तिब्बतको लोभलाग्दो विकास
2019-06-26 10:44:34CRI
Share with:

तिब्बतको लोभलाग्दो विकास

जेठ २७ देखि ३२ गतेसम्म तिब्बतको भ्रमण गर्ने अवसर मिल्यो। ल्हासामा जेठ ३१ गते शुक्रबार आयोजित 'तिब्बत विकास मंच' गोष्ठीमा भाग लिने क्रममा तिब्बत स्वायत्त प्रदेशको लिन्ची र ल्हासाको विकास देख्न पाइयो। १३ वर्षपछि जुरेको चीनको स्वायत्त प्रदेश तिब्बतको अवलोकन भ्रमणले उत्साहित बनाएको थियो।

नेपालसँग १४१४ किलोमिटर सिमा जोडिएको तिब्बत चीनमा विगत २६ वर्षदेखि दोहोरो अंकमा आर्थिक वृद्धि भइरहेको चीनको एकमात्र प्रान्त हो। सन् २००६ मा नेपालबाट पत्रकारहरुको एक टोलीमा सहभागी भएर तिब्बतको भ्रमण गर्दा जुन दृश्य देखिएको थियो १३ वर्षपछि धेरै परिवर्तन भइसकेको रहेछ। सन् २००६ मा हामी तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभागमा गएका थियौँ। त्यो समयमा १४ तलाको वाणिज्य विभागको भवन ल्हासाको सबैभन्दा अग्लो भवन थियो। १३ वर्षपछि ल्हासामा सयौँ गगनचुम्बी महल बनिसकेछन्। नेपालका लागि चिनियाँ पूर्व राजदूत यु होङले कतै भनेकी थिइन् 'चीनमा हरेक तीन महिनामा कुनै न कुनै परिवर्तन भएको हुन्छ।' तीन महिनामै परिवर्तन हुने चीनमा १३ वर्षमा कायापलट नहुने कुरै भएन। पाँच दिने तिब्बत भ्रमणमा तिब्बतको भौतिक पूर्वाधार, तिब्बतीहरुको सामाजिक तथा आर्थिक अवस्था र तिब्बतको शैक्षिक परिपाटी

तिब्बतको लोभलाग्दो विकास

लगायतका विषयमा प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो। उच्च अक्षांश, पठार मरुभूमि, कम जनसंख्या, विकट भूगोल जस्ता प्राकृतिक प्रतिकूल अवस्थामा पनि तिब्बतमा भएको भौतिक पूर्वाधारको विकास विश्वका लागि अनुकरणीय छ।

तिब्बतमा सन् २०१५ सम्ममा ७८ हजार किलोमिटर पक्की सडकमार्ग संचालनमा आएको छ। संचालनमा आएका सडकले तिब्बतका ६९० वटा टाउन्सिप र ५४० वटा गाउँलाई जोडेको छ। सन् २०१८ सम्ममा तिब्बतमा दुईवटा फास्टट्राक सडक संचलनमा आएका छन् भने थप तीनवटा निर्माण हुँदैछन्। सन् २०२० देखि पाँचवटै फास्टट्राक सडक संचालनमा आएपछि तिब्बतमा फास्टट्राक सडकको दुरी १ हजार ३ सय किलोमिटर पुग्नेछ। सन् २०२० सम्ममा तिब्बतमा १ लाख १० किलोमिटर पक्की सडकमार्ग निर्माण भएर ९० प्रतिशत टाउन्सिप र ४० प्रतिशत गाउँलाई सडकले समेट्नेछ।

सुन्दर पठार मरुभूमि, पवित्र सांस्कृतिक स्थल, मिलनसार नागरिक, स्वच्छ वातावरण र उच्चाक्षांशमा भएको मानववस्तीका कारण तिब्बतलाई विश्वको छानो भनेर चिनिन्छ। सन् २००६ मा छिङहाई तिब्बत रेलमार्ग संचालनमा आएपछि तिब्बतले 'स्वर्गीय बाटो' को नयाँ पहिचान पनि बनाएको छ।

