व्यापार युद्ध र पिङपङ डिप्लोमेसी
2019-07-12 15:16:06CRI
Share with:

विश्वका दुर्इ शक्तिशाली राष्ट्रहरू चीन र अमेरिकाबीच जारी व्यापार युद्धले चीन र अमेरिकालार्इ मात्रै होइन, यसले विश्वलार्इ नै असमञ्जस स्थितिमा पुर्‍याएको छ। चीन र अमेरिकाको अर्थव्यवस्थामा नकारात्मक असर पर्नु स्वाभाविकै हो तर यसबाट विश्व अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ। यी दुर्इ देशबीच चर्केको व्यापार युद्धले १ वर्ष नाघिसकेको छ। हालैको जी-२० सम्मेलनमा भएको चिनियाँ राष्ट्राध्यक्षा सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दि्‍वपक्षीय वार्तापछि युद्धले नयाँ मोड लिने आशा गरिएको छ। तापनि शंका, उपशंका अझै कायमै छन्।

यी दुर्इ देशबीचको सम्भावित व्यापार युद्धको खतरा या सङ्केत डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय चुनाव प्रचारको क्रममा गरेको घोषणादेखि नै भएको थियो। उनले चीनसँगको बढ्‍दो व्यापार घाटाका साथै अमेरिकी अर्थतन्त्रलार्इ सबल पार्न 'अमेरिका ग्रेट अगेन'को नारालार्इ नै मुख्य चुनावी हतियार बनाएका थिए। उनले सत्ता सम्हालेको डेढ वर्षपछि सन् २०१८ मा चीनलार्इ बौद्धिक सम्पत्ति चोरीको आरोपलगायत विश्व व्यापार संगठनबाट चीनले विकासोन्मुख देशको आधारमा उठाइरहेको फाइदाको विरोध गर्दै चिनियाँ सामानमाथि कर लगाउने नीति अघि सारेका थिए। उनले सन्‍ २०१७ मा नै चिनियाँ व्यापार नीतिमाथि छानबिन गर्न लगाएका थिए। यहीँबाट सुरु भएको चीन अमेरिकाको व्यापार घर्षणले हाल यी दुर्इ देशमात्रै नभइ विश्वलार्इ नै चिन्तित तुल्याएको छ।

यसै व्यापार द्‍वन्द्‍वका कारण विश्व व्यापार संगठनले चालु वर्षको व्यापार वृद्धि दर अनुमानलार्इ पहिले प्रक्षेपित ३.७ प्रतिशतबाट घटाएर २.६ प्रतिशत बनाएको छ। विश्व बैंकले पनि चालु वर्ष र आगामी वर्ष विश्वको आर्थिक वृद्धि गति घटाउँदै क्रमश: २.६ र २.७ प्रतिशत हुने अनुमान गरेको छ। साथै अन्तर्राष्टि्रय मुद्रा कोषले पनि सन्२०१९ को विश्व आर्थिक वृद्धि दर कम हुने प्रक्षेपण गरेको छ। यसरी सारा विश्वको अर्थव्यवस्थामा नकारात्मक असर परेको यस युद्धले झन् चीन र अमेरिकालार्इ असर नपार्ने त सवालै उठ्‍दैन।

व्यापार विवादपछि दुवै देशमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ। कर वृद्धिले अमेरिकी कृषिजन्य सामानको चीनतफ निर्यात घट्‍नुका साथै चीनबाट अमेरिका निर्यात हुने सामानमा पनि कमी आएको छ। कर वृद्धिका कारण एक अमेरिकी परिवारलार्इ औसत रुपमा वार्षिक ८०० डलर महङ्गी बढ्‍ने एक तथ्याङ्कले देखाउँछ। चालु वर्षको पहिलो चार महिनामा अमेरिकामा चिनियाँ निर्यात करिब १३ प्रतिशतले घटेको छ। त्यसै गरी गत वर्षको तुलनामा चीनमा चालु वर्षको पहिलो चार महिनामा २१ प्रतिशतले अमेरिकी आयात कम भएको छ। साथै सन्२०१८ मा अमेरिकामा १० प्रतिशतले प्रत्यक्ष चिनियाँ लगानी घटेको छ। यसै बीच सन्२०१८ मा २.९ मिलियन डलरको आम्दानी गरेका ९१ वटा कम्पनीले चिनियाँ हाइटेक सहर शन्चन छोडेका छन्‍। यी दृष्टान्तले युद्धबाट कसैको लाभ हुँदैन भन्ने नै दर्शाउँछ।

