बढ्दैछ भारतबिरोधी भावना
2019-08-07 10:17:42CRI
Share with:

बढ्दैछ भारतबिरोधी भावना

केही दिन अगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछिका चार वर्षसम्म पनि नेपालसँगको सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरुले चासो व्यक्त गरेको भनी समाचार प्रकाशित गर्‍यो। भारतीयहरुको बुझाइ अनुसार नेपालमा भारत विरोधी भावना बढ्दै गएको छ। समाचारमा नेपाल चीनतिर ढल्किएको भन्दै भारतीयहरुले चिन्ता व्यक्त गरेको कुरा पनि उल्लेख छ। भारतका एकजना विज्ञलाई उद्धृत गर्दै सो समाचारमा भनिएको छ 'आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवर्द्धन गर्ने बुँदामा भारतको विशेष चासो छ।'

समाचारमा उद्धृत गरिएका कथित भारतीय उच्च बौद्धिक जगतले नेपालमाथि अनर्गल आरोप लगाएका छन्। नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो। भारत बेलायतको उपनिवेश बनिरहँदा नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको थियो। चीन र भारतका बीचमा रहेको नेपालले दुवै छिमेकी मुलुकसँग समदुरीमा सुमधुर सम्बन्ध राख्दै आएको छ। नेपाललले पूर्वाधार विकास र समृद्धिका लागि दुवै छिमेकी मुलुकसँग हातेमालो गर्नसक्छ र गर्छ। छिमेकी मुलुक बाहेक अन्य राष्ट्रसँग पनि नेपालले सहकार्य गर्छ। यसमा भारतको टाउको दुखाइ बुझिनसक्नुको छ।

आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवर्द्धन गर्ने बुँदा नितान्त नेपालको स्वार्थअनुकूल छ। नेपालमा चिनियाँ लगानी वृद्धि गर्ने र नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग भित्रिने कुरा स्वयं भारतका लागि पनि अनुकूल छ। नेपालमा जति विकास हुन्छ त्यसको प्रभाव छिमेकी मुलुक भएकाले स्वत: भारतमा पनि पर्छ। एर्काईसौँ शताब्दीमा विश्वव्यापीकरणले संसारलाई सानो गाउँमा परिणत गरिसकेको छ। यस्तो अवस्थामा एक देशको विकासले छिमेकी मुलुकलाई सकारात्मक प्रभाव पार्छ भने विनासले स्वाभाविक रुपमा छिमेकी मुलुकलाई पनि असर पार्छ।

बढ्दैछ भारतबिरोधी भावना

चीनले विशेष गरी विकासोन्मुक मुलुकको पूर्वाधार विकासमा सहकार्य गर्ने उद्देश्यले ल्याएको बीआरआईमा नेपाल प्रवेश गरिसकेको भए पनि भारत पन्छिँदै आएको छ। विकासको यो महापरियोजनाको अभियानमा अन्तत: भारत पनि सहभागी नभई धर छैन। बीआरआईको समान उद्देश्य लिएको चिनियाँ प्रवर्द्धनको एसियाली पूर्वाधार लगानी बैंकमा भारत संस्थापक मुख्य सेयर होल्डर बनिसकेको छ। भारतको वरिपरी रहेका दक्षिण एसियाका प्राय मुलुकहरु बीआरआईमा सहभागी भइसकेका छन्। विकास अभियानमा नेपाल सहभागी हुँदा भारतको बेखुशी उसको हिनताबोध र डाह बाहेक अरु केही होइन। भारत नेपालमा स्थिरता, विकास र समृद्धि कहिल्यै पनि देख्न चाहँदैन भन्ने कुरा उल्लिखित तथ्यबाट पुष्टि हुन्छ। नेपालमा भारत बिरोधी भावना वृद्धि भएकोमा भारतको चासो हुनु स्वाभाविक हो। तर, यसको मूल कारणमा भारत कहिल्यै प्रवेश गरेको देखिँदैन। तीनपटकसम्म नेपालमाथि नाकाबन्दी लगाएर भारतले नेपालमा भारत बिरोधी भावनामा मलजल गरेको छ। इतिहासका धेरै पाना पल्टाउनै पर्दैन। चार वर्ष अगाडि भूकम्पले थिलथिलो भएको अवस्थामा नेपालमाथि नाकाबन्दी गरेर भारतले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा पनि भारत बिरोधी भावनामा वृद्धि गरायो। अहिलेसम्म भारतले त्यस गल्तीमा माफी मागेको छैन।

