चियै चिया चीनभरि, स्वाद भने थरी थरी
2016-08-07 17:01:16CRI
Share with:

चियै चिया चीनभरि, स्वाद भने थरी थरी

दोश्रो पटक चिनियाँ वैवाहिक समारोहमा भाग लिने क्रममा बेइजिङको छिमेकी प्रान्त हपेइ पुग्दा मैले वैवाहिक गतिविधिलाई खूब नियालेर हेरें। विवाहको क्रममा दुलाहा दुलहीले आ-आफ्ना सासु ससुरालाइ चिया खुवाउने पालो आयो। चिया पिलाएपछि सासु ससुरालाई अवदेखि बाबु-आमाको रुपमा सम्बोधन गर्ने चलन बस्छ। दुलाहाले आफ्नी सासुआमालाई सोधे- 'आमा चिया कस्तो छ'?

सासुआमाले जवाफ फर्काइन् – 'एकदमै गुलियो छ बाबु''।

मलाई भने एकदमै हाँसो उठ्यो।

किनभने त्यति तीतो चियालाई किन र कसरी मीठो भनियो? वैवाहिक समारोह बाहेक चिनियाँ जीवनमा चिया सँस्कृतिको वैभवशाली रोचक इतिहास छ। त्यो इतिहाससँग जोडिएका अनेकन किस्साका बीचमा चिया कसरी पत्ता लाग्यो? चियाको मातृभूमि चीनबाट चियाको विरूवा संसारभरि कसरी फैलियो? चिया सत्कारले कसरी मानव सभ्यतामा गहन छाप राख्दै गयो। किन चिनियाँ चियापान सँस्कारलाई विश्वभरि रोचक दृष्टिले हेरिन्छ आदि कुराहरू जोडिएर आउँछन्।

चियै चिया चीनभरि, स्वाद भने थरी थरी

लगभग प्रायःजसो चिनियाँको हातमा तातोपानी राख्न सकिने बोत्तल वा थर्मसजस्ता साना साना भाँडाकुटी बोकिएका हुन्छन्। त्यसभित्र तातो पानी हुन्छ र झारपातहरु तैरिरहेका देखिन्छ जुन मानसिक तनाव मेट्ने तथा शारीरिक थकान घटाउने वनस्पति हो। यो चिया सँस्कृतिको बीजारोपण गर्ने श्रेय प्राचीन चिनियाँ शासकमध्येका एक यान ति सम्राटलाई जान्छ। उनले आफ्नो स्वास्थ्योपचारका लागि भन्दै अनेकौं जडिबुटी चाख्दै गर्दा एकदिन विषालु जडीबुटी पनि निले तर संयोगवश चियाको रुखबाट झरेको पानीको थोपाले उनको ज्यान बचायो। तत्पश्चात उनले सोही वनस्पतिलाई पानीमा हालेर औषधीका रुपमा प्रयोग गर्न थाले। त्यसताका दक्षिणी चौ वंशमा यसलाई धार्मिक कार्यमा चढाउन थालियो। मानिसहरु वसन्त र शरद ऋतुमा ताजा चियाको पातको साग खाने गर्थे। बौद्ध धर्मको फैलावटसँगै उत्तरी र दक्षिणी तीनै राजवंशमा भिक्षुहरुमाथि चा चन् ध्यानका लागि पुनर्ताजगी दिने चीजका रुपमा चियालाई लिइयो।

चौपछि थाङ्ग राजवंशमा चियालाई धनीमानीले पिउने सँस्कार विकसित भएपछि चिया पसलहरु निकै आकर्षक बन्न पुगे। लेखक लु युले लेखेको टी सेज अफ चाइनाले चियाको महत्व बढाउनलाई धेरै ठूलो योगदान गरेको छ। यो सानो किताबले चियाका विविध पक्षमाथि उज्यालो छरेको छ;जस्तो कि चिया वनस्पतिको विकास, चियासँग जोडिएका अन्य अवयव र चिया प्रशोधनको क्षमता, चिया चाख्ने तरीका, चिनियाँ चियाको इतिहास, चियाका बारेमा विभिन्न क्षेत्रबाट संकलित ऐतिहासिक कथनहरु आदि आदि।

