कोरियाली प्रायद्वीपमा चाँदीको घेरा
2018-01-30 14:55:23CRI
Share with:

कोरियाली प्रायद्वीपमा चाँदीको घेराउत्तर कोरिया र अमेरिकाबीचको द्वन्द्वबाट युद्ध सिर्जना हुनसक्ने सन्त्रासको कल्पना गरिँदै आएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई ध्वस्त बनाउने परमाणु बमको स्विच आफ्नो टेबुलमा भएको बताए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उस्तै चेतावनी उत्तर कोरियालाई दिए। वास्तविक द्वन्द्व उत्तर कोरिया र अमेरिकाबीचको होइन। उत्तर कोरियाको सीमा अमेरिकासँग जोडिँदैन र त्यस्तो महत्वपूर्ण व्यापार पनि छैन।

कोरियाली प्रायद्वीपमा सन् १९५० देखि १९५३ सम्म भीषण युद्ध भएको थियो। सो युद्धमा एकापटि्ट चीन र रुस लगायतका साम्यवादी मुलुक थिए भने अर्कातिर अमेरिकाको नेतृत्वमा पश्चिमा पूँजीवादी मुलुकहरु थिए। सोही युद्धमा आधुनिक चीनका संस्थापक नेता माओ चतुङका छोराको पनि मृत्यु भएको थियो। अन्तत तीन वर्षको युद्धपछि कोरिया विभाजित भयो। साम्यवादी मुलुक चीन र रुसले पक्ष लिएको भूभाग उत्तर कोरिया भयो भने अमेरिकाले पक्ष लिएको भूभाग दक्षिण कोरिया भयो। यो ऐतिहासिक पृष्ठभूमिसँगै अहिलेको द्वन्द्वलाई पनि सिंहावलोकन गर्न आवश्यक छ। तसर्थ विवाद उत्तर कोरिया र दक्षिण कोरिया अथवा उत्तर कोरिया र अमेरिकाबीचको नभएर चीन र अमेरिकाबीचको हो भन्ने तथ्यलाई पनि नजर अन्दाज गर्न मिल्दैन।

उत्तर कोरियाले परमाणु बम बनाउन थालेपछि अमेरिकाले निरन्तर रुपमा उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाउन थाल्यो। अमेरिकाले लगाएको नाकाबन्दीलाई सहयोग पुग्ने गरी संयुक्त राष्ट्रसंघले पनि सन् २००६ देखि उत्तर कोरियाका विरुद्धमा विभिन्न निर्णय गर्न थाल्यो। संयुक्त राष्ट्रसंघको कदमसँगै अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीलाई जति कडाइ गरेपनि उत्तर कोरियालाई खासै फरक परेन। किनभने उत्तर कोरियाको उत्तरी सीमाको अधिकांश भाग चीनसँग जोडिन्छ र थोरै भाग रुससँग जोडिन्छ। यही कारण अमेरिकाले कोरियाप्रायद्वीपलाई मोहोरा बनाएर चीनमाथि इबी साँध्ने प्रयत्न गरिरहेको छ।

कोरियाली प्रायद्वीपमा चाँदीको घेरा

पछिल्लो समय दक्षिण कोरियामा अमेरिकाले स्थापना गरेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली 'थाड'ले गर्दा पनि चीन र अमेरिकाबीचको सम्बन्धमा पनि दरार पैदा भएको छ। चीनले थाडलाई तुरुन्तै हटाउन अमेरिका र दक्षिण कोरियामाथि बारम्बार ताकिता गर्दै आएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमै थाड अघोषित रुपमा चीनका विरुद्ध स्थापना गरिएको र यसले चीनको सुरक्षामाथि गम्भीर क्षति पुर्‍याउने भन्दै थाड हटाउने कुरामा चीनले कुनै सम्झौता गर्न नसक्ने बताउँदै आएको छ। अमेरिकाले भने चीनमाथि उत्तर कोरियालाई विभिन्न ढङ्गबाट आर्थिक सहयोग गरेको आरोप लगाउँदै आएको छ। उत्तर कोरियाले सम्पूर्ण आयात निर्यात चीनमा निर्भर भएकाले पनि अमेरिकाले उक्त आरोप लगाउने ठाउँ पाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर गर्दै भने 'चीनले चाहने हो भने उत्तर कोरियाको समस्या तुरुन्तै समाधान हुन सक्छ।'

