चिनियाँ चङ्गा
2017-05-16 16:06:02CRI
Share with:

चिनियाँ चङ्गा

चङ्गा दुई हजार वर्षभन्दा अगाडि चीनमा आविष्कार भएको हो। चङ्गासँग चिनियाँ संस्कृति जोडिएको छ। पहिले पहिले चीनमा काठबाट चङ्गा बनाइन्थ्यो। पछि चीनमै कागजको आविस्कार भएपछि कागजबाट चङ्गा बनाउन थालियो। हिजोआज कागज, कपडा, प्लाष्टिक, रेशम, रबर लगायतका बस्तुबाट चङ्गा बनाइन्छ।

चीनको सान्तोङ प्रान्तमा पर्ने वइफाङ सहरलाई संसारकै चङ्गाको राजधानी भनिन्छ। त्यो सहरमा अहिले पनि वृहत रुपमा विभिन्न प्रकारका चङ्गा प्रतियोगिता र महोत्सवहरुको आयोजना हुने गर्छ। वेइफाङ बाहेक बेइजिङ, सिआन लगायतका पुराना सहरहरुमा पनि चङ्गा महोत्सव हुने गर्छ। बेइजिङमा बैशाखको पहिलो सातामा हरेक वर्ष बेइजिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सव हुने गर्छ।

इसापूर्वको समयदेखि नै चीनमा चङ्गाको विकास भए पनि युरोपतिर भने तेर्‍हौँ शताब्दीमा मात्र चङ्गा पुगेको हो। प्रशिद्ध व्यापारी मार्कोपोलोले चीनबाट चङ्गालाई युरोपमा लगेका हुन्। सुरु सुरुमा चङ्गालाई सैनिक प्रयोजन र सूचना आदानप्रदानका रुपमा प्रयोग गरिन्थ्यो। पछि चङ्गाबाटै राइट ब्रदर्सले हवाइजहाजको आविस्कार गरेका हुन्। चङ्गा जापानमा सौर्‍हौँ शताब्दीमा र मलेशियामा सत्रौँ शताब्दीमा पुगेको हो भने अमेरिकामा अठारौँ शताब्दीमा मात्र चङ्गा पुगेको इतिहास छ। चङ्गा महोत्सव अफगानिस्तान, भारत र पाकिस्तानमा पनि आयोजना हुने गर्छ। तर, चीनमा जस्तो फराकिलो र पुरानो संस्कृति बोकेको चङ्गाको चलन संसारमा अन्यन्त्र छैन।

चिनियाँ चङ्गा

चिनियाँ चङ्गाको पुरानो इतिहास र संस्कृति बोकेको भए पनि सांस्कृतिक क्रान्तिको समय सन् १९६६ देखि १९७६ सम्म का चङ्गा महोत्सवमाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९८० देखि चीनमा सुधार र खुलापनको लागूसँगै चङ्गा संस्कृति ब्युझिएको हो। अहिले हरेकजसो पार्क तथा पर्यटकीय स्थलमा चङ्गा उडाउँदै गरेका दृश्यहरु देखिन्छ।

अप्रिल पहिलो साता अर्थात् मध्य चैत्रमा चीनमा छिङमिङचे अर्थात् पूर्खा दिवस मनाइन्छ। पुर्खा दिवस भनेको आफ्ना अघिल्ला पुस्ताका दिवङ्गत भइसकेका अग्रजलाई सम्झने दिवस हो। यो दिवससँग पनि चङ्गाको सम्बन्ध रहेको छ। पूर्वजको नाममा चङ्गा उडाउँदा स्वर्गको ढोका खुल्छ र पूर्वजहरुकहाँ आफ्नो सन्देश पुग्छ भन्ने विश्वास चिनियाँहरुमा रहेको छ। त्यही भएर बेइजिङको केन्द्र भागमा रहेको स्वर्गको पूजा गर्ने मन्दिर 'टेम्पल अफ हेभन'को प्राङ्गणमा चङ्गा उडाउन पाउनुलाई चिनियाँ संस्कृतिमा एक विशेष अवसर मानिन्छ। तसर्थ कतिपय ट्राभल्स एजेन्सीले आफ्नो कार्यक्रमको प्याकेजमा 'टेम्पल अफ हेभन'मा चङ्गा उडाउने कार्यक्रम पनि समावेश गरेका हुन्छन्।

छिङमिङचेपछिको तीन सातासम्म चीनका विभिन्न क्षेत्रमा चङ्गा महोत्सव मनाइन्छ। महोत्सवमा विभिन्न खाले प्रतियोगिताको आयोजना गरिएको हुन्छ। बेइजिङका विभिन्न पार्क र रङ्गशालामा चङ्गा महोत्सव हुने गर्छ। महोत्सवमा चीनमा अध्ययनरत तथा कार्यरत विदेशीहरुलाई चङ्गा बनाउन र उडाउन पनि सिकाइन्छ। चङ्गाको आकार, प्रकार, उडान क्षमता, कलात्मक डिजाइन, उड्दा दिने मनोरन्जन आदि क्षेत्रबाट मूल्याङ्कन गरिन्छ। प्रतियोगितामा विशेष गरी जापान, थाइल्याण्ड, भियतनाम, मङ्गोलिया, कोरिया, सिङ्गापुर, अफ्रिका लगायत युरोप, अष्ट्रेलिया र अमेरिकाबाट सहभागी भएका हुन्छन्।

महोत्सवमा विभिन्न आकार र प्रकारका चङ्गाहरु हुन्छन्। चील, गिद्ध, हाँस जस्ता चराचुरुङ्गी अङ्कित चङ्गाहरु आकाशमा उड्दा साँच्चै चराहरु नै उडेको आभाष हुन्छ। चराचुरुङ्गीमात्र हैन पाण्डा, हात्ती, घोडा, माछा अङ्कित चङ्गाको उडानले वातावरणलाई अत्यन्त रमाइलो र मनोरन्जक बनाउँछ। त्यसैगरी टेलिभिजनमा आउने कार्टुन, पैचिङ ओपेराका मुखुण्डो अङ्कित चङ्गाले महोत्सवलाई अझै घनिभूत बनाउँछ। चिनियाँ नेताको माओत्सेतुङ तथा विश्व प्रशिद्ध नेताहरुको चित्र अङ्कित चङ्गा र विभिन्न मानव आकृतिका चङ्गा आकाशमा उडेको देख्दा निकै रमाइलो महशुस हुन्छ। ड्रागन अङ्कित विशाल चङ्गाहरु पनि आकाशमा उडाइन्छ। त्यस्ता चङ्गाहरु एकजना मान्छेले बोक्नै नसक्ने वजनका हुन्छन् भन्दा पत्याउनै गार्‍हो पर्छ। चीनमा पाइने विभिन्न चरा, पुतली, किराफट्याङ्ग्रा लगायत परम्परागत चिनियाँ चित्रहरु चङ्गामा अङ्कित गर्दा मनोरन्जनसँगै जैविक विविधता र वातावरण संरक्षणको सन्देश पनि प्रवाह भइरहेको हुन्छ।

कतिपय चङ्गामा जडान गरिएका वाद्यवादनले चङ्गा उड्दै जाँदा हावाको चापले गर्दा सङ्गीत पनि प्रवाह हुने गर्छ। साँझमा उडाइने चङ्गामा बत्ती जडान गरिएको हुन्छ। यस्ता चङ्गा आकाशमा उड्दाको दृश्य साँच्चै आकर्षक हुन्छ।

साभारः कान्तिपुर कोसेली 2074 बैशाख 9 (2017 अप्रिल 22)शनिबार।