नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता
2018-02-14 10:12:26CRI
Share with:

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

'नेवारी समुदायमा कतिपय कुरा अरूलाई भन्न नहुने मान्यता छ। त्यसैले पनि कतिपय प्रचलन त पाको पुस्तासँगै लोप भएको छ। ध्वनि पात्र अहिले चिनियाँमाझ लोकप्रिय वैकल्पिक उपचार पद्धति बन्दै गएको छ', नेपालको गैरभौतिक साँस्कृतिक सम्पदा चीनमा प्रचारप्रसार गरिरहेका काठमाडौंका रैथाने शरण तुलाधर। उनले बेइजिङ केन्द्रित अरनिको आर्टस् लिमिटेड मार्फत् नेपाली सँस्कृति अन्तर्गत फैलाइरहेको पछिल्लो साँस्कृतिक उदाहरण सुनाए।

विभिन्न नेपाली सम्पदाहरू, कला सँस्कृति चिनियाँ भूमिमा फैलाउने जिम्मा लिएका छन्, तुलाधरले। यसै सिलसिलामा उनले ध्वनिपात्रको विधा फेला पारे। उनको यो उपचार कलाले चिनियाँमाझ पनि नेपालबारे ध्यानाकर्षण गराएको छ। नेपालमा लुप्तप्रायः सँस्कृतिको पुनरूत्थानको कोशिस गरिरहेका तुलाधरले भने, 'तिब्बतमा विकसित हुँदै गएको भनिन्छ तर यसको पहिलो जन्मघर नेपाल, अझ विशेष गरी नेवारी समुदाय हुनुपर्छ। नेवारीमा यसलाई ध्वनिपात्र भनिन्छ।'