बेहुली तस्करी
2019-09-06 09:16:55CRI
Share with:

केही दिन अगाडि नेपाली संचार जगतमा नेपाली बेहुली चीनतिर तस्करी शीर्षकको समाचार चर्चित बन्यो। काठमाडौँमा खुलेका कथित म्यारिज ब्युरोहरुले चिनियाँसँग मोलतोल गरेर नेपाली चेलीलाई बेहुलीको रुपमा तस्करी गर्दै

बेहुली तस्करी

आएको कुरा उक्त समाचारमा उल्लेख थियो। नेपाली चेलीले चीनमा बिहे गर्ने चलन १४ सय वर्ष अगाडि भृकुटीबाट सुरु भएको हो। चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएका नेपालका जिल्लाबासीहरुले चिनियाँसँग बैबाहिक आदानप्रदान गर्दै आएका छन्। यो सामान्य प्रकृया भए पनि विगत डेढ दसकदेखि दलालमाफत चीनमा नेपाली बेहुली तस्करी हुँदै आएको छ।

बिगत ६ वर्षदेखि बेइजिङमा बसेर काम गर्दा चीनमा बिहे गरेर बसेका दर्जनौ नेपाली चेलीहरुसँग सम्पर्क भएको छ। फेसबुक जस्तै चीनमा लोकप्रिय रहेको वीच्याट संजालमा उनीहरु स्तम्भकारसँग जोडिएका हुन्। केहीलाई प्रत्यक्ष रुपमा भेट गर्ने मौका पनि मिलेको छ। कुराकानीका क्रममा उनीहरुले चीनमा बिहे गरेर आएको कुरा निकै मार्मिक ढङ्गले बताउँछन्। आर्थिक अवस्था कमजोर भएका नेपाली महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर चिनियाँसँग बिहे गराइएको छ। चीन गएपछि महिनाको लाखौँ रुपैयाँ कमाउन पाइन्छ, सजिलैसँग हङकङ गएर काम गर्न पाइन्छ, चिनियाँहरु धेरै धनी हुन्छन्, सुख सयल दिन्छन्, पछि परिवारका अन्य व्यक्तिलाई पनि बोलाउन सकिन्छ जस्ता सपना उनीहरुलाई देखाइएको छ। अधिकांश नेपाली महिलाको असमान उमेरका चिनियाँसँग बिहे भएको छ। कुनै चिनियाँको पहिले नै बिहे भएर सम्बन्ध विच्छेद भएका छन्। चीनमा बिहे गरेर आएकी सोलुखुम्बुकी एकजना शेर्पा थरकी महिला बोल्न र कान सुन्न नसक्ने छिन्। उनी अहिले आमा बनिसकेकी छन्। काठमाडौँमा गलैँचा बुन्ने, विभिन्न रेष्टुरेन्टमा काम गर्ने, ब्युटीपार्लर चलाउने, विदेश जान विभिन्न मेनपावर चहार्ने लगायत काठमाडौँ आसपासका महिलाहरुलाई दलालले एक ठाउँमा बटुल्ने गर्दछन्। ती महिलाहरुलाई चिटिक्क सिँगारेर चिनियाँका अगाडि उपस्थित उभ्याइन्छ। चिनियाँले छानेपछि जिल्ला प्रशासन कार्यालयमा लगेर बिहे दर्ता गराइन्छ। बिहे गर्ने चिनियाँले नेपाली दलाललाई एकमुष्ट ७० हजारदेखि एक लाख चिनियाँ युआन (१२ लाखदेखि १६ लाख रुपैयाँसम्म) बुझाएको नेपाली बिहे गरेर आएका चिनियाँहरु बताउँछन्। दलालले नेपाली महिलाको परिवारलाई दिनुपर्छ भनेर चिनियाँबाट पैसा लिएपनि परिवारका सदस्यलाई दिने गरेका छैनन्। चिनियाँसँग बिहे गरेका केही नेपाली महिलाहरु नेपालमा पहिले नै बिहे गरेर सन्तान जन्माइसकेका महिला पनि छन्। कुनै महिलाका श्रीमान्ले अर्की बिहे गरेका त