त्यस्तै सुङ्ग वंशकालमा चियाको महत्व घनीभूत रुपमा विकसित भयो। चियामा रमाउने अनेकन उपाय तथा क्षमताहरु आविष्कृत भए।

मिङ्ग वंशकालमा चिया प्रशोधनको विकास भयो जुन हालसम्म कायम छ।

छिङ्ग वंशकालमा चियाको लोककलाले पसलको आकार लियो जहाँ पुग्नु मनोरञ्जनस्थल पुगेजस्तै हुन गयो। अहिले पनि सछ्वान प्रान्तको छङ्गतुमा यो सँस्कृति देख्न सकिन्छ।

थाङ्ग वंशकालमा जापानका भिक्षुहरुले चीनको चच्याङ्गबाट चियाको बिउ लगेर जापानमा फैलाए।

पछि दक्षिणी सुङ्ग वंशमा चन मास्टरले चिया प्रशोधन तथा भाँडाकुँडाहरु चीनबाट जापान लगिए। यही राजकालमा अरबी व्यापारीहरुले फुच्यान प्रान्तको छुआनचौबाट चियालाई अरबतिर लगे।

मिङ्ग वंशकालमा दक्षिण पूर्वी एशिया र दक्षिण अफ्रिकी मुलुकहरुमा बेचिन थाल्यो।

सन् 1610 मा डच व्यापारीहरुबाट मकाउ हुँदै पानी हजाजको मार्ग भएर चिनियाँ चिया युरोपमा फैलियो। तत्पश्चात चिया अन्तर्राष्ट्रिय पेय पदार्थका रुपमा परिचित भयो। राणाकालमा नेपालमा पनि चीनबाटै चियाको बीउ पुगेको हो।

चियै चिया चीनभरि, स्वाद भने थरी थरी

चिनियाँ चियाका प्रकार

हरियो चिया चिनियाँहरुको राष्ट्रिय पेय पदार्थ जस्तै हो यसमा साँस्कृतिक भावना निहित हुनुका अलावा आध्यात्मिक र आरोग्यको सम्बन्ध पनि जोडिएको हुन्छ। संरचना र प्रशोधनका हिसावले चिनियाँ चियालाई फरक फरक रुपमा बाँडिएको छ।

ग्रीन टी

- हरियो चिया सबैभन्दा पुरानो र प्रचलित चिया हो। हज्जारों वर्षदेखि चिनियाँहरू यस प्रकारको चियाँ सँस्कृतिमा लीन छन्। हरियो चियाको पातलाई सुकाएर बनाइने चिया हो। हरियो चिया बनाउँदा हल्का फ्राइ गरेर, रोस्ट गरेर, घाममा सुकाएर वा उसिनेर बनाउने गरिन्छ। चीनको च्याङ् सी, आन्हुई प्रान्त र च च्याङ्ग प्रान्त यो चियाको मूल उद्गम हो। चीनको हाङ्ग चौमा पश्चिम पोखरी अर्थात वेष्ट लेकमा ड्रागन वेल भन्ने ठाउँ छ जुन चियाको रंग, सुगन्ध, मिठास, स्वाद आदिमा नामी छ।

रातो

- वा कालो- दोश्रो ठूलो बजारको रूपमा रातो वा कालो चियालाई लिइन्छ। त्यान होङ्ग र यी सिङ्ग यस चियाका चर्चित ब्राण्ड हुन्।

वूलोङ्ग वा ऊलोङ्ग

– यो चियालाई नीलो चिया भनेर पनि चिनिन्छ। अद्वितिय विशेषता भएको मानिने ऊलोङ्ग चिया हरियो र रातो चियाको भावार्थ मिलाएर बन्ने भएकाले कतिपयले यसको उपनाम रातो धारको हरियो पाते चिया भनेर पनि दिन्छन्। सौन्दर्य वृद्धि र तौल घटाउनका लागि यसको महिमा जोडिएको छ। वेनशान बाउ चोङ्ग र तोङ्ग तिङ्ग ऊलोङ्ग चियाका मुख्य उदाहरणीय ब्रान्ड हुन्।