तीब्र रुपमा बढिरहेको कोरियाली प्रायद्वीपको विवादमा चाँदीको घेरा देखिन थालेको छ। आगामी फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियाको पोङच्याङमा हिउँदे ओलम्पिक खेलकूदको आयोजना हुँदैछ। यो ओलम्पिकमा उत्तर कोरियाले पनि भाग लिने बताउँदै पहिलो चरणको उच्चस्तरीय वार्ता सम्पन्न भएपछि कोरियाली प्रायद्वीपमा शान्तिको आँकुरा देखिन थालेको हो। दुवै कोरियाबीचमा वार्ता हुने कुरा सार्वजनिक भएपछि जनवरी ६ तारिख त्यस्तो वार्ताको दृढ समर्थन गर्दै वार्ताले ओलम्पिक खेलकुद बाहेक अरु विषयमा पनि छलफल हुने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरे। त्यतिमात्र होइन उनले उत्तर कोरियासँग ससर्त वार्ता गर्ने कुराको खुलासा पनि गरे।

दक्षिण कोरिया र उत्तर कोरियाबीच जनवरी ९ तारिख बेलुकी पान्मुनजोनमा उच्चस्तरीय वार्ता सम्पन्न भयो। सो बैठकमा उत्तर कोरियाले पोङच्याङ हिउँदे ओलम्पिकका लागि प्रतिनिधि मण्डल पठाउने र दुई कोरियाबीचमा सैनिक लगायत अन्य क्षेत्रमा पनि वार्ता गर्ने विषयमा सहमति भयो। वार्तापछि दुई पक्षले संयुक्त वक्तव्य प्रकाशित गर्दै उत्तर कोरिया पोङच्याङ हिउँदे ओलम्पिकमा सहभागी हुने र दुवै पक्षले सैन्य विभागको वार्ताको आयोजना गर्ने विषयमा सहमति हासिल गरेको उल्लेख छ। दुवै पक्षले विभिन्न क्षेत्रको भेटवार्ता गर्दै वार्ता र परामर्शमाफत समस्याको समाधान गर्ने कुरामा पनि जोड दिए।

वर्षौँदेखि कडा दुस्मनीमा रहेका दुई कोरियाबीचको वार्तालाई अन्तर्राष्ट्रिय समाजले स्वागत गर्दै कोरियाली प्रायद्वीपको तनाव शिथिल हुने र संभावित युद्ध टर्ने कुरामा आशा व्यक्त गर्‍यो। दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ ग्योनले पत्रकार सम्मेलनमा दुई पक्षबीच सदिच्छापूर्ण र मैत्रीपूर्ण वातावरणमा वार्ता भएको बताए।

कोरियाली प्रायद्वीपमा चाँदीको घेरा

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य सार्वनिक गर्दै उक्त बैठकबाट प्राप्त सकारात्मक प्रगतिको स्वागत गरे। उत्तर कोरिया र दक्षिण कोरियाबीचको यस्तो सम्पर्कले गलत बुझाइबाट हुने जोखिमलाई शान्त पार्दै तनावपूर्ण क्षेत्रीय परिस्थिति शिथिल पार्नका लागि महत्वपूर्ण भावार्थ सिर्जना हुने महासचिव एन्टोनियोले व्यक्त गरेका छन्। त्यसैगरी अमेरिकी राज्य परिषदका प्रवक्ता हेथर न्युअर्टले पनि एक वक्तव्य सार्वजनिक गर्दै दुई कोरियाबीचको उच्चस्तरीय बैठकले प्योङच्याङ हिउँदे ओलम्पिकको सुरक्षा प्रत्याभूति गर्नुका साथै उक्त वार्तालाई अमेरिकाले पनि स्वागत गरेको उल्लेख गरे।

