मानव तस्करी चीनतर्फ
2019-07-10 15:59:42CRI
Share with:

मानव तस्करी चीनतर्फ

मानव तस्करले चीनमा ल्याएर अलपत्र पारेका ४४ जना नेपाली चेली उद्दारको पर्खाइमा छन्। सजिलो काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर महङ्गो शुल्क लिई उनीहरुलाई चीनमा ल्याएर बिचल्ली बनाइएको दुई महिना हुन लागेको छ। उनीहरुलाई कपडा प्याकिङ गर्ने सजिलो काम भनी झुक्याएर गार्मेन्ट कारखानामा सिलाइको काममा लगाइएको छ। उनीहरुले कहिल्यै सिलाइ मिसिन छोएका थिएनन्। मेनपावरले उनीहरुलाई आकर्षक तलव सुविधाको प्रलोभन देखाएको थियो। तर चीनमा आएपछि चिनियाँ कम्पनीले उनीहरुलाई नेपालमा तोकेकोभन्दा आधा मात्र पैसा दिएको छ भने दैनिक ११ घण्टा काममा लगाएर उनीहरुलाई बन्दी जस्तै जीवन जिउन बाध्य पारिएको छ।

नेपालको कानुनी छिद्रमा पसेर मेन पावरको आवरणमा चीनमा मानव तस्करी भएको यो पहिलो घटना हो। यसभन्दा अगाडि नेपाली दलालहरुले नेपाली चेलीलाई चीनमा बिहे गराएर तस्करी गर्दै आएका थिए भने हङकङ तथा मकाउ गएर धेरै पैसा कमाउन सकिने प्रलोभन देखाएर युवाहरुलाई तस्करी गरिदै आएको थियो। नेपालबाट चीनतिर हुने मानव तस्करीका केही उदाहरण यस प्रकार छन्।

सन् २०१५ को फेब्रुअरी ३ तारिख चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा बिहे गरेर आएकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्त)लाई २०१५ जुलाईमा नेपाली दूताबासले उद्दार गरेर काठमाडौँ पठायो। कल्पनालाई सान्तोङका २५ वर्षीय वु फुसिङले बिहे गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गरेर चीनमा ल्याएका थिए। काठमाडौँमा म्यारिज ब्युरो खोलेर बसेकी एकजना शेर्पा महिला र चिनियाँ दलाल पापाले उनलाई चीनमा गएपछि महिनाको एक लाख रुपैयाँभन्दा बढीको कमाइ हुने र हङकङ जाने भनेर फकाएका थिए। तर चीनमा आएपछि उनले बन्दीको जीवन जिउनु परेको थियो। सन् २०१५ को अगष्ट १ तारिख हैलुङचाङ प्रान्तमा

मानव तस्करी चीनतर्फ

बिहे गरेर आएकी धरानकी २२ वर्षीया रिना राई (नाम परिवर्त)लाई उनको चिनियाँ श्रीमान्ले कुटपिट गरेर घरमा बस्ने वातावरण बनाएनन्। उनी सोही वर्षको फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीन आएकी थिइन्। उनलाई सासू र लोग्ने भएर दैनिक रुपमा पिट्दै आएका थिए। रिनासँगै बिहे गरेर आएका अन्य चारजना नेपाली महिला गर्भवती भइसकेका थिए तर उनी गर्भवती नभएपछि उनका लोग्ने र सासूले उनीमाथि हिंसा गर्न थालेका थिए। बारम्बारको पिटाइ सहन नसकेर उनी सन् २०१५ अगष्ट १ तारिख शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सिमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन्। उनलाई पछि दूताबासले उद्दार गरी नेपाल पठाइदियो।

सिन्धुपाल्चोककी सुनिता तामाङ (नाम परिवर्त)ले चीनको हबेइ प्रान्तमा रहेका यिन स्याउपोसँग विवाह गरी २०७१ भदौ १८ गते चीन आएकी थिइन्। चीनमा आएपछि उनले नारकीय जीवन भोग्न वाध्य हुनुपर्‍यो। उनका श्रीमान् र चिनियाँ परिवार उदण्ड स्वभावका थिए। सुनितालाई भेट गर्न गएका दुई नेपाली चेलीलाई पनि सुनिताका परिवारले मरणासन्न हुने गरी कुटेर पठाए। दुई वर्ष अगाडिदेखि उनलाई श्रीमान्ले भिसा लगाउन सहयोग गरेनन्। सुनिता बिहे गरेर डिपेन्डेन्ट भिसामा बसेकीले उनी एक्लै केही गर्न सक्दिनथिइन्। फलस्वरुप एक महिना अगाडि मात्र उनलाई चिनियाँ प्रहरीले नेपाल डिपोट गरिदियो।