एक तथ्याङ्क अनुसार, सन्२०१६ मा अमेरिकाले करिब २२५ बिलियन डलर बराबर चिनियाँ उत्पादन आयात गरेको थियो भने चीनले १४५ बिलियन डलर बराबरको अमेरिकी उत्पादन आयात गरेको थियो। त्यसको दुर्इ वर्षपछि सन्२०१८ मा १२० बिलियन डलरको अमेरिकी सामान चीनले आयात गर्दा अमेरिकामा ५३९ बिलियन डलर बराबरको चिनियाँ सामान निर्यात भएको छ। यस तथ्याङ्कले दुर्इबीचको व्यापार असन्तुलन भने प्रस्ट्‍याउँछ। यद्यपि अमेरिकी सरकारले व्यापार सन्तुलनका लागि चालेको कदमलार्इ अमेरिकी नागरिक समाजका साथै व्यापारीले नै आलोचना र विरोध गर्दैआएका छन्‍। व्यापार सन्तुलनको नाममा जनतामा करको भारी बोकाउनु न्यायोचित छैन। अमेरिकी अर्थतन्त्रमा गत वर्ष ८९० बिलियन डलरको व्यापार घाटा भएको तथ्याङ्कले देखाउँछ। अमेरिकाले व्यापार घाटाबाट उम्कनका लागि चीन मात्रै होइन, मेक्सिको, यूरोपेली यूनियनलगायत सबै देशमा यही कर नीति सारेको छ। यस कदमका कारण कयौं अमेरिकी उद्‍योग बन्द हुने अवस्थामा पुगेको छ। पूर्वअमेरिकी विदेशमन्त्री हेन्रि किसिङ्गरले समेत सस्तो र गुणस्तरीय चिनियाँ सामानले अमेरिकी जनताको माग पूरा गरेको बताएका छन्‍। साथै वार्ता नै दुर्इ देशबीचको घर्षणको समाधान भएको औंल्याएका छन्।

हालसम्म दुर्इ देशका वार्ता टोलीबीच ११ पटक वार्ता भइसकेको छ। पहिलो वार्ता सन्२०१८ फेब्रवरी २७ देखि मार्च ३ सम्म चलेको थियो। अब चाँडै नै बेइजिङमा अर्को वार्ता हुने भनिएको छ। तर यी भएका वार्ताहरूबाट कुनै ठोस निष्कर्षमा पुग्न सकेको देखिँदैन। वार्ता टोलीबाट सकारात्मक उपलब्धि नभइरहेको अवस्थामा सन्२०१८ डिसेम्बर १ मा अर्जेन्टिनाको ब्युनस आयर्समा आयोजित जी-२० सम्मेलन दौरान भएको दुर्इ देशका राष्ट्रप्रमुखको भेटबाट चर्किँदैगएको व्यापार युद्धले केही सकारात्मक मोड लिएको थियो। सो भेटवार्ताले दुवै राष्ट्रप्रमुखबीच पारस्परिक सम्मान, हित र साझा जीतको आधारमा सहमति गरिनुपर्ने सम्झौता भएको थियो। यसै भेटमा तीन महिना व्यापार युद्ध विराम गर्न सहमति पनि भएको थियो। मार्च १ अघिसम्म व्यापार विवादलार्इ हल गर्न सहमति भए तापनि वार्ता निष्कर्षमा पुग्न सकेन। अमेरिकाले पूर्वघोषणा अनुसार दुर्इ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा १० देखि २० प्रतिशत सम्म कर लगायो र चीनले पनि त्यसको तीन दिनपछि ६० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगायो। योसँगै चीन अमेरिकाबीच जारी व्यापार युद्धले जटिल रुप लिँदै गएको छ।

