प्रेम दिवसमाथि चिनियाँको चुनौति
2016-11-11 14:47:46CRI
Share with:

प्रेम दिवसमाथि चिनियाँको चुनौति

अंग्रेजी महिना फेब्रुअरी 14 तारिखलाई विश्वव्यापी रुपमा प्रेमदिवसका रुपमा मनाइन्छ। सो दिन प्रेमीप्रमिकाले आपसमा दिने भ्यालेन्टाइन कार्ड गुलावको फूल र उपहारहरुको कूल मूल्य करोडौँ पुग्छ। सयौँ वर्षदेखि विश्वव्यापी रुपमा मनाउँदै आएको प्रेमदिवसलाई चिनियाँहरुले चुनौति खडा गरेका छन्। प्रेम दिवसको विरुद्धमा प्रेमीप्रेमिका नहुने चिनियाँ युवाले सुरु गरेको एकल दिवस अर्थात् 'सिङ्गल डे' नै आज आएर संसारको बसैभन्दा धेरै व्यापार हुने लोकप्रिय दिनका रुपमा गणना हुन थालेको छ। हरेक वर्षको नोभेम्बर 11 तारिखलाई चीनमा एकल दिवसका रुपमा मनाइन्छ।

सन् 1993 मा नाचिङमा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले एकल दिवस मनाउन सुरु गरेका हुन्। लैङ्गिक असमानताले चिनियाँ युवाले जोडी नपाउने र जोडी पाइहाले पनि बिबाह परम्परा अत्यन्त महङ्गो भएकाले थुप्रै चिनियाँ युवाहरु एकल जीवन बिताउन बाध्य भएका छन्। यसरी एकल जीवन बिताउन बाध्य हुने युवाहरुले फेब्रुअरी 14 मा मनाइने प्रेम दिवसका विरुद्धमा नोभेम्बर 11 लाई एकल दिवस मनाउन थालेका हुन्। एकल दिवसमा नोभेम्बर 11 नै छनोट हुनुको कारण चाहिँ यो दिन एघार महिना एघार तारिख भएर चारवटा एक अर्थात् वर्षभरिमा सबैभन्दा धेरै एकको संख्या पर्ने दिन हो। त्यसकारण म एक्लै छु भनेर मनाइने दिवस हो एकल दिवस अर्थात् सिङ्गल डे।

प्रेम दिवसमाथि चिनियाँको चुनौति

प्रेम दिवस मनाउनभन्दा एकल दिवस मनाउन सजिलो छ। प्रेम दिवस मनाउनका लागि जोडी अनिवार्य छ। प्रेम दिवस मनाउन पार्क, रेष्टुरेन्ट, चलचित्रहल, बजार, आफूलाई मन परेको स्थल अथवा कुनै एकान्त ठाउँ चाहिन्छ। तर, एकल दिवसमा जोडी भएका र नभएकाहरु 24 घन्टा मोबाइल फोन र कम्प्युटरमा एक्लाएक्लै ब्यस्त हुन्छन्। रातभर सुत्दैनन्। अफिस, घर, रेष्टुरेन्ट, सडक जहाँसुकै उनीहरु अनलाइनमै झुम्मिरहेका हुन्छन्। अनलाइनमा आफूले चाहेको सामान खोज्ने र अर्डर गर्ने काममा दिन रात बिताउँछन्। चिनियाँहरु नोभेम्बर 10 तारिख बेलुकादेखि नोभेम्बर 11 तारिखको मध्यरातिसम्म कम्प्युटर र मोबाइल फोनमै जोतिएका हुन्छन् ।

सन् 1978 देखि चीनले लिएको एक सन्तानको नीतिले चीनमा लैङ्गिक असमानता रहेको छ। चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय 18 पुरुष रहेका छन्। अहिले चीनमा 30 वर्षभन्दा कम उमेरमा महिलाभन्दा पुरुषको संख्या 2 करोड पचास लाखले बढी छ। सन् 2020 सम्ममा यो समूहमा 3 करोड 50 लाख पुरुष बढी हुने र सन् 2030 सम्ममा एक चौथाइ बढी हुने प्रक्षेपण गरिएको छ। यही समस्यालाई मध्यनजर राख्दै चीनले चालु वर्ष सन् 2016 देखि एक सन्तानको नीति हटाएर दुई सन्तानको नीति लिएको छ।

