रेल कुटनीति
2018-05-25 14:26:29CRI
Share with:

रेल कुटनीति

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैशाख ४ देखि ८ सम्म चीनको भ्रमण गरे। परराष्ट्रमन्त्री भएपछिको पहिलो चीन भ्रमणले चिनियाँमा पनि उनको छवि नेपालीमा जस्तै शालिन र भद्र व्यक्तिका रुपमा रहन सफल भयो। चीन भ्रमण अवधिमा सबै कार्यक्रममा लिखित मन्तव्य राखेर उनले चिनियाँ नेताकै शैली अपनाए। उनले राखेका सबै मन्तव्य चिनियाँ दस्तावेजमा संरक्षित रहन गएका छन्। कुटनीतिक ट्र्याकमा यस्ता कुराहरु भविष्यका लागि महत्वपूर्ण मानिन्छन्। ट्र्याकमा मात्र गुड्ने रेल जस्तै ट्र्याकमा मात्र बोल्ने मन्त्री ज्ञवालीको चीन चीन भ्रमण रेल वरिपरी नै घुमिरह्यो।

चीन भ्रमणमा आएकै दिन बैशाख ४ गते मंगलबार साँझ कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए 'नेपालका लागि चिनियाँ रेल यातायातको साधन मात्र होइन। यो नेपालको विकासलार्इ नयाँ चरणमा पुर्‍याउने एउटा असाध्य महत्वपूर्ण परियोजना पनि हो। यसको संभाव्यता अध्ययनका केही प्रारम्भिक कामहरु अगाडि बढेका छन्। अब चाँडै यससम्बन्धी गहिरो अध्ययनहरु सुरु हुनेछन्। नेपालले यसलार्इ उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउँदैछ। हाम्रो प्रयासमा चीनले पनि सहयोग गर्नेछ। चिनियाँ रेल नेपालको विकासमा गेमचेन्जर हो।' उनले बैशाख ५ गते बुधबार बिहान चीनका उपराष्ट्रपति वाङ छिसानसँग भेट गरे। त्यो भेटमा पनि उनले चिनियाँ रेललार्इ नेपाल लाने परियोजनाको कुरा गरे। उपराष्ट्रपति वाङसँगको कुरामा उनले मूलत: नेपालले चीनसँग भोग्दै आएको व्यापार घाटा, नेपालमा चिनियाँ लगानी र बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआर्इको कुरासँगै नेपाली जनता चिनियाँ रेल पर्खिएर बसेको जानकारी दिए।

रेल कुटनीति

उपराष्ट्रपति वाङ छिसानसँगको भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेट गरे। मन्त्री ज्ञवालीले चिनियाँ समकक्षीसँग निकै लामो समय छलफल गरे। दिवाभोजसँगै भएको कुराकानीले एकाध घण्टा नै बितायो। चिनियाँ परराष्ट्रमन्त्री वाङसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्ने क्रममा प्रदीप ज्ञवालीले नेपालबाट रेल चढेर चीन आउने इच्छा व्यक्त गरे। लिखित मन्तव्यमा व्यक्त गरिएको ज्ञवालीको यो भाव निकै सोच र समझदारीमा व्यक्त गरिएको थियो। दुर्इ वर्ष अगाडि चीन भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग गरेको सम्झौतामा पहिलोपटक चिनियाँ रेललार्इ नेपाल पुर्‍याउने उल्लेख भएको हो। त्यसपछि नेपाली समाज चिनियाँ रेलप्रति निकै आशावादी देखिन्छ। सम्झौताको कार्यान्वयनमा त्यतिधेरै उपलब्धि भइनसकेको भए पनि चीनले यो विषयमा निकै चासो राखेको छ र प्रारम्भिक अध्ययन पनि गरिसकेको छ। तत्कालीन अवस्थामा नेपालमा म्यादी सरकार हुने र राजनीतिक मुद्दाकै प्रधानता भएकाले नेपालमा चिनियाँ रेलको हल्ला बढी भयो भने काम सून्य। सन् २००६ मा चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा रेल पुगेको हो। त्यो समयमा ल्हासामा महावाणिज्यदूत लीलामणि पौडेल थिए। ल्हासा पुगेको रेललार्इ नेपाल पुर्‍याउन सकिन्छ भन्ने कुरामा त्यतिबेलादेखि नै पौडेल लोभिएका हुन्। उनले त्यसपछि नेपाली नेताहरुलार्इ चिनियाँ नेतासँगको कुराकानीमा रेल र तेलको कुरा उठाउन सुझाव दिँदै आएका छन्। अहिले उनै पौडेल चीनका लागि राजदूत छन्। यसर्थ परराष्ट्रमन्त्री ज्ञवालीको लिखित मन्तव्यमा नेपालबाट रेल चढेर चीन आउने इच्छा उल्लेख हुनुले महत्वपूर्ण अर्थ राखेको स्पष्ट छ।

