पार्टी एकीकरणलार्इ चिनियाँ ताली
2018-07-19 14:34:47CRI
Share with:

पार्टी एकीकरणलार्इ चिनियाँ ताली

नेपालका कम्युनिष्ट पार्टीहरुलार्इ एक हुनका लागि चीनले सधैँ सुझाव दिँदै आएको थियो। यो कुरालार्इ चिनियाँहरु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएर सद्भाव रहेको बताउँछन्। कुनै पनि देशको विकासका लागि राजनीतिक स्थिरता प्रस्थान विन्दू रहेको कुरालार्इ चीनले नेपालको सन्दर्भमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा आफ्नो पेन्टेन्टकै रुपमा उठाउँदै आएको छ। सन् १९१२ अगाडि चीन राजतन्त्रात्मक मुलुक थियो। सन् यात्सेनले १९१२ मा गणतन्त्र ल्याएपछि चीन १९४९ सम्म राजनीतिक अस्थिरताबाट जर्जर बनेको थियो। छिनछिनमा हुने सरकार परिवर्तन र बाह्य हस्तक्षेपबाट चीनको अर्थतन्त्र अत्यन्त नाजुक बनेको थियो। सन् १९४२ ताका भोकमरीले मात्र चीनमा लाखौँ मान्छे मरेका थिए। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको जनयुद्ध र त्यही समयमा जापानले चीनमाथि घनघोर आक्रमण गरेको थियो। युद्धबाट थप लाखौँ चिनियाँले ज्यान गुमाए।

सन् १९४९ मा जनगणतन्त्र घोषणा भएपछि बल्ल चीनमा राजनीतिक स्थायित्व स्थापित भयो। युद्ध, भोकमरी, गरिबी, वैदेशिक हस्तक्षेप, अत्यधिक जनसंख्या आदि कारणबाट अत्यन्त नाजुक बनेको चीनलार्इ उठाएर विश्वको दोस्रो आर्थिक शक्ति बनाउन चीनले जेजस्तो अनुभव हासिल गरेको छ त्यसको पछाडि राजनीतिक स्थायित्व नै प्रमुख कारकतत्व रहेको छ। यसकारण चीनले आफ्ना छिमेकी मुलुक लगायत सबै देशलार्इ राजनीतिक स्थिरता नभइकन देशले काँचुली फेर्न सक्दैन भन्ने सुझाव दिँदै आएको छ।

चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेन। नेपाली जनताले जेजस्तो राजनीतिक परिपार्टी चाहन्छन् त्यसलार्इ चीनले स्वीकार गर्दै आयो। पंचायती व्यवस्थाभरि पंचायतलार्इ समर्थन गर्दै आएको चीनले २०४७ सालपछिको बहुदलीय व्यवस्थालार्इ पनि हार्दिकतापूर्वक स्वागत गर्‍यो। पंचायत ढलेपछि नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था त लागू भयो तर कुनै पनि सरकारले पूर्णकालीन रुपमा काम गर्न सकेनन्। सरकार परिवर्तन भइरहँदा नेपालको आर्थिक तथा सामाजिक विकास ओझेलमा पर्न थाल्यो। यस्तो अवस्थामा आशातीत रुपमा चिनियाँ लगानी र सहयोग पनि नेपालमा प्रभावकारी बन्न सकेन। २०६३ पछि नेपालमा गणतन्त्र आयो। त्यसलार्इ पनि चीनले समर्थन नै गर्‍यो। गणतन्त्र आउनुभन्दा अगाडि तत्कालीन राजाले नेतृत्व कब्जा गर्दा पनि चीनले नेपालको आन्तरिक मामिला भनेर चुप लागेको थियो। नेपालमा नयाँ संविधान जारी भएपछि केपी ओलीको नेतृत्वमा तत्कालीन एमाले र माओवादीको संयुक्त सरकार बन्दा चीन निकै उत्साही बनेको थियो। तर त्यो गठबन्धन लामो समय टिक्न सकेन। नयाँ संविधान जारी भएपछि नेपालको राजनीतिक संक्रमणकाल समाप्त हुने र आर्थिक विकासमा नेपाल लाग्ने आशा चीनले बारम्बार व्यक्त गर्दै आएको छ।