झापाका सूर्जेबहादुर लिम्बू, मेघराज लिम्बू र जेतबहादुर लिम्बूलाई दलालले सवा चार लाख रुपैयाँ लिएर सन् २०१६ को डिसेम्बरमा चीनको शानतोङ प्रान्तमा ल्याएर अलपत्र बनायो। मासिक ६ हजार चिनियाँ युआन अर्थात् एक लाख रुपैयाँ कमाइ हुने प्रलोभन देखाएर उनीहरुलाई आफन्तले नै झुक्याएका थिए। उनीहरुलाई प्याकिङको काम भनेर झुक्याइएको थियो। चीनमा आएपछि काम अत्यन्त कठिन र पारिश्रमिक निकै थोरै थियो। त्यसमाथि उनीहरु पर्यटन भिसामा आएका थिए र भिसा अवधि सकिएपछि स्वत अवैध भए। दूताबासको सहयोगमा उनीहरु सन् २०१७ को अप्रिलमा नेपाल फर्किए। नेपाल फर्कने बेलामा उनीहरुले नेपालबाट आफन्तसँग पैसा मागेर टिकट किनेर फर्किएका थिए।

सन् २०१६ को जुनमा दीपकसिंह सामन्त र हुमबहादुर कुँवरले पाँचजना नेपाली युवालाई भारतको बाटो हुँदै चीनको क्वाङचौमा ल्याए। हङकङ गएर मासिक दुई लाख रुपैयाँको काम खोजिदिने कुरा दलालले गरेका थिए। त्यही प्रलोभनमा परेर उनीहरुले दलाललाई १० देखि १५ लाख रुपैयाँसम्म बुझाएका थिए। क्वाङचौबाट सन्चजनमा पुर्‍याइएका उनीहरुलाई नेपालमा कथित राजनीतिक पीडित भएको हुनाले देश फर्किने अवस्था नहरेको र आफूहरु हङकङमा शरणार्थी बन्न चाहेको बेहोराको कागजमा हस्ताक्षार गर्न लगाई मानव तस्करले हङकङ छिराउने प्रयास गरेको थियो। तर मानव तस्करले हङकङ छिराउन सकेन। फलस्वरुप उनीहरु यता र उता गर्दागर्दै भिसा अवधि सकिएर चीनमा अवैध भए। त्यसरी अवैध भएका उनीहरु केही दिन प्रहरी हिरासतमा बसेर नेपाल फर्किए।

मानव तस्करी चीनतर्फ

२०७५ असार तेस्रो साता दुई चरणमा १४ जना नेपाली युवालाई चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा रेष्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो। चिनियाँ र मलेसियनले खोलेको भारतीय परिकार बनाउने उक्त रेष्टुरेन्टमा २१ वर्षदेखि ३५ वर्षका नेपाली युवाहरुलाई राम्रो आम्दानी हुने प्रलोभनमा चीन ल्याइएको थियो। मलेसियन स्याङ खु र चिनियाँ लिङ छीले संयुक्त रुपमा चलाएको सो रेष्टुरेन्टमा तीन महिना काम गरेका ती नेपाली युवाले कुनै पनि पारिश्रमिक पाएनन्। तीन महिनापछि रेष्टुरेन्ट बन्द भयो। धेरै पैसा कमाउने आशामा आएका उनीहरु भिसा अवधि सकिएर अवैध भए। चिनियाँ प्रहरीले दुई महिना डिटेन्टसमा राखेर गत पुसमा उनीहरुलाई नेपाल फिर्ता पठायो।

उल्लिखित घटनाहरुलाई विश्लेषण गर्दा नेपालबाट चीनमा तीन प्रकारबाट मानव तस्करी हुने गरेको छ। एक अर्ब चालीस करोड जनसंख्या भएको चीनमा लैंगिक सन्तुलनको खाडल ठूलो छ। महिलाको तुलनामा पुरुषको संख्या धेरै भएकाले पुरुषलाई बिहे गर्नका लागि केटी पाउन मुस्किल छ। चिनियाँ प्रचलन अनुसार बिहे गर्दा बेहुला पक्षबाट बेहुलीलाई धेरै पैसा र धनसम्पत्त दिनुपर्ने भएकाले पनि अलिक गरिब व्यक्ति बिहे गर्नबाट बन्चित हुने गरेको छ। तसर्थ उनीहरु भियतनाम, बंगलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, कम्बोडिया लगायतका मुलुकमा जान्छन्। दलाललाई पैसा तिर्छन् र श्रीमती किनेर चीन फर्कन्छन्। त्यसरी किनेर ल्याइएका श्रीमतीले चिनियाँ भाषा जानेको हुँदैनन्। काम गर्ने सीप पनि हुँदैन। त्यसमाथि बच्चा जन्माउन असमर्थ भए भने चरम यातना भोग्न तयार हुनुपर्छ।