सेतो चिया

- सेतो चिया भन्ने नाम सुन्ने वित्तिकै अधिकांशका मनमा दूध हालिएको चिया भन्ने लाग्न सक्छ। तर यो अरू चिया भन्दा फिका रंगको हुन्छ। स्वादमा मिहिन, रंगमा सूक्ष्म हुनु नै यस चियाको विशेषता हो। यो चीनको फूचियान प्रान्तको रैथाने चिया हो।

पहेंलो चिया

– ओसिलो प्राकृतिक चियाको पातबाट यो चिया बन्दछ। विशिष्ट सुगन्ध भएपनि पहेंलो चियाको स्वाद हरियो र सेतो चियाको जस्तै जस्तै हुन्छ। उच्चकोटीको चियाको रूपमा यसको बखान हुने भएकाले पनि यो चिया पहिले पहिले सम्राटहरूको सेवामा चढाइन्थ्यो। पहेंलो रंगलाई चिनियाँ राजखानदानी रंग मानिन्थ्यो। च्युनशान यिनचन चीनको हुनान प्रान्तमा उत्पादित चिया हो जुन पहेंलो चियाको लागि नामुद क्षेत्र पनि हो।

पुनः प्रशोधित

– यस प्रकारको चिया माथिका थुप्रै चियाहरूलाई पुनः प्रशोधन गरी बनाइएको हुन्छ। सुगन्धित चिया, वषधीय तथा स्वास्थ्यवर्धक चिया, फलफूलको चिया आदि आदि।

सुगन्धित चिया- यो चियाको उत्पादन फूलका पातहरू हालेर सुगन्धमय पारिएको हुन्छ। जस्तै सयपत्री, गोदावरी, मखमली, गुलावको फूल आदिआदि अनगिन्ती चियाका स्वरूप चीनमा देख्न सकिन्छ।

चियै चिया चीनभरि, स्वाद भने थरी थरी

चियाको अविष्कारक मुलुक चीन चिया खपतमा निकै अग्रणी त हुँदै हो। चिनियाँ चियाको प्रसिद्धि अहिले विज्ञान प्रविधिको फाइदा उठाउँदै संसारभरि फैलिँदै गएको छ। चिनियाँ उपभोक्ता आफैंमा परिमाणका हिसाबले बढी छन् भने उनीहरुको सँसर्गका कारण संसारका अरु मानिसमा पनि चिनियाँ चियाप्रतिको मोह बढ्दै गएको छ। यस्तो अवस्थामा नेपालले पनि चिया उत्पादन र निर्यातका लागि राम्रो सम्पर्क बढाउन सक्छ। एशियाकै एउटा गरीब देशका चियाको केही हिस्साले मात्रै चिनियाँ बजारमा स्थान पायो भने अर्थतन्त्र उत्थानमा ठूलै योगदान गर्न सक्छ। परिश्रमभन्दा कम मूल्यमा भारतका दार्जिलिङ्ग लगायत केही तेश्रो मुलुकमा सस्तोमा बेच्ने र महंगोमा प्रशोधित चिया किनिने विडम्बनाले नेपाली परिश्रम खेर गैरहेको छ। चिया सत्कारको एउटा पर्याय मात्रै हैन अर्जनको एउटा दीर्घकालीन माध्यम पनि हो। चीनले उपहारस्वरूप दिएको चियाको विरूवाले सन् 1863 देखि इलामका डाँडामा जरो गाडेदेखि हालसम्म अस्तित्वमै छ। जंगबहादुर राणाका पालादेखि सुरू भएको चिया 1950 को प्रजातन्त्रको उदयबाट लगानीको बाटो, नीजि लगानीमा चिया रोपण हुँदै नेपाल चिया विकास कर्पोरेसन, अनि 1982 मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई मुख्य चिया क्षेत्र घोषणा गरिँदासम्मको स्थितिमा प्रचूर फाइदा उठाउने गरी परिणति भने हासिल हुन बाँकी छ। अहिले उत्पादनसँगै बजारको मौका खोज्नु पनि अत्यावश्यक हुँदै गएको परिप्रेक्षमा चियाले मुलुकलाई आत्मनिर्भरताको बाटोमा टेवा पुर्‍याउन सक्छ।

 

यस सम्बन्धि सम्पादित अंश नेपालखबर अनलाईनको लिंकमा पनि हेर्नुहोस्।

http://nepalkhabar.com/en/2016/magazine/1488/