नेपालमा नयाँ संविधान जारीसँगै भारतले लगाएको नाकाबन्दीले चीनलार्इ कुँड्यायो। त्यही समयमा केपी ओलीको चीन भ्रमणमा भएको व्यापार तथा पारवहन सम्झौताले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ कोशेढुङ्गा सिर्जना गर्‍यो। त्यहीबेलादेखि चीनले नेपालका मुख्य कम्युनिष्ट पार्टी एमाले र माओवादीबीचमा पार्टी एकता हुनुपर्छ भन्ने सद्भावसहित सुझाव दिँदै आएको थियो। चीन भ्रमणको समयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बैशाख ६ गते चाइना रिफम फोरमले आयोजना गरेको चीन नेपाल सम्बन्ध र बीआरआर्इ सेमिनारमा प्रमुख अतिथि रहेका थिए। सो कार्यक्रममा सहभागी भएका छङ सिचोङले ठूला कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नभएको बताएका थिए। उनले भनेका थिए 'पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदैछ भन्ने मैले सुनेको छु। यो राजनीतिक विजयलार्इ दुर्इ पार्टीले खेर फाल्ने छैनन् र अब नेपाल आर्थिक विकासमा अगाडि बढ्नेछ भन्ने आशा गर्दछु।' छङङ काठमाडौँस्थित चिनियाँ दूताबासमा सैनिक सहचरीमा सात वर्ष बसेका व्यक्ति हुन्।

गत बैशाख १० गते नेपालका लागि चिनियाँ राजदूत यु होङ माधव नेपाललार्इ भेट्न कोटेश्वरस्थित नेपाल निवासमा गइन्। सो भेटमा उनले दुर्इ कम्युनिस्ट पार्टीबीचको एकीकरण प्रकृयामा चासो राख्दै चाँडै एकता हुनेमा विश्वास व्यक्त गरिन्।

दुर्इ पार्टीको एकता र बहुमतको सरकार बनिसकेपछि स्वाभाविक रुपमा चिनियाँ लगानीकर्ताहरु खुशी भएको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था 'सीआर्इर्सीआर्इआर'का एसिया तथा ओसियानिक विभागका निर्देशक प्रोफेसर हु सिसेङ बताउँछन्। उनी भन्छन् 'चिनियाँ लगानीकर्ता र चीन सरकारको प्राथमिकता र रुचि नै त्यस्ता ठाउँमा पर्छ जहाँ राजनीतिक स्थिरता हुनेगर्छ।' आफ्नो लगानीलार्इ सुरक्षित बनाउन र छिटै प्रतिफल लिनका लागि पनि चिनियाँका लागि राजनीतिक स्थिरता पहिलो प्राथमिकतामा पर्ने गरेको हो। त्यसमाथि चीनको स्वायत्त प्रदेश तिब्बतको सुरक्षा र विकासका लागि पनि यो क्षेत्रसँग सिमा जोडिएका देशमा राजनीतिक स्थिरता होस् भन्ने चिनियाँ चाहना रहेको प्रोफेसर हु बताउँछन्।

संविधानत: राजनीतिक संक्रमण सकिएर अब आर्थिक विकासमा जाने समयमा दुर्इ पार्टीबीच एकता हुनु सबैभन्दा ठूलो अवसर रहेको उनी बताउँछन्। 'पाँच वर्षमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीले जनताको विश्वास अझै जित्नेछ र नेपालको संविधानमा उल्लेख भए अनुसारको समाजवादी नेपालको यात्रालार्इ यसले समात्नेछ' प्रोफेसर हु नेकपाको भविष्य उज्जल देख्छन्। नेकपाका सामु अवसर मात्र नभएर चुनौति पनि रहेको बताउँदै प्रोफेसर हु भन्छन् 'सबैभन्दा ठूलो चुनौति एकताकै हो। पार्टीभित्रको आन्तरिक शक्ति संघर्षले पार्टीको निर्णय प्रकृयामा प्रभाव पार्न सक्छ र सरकारलार्इ निकम्बा बनाउन सक्छ।'

