चीनको अभियान
2019-05-23 19:34:10CRI
Share with:

चीनको अभियान

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीन यतिबेला सांस्कृतिक सम्पदालाई आफ्नो पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरुलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेको समयमा चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरावस्था थिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सी चिनफिङलाई माध्यमिक तहको अध्ययन पूरा गर्ना साथ श्रमशिवरमा पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तिनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

चिनियाँ संस्कृति विश्वका प्राचीन सभ्यतामध्ये एक हो। चिनियाँ सभ्यताको इतिहास पाँचहजार वर्षभन्दा लामो छ। पूर्वी एसियामा चिनियाँ संस्कृति र सभ्यताले चीनबाहिर पनि विशाल प्रभाव पारेको छ। जापान, कोरिया, थाइल्याण्ड, भियतनाम, मंगोलिया, कम्बोडिया, सिंगापुर, मलेसिया लगायतका पूर्वी एसियाली मुलुकले अँगालेको संस्कृति र सभ्याताको उद्भव थलो चीन हो। उल्लेखित पूर्वी एसियाका मुलुकहरुले मनाउने नयाँ वर्ष पोशाक, खाना, सामाजिक चालचलन जस्ता कयौँ कुराहरु चिनियाँसँग हुबहु मिल्छन्। पाँचहजार वर्षको सभ्यता र संस्कृति बोकेको चीन विश्व समुदायसँग सांस्कृतिक आदानप्रदानमा उदार बनेको छ। त्यही चिनियाँ उदारताको पछिल्लो उदाहरण हो चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलन। सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको दक्षिणी टापु हाइनानमा आयोजित पोआवो एसिया मंचमा एसियाली सभ्यता संवाद सम्मेलनको प्रस्ताव गरेका थिए। उनले प्रस्ताव गरेको चार वर्षपछि सम्मेलन आयोजना गर्न चीन सफल भएको हो। सम्मेलनमा ४७ वटा एसियाली मुलुक र अन्य थुप्रै गैरएसियाली मुलुक सहभागी छन्। केही मुलुकबाट त राष्ट्रप्रमुख अथवा सरकार प्रमुख पनि सहभागी भएका छन्।

बेइजिङमा चालु एसियाली सभ्यता संवाद सम्मेलनमा चीनले चलाखीपूर्वक बीआरआईका एजेण्डा घुसाएको छ। बीआरआईमा सहभागी नभएका मुलुकहरुलाई आकर्षित गर्नका लागि चीनले बीआरआई नभनिकनै त्यस्ता एजेण्डा प्रवेश गराएको हो। हुनत बीआरआईको थालनी पनि प्राचीन रेशमी मार्गको सांस्कृतिक तथा आर्थिक गतिविधिलाई पुन सक्रिय बनाउनका लागि भएको हो। त्यसकारण यी दुवै अभियानमा केही साझा पक्ष रहेका छन्। एसियाली सभ्यतामा चीनपछि भारतको महत्व रहन्छ। बीआरआईमा छुटेको भारतलाई चीनले एसियाली सभ्यता संवाद सम्मेलनको नामबाट जुटाएको छ।

भारत र चीनजस्ता विशाल मुलुकको बीचमा नेपाल रहेको छ। यी दुई अर्थशक्ति विश्व सभ्यता र संस्कृतिमा पनि समृद्ध छन्। तसर्थ यी मुलुकको बीचमा रहनु नेपालका लागि गौरव र अवसर पनि हो। दुवै मुलुकको आर्थिक वृद्धिले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ। दुवै मुलुकको विकासका बाछिटाहरु नेपालमा पुग्दछन्। अनि दुवै मुलुकका पर्यटकहरु नेपाली अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण आधार हुन्। यस पृष्ठभूमिमा दुवै देशसँगै रहेको साझा मन्चमा उभिनबाट नेपाल चुकेको छ।