दुर्इ परराष्ट्रमन्त्रीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ पत्रकारले रेलकै प्रसङ्ग उठाइ दिइन्। चिनियाँ केन्द्रीय टेलिभिजनकी पत्रकारले चिनियाँ परराष्ट्रमन्त्री वाङलार्इ प्रश्न गरेकी थिइन् 'भरखरै नेपालका प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणको रुपमा भारत भ्रमण गरेका छन्। उनको भ्रमणको समयमा नेपाल र भारतबीचमा कृषि, रेलमार्ग र जलमार्ग लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ। यस बारेमा चीनको के प्रतिक्रिया छ ?'

रेल कुटनीति

यो प्रश्नमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको जवाफले नै ज्ञवालीको चीन भ्रमणलार्इ अन्तर्राष्ट्रि क्षेत्रमा चर्चित बनायो। चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले दिएको जवाफलार्इ उपस्थित अन्तर्राष्ट्रिय संचारजगतका पत्रकारले तुरुन्तै आफ्नो मिडियामा स्थान दिए। यो प्रश्नभित्र गत वर्ष चीन र भारतबीच देखिएको दोक्लम विवाद र बीआरआर्इ प्रवेशमा भारतको आनाकानी जोडिएको थियो। चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआर्इमा अहिलेसम्म भारत प्रवेश गरेको छैन।

प्रश्नको उत्तर वाङ यीले तीनवटा बुँदामा दिए। पहिलो बुँदामा उनले भने 'चीन, नेपाल र भारत स्वाभाविक रुपमा असल छिमेकी साथी र साझेदार हुन्। नेपालमा राजनीतिक संक्रमण सफलतापूर्वक सम्पन्न भएकोमा नेपालका दुवै छिमेकी मुलुक चीन र भारतले स्वाभाविक रुपमा यसलार्इ सहयोग गर्छन्। हामी नेपालमा वृहत स्थिरता र समृद्धि होस् भन्ने चाहन्छौँ।'

उनले दोस्रो बुँदामा भने 'नेपालको विकासमा सहयोग गर्न चीन र भारतको साझा समझदारी हुनैपर्छ। दुर्इ ठूला आर्थिक मुलुक चीन र भारतले आफ्नो फाइदा छिमेकीलार्इ पनि बाँड्नुपर्छ। नेपालले भौगोलिक अवसरबाट आफ्नो विकासमा चीन र भारत दुवै मुलुकबाट फाइदा उठाउन सक्छ। मलार्इ लाग्छ नेपालको विकासमा चीन र भारत दुवै मुलुकले सहयोग गर्नैपर्छ र न्यायोचित चाहना पनि यही हो।'

वाङले जवाफमा दिएको तेस्रो बुँदा थियो 'चीन र नेपाल दीर्घकालीन बहुआयामिक हिमालय पार अन्तरसंजालको दृष्टिकोणमा सहमत भएका छन्। चीन र नेपालले बीआरआर्इमा हस्ताक्षर गरिसकेका छन्। बीआरआर्इभित्र बन्दरगाह, रेलमार्ग, सडकमार्ग, हवाइमार्ग, उर्जा, विद्युत र संचार संजालको विकास हुनेछ। हामीलार्इ विश्वास छ यस प्रकारको संजाल अझ राम्ररी विकास हुन्छ, यसले चीन, नेपाल र भारत आर्थिक कोरिडरको पनि निर्माण गर्नेछ। यसले तीनवटै मुलुकको विकास र समृद्धिमा योगदान पुर्याउनेछ।'