नेपालमा भारत बिरोधी भावना वृद्धि हुनुको अर्को कारण नेपालको तराई क्षेत्र डुबानमा पर्नु पनि हो। भारतले अन्तर्राष्ट्रिय कानुनको उलंघन गर्दै मिचाहा प्रवृति प्रस्तुत गर्दै आएको छ। नेपालको सीमा क्षेत्र नजिकै विभिन्न संरचना खडा गरेर वर्षात्मा नेपाललाई डुबाउने र सुख्खायाममा नेपालको पानी एकलौटी बनाउने नीति लिएको छ। फलत: वर्षेनी नेपाल डुबानमा पर्दै आएको छ। गत हप्ताको मनसुनी झरीले नेपालको दुई नम्बर प्रदेशमा देखाएको पीडा त्यसैको एउटा उदाहरण हो। बरिष्ठ सीमाविद तथा सीमा अध्येता बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले नेपालको सीमावर्ती क्षेत्रमा ब्यारेज, ड्याम, बाँध, तटबन्ध, जोड्ती बाँध र चक्रबाँध जस्ता संरचना बनाएर नेपाललाई डुबानमा पारिरहेको छ। यस बाहेक नेपालको सीमा नजिकैबाट भारतले राजमार्ग र रेलमार्ग जस्ता संरचना पनि बनाएको छ। फलस्वरुप वर्षायाममा नेपालको करिब १२ हजार ४ सय बिगाहा जमिन डुबानमा पर्छ भने सुख्खा याममा पनि २ हजार ८ सय बिगाहा जमिन डुबानमा पर्ने गरेको छ ।

नेपाललाई डुबाउने भारतीय संरचनामध्ये बाँकेको दक्षिण क्षेत्रमा रहेको लक्ष्मणपुर बाँध, कपिलवस्तु नजिकको महलीसागर बाँध, रुपन्देहीको रसिवाल खुर्दलोटन जोड्ती बाँध, रौतहटको बैगरनिया चक्र बाँध, सप्तरीको कुनौली तटबन्ध र मोरङको लौना तटबन्ध मुख्य हुन्। यस बाहेक कोशी ब्यारेज, गण्डक ब्यारेज, भैसालोटन ब्यारेज बहुचर्चित नै रहेका छन्। भारतले नेपालको सीमावर्ती क्षेत्रमा एक हजार ७ सय ५० किलोमिटर राजमार्ग बनाइसकेको छ भने यस प्रकारका संरचनालाई निरन्तर निर्माण कार्य गरिरहेको श्रेष्ठले बताएका छन्। यसले नेपालको तराई क्षेत्रलाई थप डुबानमा पार्ने निश्चित छ।

भारतले अनधिकृत रुपमा बनाएका उल्लिखित संरचनाले वर्षातमा भारतलाई पनि दु:ख दिने गरेका छन्। थुनिएको बाढीले घचेटेपछि कतिपय संरचना भत्किएका छन् जसले गर्दा तल्लो भारतीय तटबन्दमा बसेका नागरिकहरु डुबानमा पर्नु स्वाभाविक हो। गजबको कुरा त के छ भने यस्तो अवस्थामा पनि भारतीय नेता र भारतीय संचारमाध्यमहरुले नेपालमाथि दोष लगाउने गरेका छन्। प्राकृतिक रुपमा बग्ने नदी र खोला थुन्ने भारत अनि बाढीले थुनिएको भाग भत्काएर भारतीय भूमिमा बाढी पस्ता नेपालमाथि दोष लगाएर आफू दोषमुक्त हुने दुषित भावना नै भारतीय चरित्र हो। यस्तो चरित्र भारतले नत्यागेसम्म नेपालमा भारत विरोधी भावनामा सुधार हुँदैन। भारतको यस्तै चरित्रले गर्दा बाध्य भएर सप्तरीको तिलाठीमा किसानहरु जुर्मराउँछन्।