एक अर्ब 37 करोड जनसंख्या भएको चीनमा अहिले बिहे गर्ने उमेरका 2 करोडभन्दा बढी युवाले जोडी पाउँदैनन्। जोडी पाउने युवा पनि बिहेमा हुने खर्चका कारण बिहे नगरिकन एकल बस्न थालेका छन्। चीनका दश वटा ठूला शहरमा विवाह गर्ने खर्चका बारेमा विभिन्न विश्वविद्यालयहरुले इन्टरनेटमा सर्वेक्ष गर्दा पैचिङ, शाङहाई, शनचन लगायत चीनका पहिलो पंक्तिका शहरहरुमा विवाहको खर्च 20 लाख युआनभन्दा बढी पुगेको छभने हाङ चौ, क्वाङ चौ, नानचिङ आदि शहरमा विवाहको खर्च 10 लाख युआन बराबर छ। केही वर्ष अगाडि शाङहाईमा संचारमाध्यमले गरेको एक सर्वेक्षणमा सहभागी असी प्रतिशत महिलाहरुले शाङहाईमा विवाह गर्न दुलहाको आम्दानी प्रतिमहिना पाँच हजार युआन हुनुपर्ने र केटासँग घर र गाडी अनिवार्य हुनुपर्ने बिचार व्यक्त गरेका थिए । यस अवस्थामा लाखौँ चिनियाँ युवाहरु बिहे गर्नबाट बन्चित भएका छन्।

प्रेम दिवसमाथि चिनियाँको चुनौति

सन् 1993 बाट सुरु भएको एकल दिवस सीमित चिनियाँहरु युवापुस्तामा अल्झिएको थियो। सन् 2009 मा अलिबाबाले यो दिवसमा विशेष छुट दिन थालेपछि करोडौँ चिनियाँहरु यो दिवसमा रमाउन थालेका छन्। यद्यपि अलिबाबाले एकल दिवसमा दिने छुट सबैमा लागू हुने गरेको छ। अलिबाबाले सन् 2009 को नोभेम्बर 11 तारिख पहिलोपटक एकल दिवसका अवसरमा विशेष छुटमा खरिद गर्ने सुविधा उपलब्ध गराएको थियो। यस सुविधा अन्तर्गत सन् 2012 मा 19 अर्ब चिनियाँ युआनको सामान बिक्री भएको थियो। त्यसैगरी सन् 2013 मा 35 अर्ब, 2014 मा 57 अर्ब र 2015 मा 91 अर्ब युयानको सामान बिक्री भएको थियो। आगामी नोभेम्बर 11 तारिखमा अलिबाबाले एक खर्ब युआनभन्दा बढीको सामान बिक्री गर्ने लक्ष्य राखेको छ। अलिबाबाले आफ्ना भगिनी संस्था थाउपाउ र टिमलबाट नोभेम्बर एघारमा विशेष छुट दिने गरेको छ।

अलिबाबाले सन् 2012 डिसेम्बर 28 मा एकल दिवसलाई चीनमा दर्ता गराएको हो। एकल दिवसमाथि कानुनी रुपमै एकाधिकार जमाएको अलिबाबाले यो दिवसका अवसरमा विशेष छुट भनेर अन्य कुनै पनि अनलाइनले विज्ञापन गरेमा मुद्दा चलाउने चेतावनी सन् 2014 को अक्टोबरमा दिइसकेको थियो। तसर्थ एकल दिवसमा अनलाइनबाट हुने कारोबारमा अलिबाबाको बर्चश्व रहेको छ।