४ हजार मिटरभन्दा बढी उचाइका पठार मरुभूमिका थुक्काहरुमा कुनै वनस्पति नभए पनि बिद्युत पोलहरु ठडिएका छन्। सफा उर्जामा तिब्बतले छलाङ मारेको छ र चीनका अन्य प्रान्तलाई विद्युत निर्यात गरेर राम्रो आम्दानी प्राप्त गर्दै आएको छ। तिब्बतमा संचालित स्वरोजगार कार्यक्रममार्फत तिब्बतीहरुले बेरोजगार बन्नु परेको छैन। कुनै पनि तिब्बतीले बेरोजगारी बस्नु नपर्ने उदाहरणका रुपमा ल्हासामा निर्माणाधिन नेपाली महावाणिज्य दूताबासको भवनमा कार्यरत मजदुर हेर्दा पनि पुष्टि हुन्छ। यो भवन बनाउन सबै श्रमिकहरु चीनको मुख्य भूमिबाट गएका चिनियाँ हान जातिका नागरिक छन्। तिब्बतीहरु आफ्नै व्यवसाय संचालन गर्न, होमस्टे चलाउन, पर्यटक गाइड गर्न व्यस्त भएकाले कडा श्रममा रुचि राख्दैनन्। तिब्बतीहरुले केन्द्रीय सरकार र प्रान्तीय सरकारबाट पनि

तिब्बतको लोभलाग्दो विकास

विशेष आरक्षण र सुविधा प्राप्त गरेकाले उनीहरुको आम्दानी उच्च रहेको छ। तसर्थ निर्माण कार्यमा काम गर्नका लागि चीनले मूख्यभूमिबाट मजदुर लगेर तिब्बतको विकास गरिरहेको छ।

सरकारी अनुदान प्राप्त गरेर बनाइएका चिटिक्क परेका सुविधासम्पन्न घरहरुमा तिब्बती आफू मात्र बस्दैनन् पर्यटकलाई होमस्टेका रुपमा स्वागत सत्कार पनि गर्छन्। घरहरु आधुनिक भए पनि तिब्बती कला र संस्कृतिले भरिपूर्ण छन्। हरेक घरको भित्रपट्टि तिब्बती परम्परा झल्किने बस्तुहरु संकलन गरेर राखिएका छन्। चौँरीको घिउबाट बनाइने तिब्बती चिया, परम्परागत तिब्बती पोशाक, चौँरीका चमार, काठका बुट्टामा तिब्बती कला, तिब्बती धार्मिक मन्त्र अंकित लुङदर, भेडा र च्यांग्राका उनबाट बनेका तिब्बती पोशाक, याकका छालाबाट उत्पादित हस्तकलाका सामान, स्थानीय स्याउका सुकुटी, जौको सातु र जौबाटै बनाइएको छ्याङ तथा रक्सी जस्ता स्थानीय उत्पादनले तिब्बतीहरुको परम्परालाई कायम राखेको छ। तिब्बती परम्पराले सजिएका घरमा आधुनिक सुविधाका रुपमा टेलिभिजन, गाडी, वासिङ्ग मेसिन, फ्रिजहरु छन्। फोरजीको वाइफाइ सुविधा सबै घरहरुमा पुर्‍याइएको छ।

तिब्बतका सबै विद्यालयहरुमा नि:शुल्क शिक्षाको व्यवस्था छ। त्यहाँ पढ्न मात्र होइन आवास सुविधासहित खाना, पोशाक, पाठ्यसामग्री सबै नि:शुल्क उपलब्ध छ। तिब्बतको पश्चिमी क्षेत्रको नाकु क्षेत्रमा रहेको विद्यालयलाई सन् २०१२ मा ल्हासामा सारिएको छ। नाकु समुद्री सतहदेखि ४ हजार ५

तिब्बतको लोभलाग्दो विकास

सय मिटर उचाइमा रहेकाले त्यहाँ अत्यन्त चिसो हुने र वर्षको आधा समय पठनपाठनमा कठिन हुने हुनाले ल्हासामा सारिएको यो विद्यालयको नाम २ नम्बर उच्च माध्यमिक विद्यालय हो। १५ हेक्टर क्षेत्रफलमा निर्मित यो विद्यालयको निर्माणमा २२ करोड ८० लाख चिनियाँ युआन अर्थात् ३ अर्ब ७६ करोड नेपाली रुपैयाँ लगानी भएको छ। यहाँ ३ हजार २ सय २७ जना विद्यार्थी अध्ययन गर्छन् भने २ सय ८४ जना शिक्षक कार्यरत छन्। विद्यालयमा तिब्बती, चिनियाँ र अंग्रेजी तीन भाषाका साथै विज्ञान, गणित, कृषि, नैतिक शिक्षा, सामाजिक शिक्षा, अर्थशास्त्र, संस्कृति लगायत व्यावहारिक ज्ञानका विषयहरुमा पठनपाठन हुने गर्दछ।

