चीनका दुई ठूला अधिवेशनमा गुणस्तरीय विकासको बहस
2019-03-14 14:31:38CRI
Share with:

चीनका दुई ठूला अधिवेशनमा गुणस्तरीय विकासको बहस

थ्यानआनमन चोकस्थित ग्रेट हल अफ द पिपुल्समा चीनका सबैभन्दा ठूला दुई राजनीतिक अधिवेशन (जनराजनीतिक परामर्शदात्री सम्मेलन–मार्च ३ र नेशनल पिपल्स कांग्रेस– मार्च ५) प्रारम्भ हुँदा विगतमा बेइजिङको आकाश धुम्म परेको हुन्थ्यो। वातावरणीय प्रदूषणले नीलो आकाश देख्नु नै दुर्लभ हुने यो अवधिले यसपटक कोल्टो फेरेको छ। यतिखेर विश्वको सबैभन्दा ठूलो थ्यानआनमन चोकमा पारिलो घामसँगै नीलो आकाश देख्न सकिन्छ। परिवर्तनको एउटा मानकको रूपमा यसलाई पनि लिन सकिन्छ। जुन चिनियाँ सर्वसाधारणको जीवनमा ल्याइएको ठूलो परिवर्तनको द्योतक पनि हो।

चीन सरकारले ५ तारिख सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जनकांग्रेससमक्ष सरकारी कार्य प्रतिवेदन लेखाजोखा गर्न पेश गर्यो। प्रधानमन्त्री ली ख छ्याङले प्रस्तुत गरेको प्रतिवेदन बमोजिम, चालू वर्ष आर्थिक तथा सामाजिक विकास सम्बन्धी सरकारी मुख्य सूचकहरूमा गार्हस्थ उत्पादन जीडीपी वृद्धि दर ६–६.५ प्रतिशत हुनेछ। शहरी तथा ग्रामीण क्षेत्रमा थप १ करोड १० लाख रोजगारीको अवसर खोलिनेछ। नागरिकको उपभोग्य वस्तुको मूल्य वृद्धि ३ प्रतिशतसम्म कायम राखिनेछ भने यस वर्ष गरिबीको रेखामुनी रहेको जनसंख्या १ करोड भन्दा बढीलाई समृद्ध जीवनशैलीमा रूपान्तरण गरिनेछ।

चीनको यसपालिको सरकारी कार्यप्रतिवेदनमा सर्वसाधारणको जीवनसँग जोडिएका धेरै कुराहरू महत्वपूर्ण छन् भने अन्तर्राष्ट्रिय व्यापारिक दृष्टिले पनि अर्थपूर्ण ठानिएका छन्। यस वर्ष चीनले वैदेशिक लगानी भित्र्याउन, बजार प्रवेशको मापदण्ड खुकुलो पार्ने, बैंकिङ क्षेत्रको सुधार, विदेशी पूँजीद्वारा संचालित व्यवसायको समान स्थान र न्यायोचित प्रतिष्पर्धाको वातावरण बनाउने, विदेशी व्यापारीका लागि पनि वैधानिक हकहित बलियो पार्ने कुराले विदेशी समाज उत्साहित भएको हुनुपर्छ।

चीनका राष्ट्रपति सी चिनफिङले भनेका छन्, 'व्यापारको वातावरण अझ राम्रो हुनसक्नेछ। तर सबैभन्दा राम्रो अझै भएको अवस्था छैन। किनभने विश्वको एउटा ठूलो विकासोन्मुख मुलुक चीनको व्यापार वातावरण र अन्तर्राष्ट्रिय व्यापार वातावरणबीच ठूलो खाडल छ। यस अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जानेछ।'

अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको खण्डमा पनि चीनले व्यापारिक वातावरण सहज बनाउँदै जाने जुन प्रतिवद्धता प्रकट गरेको छ, त्यो निकै महत्वपूर्ण हो। वर्तमान विश्वको आर्थिक वृद्धि मन्द भएको पृष्ठभूमिमा आफ्ना सामु बाह्य खतरा धेरै देखिएको चीनले महसुस गरेको छ। चीनको लागि आन्तरिक चुनौती पनि धेरै बाक्लो देखिन्छ। सन् २०१९ वर्षभित्रै औसत समृद्ध मुलुकमा उकास्नका लागि कठिन मेहनत गर्नुपर्ने बेला भएको छ। त्यसका अलावा नवीन तथा सुधारको कदम चाल्नु, व्यापार वातावरण अनुकूलन पार्नु, गरिबी निवारण तथा ग्रामीण पुनरूत्थानलाई अघि बढाउनु, प्रदूषण नियन्त्रण गर्दै सर्वाङ्गीण खुलापनका कदमहरू चाल्नु सामान्य मेहनतले हुनसक्ने कुरा होइनन्। चिनियाँ अर्थतन्त्रको नवीन, समावेशी, हरित तथा खुलापनयुक्त विशेषता पनि थप्दै जानुले चीनको अर्थतन्त्रमा उच्च गुणस्तरिय विकासका मुख्य संकेतहरू देखापर्दै जानेछन्।

यस वर्ष जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव पनि हो। भर्खरै सुधार तथा खुलापनको ४०औं वार्षिकोत्सव पनि पूरा भएको छ। सन् २०१२ देखि चीनले गरिबी निवारणको नीति अघि सारेको थियो। विगत ६ वर्षमा गरिबीमा रहेको जनसंख्या ९ करोड ८९ लाख ९० हजारबाट घटेर १ करोड ६६ लाखसम्म पुगेको छ। यस वर्ष अर्थात् २०१९ भित्रै १ करोड जनसंख्यालाई गरिबीको रेखाबाट उकास्ने महत्वाकांक्षालाई पच्छ्याइरहनेछ।

चीनको राजधानी बेइजिङमा यतिखेर चीनका सबैभन्दा ठूला वार्षिक राजनीतिक सम्मेलन चलिरहँदा भर्खरै हिउँद ऋतु विदा भएर वसन्त ऋतुको मादकता भित्रिरहेको छ। विश्व अर्थतन्त्रमा आधिपत्य जमाउने क्रममा रहेको चीनका लागि यी बृहत् अधिवेशनमा अर्थतन्त्रसँग जोडिएका विषयहरू सबैभन्दा तातो बहसका विषय बनेका छन्।

चीनमा यतिखेर दुई अधिवेशनमा अर्थतन्त्रका उतारचढाव र हेर्दाहेर्दै चीनले काँचुली फेर्न लागिरहेका बेला नेपाल पनि परिवर्तनको रफ्तारमा छ। अबको एकाध वर्षमा चीन औसत समृद्ध मुलुक बन्नेमा शंका छैन। नेपालमा पनि उस्तै चरित्रको कम्युनिष्ट सरकार छ। सुखी नेपाली समृद्ध नेपालको नारा नेपालसँग पनि छ। शक्तिशाली सरकार बनेको पनि एक वर्ष पूरा भएको छ।

थपः https://nepalkhabar.com/np/news/politics/57276/