अलिबाबा सन् 1998 मा चीनको चच्याङ प्रान्तको हाङचौमा स्थापना भएको हो। हाङचौ शहरमा मा युन नामका एक जना चिनियाँ युवाले स्थापना गरेको अलिबाबाले सन् 2014 सेप्टेम्बर 19 तारिख विहान साढे नौ बजेदेखि न्युयोर्क स्टक एक्सचेन्जमा स्टक बिक्री गर्न थालेको हो। सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको कारोबार बन्द हुँदा अलिबाबाको कुल मूल्य करीब दुई खर्ब चालीस अर्ब अमेरिकी डलर पुगेको थियो। अहिले अलिबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ। 52 वर्षीय मा युन पश्चिमी राष्ट्रमा ज्याक मा नामले चिनिन्छन्। उनको सम्पत्त 2 खर्ब 5 अर्ब चिनियाँ युआन छ। उनी चीनमा दोस्रो धनी रहेको चाइना डेलीले लेखेको छ।

प्रेम दिवसमाथि चिनियाँको चुनौति

अलिबाबाले सुरु गरेको एकल दिवको छुटले चीनमा संस्कृतिको रुपमा विकास गरेको छ। कयौँ चिनियाँहरु सामान किन्नका लागि यही दिन पर्खेर बसेका हुन्छन्। सन् 2014 नोभेम्बर 11 मा 55 सेकेण्डभित्रै दस करोड चिनियाँ युआनको कारोबार अनलाइन माफत भएको थियो। सोही दिन बिक्री भएका महिलाका भित्री पोशाकलाई एउटा थुप्रो बनाउँदा त्यसको उचाइ सगरमाथाको भन्दा तीनगुना बढी हुने लोकपि्रय चिनियाँ अनलाइन सेवा थाउपाउले जनाएको छ। एकै दिनमा एउटै वेभसाइटबाट यतिको बिक्री हुने र लाखौँ मानिसले एकैचोटी वेभसाइटबाट सामान अर्डर गर्ने हुनाले कतिपय अवस्थामा वेभसाइटले काम गर्न नसकेर निश्क्रिय हुने अथवा अर्डर लिन नसकेर फेरि प्रयास गर्नुहोला भन्ने सन्देश बारम्बार आउने भएकाले चिनियाँहरु रातभर इन्टरनेटमा सामान अर्डर गर्न व्यस्त हुन्छन्। यो दिन 80 प्रतिशतसम्म छुट हुने भएकाले यस्तो भएको हो। गत वर्ष सन् 2015 को नोभेम्बर 11 को एकल दिवसमा 91 अर्ब चिनियाँ युआनको सामान बिक्री गरेको अलिबाबाले सामान डेलिभरी गर्न पनि विशेष तयारी गरेको थियो। अनलाइन मार्फत अर्डर गरिएका सामानलाई डेलिभरी गर्न चीनमा 17 लाख व्यक्ति खटाइएको थियो भने 4 लाख सवारी सामानबाट सामान ढुवानी भएको थियो। पाँच हजारवटा वायर हाउस प्रयोग गर्दै 2 सयवट हवाइजहाज सामान आपूर्तिमा प्रयोग भएको पिपुल्स डेलीले लेखेको छ। सन् 2015 को नोभेम्बर 11 को अफरमा प्रतिमिनेट सामान अर्डर गर्नेको संख्या एक लाख बीसहजार थियो। इन्टरनेट चलाउनेहरुमध्ये 73 प्रतिशतले मोबाइल फोनबाट अर्डर गरेका थिए। सुरुको एक घन्टामा 2 करोड 70 लाखवटा सामान अर्डर भएको थियो।

चीनबाट सुरु भएको एकल दिवसमा गरिने अनलाइन सपिङको छुटलाई अलिबाबाले यही वर्षदेखि चीनको मुख्यभूमि बाहेक हङकङ र मकाउमा विस्तार गर्दैछ। इन्टरनेटले विश्वलाई एउटै गाउँमा परिणत गरेजस्तै संसारमा लोकप्रिय बनेको अनलाइन सपिङ कल्चरमाफत अलिबाबाले एकल दिवसलाई भविष्यमा चीनबाट युरोप र अमेरिकातिर निर्यात नगर्ला भन्न सकिन्न। त्यतिबेला त संसारले भन्ने छ 'भ्यालेन्टाइन डेमाथि चाइनिज सिङ्गल डेको च्यालेन्ज!'

साभारः कान्तिपुर दैनिक। 2073 कात्तिक 26 गते (2016 नोभेम्बर 11) शुक्रबार।