यसै बीच चीनको राज्य परिषद्‍ सूचना कार्यालयले जुन २ मा अमेरिकाबीचको व्यापार युद्धसम्बन्धमा कुल ८ हजार ३ सय शब्दको श्वेतपत्र जारी गरेको थियो। अमेरिकाले संरक्षणवादी नीति अङ्गाल्नुका साथै खुला नीतिमा बाधक रहेको उल्लेख गर्दै कर वृद्धिका बावजुद चीन र अमेरिकाबीचको सम्बन्धमा दरार आउन नहुने र वार्तालार्इ निरन्तरता दिनु नै समस्याको समाधान भएको उल्लेख गरेको छ। साथै बौद्धिक चोरी आरोप तथा चिनियाँ कम्पनी ह्वावै (हुवावे) मार्फत् जासुसीको आरोपको पनि खण्डन गरेको छ। उता अमेरिकाले भने चीनले ह्वावैका उत्पादनमार्फत् जासुसी गरिरहेको आरोप लगाउनुका साथै स्वच्छ व्यापारको प्रवर्द्‍धन नगरे चीनबाट आपूर्ति हुने सबै सामानमा कर वृद्धि गर्ने चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले "तेस्रो चरण"को कर वृद्धि हुने चेतावनी दिएका हुन्। उनले चीनबाट आयात हुने बाकी दुर्इ सय ६७ अर्ब डलर बराबरका सामानमा पनि कर वृद्धि गर्ने उल्लेख गरेका हुन्। यस्तो अवस्था आएमा विश्व अर्थव्यवस्थाकै सबैभन्दा खराब अवधि हुने छ। यस अवस्थामा विश्वको हस्तक्षेप जरुरी हुने छ। युद्धमा हार जीत हुने गरे तापनि जित्नेले पनि धेरै गुमाएको हुन्छ। त्यसकारण वार्ताबाट समाधान खोज्नु नै बुद्धिमानी हुनेछ।

यस्तै अन्योलको अवस्थामा जापानको ओशाकामा हालै सम्पन्न जी-२० शिखर सम्मेलनमा यी दुर्इ नेताबीच भएको भेटले नयाँ आशा पलाएको छ। यो भेटसँगै ट्रम्पले चिनियाँ सूचना प्रविधि कम्पनी, फाइभ जीको तीव्र रुपमा विकास गर्दैआएको ह्वावैको विक्रीमाथिको प्रतिबन्ध हटाएको छ। समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्न सहमत भएका छन्। अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर लगाउने छैन। भेटवार्तामा सीले चीन र अमेरिका दुवै सहयोगबाट लाभान्वित हुने र संघर्षबाट हार मात्र मिल्ने बताएका छन्। टकरावभन्दा राम्रो सहयोग र वार्ता हो, सीले ट्रम्पलार्इ भेटमा भनेको सिन्ह्वाले लेखेको छ। दुर्इ मुलुकबीचको आपसी आयात निर्यात हुने वस्तुउपर लगाइएको व्यापारिक करबाट सुरु भएको यो युद्धले चीन अमेरिकाबीचको ऐतिहासिक सम्बन्धलार्इ पनि धरापमा पारेको छ।