चीनको अभियान

चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटनको विषय उठाएको छ। सांस्कृतिक पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। नेपालले अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म सांस्कृतिक पर्यटनको सानो अंश मात्र प्रवर्द्धन गर्न सकेको छ। भारतबाट हिन्दू समुदाय र चीनबाट बौद्ध समुदायलाई सांस्कृतिक कोरिडर बनाएर व्यवस्थित गर्ने हो भने नेपालसँग अथाह संभावना छ। काठमाडौँ उपत्यकाको सानो क्षेत्रमै सातवटा विश्व सम्पदा सूचिमा रहेका सांस्कृतिक धरोहरहरु छन्। यस्तो संयोग विश्वमा अन्य कतै पनि छैन। भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राखे पनि भारतले बारम्बार लुम्बिनी भारतमा पर्छ भन्दै भ्रम छर्ने काम गरिरहेको छ। चिनियाँ पाठ्यक्रममा पनि शाक्यमुनि बुद्धको जन्म भारतमा भएको हो भन्ने कुरा उल्लेख थियो/छ। यस्तो अवस्थामा लुम्बिनी जान चाहने चिनियाँ र भारतीय पर्यटकहरु बन्चित बनेका छन्। फलत: नेपाली पर्यटन व्यवसायले ठूलो क्षति बेहोर्दै आएको छ। तसर्थ बेइजिङमा बुधबार सुरु भएको एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटनको विषय उठाएर नेपाललाई राहत दिएको छ। दुर्भाग्यवस यो सम्मेलनमा नेपालको सरकारी स्तरबाट कुनै सहभागिता छैन।

चीनले अगाडि सारेको बीआरआईमा भारत सहभागी नभए पनि एसियाली सभ्यता संवाद सम्मेलनमा भने भारत निकै शसक्त रुपमा उपस्थित छ। यो अवसरलाई सदुपयोग गर्दै नेपालले कैलाशदेखि मुक्तिनाथ हुँदै लुम्बिनी र भारतको बोधगया जोड्ने सांस्कृतिक कोरिडरको प्रस्ताव गर्न सक्थ्यो। नेपालले प्रस्ताव गर्ने यो कोरिडरमा भारत पनि खुशी हुन्थ्यो किनभने कैशाल दर्शनमा जाने हिन्दू पर्यटकमा नेपालीभन्दा बढी भारतीय हुने गर्दछन्। चीन र भारत दुवै मुलुकको हितमा रहेको यो सांस्कृतिक कोरिडरले सबैभन्दा बढी नेपाललाई फाइदा गर्दछ। दुवैतफबाट पर्यटकको हब नेपाल बन्ने कुरामा दुई मत रहँदैन। चिनियाँ संस्कृतिमा नेपालका थुप्रै पहिचानहरु रहेका छन्। चीनका प्रायस: गुम्बाहरुमा रन्जना लिपि देख्न पाइन्छ। चीनका ग्रेटवालदेखि प्रख्यात सांस्कृतिक स्थलमा छापिएका रन्जना लिपि नेपालबाट आएको हो भन्ने कुरामा चिनियाँलाई थाहै छैन। अलिअलि संस्कृति र इतिहास जानेका चिनियाँले थाहा पाए पनि त्यो सत्यलाई स्वीकार गरेको देखिँदैन। सातौ शताब्दीमा भृकुटीले चीनमा ल्याएकी थाङ्काहरु अहिले पनि तिब्बतमा सुरक्षित छन्। अरनिकोले बनाएका चैत्य र मूर्तिहरु चीनमा छँदैछन्। तर ती कुराको पछाडि नेपालको नाम जोडिएको कुरालाई बेवास्ता गरिँदा नेपालको संस्कृतिको पहिचान लुकेको छ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुईवटा विशाल छिमेकी मुलुकहरुले नेपालको संस्कृति दबाउने कार्य गरिरहेको बेला एसियाली सभ्यता संवाद सम्मेलनमा नेपालले सरकारी स्तरबाट राम्रो तयारी गरेर उपस्थिति जनाउन सक्नुपर्दथ्यो। नेपालले आफ्ना कुराहरु सशक्त रुपमा राख्ने र नेपालको विविध संस्कृतिको प्रचार गरी एसियाली मुलुकलाई नेपालतिर आकर्षित गर्ने एउटा महत्वपूर्ण अवसर पनि गुमाएको छ। एसियाली सभ्यता संवाद सम्मेलनमाफत चीनले विश्वमा सांस्कृतिक प्रभावलाई विस्तार गर्ने मनसाय राखेको छ।