बेहुली तस्करी

कसैको श्रीमान्ले छोडेको उनीहरु बताउँछन्। केही महिलाले चिनियाँ श्रीमान्लाई नेपालमा आफ्ना छोराछोरी भएको कुरा लुकाएका छैनन्। बेला बेलामा उनीहरुले नेपालमा आफन्तलाई पैसा पनि पठाउने गरेका छन्। चिनियाँसँग बिहे गर्ने नेपाली महिलाहरुमा राई, गुरुङ, तामाङ, लिम्बू, शेर्पा जातिका धेरै छन् भने केही क्षेत्रीबाहुन तथा दलित समुदायका पनि छन्। केही महिला नेपाल गएर परिवार भेटेर आउँछु भनी चिनियाँ श्रीमानलाई झुक्याएर नेपाल गएर नफर्किएका पनि छन्। चीनमा बिहे गरेर आएका केही टाठाबाठा नेपाली महिलाले केही वर्षपछि नेपालबाट अन्य महिलालाई चिनियाँसँग बिहे गराउने काम पनि गर्दै आएका छन्। चिनियाँबाट पैसा लिएर कसैले आफ्नै दिदी अथवा बहिनी वा आफन्तलाई चिनियाँसँग बिहे गराएका छन्।

केही वर्ष अगाडिसम्म चिनियाँसँग बिहे गरेका नेपाली महिलाहरुले हिंसा बेहोरेको गुनासा सुनिन्थ्यो। अहिले त्यस्ता गुनासा खासै सुनिदैनन्। अहिले नेपाली महिलाहरु राम्रोसँग चिनियाँ भाषा बोल्न सक्ने भएका छन्। बच्चा जन्माएपछि परिवारका सदस्यले राम्रो व्यवहार गरेको उनीहरुको भनाइ छ। सन् २०१५ को फेब्रुअरी ३ तारिख चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा बिहे गरेर आएकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङले आफ्नो श्रीमान् र परिवारले हिंसा गरेको भन्दै उद्दार गरिदिन बेइजिङस्थित नेपाली दूताबासलाई अनुरोध गरिन्। दूताबासले सोधखोज गर्दा कल्पनालाई बिहे गरेर ल्याएका ऊ फुसिङले काठमाडौँको एक म्यारिज ब्युरो एजेन्सीलाई एक लाख चिनियाँ युआन तिरेको कागज देखाए। पैसा तिरेर करार गरी बिहे गर्नु मानव बेचबिखन हुने भएकाले त्यही आधारमा दूताबासले कल्पनालाई उद्दार गरेर नेपाल पठायो। त्यसैगरी सोही वर्षको अगष्ट १ तारिख हैलुङचाङ प्रान्तमा बिहे गरेर आएकी धरानकी २२ वर्षीया रिना राईले चरम हिंसा भोग्नु परेको भन्दै दूताबासलाई गुहारिन्। उनी घरबाट भागेर प्रहरी कार्यालयमा पुगिन्। प्रहरीले दूताबाससम्म पुग्ने वातावरण मिलाइदियो। त्यसपछि दूताबासको समन्वयमा उनी पनि नेपाल फर्कन सकिन्।

चीनबाट फर्किएका ती महिलाहरुले नेपाल प्रहरीलाई उजुर गरेपछि एकजना शेर्पा थरकी महिलाले बालुवाटार नजिक चलाएको म्यारिज ब्युरोमाथि प्रहरीले कारवाही गर्‍यो। म्यारिज ब्युरो बन्द

बेहुली तस्करी

भयो र ती शेर्पा महिला थुनामा परिन्। त्यो कारवाहीपछि चीनमा बिहे गरेर आउने चलन केही कम भयो। चीनको हैलुङचाङ प्रान्तका पापा भनिने चिनियाँ दलालले चिनियाँलाई नेपालमा लिएर जाने र नेपालका स्थानीय दलालसँग मिलेर नेपाली महिलाहरुलाई बिहे गराउने गरेको थाहा पाएपछि नेपाली दूताबासले चिनियाँ प्रशासनलाई पापा भन्ने व्यक्तिका विरुद्ध कारवाही गर्न अनुरोध गरेको थियो।

चीनमा बिहे गरेर आएका विदेशी महिलाले काम गर्न पाउँदैनन्। काम गर्नका लागि चीनको स्थायी बसोबासको प्रमाणपत्र 'चिनियाँ ग्रिनकार्ड' लिएको हुनुपर्छ। चिनियाँ कानुन अनुसार चीनमा बिहे गरेर बसेको पाँचवर्षमा ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ। तर, व्यवहारत डेढदसक बिताइसकेका नेपाली चेली कसैले पनि चिनियाँ ग्रिनकार्ड प्राप्त गरेका छैनन्। चिनियाँ ग्रिनकार्ड प्राप्त गर्नका लागि सामाजिक तथा आर्थिक अवस्था उच्च हुनुपर्छ।