बढ्दैछ भारतबिरोधी भावना

नलपरासीको महेशपुरमा स्थानीय बाँध भत्काउन तम्सन्छन्।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार सीमा क्षेत्रको ८ किलोमिटरभित्र कुनै पनि बाँध अथवा तटबन्द निर्माण गर्नका लागि सम्बन्धित मुलुकसँग सम्झौता र सहमति गर्न आवश्यक छ। तर, भारतले नेपालको सीमा नजिकै जे जति संरचना बनाएको छ कहीँ पनि नेपालसँग सम्झौता र सहमति गरेको छैन। नेपालकै भूमिमा बनाइएका कोशी ब्यारेज, गण्डक ब्यारेज र शारदा नहर तथा टनकपुर ब्यारेजमा भएका सम्झौता र सहमति पालना भएका छैनन्। नेपाल नराम्ररी ठगिएको छ। नेपालका नदीनालामाथि आँखा गाडेर जलविद्युत परियोजना ओगट्ने तर कहिल्यै नबनाउने अनि नेपालमा चिनियाँ लागनी प्रवर्द्धन हुँदा टाउको दुखाउने भारतले आत्मसमीक्षा गरेर आफ्ना गल्ती तुरुन्तै सुधार्न आवश्यक छ।

भारतले नेपालसँगको सम्बन्धलाई सुमधुर बनाउन र नेपालमा उर्लिएको भारत बिरोधी भावनालाई मथ्थर बनाउनका लागि कथित नेताको भाषण र चिन्ताले मात्र संभव छैन। भारतले ऐना पुस्नु अगाडि आफ्नो अनुहार सफा गर्न आवश्यक छ। भारतीय सीमा सुरक्षाबलका व्यक्तिहरु हतियारसहित अनधिकृत रुपमा नेपालमा प्रवेश गर्ने, खुलेआम रुपमा गोली हानेर नेपालीको हत्या गर्ने (कंचनपुरमा गोबिन्द गौतम), नेपालमा लुटपाट, अपहरण र हत्या गर्ने अपराधीलाई भारतमा संरक्षण गर्ने, भारतमा काम गरेर फर्किएका नेपालीलाई सीमा क्षेत्रमा दु:ख दिने, विभिन्न वाहनामा नेपालीको मानमर्दन गर्ने, भारतीय संचार माध्यममा नेपालको बारेमा भ्रामक र दुर्नियतपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्यले नेपालीहरुमा भारत विरोधी भावनालाई जागृत गराएको छ। त्यतिमात्र हैन नेपालमाथि खुलेआम हस्तक्षेप गर्ने र नेपालको राजनीतिक अस्थिरतामा प्रवेश गरेर सूक्ष्म व्यवस्थापन गर्न खोज्ने कार्यले पनि भारतलाई नेपालमा बदनाम गराएको छ।

नेपाल र भारतबीचमा विशेष प्रकारको सम्बन्ध रहेको छ। खुला सिमानासँगै रोटी बेटीको सम्बन्ध युगौँदेखि प्रचलनमा छ। साझा संस्कृति, भाषा, धर्म भूगोल रहे पनि भारतले नेपालमाथि कहिल्यै सकारात्मक भावना राखेन। नेपालमाथि सधैँ थिचोमिचो गर्ने अनि चीनले नेपालमा सहयोग गर्‍यो भन्दै मरिच जस्तै चाउरिने भारत पहिले आफू इमानदार हुन आवश्यक छ। भारतसँग यो प्रश्नको जवाफ छ– ४ वर्षअगाडि भूकम्पले ध्वस्त भएको नेपालविरुद्ध के कति कारण नाकाबन्दी लगायौ ?

साभारः नागरिक दैनिक। २०७६ साउन २ (२०१९ जुलाई १८) बिहीबार।