चीनको अभियान

व्यापारिक द्वन्द्वबाट चिनियाँ अर्थतन्त्रलाई अमेरिकाले कडा टक्कर दिइरहेको छ। शितयुद्ध जस्तो अवस्था नरहे पनि विश्वमा बढ्दै गएको चिनियाँ प्रभावबाट अमेरिकालाई जलन भएको छ। त्यसमाथि चीनले सांस्कृतिक सहकार्य र आदानप्रदानको नाममा अन्य एसियाली मुलुकसँग सहकार्यको हात बढाएपछि अमेरिका एक्लिएको छ। किनभने अमेरिकासँग पाँच सय वर्षको पनि सांस्कृतिक इतिहास छैन र उसले अन्य मुलुकसँग चीनले जस्तो सहकार्य र आदानप्रदानको नारा घन्काउन पनि सक्दैन। अर्थतन्त्रमा अमेरिकाको पेलान भोगेरै हुनसक्छ चिनियाँ राष्ट्रपति सी चिनफिङले एसियाली सभ्यता संवाद सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भनेका छन् 'मानव जातिले साझा चुनौतीको सामना गर्नका लागि आर्थिक तथा वैज्ञानिक शक्ति मात्र नभइ सांस्कृतिक सभ्यता शक्ति पनि चाहिन्छ।' यो भनाइको संकेत अमेरिकाप्रति लक्षित छ। लोकप्रिय नारा ल्याएर आफ्नो वरिपरी झुलाउनमा चीन चतुर छ। उसले सधैँ विकासोन्मुख मुलुकका लागि भनेर कार्यक्रमलाई लक्षित गर्दछ। विकासोन्मुक मुलुकलाई समेट्ने र उनीहरुको हितमा भनेपछि ती मुलुक त तानिने भइनै हाले विकसित मुलुकले पनि बिरोध गर्न सक्दैनन्। विश्वको दोस्रो अर्थतन्त्रका रुपमा रहेको चीनले सांस्कृतिक रुपमा पनि आफ्नो प्रभाव विस्तार गर्ने नीति अँगालेको छ। पैसा र हतियारबाट विश्वमा प्रभाव विस्तार गर्ने अमेरिकाको पुरानो नीति हो। अर्को मुलुकको राजनीतिक परिपाटीमा हस्तक्षेप गर्ने र आफ्नो स्वार्थसिद्ध गर्ने अमेरिका विश्वबाटै अलोकप्रिय बनिरहेको छ। त्यसमाथि अमेरिकालाई चीनको सुधार र खुलापन नै टाउको दुखाइ बनेको छ। विश्वमा एकछत्त प्रभाव बनाइरहेको अमेरिकी 'हार्डपावर'लाई खुलापन र सुधार गरेको केही दसकमै चीनले 'सफ्टपावर'मार्फत भत्काइदिएको छ। कुनै पनि मुलुकको राजनीतिक व्यवस्था र शासनसत्तामा कहिल्यै हस्तक्षेप नगरिकन सहयोग र साझेदारी गर्दै चीनले आफ्नो प्रभाव बढाउँदै आएको छ। विभिन्न मुलुकमा विस्तार गरिएका चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम, चिनियाँ चलचित्र प्रदर्शन, चिनियाँ चाडपर्वका विधिहरु, शिक्षा तथा प्रविधिमा सहयोग र पूर्वाधार विकासमा गरेको हातेमालोले चीनलाई त्यस्ता मुलुकले सहजै स्वीकार गरेका छन्।

सांस्कृतिक क्रन्तिको अवसानसँगै सुरु भएको सुधार र खुलापनकै बागडोर समाएर सी चिनफिङले चिनियाँ सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउँदैछन्। चीनमा व्यापक रुपमा प्रचार गरिएको सी चिनफिङ युगलाई ब्रिक्स, एपेक, शाङहाई सहयोग संगठन, बीआरआई, पोआवो एसिया मंच, जीबीस समूह, आसियान लगायतका अन्तर्राष्ट्रिय मंचमाफत विश्वव्यापी बनाउने प्रयास सुरु भएको छ।

साभारः नागरिक दैनिक २०७६ जेठ २ गते (२०१९ मे १६) बिहीबार।