पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका
2019-09-28 14:48:40CRI
Share with:

पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

-अजय अलौकिक

चीनको राजधानी पैचिङमा जारी अन्तर्राष्ट्रिय बागवानी मेलामा निर्मित लुम्बिनी शान्ति वाटिकाले चिनियाँ तथा विदेशी अवलोकनकर्तामाझ नेपालको प्रचारप्रसार गरिरहेको छ। बागवानी मेलाको भ्रमण क्रममा स्वयम्भूको झल्को दिने ४० फिट अग्लो स्तुपले आगन्तुक सबैको ध्यान खिच्न सफल भएको देखिन्छ। पैचिङको उत्तरी क्षेत्रमा पर्ने यानछिङ जिल्लामा यसै वर्षको अप्रिल २८ देखि सुरु भएको यस बागवानी मेला यही अक्टुबर ७ मा समापन हुँदैछ।

'पैचिङ एक्स्पो २०१९'को नामले पनि परिचित १६२ दिन सम्म चल्ने यस मेलाको चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड फोरमको अवधिमा समुद्घाटन गरेका थिए। नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख सँगसँगै अवलोकन समेत गरेका थिए। सोही दिन अप्रिल २८ (वैशाख १५) मा चीनको राजकीय भ्रमणको अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीले लोठसल्लाको विरुवा रोपेर दुई रोपनी क्षेत्रफल ओगटिएको नेपाल मण्डप 'लुम्बिनी शान्ति वाटिका'को उद्घाटन गरेकी थिइन्।

११० राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी उक्त मेला पाँच सय तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ। सहभागी राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्था र चिनियाँ प्रान्त, सहर, क्षेत्र र घरेलु संस्थाका गरी सयभन्दा बढी पहिचान झल्किने मण्डप तथा वाटिकाहरू छन्। चीनसँगै विभिन्न राष्ट्रहरूका १२०० थरिका वनस्पतिहरू यहाँ हेर्नपाइन्छ साथै चीनद्वारा विकसित कृषि आधुनिकीकरण तथा उच्च प्रविधिबारे जानकारी दिने स्टलहरू पनि छन्। 'लिभ ग्रीन लिभ बेटर' अर्थात् हरित जीवन उत्तम छ भन्ने मूल नारा रहेको यस मेला चीनको पर्यावरणीय सभ्यताको उपलब्धि देखाउने झ्याल पनि हो।

पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

मेला १ करोड ६० लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ भने प्रतिदिन नेपाली मण्डप लुम्बिनी शान्ति वाटिकाले औसत रूपमा तीन हजार अवलोकनकर्तालाई स्वागत गर्ने गरेको छ। 'सुरूमा एकदम राम्रो थियो, दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ताहरू मेला हेर्न आउँथे अनि हाम्रो मण्डप पनि ग्राहकले भरिभराउ हुन्थ्यो।' उक्त नेपाली मण्डप सञ्चालक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप 'आईजी'का कार्यकारिणी प्रबन्धक केदार मान शाक्यले बताए। 'बीचतिर गर्मी बढेपछि ग्राहक आउने कम भएको थियो पछिल्लो समय फेरि शनिबार, आईतबार त एकदम बाक्लो भिड देखिएको छ। यस हिसाबले औसत रूपमा प्रति दिन तीन हजार पुग्छ होला।' सुरूमा व्यापार राम्रो भएको बताउने उनी गर्मी बढेसँगै जुलाई अगस्तमा अवलोकनकर्ता घटेको बताउँछन्। मे दिवसको अवधिमा तीन लाख अवलोकनकर्ताले उक्त एक्स्पोको अवलोकन गरेका थिए। साथै सेप्टम्बरको पहिलो सातासम्म ७८ लाख अतिथिलाई स्वागत गरिसकेको एक्स्पो आयोजकले जनाएको छ।

शाक्य भन्छन्, 'यो मेला पैचिङ केन्द्रबाट अलि टाढा भएकोले पनि हामीले सोचेजस्तो भएन। त्यसमाथि नेपाल मण्डप मेन सडकमा पनि छैन। जसले

पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

गर्दा मानिसको फ्लो कम भएको भन्ने लाग्छ।' पैचिङको केन्द्रभागबाट यस मेलास्थलसम्म पुग्न तीन घण्टा बढी लाग्छ। नेपाल मण्डप भारतीय मण्डपको ठीक पछाडि छ तर अग्लो स्तुपले जो कोही अवलोकनकर्तालाई आकर्षित गर्न सफल देखिन्छ।