चाइना रिफर्म फोरमका कार्यकारी निर्देशक प्रोफेसर मा च्याली दुर्इ पार्टीबीचको एकीकरण नेपालको राजनीतिक वृत्तमा ऐतिहासिक रहेको भन्दै यसमा चीनले खुशीसाथ बधार्इ दिएको बताउँछन्। निर्वाचनताका नै नेपालमा राजनीतिक स्थिरता चाहिन्छ भन्ने कुरालार्इ जनताले अनुमोदन गरिदिएको उनी औँल्याउँछन्। चीनले सधैँ नै नेपालसँगको सम्बन्धलार्इ उच्च प्राथमिकता दिएको र यो एकीकरणले चीन नेपाल सम्बन्ध र चिनियाँ कम्युनिष्ट पार्टी तथा नवनिर्मित नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्धमा पनि नयाँ उचाइ थप्ने उनको धारणा छ। पार्टी एकीकरणपछि चीनले सक्रियतापूर्वक नेपाललार्इ सहयोग गर्ने र लगानी पनि बढाउने संकेत गर्दै नेकपाको नेतृत्वमा रहेको सरकारसँग सहकार्य गर्न चीन उत्साही भएको उनले प्रष्ट पारे। उनले भने 'नेपालको विकासमा चीन विगतमाभन्दा अझै ठूलो योगदान दिन चाहन्छ।' एकतापछि नेकपासँग नेपाली जनतालार्इ नेतृत्वमा लिएर विकासको मार्गमा अगाडि बढ्ने अवसर प्राप्त भएको र यो ऐतिहासिक जिम्मेवारीसँगै नेपालको भविष्य बनाउने सुनौलो मौका पनि पाएको उनी बताउँछन्। पार्टीलार्इ अझै विकास गरेर वृहत बनाउने र नेपालका अन्य पार्टीबाट आउने अवरोध छिचोल्नु पर्ने यसका चुनौति रहेको प्रोफेसर मा बताउँछन्। बाहिरी मुलुकबाट आउने दवावलार्इ झेल्दै इमानदारपूर्वक आन्तरिक एकता, पार्टीको उच्च आदर्श छाप निर्माण, गतिशील आर्थिक वृद्धि, सामाजिक स्थिरता र छिमेकी देशहरुसँगको सम्बन्धलार्इ ध्यान दिएमा नेकपाले अभूतपूर्व सफलता प्राप्त गर्ने उनको ठहर छ।

नेपाललार्इ समृद्धि र विकासको बाटोमा लाने जिम्मा अब नेकपाको काँधमा आएको सुन हपिङ बताउँछन्। सुन हपिङ सन् २००३ देखि २००७ सम्म नेपालका लागि चिनियाँ राजदूत थिए। दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बनेको नेकपाको उदयले नेपालमा राजनीतिक स्थिरता आएको र त्यसले संस्थागत प्रणाली स्थापना गर्ने सुनको बिचार छ। अहिलेको समसामयिक विश्वमा विकास नै सबैभन्दा ठूलो ट्रेण्डका रुपमा आएकाले नेपालले अब विकासको लहर समाउन सक्ने उनी ठोकुवा गर्दछन्।

नेपालका दुर्इ पार्टीबीचको एकताको खबर सुनेर धेरै चिनियाँहरु उत्साही भएको र यसमा ठूलो रुचि राख्ने गरेको आफूले पाएको बताउँदै सुन भन्छन् 'चनियाँ लगानीकर्ताहरुका लागि राजनीतिक वातावरण पहिलेभन्दा धेरै राम्रो भएको ठान्न थालेका छन् र उनीहरु नेपालमा लगानी गर्न थप इच्छुक छन्।'

चिनियाँ बुद्धिजीवीका अनुसार अन्य साना कम्युनिष्ट पार्टीहरु पनि नेकपामा एकीकरण हुनुपर्छ। यदि एउटै उद्देश्य र लक्ष्य लिएर अगाडि बढ्ने हो भने फरक फरक पार्टी बनाउनुकै कुनै अर्थ नरहेको बताउँदै उनीहरु भन्छन् 'अरु साना कम्युनिष्ट पार्टीहरु पनि ठूलो नेकपामा एकीकरण हुनुपर्छ। चीन त्यो देख्न चाहन्छ।'

साभारः कान्तिपुर दैनिक। २०७५ जेठ १६ (२०१८ मे ३०) बुधबार।