बेहुली तस्करी

ठूलो लगानी गर्न सक्ने अथवा वार्षिक ठूलो मात्रामा कर तिरेको व्यक्ति मात्र चिनियाँ ग्रिनकार्डका लागि योग्य हुनसक्छ। कानुनी रुपमा चीनमा बिहे गरेर बसेका नेपाली महिलाहरु ग्रिनकार्ड प्राप्त गर्ने मापदण्डमा रहे पनि व्यावहारिक रुपमा नेपाली महिलालाई चीनले ग्रिनकार्ड दिने संभावना नगन्य छ। चिनियाँसँग बिहे गर्ने विदेशी महिलामा सबैभन्दा धेरै भियतनामी छन्। भियतनामी महिला चलाख हुने भएकाले पछिल्लो समय चिनियाँले भियतनाम बाहेक नेपाल लगायतका अन्य देशमा गएर बेहुली ल्याउन थालेका हुन्। चिनियाँ महिलासँग बिहे गर्ने सामथ्र्य नभएका गरिब चिनियाँ पुरुषहरुले भियतनामबाट बिहे गरेर ल्याउने चलन वर्षौँ अगाडिदेखि प्रचलनमा छ। सन् २०१५ को जुनमा युन्नान सूचना दैनिकले प्रकाशन गरेको 'लिङ्क टाइम' मासिक पत्रिकाले भियतनामी बेहुलीका बारेमा ६ पृष्ठको बृहत सामग्री प्रकाशन गरेको थियो। 'स्वर्गभन्दा नजिक' शीर्षकमा प्रकाशित उक्त आलेखमा भियतनामी महिलाहरुले चिनियाँसँग बिहे गर्ने प्रचलनको समीक्षा गरिएको छ। 'स्वर्ग धेरै टाढा छ तर चीन नजिकै छ' भनाइ भियतनाममा निकै लोकप्रिय छ। यो भनाइले भियतनामी महिलाहरुको चिनियाँसँग बिहे गरेर चीनमा आउने तीब्र इच्छालाई समेटेको छ।

चिनियाँसँग बिहे गर्ने भियतनामी महिलाहरु चीनको दक्षिणमा पर्ने फुचियान र क्वाङ्सी प्रान्तमा अधिक छन्। यी प्रान्त भियतनामसँग जोडिएका छन्। पहिलेदेखि नै भियतनामी बेहुली चीनमा ल्याउने चलन भए पनि सन् २००२ देखि म्यारिज ब्युरो जस्ता दलाल एजेन्सीले चिनियाँसँग भियतनामी महिलालाई बिहे गराउन थालेका हुन्। सन् २०१० सम्ममा ४७ हजार भियतनामी महिलाले चिनियाँसँग बिहे गरिसकेको क्वाङ्सी विश्वविद्यालयका प्रोफेसर लुओ वनछिङलाई उद्धृत गर्दै उक्त म्यागेजिनले लेखेको छ। क्वाङ्सी प्रहरीले सन् २०११ मा ६५ हजार भियतनामी महिलाहरु बिबाह दर्ता नगरिकन चीनमा बसोबास गरिरहेको बताएको थियो। कतिपय भियतनामी महिलाहरु पैसा लिएर चिनियाँसँग बिहे गर्ने र सुटुक्क भागेर भियतनाम फर्कने गर्दछन्।

भियतनाम र चीनबीचमा सांस्कृतिक चलन र रहनसहन मिल्दोजुल्दो हुन्छ। चिनियाँ सीमा क्षेत्रमा बसोबास गर्ने भियतनामीहरु राम्रोसँग चिनियाँ भाषा बोल्न सक्छन्। नेपालीलाई जस्तै झुक्याएर बिहे गरेमा उनीहरु आफ्ना चिनियाँ श्रीमान्को पैसा गुटुमुटु पारेर भियतनामतिरै टाप कस्छन् र अर्कोपटक अर्को चिनियाँसँग बिहे गर्छन्। नेपाली महिलाहरुसँग यस्ता कुनै विकल्प रहँदैनन्। नेपाली र चिनियाँको भाषा, संस्कृति, रहनसहन केही कुरा पनि मिल्दैन। भाषा र संस्कृति फरक परेकै कारण चिनियाँसँग बिहे गरेका नेपाली महिलाले विभिन्न प्रकारको समस्या सहनु परेको छ।

साभारः नागरिक दैनिक। २०७६ भदौ १९ गते (२०१९ सेप्टेम्बर ५) बिहीबार।