बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम
2019-06-26 10:23:41CRI
Share with:

बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम

गत बैशाख २९ गते आइतबार चीनमा २५४३ औँ बुद्धजयन्ती मनाइयो। नेपाली पात्रो अनुसार बुद्ध जयन्ती जेठ ४ गते शनिबार थियो। परम्परागत चिनियाँ पात्रो अनुसार एक साता अगाडि नै बुद्धजयन्ती परेको थियो। चिनियाँ बुद्धधर्मसंघले बेइजिङको पश्चिममा रहेको पाताछु मन्दिरमा आयोजना गरेको बुद्धजयन्ती समारोहमा नेपालसँगै भारत, श्रीलंका, थाइल्याण्ड, म्यान्मार, कम्बोडिया, भियतनामलगायतका राजदूतहरुलाई आमन्त्रण गरिएको थियो।

पाताछु मन्दिर चिनियाँ बुद्ध धर्म मान्नेहरुका लागि सबैभन्दा महत्वपूर्ण मध्येको एउटा मन्दिर हो। यस मन्दिरमा बुद्धको दाँतलाई संरक्षण गरेर राखिएको छ। समारोहमा भाग लिन जाँदै गर्दा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ बुद्धधर्म संघका उपाध्यक्ष यान चुएको मन्तव्यमा 'बुद्ध भारतमा जन्मिएका थिए' भन्ने वाक्यांश परेको सूचना प्राप्त गरे। उनले तुरुन्तै आफ्नी सचिवलाई फोन गरेर आयोजकको तर्फबाट मन्तव्यमा उल्लेख भएको 'बुद्ध भारतमा जन्मिएका थिए' भन्ने वाक्यांश नसच्याए आफू समारोहमा सहभागी नलिने कुरा आयोजकलाई भन्न लगाए। राजदूतकी सचिवले तुरुन्तै आयोजकलाई सो कुराको जानकारी गराइन्। त्यतिन्जेल राजदूत पौड्याल गाडी रोकेर बाटेमै पर्खिरहे। सचिवले राजदूतलाई फोन गरेर भनिन् 'मैले आयोजकलाई भनेपछि उनीहरुले सच्याउने भनेका छन्। तपाईं जसरी भए पनि समारोहमा गइदिनुहोस् भन्ने उहाँहरुको अनुरोध छ।'

बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम

राजदूत पौड्याल समारोहमा पुगेपछि गाडीमै आएर आयोजकका एकजना अधिकारीले गल्ती भएको भन्दै माफी मागे। पछि मन्तव्यमा चिनियाँ बुद्ध धर्मसंघका उपाध्यक्ष यान चुएले 'बुद्ध भारतमा जन्मिएका थिए' भन्ने वाक्याशं हटाएर वाचन गरे। झट्ट सुन्दा यो एउटा सामान्य घटना हुन सक्छ। तर, कुटनीतिक दृष्टिबाट यसको निकै ठूलो अर्थ र महत्व रहन्छ। बुद्ध धर्म मान्ने ३५ करोड चिनियाँहरुको प्रनिधित्व गर्ने चिनियाँ बुद्धधर्म संघका जिम्मेवार व्यक्तिको लिखित मन्तव्यमा बुद्ध भारतमा जन्मिएका थिए भन्नु एक किसिमको हेलचेक्र्याँइ थियो। त्यसलाई नसच्याए आफू कार्यक्रममा सहभागी नहुने भनेर राजदूतले नेपाली अस्मितामाथि असर परेको कुराको कडा कुटनीतिक जवाफ थियो। पाताछु मन्दिरमा चिनियाँ बुद्ध धर्मसंघका अधिकारीहरुले यस प्रकारका गल्ती आइन्दा नदोहोर्‍याउने वचनवद्धता पनि राजदूत पौड्याल समक्ष व्यक्त गरे।

शाक्यमुनि बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। कपिलबुस्तुबाट माइत जान लाग्दा बाटोमा पर्ने लुम्बिनीमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माएकी थिइन्। सिद्धार्थ गौतम पछि शाक्यमुनि बुद्ध भए। बुद्धको जन्मस्थल लुम्बिनी रहेको सबैभन्दा दरिलो प्रमाण अशोक स्तम्भ र युनेस्कोले प्रमाणित गरेर लुम्बिनीलाई विश्व सम्पदा सूचिमा राखिसकेको छ। यद्यपि भगवान बुद्ध भारतमा जन्मिएका भनेर भारतले झुटको खेती गरिरहेको छ।

बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम

भारतीय संचारमाध्यमले जानाजान बुद्ध भारतमा जन्मिएको भ्रम फैलाउने काम गरिरहेका छन्। भगवान बुद्धको जन्मस्थलका बारेमा भारतले भ्रम छर्ने काम गरेको छ भने नेपालको अर्को छिमेकी मुलुक चीन भने आफैँ भ्रममा छ। भारतले चाहिँ नियतवस बुद्धको जन्म आफ्नो देशमा भएको प्रचार गर्छ भने चीनले चाहिँ थाहा नपाएर अथवा दुविधा पालेर भ्रम छर्ने काम गरिरहेको छ। फलत: थुप्रै चिनियाँहरुलाई भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा थाहा छैन। चीनमा लगभग ३५ करोड मान्छेहरु बुद्ध धर्मका अनुयायी छन्। अधिकांश बुद्धमार्गी चिनियाँहरु जीवनमा एकपटक भगवान बुद्धको जन्मस्थल पुग्ने चाहना राख्छन्। चिनियाँ पर्यटकले भारत भ्रमण गर्न नेपाल जस्तो सहज र सुरक्षित नठान्ने भएकाले भगवान बुद्धको जन्मस्थल पुग्ने उनीहरुको इच्छा अधुरै रहने गरेको छ।

लुम्बिनी र कपिलबस्तु भारतमा पर्छन् भन्ने कुरा चिनियाँ पाठ्यक्रममा लेखिएको कुरा पहिलो पुस्ताका चिनियाँहरुले बताउने गरेका छन्। विद्यालयमा त्यही कुरा रटेर आएका चिनियाँहरुलाई लुम्बिनी र कपिलबस्तु भारतमा पर्छन् भन्ने भ्रम हुनु स्वाभाविक पनि हो। पछिल्लो समय जो चिनियाँहरु नेपाल गएका छन् अथवा नेपालका बारेमा राम्रो जानकारी राख्छन्, उनीहरुले यस प्रकारको भ्रम चिर्नलाई केही प्रयास पनि गरेका छन्।

बेइजिङको पश्चिममा रहेको वल्लो शान्षी प्रान्तमा प्रख्यात उथाइसान पर्यकीय स्थल छ। त्यहाँ शाक्यमुनि बुद्धका छोरा राहुलको पनि मन्दिर रहेको छ। संभवत: राहुलको मन्दिर भएको यो विश्वकै एकमात्र स्थान हो। सो मन्दिरमा पर्यटकलाई गाइड गर्ने व्यक्तिले बुद्ध भारतमा जन्मिएका हुन् भनेर व्याख्या गरिरहेको सुनेपछि आफूले प्रतिवाद गरेको प्राध्यापक चौ च्याउचुन बताउँछिन्। सत्यमोहन जोशीबाट सन् १९६५ मा नेपाली भाषा सिकेकी चौ च्याउचुन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको प्रमुख भएर सन् २००५ मा सेवा निर्वित्त भएकी हुन्। उनले लामो समय नेपालमा बसेर अध्ययन तथा विभिन्न चिनियाँ कम्पनीमा काम पनि गरेकी छन्। बुद्धको भूमिको नेपाली भाषा सिकेर त्यसैमा जीवन बिताएको भन्दै गौरव गर्ने प्राध्यापक चौलाई बुद्ध भारतमा जन्मिएका हुन् भनेको सुन्दा सह्य हुने कुरै भएन। उनले तत्काल ती पर्यटक गाइडलाई बुद्ध नेपालमा जन्मिएका हुन् भारतमा होइन भन्दै गल्ती सच्याउन आग्रह गर्दा सुनुवाइ नभएको उनी बताउँछिन्। ती पर्यटक गाइडले आफूले जे पढेर आएकी हो त्यही जानकारी दिने भन्दै आफूलाई त्यही भन्नका लागि लाइसेन्स दिइएको हुनाले कसले के भन्छ त्यसको पछि लाग्न नसक्ने टर्रो जवाफ फर्काएको प्राध्यापक चौ सुनाउँछिन्। बुद्धधर्मसम्बन्धी चीनका कतिपय मन्दिरहरुमा राखिएका सूचनापाटीमा अहिले पनि बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको उनको कथन छ।

बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम

चीनमा बुद्धधर्मलाई प्रवेश गराउने काममा नेपाली भिक्षु बुद्धभद्रले महत्वपूर्ण योगदान दिएका छन्। उनले पाँचौ शताब्दीमा चीनमा आएर बुद्धधर्मको प्रचारप्रसार गरेका थिए। चीनको स्वायत्त प्रदेश तिब्बतदेखि चीनका विभिन्न प्रान्तहरुमा नेपालले उपहार दिएका बुद्धका मूर्तिहरु सजिएका छन्। पल्लो शान्षी प्रान्तको पावोचीस्थित फामन मन्दिरमा बुद्धको साहिली औँला राखिएको छ भने बेइजिङको पश्चिममा पर्ने पाताछु मन्दिरमा बुद्धको दाँत राखिएको छ। त्यसैगरी चीनको च्यांसी प्रान्तमा पनि बुद्धको अस्ति राखिएको छ। कान्सु प्रान्तको प्रख्यात गुम्बामा रहेको बुद्धको मूर्ति नेपाली कालिगडले बनाएका हुन्। नेपाल र चीनबीचमा युगौँदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ। दुई देशबीचमा सरकारी स्तरमा मात्र नभएर जनस्तरमा पनि सुमधुर सम्बन्ध फैलिएको छ। जनस्तरमा सम्बन्ध विस्तार गर्ने विभिन्न कडीहरुमध्ये बुद्धधर्म पनि एक हो। बुद्धधर्मका प्रवर्द्धक शाक्यमुनि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा चिनियाँ शासकवर्गलाई राम्ररी थाहा छ। बुद्ध जयन्तीका अवसरमा बेइजिङस्थित नेपाली दूताबासले हरेक वर्ष चिनियाँ बुद्धधर्म संघका भिक्षुहरुलाई बोलाएर विशेष प्राथनासहितको बुद्धजयन्ती कार्यक्रम आयोजना गर्दैआएको छ। नेपाली नेताहरुले चिनियाँ नेताहरुसँग औपचारिक तथा अनौपचारिक कुराकानी गर्दा बुद्धको जन्मस्थलको कुरा स्वभाविक रुपमा आउँछ। गत जेठ ४ गते शनिबार बेइजिङस्थित नेपाली दूताबासको प्राङ्गणमा आयोजित २५४३ औँ बुद्धजयन्ती कार्यक्रममा कानुनविद तथा विश्लेषक प्राध्यापक डाक्टर युवराज संग्रौलाले सम्बोधनका क्रममा अघिल्लो दिनमात्र चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनको एक वहस कार्यक्रममा बुद्ध भारतमा जन्मिएका हुन् भनिएको उल्लेख गर्दै चीनले यस्ता त्रुटी सच्याउनुपर्ने औँल्याए।

बुद्धको जन्मस्थलका बारेमा चिनियाँमा रहेको दुविधा र भ्रमको बारेमा चिनियाँ बुद्धिजीवीले चलाखीपूर्वक तर्क गर्दछन्। उनीहरुको तर्क बुद्ध नेपालमा जन्मिए पनि ज्ञान प्राप्त गरेको भारतमा हो भन्ने रहन्छ। त्यसैगरी बुद्ध जन्मिदाको समयमा नेपाल भन्ने देश नै नरहेको हुनाले सायद लुम्बिनी भारतमा पर्दथ्यो भन्ने उनीहरुको तर्क रहन्छ। जतिखेर बुद्ध जन्मिएका थिए त्यतिबेला भारत भन्ने देश नै नभएको कुरालाई उनीहरु ख्याल गर्दैनन्। विभिन्न गणराज्यमा रहेको अहिलेको भारत अंग्रेजको गुलामबाट स्वतन्त्र भएको इतिहास भरखर सात दसक मात्र हुँदैछ। तर, नेपाल इतिहासमा कसैको पनि गुलाम भएको थिएन। स्वतन्त्र नेपालको इतिहास हजारौँ वर्षदेखि जिवित रहेको छ। बुद्धले भारतमा ज्ञान प्राप्त गरेको कुरामा कुनै विवाद छैन। तर, कुनै व्यक्तिले ज्ञानप्राप्त गरेको स्थानभन्दा जन्मिएको स्थान महत्वपूर्ण हुन्छ। त्यसकारण जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् भनिएको हो।

साभारः नागरिक दैनिक २०७६ जेठ ३० (२०१९ जुन १३) बिहीबार।