ल्हासाको छङक्वान जिल्लास्थित समाजकल्याण संस्थाको प्रत्यक्ष अवलोकन गर्दा तिब्बती वृद्धवृद्धाको सामाजिक सुरक्षा कस्तो छ भन्ने कुराको जानकारी पाइयो। ११२ कोठाको सो समाजकल्याण भवनमा खान बस्न बाहेक डाक्टर तथा नर्सबाट स्वास्थ्य उपचार, योगाभ्यास, सौना बाथ लगायतका आधुनिक सुविधाहरु रहेका छन्। कुनै पाँचतारे होटलको सुविधा सरह कोठा रहेको भवनमा असहाय वृद्धहरु नि:शुल्क रुपमा बस्न पाउँछन् भने पैसा तिरेर अन्य व्यक्तिले पनि त्यहाँको सुविधा लिन सक्ने रहेछन्। २८ जना कर्मचारी रहेको सो समाजकल्याण संस्थामा हाल ५० जना वृद्धहरु आश्रित रहेछन्। भवनको बाहिर पार्कमा तिब्बती गीतमा तिब्बती बृद्ध महिलाहरु मस्तसँग नाचिरहेका थिए।

ल्हासाको केन्द्रबिन्दुमा रहेको पोतला दरवार र नेपाली राजकुमारी भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरका वरिपरी माला जप्तै लम्पसार परेर प्राथना गर्ने पाका तिब्बतीहरु प्रशस्त देखिन्थे। मुजा परेको अनुहारमा चम्किएको खुशीसँगै हातमा घुमाइरहेको मानेले उनीहरुमा धार्मिक तथा सांस्कृतिक सन्तुष्टि देखिन्थ्यो।

चीनले आगामी वर्ष सन् २०२० मा पूर्ण रुपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ। तिब्बत चीनका अति गरिब प्रान्त मध्येको एक हो। सन् १९५९

तिब्बतको लोभलाग्दो विकास

सम्म भूदाषप्रथा रहेको तिब्बतले चालु वर्ष प्रजातान्त्रिक सुधारको ६० औँ वार्षिकोत्सव मनाउँदैछ। छ दसक अगाडि चौँरीको गोठमा बस्ने फिरन्ता तिब्बतीहरु यतिबेला सुविधासम्पन्न घरमा बस्छन्। ल्हासा सहरभन्दा बाहिर बस्ने गुङ्गाको घरमा पुग्दा उनले स्वागत गर्दै भने 'हाम्रा बाबुबाजेहरु त चौँरीको गोठमा बस्थे। आज हामी यस्तो घरमा बस्छौँ।' उनका जेठा छोरा प्रहरी सेवामा काम गर्छन् भने छोरी पेकिङ विश्वविद्यालयमा अध्ययन गर्दैछिन्। कान्छा छोराले आफूलाई व्यवसायमा सहयोग गरिरहेको गुङ्गाले बताए। उनको घरको प्राङ्गणमा चारवटा गाडी पार्किङ गरिएको थियो। दुईवटा गाडी चौँरीका लागि दाना ओसार्न प्रयोग गर्ने र दुईवटा गाडी आफूले कतै जाँदा चलाउने उनले बताए। उनीसँग अहिले पनि ६० वटा चौँरी र २०० वटा च्यांग्रा रहेछन्। तिनीहरुलाई हेरचाह गर्न मान्छे राखेको उनले बताए।

तिब्बत स्वायत्त प्रदेशमा गरिबी निवारण कार्यक्रम अन्तर्गत तिब्बतलाई सहयोग गहन पार्ने कार्य बैठक गत सोमबार तिब्बतको लिन्चीमा सम्पन्न भयो। सो बैठकमा तिब्बतलाई सहयोग गर्ने २०२ वटा कार्यक्रममा हस्ताक्षर भई २१ अर्ब ५० करोड चिनियाँ युआन लगानी गर्नका लागि चीनका १७ वटा प्रान्त र १६ वटा केन्द्रीय व्यावसायिक कम्पनीले सम्झौता गरेका छन्। सम्झौतामा उद्योग, शिक्षा, चिकित्सा, रोजगारी, उपभोग र विज्ञान तथा प्रविधि लगायतका विविध क्षेत्र समेटिएको छ।

चीनले गरिबी निवारणलाई तीब्र गतिमा अगाडि बढाउँदै आएको छ। सन् २०१२ मा तिब्बतमा गरिबको जनसंख्या ५ लाख ९० हजार थियो। हाल तिब्बतमा एक लाख ५० हजारमा तिब्बती गरिबीको रेखामुनि छन्। सन् २०१४ को जनगणना अनुसार तिब्बत स्वायत्त प्रदेशको जनसंख्या ३१ लाख ४० हजार रहेको छ र तिब्बतीहरुको सरदर आयु ६७ वर्ष पुगेको छ।

साभारः नागरिक दैनिक। २०७६ असार ५ (२०१९ जुन २०) बिहीबार।