवस्थाबाट गुज्रनु परेको थियो।

यो मनोवैज्ञानिक सामाजिक कारण बाहेक राज्यको उत्पादनमा पनि एक सन्तानको नीतिले असर देखाउन थालेको थियो। एकातिर सेवा निवृत्त बृद्धहरुको संख्या बढ्दै गएर राज्यमाथि बोझ थपिरहेको थियो भने अर्कातिर काम गर्ने उमेर समूहका मानिसको संख्या क्रमशः घट्दै गएको थियो। गत वर्ष सन् 2014 को अन्तसम्म 14 वर्ष पुगेका चिनियाँको जनसंख्या 22 करोड 50 लाख थियो। यो चिनियाँ जनसंख्याको 16.5 प्रतिशत हो। यो सन् 2011 को भन्दा केही कम हो। सन् 2011 मा भएको छैटौँ जनगणना अनुसार सोही उमेरका चिनियाँको संख्या 16.6 प्रतिशत रहेको थियो। सन् 2000 मा भएको पाँचौँ जनगणनामा भने यो संख्या 22.89 प्रतिशत थियो। विश्वमा 14 वर्षको उमेर समूहको मानिसको संख्या 15 देखि 18 प्रतिशतको बीचमा रह्यो भने त्यसलाई कम जन्मदर भएको समाज मानिन्छ।

सन् 2014 मा उत्पादनमुलक उमेर समूह 16 देखि 59 वर्षको जनसंख्या सून्य दसमलव 6 प्रतिशतले घटेको चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ। जस अनुसार 91 करोड 60 लाख व्यक्ति (66 प्रतिशत)यो समूहमा रहेका छन्। यो संख्या सन् 2010 मा 74. 5 प्रतिशत थियो। ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा काम गर्न आउने श्रमिकको संख्या चालु वर्ष सन् 2015 को सुरुको नौ महिना

चीनमा दुई सन्तानको नीति

मा स्थिर रहेको छ। सन् 2014 मा सोही अवधिमा 1.9 प्रतिशतले मात्र वृद्धि भएको थियो भने 2013 मा यो संख्या 2.4 ले वृद्धि भएको थियो। चीनका ठूला उद्योग धन्दाहरुमा 40 प्रतिशत कामदारहरु बाहिरी प्रान्त अथवा ग्रामीण क्षेत्रबाट आएका हुन्छन्।

यो तथ्याङ्कले चिनियाँ आर्थिक वृद्धिदरलाई पनि कालान्तरमा असर पार्ने देखिन्छ। एकातिर श्रम गर्ने उमेर समूहको जनसंख्या घट्दै गएको छ भने अर्कातिर राज्यले पालनपोषण गर्ने पर्ने वृद्धवृद्धाको संख्या बढ्दै गएर जनसंख्यालाई नै असन्तुलित बनाउने प्रक्षेपण गरिएकाले सरकारले दुई सन्तानको नीति ल्याएर यो समस्यालाई सम्बोधन गर्ने तदारुकता देखाएको छ।

चीनमा अहिले पनि झन्डै आठ करोड मानिस गरिबीको रेखामुनि रहेका छन्। यो संख्या जर्मनीको पूरै जनसंख्या बराबर हो। दुई सन्तानको नीतिले गरिबी बढाउने कुरामा सचेत रहँदै नवजात शिशुको पालनपोषण,शिक्षा र स्वास्थ्यका लागि सरकारले पूरा तयारी गरेको चिनियाँ कम्यिनिष्ट केन्द्रीय पार्टी स्कुल विभागका प्राध्यापक हान पाउचियाङले बताए।

चिनियाँ महिलाको प्रजनन दर 1.4 प्रतिशत रहेको छ। तर वृद्ध अवस्थामा पुगेको जनसंख्यालाई प्रतिस्थापन गर्नका लागि कम्मिमा पनि प्रजनन दर 2.1 प्रतिशत हुनुपर्नेछ। चिनियाँ विज्ञहरुका भनाइ अनुसार यो अवस्था कायम रहेमा चीनको जनसंख्या 36 प्रतिशतले खुम्चने छ।

सरकारको नयाँ नीतिसँगै अस्पतालमा कार्यरत प्रसूति विभागका कर्मचारी निकै उत्साही भएका समाचार प्रकाशनमा आएका छन्। उनीहरुले आफ्नो व्यस्ततासँगै तलब पनि वृद्धि हुने आशा व्यक्त गरेका छन्। निजी अस्पता र प्रसूति विज्ञ चिकित्सकको आम्दानी पनि उल्लेख्य रुपमा बढ्ने बताइएको छ।

चीनमा दुई सन्तानको नीति
साभारः कान्तिपुर दैनिक, 2072 मंसिर 17 गते (2015 डिसेम्बर 3) बिहीबार