परैबाट अग्लो स्तुप देखिने नेपाली मण्डपको प्रवेशद्वारमा नेपाल र लुम्बिनी शान्ति वाटिका लेखिएको छ भने आँगनमा कमलको फूलबीच ५ फिट अग्लो बुद्धको शिरको मूर्ति सजाइएको छ। हल प्रवेशद्वारबाहिर दायाँबायाँ ४ फिटको स्तुप र ८ फिटको मण्डल सजाइएको छ। हलभित्र राखिएको ११ फिट अग्लो बुद्धको मूर्ति वरपर नेपाली वनस्पति तथा जडिबुटीलाई सजाएर राखिएको छ। साथै कक्षका भित्ताहरूमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिएको छ। भित्र हस्तकला विक्री कक्षमा चिनियाँ ग्राहकहरू झुमिरहेका देखिन्छन्। 'आईजी' का प्रोजेक्ट एक्जिक्युटिभ विवेक बस्नेत भन्छन्, 'चिनियाँहरू हाम्रो लुम्बिनी गार्डेनमा प्रवेश गरेसँगै भित्र राखिएको बुद्ध मूर्तिलाई एक पटक ढोग गर्छन्। कोही पैसासमेत चढाउँछन् अनि हस्तकला कक्षमा आउँछन्, कसैले हेर्छन् मात्र, कसैले किन्छन् पनि।'

पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

हस्तकला कक्षको अर्को कुनामा मःमः सहित नेपाली परिकारको रेस्टुराँ खोलिएको छ। त्यहाँ नेपाली मःमः तथा मासुभात खाँदैगरेका चिनियाँहरू पनि भेटिन्छन्। विभिन्न प्रकारका मःमः पाइने चीनमा नेपाली स्वादको मःमः मा पनि चिनियाँले मीठो मानेका छन्। मःमः खाने धेरै छन् साथै चिनियाँले मासुभात पनि निकै रूचाएको छन्, व्यस्त नेपाली कुक जापान लो र निङ्मा लामा भन्दै थिए। लुम्बिनी शान्ति वाटिकामा दुई चिनियाँसहित १० जना नेपालीहरू खटेका छन्।

'आईजी' ले यसअघि चीनको साङहाई, छिङताव सहरलगायत जर्मनी, जापान, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा आयोजित मेलामा पनि नेपालको प्रतिनिधित्व गरिसकेको छ।

नेपाल दिवस

यसै बीच सेप्टेम्बर २२ तारिख पैचिङस्थित चीनका लागि नेपाली राजदूतावास, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको आईजीको संयुक्त तत्वावधान विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रमको आयोजना गरी नेपाल दिवस मनाएको छ। असोज ३ गते (सेप्टम्बर २०) संविधान दिवसको दिनलाई नेपालले राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ। नेपालको राष्ट्रिय दिवसको अवसर पारेर सेप्टेम्बर २२ तारिख नेपाल दिवस मनाएको 'आईजी'का निर्देशक विनायक शाहले बताए।

पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

गत जुन ६ मा चीन दिवस मनाइएको थियो। मण्डप स्थापना गरिएका विभिन्न राष्ट्रहरूले यसरी नै मेलाको समयावधिमा आफ्नो विशेष दिन या राष्ट्रिय दिवस पारेर एक समारोहको आयोजना गर्ने चलन त्यहाँ देखिन्छ। हालसम्म यस मेलामा विभिन्न देशका दिवससँगै दुई हजार भन्दा बढी सांस्कृतिक कार्यक्रमको आयोजना भइसकेको छ। अक्टुबरको राष्ट्रिय दिवसको सात दिने विदाको अवधिमा दिनमा नै लाखभन्दा बढी अवलोकनकर्ता पुग्ने अनुमान छ।

उक्त नेपाल दिवसको कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको उल्लेख गर्दे यस प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्व रहेको बताए। राजदूतले आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनलाई आमन्त्रण पनि गरेका थिए।

अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी पैचिङ २०१९ का प्रमुख इन्जिनियर चाङ लानन्येनले यस विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बगैंचा नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गरेका थिए। नेपाल दिवसको अवसरमा पैचिङका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने नृत्य पस्केका थिए। कार्यक्रममा विदेशी कूटनीतिक प्रतिनिधिहरु, पैचिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित् २५० जना भन्दा बढीको सहभागिता थियो।