रेल कुटनीति

चिनियाँ परराष्ट्रमन्त्री वाङको जवाफबाट के संकेत मिल्छ भने भारतले नेपालमा रेलवे निर्माण गर्ने भाषण गरे पनि अथवा सम्झौता नै गरे पनि चीनले नेपालसम्म रेलवे निर्माण गर्ने नै छ। भारतले काठमाडौँसम्मै रेलमार्ग निर्माण गरे पनि चीनले कुनै डाह गर्दैन बरु त्यो रेलमार्गसम्म चिनियाँ रेलमार्ग लगेर जोड्न चीनलार्इ कुनै हिचकिचावट छैन। ल्हासाबाट सिगाच्छे पुगेको रेललार्इ केरुङ हुँदै काठमाडौँ पुर्याउने र त्यहाँबाट पोखरा र लुम्बिनी पुर्याउने प्रारम्भिक उद्देश्य चीनले राखेको छ। त्यसपछि चीनले यो रेलमार्गलार्इ भारतसम्म पुर्याउनेछ। ढिलोचाँडो भारत पनि बीआरआर्इमा प्रवेश गरेपछि यो कार्यले अझ गति लिनेछ। त्यसमाथि चीनले प्रस्ताव गरको चीन, नेपाल र भातर त्रिदेशीय आर्थिक कोरिडरले चिनियाँ रेलमार्गलार्इ नै प्राथमिकतामा राख्नेछ। मन्त्री ज्ञवालीको रेल चढेर चीन आउने इच्छालार्इ मन्त्री वाङले अझै सशक्त बनाइदिए। भ्रमणको तेस्रो दिन बिहीबार चाइना रिफम फोरमले आयोजना गरेको चीन नेपाल सम्बन्ध र बीआरआर्इ सेमिनारमा प्रमुख अतिथि रहेका मन्त्री ज्ञवालीले नेपाल र चीनबीच सहकार्यका पाँच क्षेत्र औँल्याए। ती पाँचवटा क्षेत्रमा पनि उनले नेपाल र चीनबीचमा यातायात सन्जालको विकासलार्इ पहिलो प्राथमिकतामा राखे। उनले सडकमार्ग, रेलमार्ग र हवाइमार्गमाफत दुर्इ देशलार्इ अरु घनिष्ट बनाउनु पर्ने उल्लेख गरे। सेमिनारमा उपस्थित चिनियाँ थिङ्कट्याङ्कहरुले पनि बीआरआर्इको फ्रेमवर्कमा रहेर नेपालमा चिनियाँ रेल पुर्याउनु पर्ने उल्लेख गरे।

भ्रमणको अन्तिम दिन बैशाख ७ गते शुक्रबार मन्त्री ज्ञवालीले सिचुवान विश्वविद्यालयमा आयोजित सभालार्इ सम्बोधन गर्दै बीआरआर्इ मार्फत नेपालले चीनसँगको समृद्ध संस्कृति र व्यापारलार्इ पुनर्जागर गर्ने उल्लेख गरे। चीनसँग मिलेर वृहत शान्ति समृद्धि र सदभाव विकास गर्दा नेपालले गौरववोध गरेको भन्दै नेपाल चीनसँग क्रस बोर्डर सडक, रेल, तेल र सूचना राजमार्गसँगै उर्जा, हवाइ यातायात र ट्रासमिसन लाइनको विकास गर्ने कुरालार्इ मन्त्री ज्ञवालीले जोड दिए।

परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणको मुख्य उद्देश्य निर्वाचनपछिको नेपालको अवस्थाको जानकारी गराउँदै उच्चस्तरीय भ्रमण आदानप्रदानलार्इ नियमित गराउनु रहेको थियो। यसका साथै नेपालको आर्थिक तथा सामाजिक विकासमा चिनियाँ सदभाव र सहयोग प्राप्त गर्ने र चीनसँग नेपालले गरेका सम्झौता समझदारीलार्इ कार्यान्वयन गर्नु उनको भ्रमणमा स्वाभाविक र नियमित विषय थिए। सामान्यत: नेपालका सबै परराष्ट्रमन्त्रीको चीन भ्रमणको उद्देश्य यी र यस्तै हुने गर्दछन्।

ज्ञवालीको भ्रमण चाहिँ रेलमय हुन गयो। ज्ञवालीको भ्रमण रेलबाट सुरु भएर रेलमै टुङ्गियो। उनले गरेका अनौपचारिक र औपचारिक कुराकानीदेखि लिखित मन्तव्य जहाँसुकै चिनियाँ रेललार्इ नेपाल भित्र्याउने कुरा प्राथमिकताका साथ समेटिए। रेलको मियोमा घुमेको परराष्ट्रमन्त्रीको भ्रमणले भविष्यमा रेलकुटनीतिको उपमा नपाउला भन्न सकिन्न।

साभारः कान्तिपुरदैनिक। २०७५ बैशाख १३ गते (२०१८ अप्रिल २६ तारिख) बिहीबार।