नेपालमा दलाले चिनियाँबाट १० लाखदेखि १८ लाख रुपैयाँसम्म पैसा लिएर नेपाली महिला भिडाउने गर्दछन्। त्यसरी बिहे गरेर आएका महिलाहरुलाई सुरुमा चीनको भिसा लगाउन मात्र बिहे दर्ता गर्नु परेको हो भन्दै हङकङ गएर छिट्टै लाखौँ रुपैयाँ कमाउन पाइने लोभ देखाइने गरेको चीनमा बिहे गरेका नेपाली महिलाहरु बताउँछन्। मानव तस्करको चङ्गुलमा परेर चीनमा बिहे गरेर आएका लगभग तीन दर्जन महिलामध्ये आधा दर्जनजतिलाई दूताबासले

मानव तस्करी चीनतर्फ

उद्दार गरेर नेपाल फर्काइसकेको छ। बाँकी आधा दर्जन आफ्नै खुशीले नेपाल फर्किएका छन्। अहिले चीनमा रहेका लगभग दुई दर्जनजति नेपाली महिलाहरुको बैबाहिक जीवन सन्तोषजनक रहेको छ। चिनियाँसँग बिहे गरेका नेपाली महिलाहरु अब भाषा पनि जान्ने र अधिकांश आमा बनिसकेका छन्। मानव तस्करले हङकङ र मकाउमा गएर राम्रो आम्दानी गर्न पाइन्छ भनी नेपाली युवालाई झुक्याएर चीनमा ल्याएर अलपत्र पार्ने गरेका छन्। चीनमा नेपालबाट हुने गरेको मानव तस्करीको यो दोस्रो तरिका हो। सन् १९९७ मा हङकङ मातृभूमि चीनमा फर्कनु अगाडि बेलायतको उपनिवेश थियो। त्यो बेलामा गोर्खा सैनिकका लागि हङकङ आकर्षणको थलो थियो। त्यो ह्याङओभर नेपालीहरुमा अझै छँदैछ। मकाउमा छ्यापछ्याप्ती रहेका क्यासिनोहरुमा अहिले पनि नेपाली सुरक्षाकर्मीको बाहुल्य छ। उनीहरुको पारिश्रमिक पनि राम्रै छ। हङकङ र मकाउको सपना देखाएर नेपाली युवालाई मानव तस्करले पासो थापेर चीनमा ल्याएर बिचल्ली बनाउने गरेका छन्। नेपालबाट चीनमा हुने तेस्रो मानव तस्करी चाहिँ नेपालको कानुनी कमजोरीमा टेकेर मेन पावर कम्पनीले गर्न थालेका छन्। चिनियाँ कम्पनीले दक्ष कामदार माग गर्दा अदक्ष र निरक्षर नेपाली महिलाहरुलाई महंगो पैसा असुलेर चीनमा ल्याएर बिचल्ली बनाउने खेती मौलाएको छ। मानव तस्करले यही तरिका अपनाएर यस अगाडि खाडी मुलुक, सिरिया, इराक, लेबनन, कुवेतदेखि अफ्रिकन मुलुकसम्म पुर्‍याउने गरेका थिए। अब त्यो पेशा चीनतिर सोझिएको छ। चीनले नेपालीलाई सहजै भिसा दिने भएकाले पनि मानवतस्करको आँखा चिनियाँ बजारतिर गाडिएका हुनसक्छन्।

चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले जुन २१ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा जनाए अनुसार गत वर्षदेखि चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले म्यान्मार, कम्बोडिया, लाओस, भियतनाम र थाइल्याण्डका प्रहरीसँग संयुक्त रुपमा अन्तर्राष्ट्रिय मानव तस्करी र वैवाहिक धोखाधडी अवपराधमाथि कारवाही सुरु गरेको छ। उल्लिखित मुलुकबाट चीनमा मानव तस्करी भएका ६३४ वटा मुद्दा चलाउनुका साथै एक हजार एक सय ३० जना मानवतस्करलाई पक्राउ गरेको छ। पक्राउ परेकामा १५३ जना विदेशी छन्। चिनियाँ प्रहरीले एकहजार एकसय तीजना विदेशी महिला तथा १७ जना बालबालिकाको उद्दार गरेको छ।

साभारः नागरिक दैनिक। २०७६ असार १९ गते (२०१९ जुन ४) बिहीबार।