पिङपङ डिप्लोमेसी

यस वर्ष चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सव हो। तर दुर्इ बीचको व्यापार युद्धले ओझेलमा परेको छ। सन् १९७९ जनवरी १ मा दुर्इ देशबीच दौत्य सम्बन्ध स्थापना भएको थियो। नयाँ चीन स्थापनाको दुर्इ दशकपछि अमेरिका र चीनलार्इ टेबलटेनिस खेलले नजिक ल्याएको थियो। जुन पिङपङ डिप्लोमेसीको नामले परिचित छ। सन् १९७१ अपि्रलमा जापानमा आयोजित विश्व टेबलटेनिस च्याम्पियनसिपको दौरान चिनियाँ टोलीले अमेरिकी खेलाडीलार्इ उनको बस छुटेपछि दिएको लिफ्ट र उपहारस्वरुप दिएको रेशमको स्काफबाट सुरु भइ चीनमा पिङपङ खेल्नसम्म अमेरिकी टोलीलार्इ दिइएको निम्तो नै पिङपङ डिप्लोमेसी हो। सन् १९७१ अपि्रल १० मा उक्त अमेरिकी टोलीले नयाँ चीनमा पाइला टेकेको थियो। सन्‍ १९४९ पछि अमेरिकी नागरिकले चीनमा पाइला राखेको यो नै पहिलो थियो। यस पछि नै अमेरिकाले चीनमाथि लगाएको व्यापार प्रतिबन्ध फुक्का गरेको थियो, जुन २० वर्षअघिदेखि जारी थियो। सन् १९७२ फेब्रवरीमा तत्कालिन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमण गर्ने पहिलो राष्ट्रपति थिए। यहीँबाट चीन अमेरिकासम्बन्धमा नयाँ युग सुरु भएको थियो।

सीले ओशाका भेटमा पनि ट्रम्पलार्इ पिङपङ डिप्लोमेसीको स्मरण गराएका थिए। यस भेटले मार्ग खोले तापनि त्यो सहज नहुने विज्ञहरूको अनुमान छ। साथै वर्तमान अवस्थामा अमेरिकाको हातमाथि रहे तापनि अन्तत: चीनले बाजी मार्ने सम्भावना बलियो छ। अमेरिकासँग व्यापार द्‍वन्द्‍व चर्कदै गएको पृष्ठभूमिमा पनि चीनको व्यापारमा वृद्धि भएको अवस्था छ। चीनको भन्सार ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु वर्षको अघिल्ला ५ महिनामा चीनको वैदेशिक व्यापारमा संलग्न कुल रकम १२१ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको छ। चीनले प्रयोग गर्दैआएको अमेरिकी उत्पादन र प्रविधिको ठाउँमा आफ्नै उत्पादन र प्रविधिको विस्तार गर्न थालिसकेको छ। ह्वावैले आफ्नै अपरेटिङ सिस्टम तयार गर्दैछ। यसरी चीन विस्तारै पूर्ण रुपमा आत्मनिर्भर बन्ने पक्षमा अघि बढिरहेको छ।

निस्सन्देह दुवै शक्तिशाली राष्ट्र पहिलो नम्बरको होडमा छन्‍। एउटा सदा पहिलो नम्बरमै रहने दाउको खोजीमा देखिन्छ भने अर्को उछिन्निएर अघि बढ्‍ने दाउमा छ तर सत्य यही हो कि द्‍वन्द्‍वले दुर्इ पक्ष्ाको मात्रै होइन समस्त विश्वलार्इ नै पछाडि धकेल्ने छ। व्यापार सन्तुलनका लागि जनतामा कर थोपार्ने र करको बदला कर नीतिले कसैको भलो हुने छैन। वार्ताबाट सहमति खोज्नु नै साझा जीत हुनेछ। अमेरिका र चीनले समन्वय र सहकार्य गरेर विश्व शान्ति, स्थिरता, विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। यो उनीहरूको उत्तरदायित्व पनि हो।

(यो लेख २०७६ असार २७ गतेको अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।)

व्यापार युद्ध र पिङपङ डिप्लोमेसी