सीपीसी हेडक्वाटरमा ओली
2018-07-24 10:53:53CRI
Share with:

सीपीसी हेडक्वाटरमा ओली

चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते बुधबार चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएर 'समृद्धिमा राजनीतिक दलको भूमिका' शीर्षकमा मुख्य सम्बोधन गरे। नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओली सीपीसीको कार्यालय जाँदा नेपालमा छिटफुट रुपमा उनको आलोचना पनि भएको छ। एउटा राजनीतिक दलका नेताले अर्को देशको राजनीतिक दलको मुख्यालय जानु सामान्य भए पनि प्रधानमन्त्रीका हैसियतमा अर्को देशको राजनीतिक दलको कार्यालयको अवलोकन र राजनीतिक दलले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्ने चलन सामान्यत: व्यावहारिक नहुन सक्छ।

चीनमा सन् १९४९ देखि चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता चलाउँदै आएको छ। बेइजिङको केन्द्रमा पर्ने थिआन आनमनस्क्वायरको उत्तर पश्चिमको भागलार्इ चोङनानहार्इ भनिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको हेडर्वाटर यही चोङनानहार्इमा छ। यहाँ सीपीसीको हेडक्वाटर मात्र होइन चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय पनि यहीँ छ। चीनमा सरकारभन्दा सीपीसी शक्तिशाली हुने भएकाले सीपीसीको हेडक्वाटर नै समस्त चीनलार्इ संचालन गर्ने प्रशासनिक कार्यालय मानिन्छ। यहाँबाट सबै मन्त्रालय र सरकारी प्रशासनिक निकायको नियन्त्रण हुने गर्दछ।

नेपालका प्रधानमन्त्रीले औपचारिक रुपमा चीनको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलार्इ भेट गर्ने नियमित र सामान्य कुरा जस्तै हो। चीनका सर्वोच्च यी पददेखि दोस्रो तहमा रहने उपराष्ट्रपति र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षसँग पनि भेट गर्ने चलन छ। त्यसबाहेक प्रधानमन्त्रीले कुनै विश्वविद्यालयमा गएर प्रवचन दिने चलन छ। यसभन्दा अगाडि प्रधानमन्त्रीको रुपमा चीन भ्रमणमा आएका ओलीले रनमिन विश्वविद्यालयमा गएर प्रवचन दिएका थिए। तर, यसपटक उनले कुनै विश्वविद्यालयमा गएर मन्तव्य दिएनन्। यसको साटो सीपीसीको केन्द्रीय पार्टी स्कुल विभागमा गएर प्रवचन दिए।

सीपीसीको पार्टी स्कुल विभाग चीनका नीति निर्माता उत्पादन गर्ने थलो हो। यहाँ चीनका ख्यातिप्राप्त वैज्ञानिक र प्रोफेसरहरु रहेका छन्। उनीहरुले चीनको आर्थिक, राजनीतिक, कुटनीतिक, शैक्षिक, सांस्कृतिक तथा समाजिक संरचनाको आर्किटेक तयार गर्दछन्। पार्टी स्कुलका विज्ञहरु चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीका सल्लाहकार सो सरह मानिन्छन्। यस्तो महत्वपूर्ण थलोमा गएर प्रधानमन्त्री ओलीले प्रवचन दिए त्यो पनि चीन नेपाल सम्बन्ध वा त्यस्तै कुनै नियमित विषयमा नभएर समृद्धिमा राजनीतिक दलको भूमिका शीर्षकमा।

सीपीसी हेडक्वाटरमा ओली

आखिर किन गए प्रधानमन्त्री ओली सीपीसीको हेड क्वाटर? यो निकै तयारीका साथ गरिएको कार्यक्रम थियो र यसको सांकेतिक अर्थ पनि निकै गहन रहेको छ। यसको विश्लेष गर्नु पूर्व केही पृष्ठभूमि उल्लेख गर्नु वान्छनीय छ।

सीपीसीको महासचिवमा निर्वाचित भएपछि सी चिन फिङले चिनियाँ सपना अगाडि सारे। त्यसको लगत्तै उनले एक पेटी एक मार्गको अवधारणा ल्याए। अहिले त्यसलार्इ बेल्ट एण्ड रोड इनिसिएटिभ 'बीआरआर्इ' भनिन्छ। जब उनी सीपीसीको १९ औँ महाधिवेशनबाट दोस्रोपटक महासचिवमा निर्वाचित भए तब सीपीसीको विधानमै सीचिनफिङ विचार समेटियो। उनले नयाँ युगमा चीन प्रवेश गरेको भन्दै गरिबी निवारण र भ्रष्टाचार निर्मुलीकरण गर्दै चीनलार्इ विश्वकै उन्नत राष्ट्र बनाउने उद्योष गरे। उनले 'साझा समृद्धिका लागि मानवभाग्य समुदाय निर्माण' नारासँगै साझा जितबाट छिमेकी मुलुक लगायत अन्य विकासोन्मुख मुलुकहरुको पनि विकासमा सहकार्य गर्ने नीति अगाडि सारे। यी कुरालार्इ उनले पोआवो एसिया मन्च, ब्रिक्स, एससीओ, जीबीस, एपेक लगायतका अन्तर्राष्ट्रिय मन्चहरुमा निकै महत्वका साथ राख्दै आएका छन्। आफू समृद्ध भएर मात्र हुँदैन छिमेकी देशहरुलार्इ पनि उकास्नका लागि सरसहयोग गर्नुपर्छ भन्ने मान्यतालार्इ चिनियाँ कुटनीतिको एउटा मुख्य विषय बनाइएको छ।