चीनका राष्ट्रपति सी चिन फिङले यही जनवरी एघार तारिख दक्षिण कोरियाका राष्ट्रपति मुन जायइनसँग टेलिफोन वार्ता गरे। त्यो टेलिफोनवार्ता भन्दा केही दिन अघि मात्र दक्षिण कोरियाका राष्ट्रपति मुनले चीनको भ्रमण गरेका थिए। चीन मात्र त्यस्तो मुलुक हो जसको दुवै कोरियासँग सुमधुर सम्बन्ध रहेको छ। त्यसकारण कोरिया प्रायद्वीपको समस्यामा चीनको मध्यस्तता अपरिहार्य रहेको छ। कोरियाका राष्ट्रपति मुनले निर्वाचनताका दक्षिण कोरियाबाट थाड हटाउनु पर्ने मुद्दा उठाएका थिए। टेलिफोन वार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुनले चिनियाँ राष्ट्रपति सीलाई आफूले उत्तर कोरियासँग गरेको वार्ता र प्राप्त उपलब्धिको जानकारी गराएका थिए।

यही जनवरी १६ तारिख मंगलबार चीनका राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचमा टेलिफोन वार्ता भयो। सो वार्तामा सीले कोरियाली प्रायद्वीप समस्याको उचित समाधानतफ अमेरिका लगायत अन्तर्राष्ट्रिय समूदायसँगै सहयोग गर्न चीन इच्छुक रहेको बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीप समस्यामा चीनको महत्वपूर्ण भूमिकालाई अमेरिकाले महत्व दिएको भन्दै यो विषयमा अमेरिकाले चीनसँग निरन्तर सम्पर्क तथा समन्वय गर्ने बताएको चिनियाँ परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दियो।

कोरियाली प्रायद्वीपमा चाँदीको घेरा

उत्तर कोरियाको विषयलाई लिएर चीनको कडा आलोचना गर्दै आएका ट्रम्पले नरम भएर कोरियाली प्रायद्वीपमा चीनको भूमिकाको महत्व दर्साउनुको मुख्य कारण अन्तर्राष्ट्रिय परिस्थितिमा अमेरिकाको शक्ति कमजोर हुनु हो। वर्तमान अवस्थामा अमेरिकाले जतिसुकै जोडबल गरे पनि चीनको सहयोग बिना उसले उत्तर कोरियामाथि तत्काल कारवाही गर्न सक्ने अवस्था छैन। कोरिया प्रायद्वीपको स्थिरता र शान्तिपूर्ण वातावरणका लागि चीनले अमेरिकासामु बारम्बार राख्दै आएको थाड प्रणाली हटाउने कुरा यतिखेर अमेरिकालाई निल्नु न ओकल्नु बनेको छ। थाडकै बिरोध गरेर दक्षिण कोरियामा किम राष्ट्रपतिमा निर्वाचित भएका छन्। अहिले पनि दक्षिण कोरियामा ठूलो समुदाय थाडको विरुद्धमा छ।

अमेरिकालाई झड्का दिएको अर्को विषय रुसको भूमिका पनि हो। यही जनवरी १५ तारिख रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा कोरियाली प्रायद्वीप लगायतका विविध महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा रुसले चीनसँग घनिष्ट सहयोग कायम राख्दै सहकार्य गर्ने बताएका थिए। रुसको यस्तो भनाइ सार्वजनिक भएपछि चीनले लिएको अडानले अन्तर्राष्ट्रिय समुदायमा समर्थन बढाउँदै गएको र अमेरिकाको आलोचना बढ्न थालेपछि अमेरिकालाई कुटनीतिक समस्या उत्पन्न भएको छ।

कोरिया प्रायद्वीपमा मात्र नभएर अफगानिस्तान, सिरिया, इरान, मध्यपूर्वलगायतका मुलुकमा चीनले अमेरिकी युद्ध नीतिको आलोचना गर्दै आएको छ। क्षेत्रीय शान्ति र स्थिरतासँगै द्वन्द्वग्रस्त क्षेत्रमा हतियार र सैनिक परिचालन गरेर होइन राजनीतिक वार्ताबाट समाधान खोज्नुपर्ने चीनको अडान रहँदै आएको छ। तसर्थ अहिलेको कोरियाली प्रायद्वीपको शान्ति प्रकृया पनि चिनियाँ कुटनीतिकै मियोमा घुमेको देखिन्छ।

साभारः कान्तिपुर दैनिक। २०७४ माघ ११ गते (२०१८ जनवरी २५) बिहीबार।