चीनको १४ वटा मुलुकहरुसँग सिमाना जोडिन्छ। यी १४ मुलुकहरु पूर्वाधार विकास र आर्थिक तथा समाजिक दृष्टिबाट चीनभन्दा कमजोर छन्। त्यसकारण छिमेकी मुलुकलार्इ चिनियाँ नाराले धेरथोर आशावादी बनाएको छ।

नेपालमा दुर्इ ठूला कम्युनिष्ट पार्टीको एकीकरणबाट बहुमतको सरकार बनेर राजनीतिक स्थायित्वमा पाइला सार्दै आर्थिक मुद्दामा नेपाल प्रवेश गरेपछि चीन उत्साही भएको कतै लुकाएको छैन। पार्टी एकता, राजनीतिक स्थायित्व र आर्थिक मुद्दामा केन्द्रित हुनका लागि चीनले धेरै पहिलेदेखि नेपालका कम्यनिष्ट पार्टीहरुलार्इ सुझाव दिँदै आएको थियो। आफ्नो सुझाव अनुसार परिणाम देखिनु र कम्युनिष्ट पार्टी नै शक्तिशाली ठूलो पार्टीको रुपमा सरकारमा आउँदा नेपालमा लगानी र सहयोग गर्न चीनलार्इ सजिलो भएको छ। नेकपाको ओली सरकारले 'समृद्ध नेपाल सुखी नेपाली' नारा अगाडि सारेको छ। यो नारा सी चिनफिङले अगाडि सारेको मानवभाग्य समुदाय निर्माण र साझा जित नारासँग मिल्दोजुल्दो छ।

चीनले नेपालमा लामो समयदेखि भरपर्दो साझेदार मित्र खोजिरहेको थियो। पञ्चायती व्यवस्थाभरि चीनले निर्विकल्प रुपमा राजसंस्यालार्इ आफ्नो भरपर्दो साझेदार मित्र बनायो। बहुदलीय प्रजातन्त्रको पुनर्प्राप्तिपछि चीनले राजसंस्थासँगै नेपालका मुख्य राजनीतिक दलहरुसँग हात मिलायो। २०४७ देखि २०६३ सम्म नेपालमा च्याउसरी राजनीतिक दलहरु देखिए। राजतन्त्र पनि क्रमश: कमजोर हुँदै गयो। यस्तो अवस्थामा चीनले नेपाली सेनालार्इ भरपर्दो साझेदार मित्र बनाउने प्रयास गर्‍यो। गणतन्त्रको आगमनसँगै नेपाली सेना सरकारको अधिनस्त भएपछि चीन नयाँ शक्तिको खोजीमा थियो। नयाँ संविधानको निर्माणपछि नेपालमा तीन तहको निर्वाचन सम्पन्न भर्इ राजनीतिक संक्रमणकालको अन्त्यसँगै निर्वाचनबाट कम्युनिष्ट पार्टी बहुमतका साथ उपस्थित भएपछि चीनलार्इ सजिलो भयो। आखिर झण्डा, नाम र अन्तर्राष्ट्रिय गोत्र सीपीसी र नेकपाका साझा छँदै थिए।

सीपीसी हेडक्वाटरमा ओली

केपी ओली यतिबेला नेकपाका अध्यक्ष र नेपालका शक्तिशाली प्रधानमन्त्री छन्। ओली मार्फत चीनले नेकपालार्इ भरपर्दो साझेदार शक्तिको रुपमा चीनले लिएको संकेत देखाएको छ। सीपीसीको पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा ओलीलार्इ निम्त्याएर प्रवचन दिन लगाउनु यसको एउटा संकेत हो। प्रधानमन्त्री ओलीको सम्बोधनको विषयले पनि यो कुरालार्इ थप संकेत गरेको छ। उनले समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा बोलेका छन्। ओलीको सम्बोधनको विषय उनैले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली नारासँग समान छ। उनले अघिल्लो दिन असार ६ को साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा चीनले अहिले अंगिकार गरेको सी विचारको मुक्तकण्ठले प्रशंसा गरेका थिए। प्रशंसासँगै सी चिनफिङका नीति तथा कार्यक्रमलार्इ नेपालले साथ र समर्थन दिने कुरा पनि उनले बताए।

सीपीसी पार्टी स्कुल विभागमा उनले सम्बोधन गरेकै दिन चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरे र केही सम्झौताहरु पनि सम्पन्न भए। त्यसपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा पनि ओलीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली नारा अटाउनुले पनि चीनले नेकपालार्इ भरपर्दो साझेदार संस्थाको रुपमा लिएको थप स्पष्ट हुन्छ।

औपचारिक रुपमा चीनले नेपालका सबै संवैधानिक राजनीतिक दलहरुसँग समान सम्बन्ध राख्ने बताउँदै आएको छ। यो चीनको असंलग्न परराष्ट्र नीति पनि हो। नेपालका कुनै राजनीतिक दललार्इ काखा र कुनैलार्इ पाखा नगर्ने चिनियाँ नीति अहिले आएर केही खुकुलो र फराकिलो बनेको देखिन्छ। सफ्टपावर र आर्थिक तथा सांस्कृतिक क्षेत्रबाट संसारमै आफ्नो प्रभाव फैलाइरहेको चीनले केपी ओली मार्फत नेकपालार्इ सामिप्यमा राखेर सी चिन फिङको नारा 'साझा समृद्धिका लागि मानवभाग्य समुदाय निर्माण' नेपालमा प्रवेश गराउँदैछ। तसर्थ अब नेपालमा चिनियाँ लगानीमा उल्लेख्य वृद्धि हुने संभावना छ। चिनियाँहरुको बुझाइमा यसले 'समृद्ध नेपाल सुखी नेपाली' नारालार्इ पनि पूरा गर्न सहयोग गर्नेछ।

साभारः कान्तिपुर दैनिक। २०७५ असार १४ (२०१८ जुन २८) बिहीबार।