२१औं शताब्दीका शक्तिशाली नेताःसी चिनफिङ
2019-10-13 16:00:55CRI
Share with:

-अजय अलौकिक

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङ हाल विश्वकै एक शक्तिशाली नेता हुन्। उनी सन् २०१२ नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव पद सम्हालेदेखि नै विश्वमाझ चिनिन थालेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव र पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्षमा नियुक्त भएका थिए। सन् २०१३ मार्च १४ मा बाह्रौं राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनबाट सी जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षमा नियुक्त भएका थिए। चीनको राष्ट्राध्यक्ष भएदेखि नै विश्वभरि नै सीको एक दृढ, महत्वाकांक्षी, दूरदर्शी, विश्व आर्थिक गतिलाई तिव्रता दिने र विश्वको साझा हित र जीतका लागि पहल गर्ने विश्व नेताको छवि बनेको छ। सी सन् २०१८ मा फोब्स पत्रिकाको सर्वेक्षण अनुसार विश्वकै शक्तिशाली नेताको रूपमा दरिएका थिए। उनले लगातार पाँच वर्षसम्म प्रथम स्थान ओगटी बसेका रूसेली नेता भ्लादिमिर पुतिनलाई पछाडि छोडेका थिए। त्यसै गरी सन् २०१७ मा दि इकोनोमिस्टले सीलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति घोषित गरेको थियो। उनको नेतृत्वमा विशाल चीनले चौतर्फि रूपमा फड्को मारेको छ। हाल उनले अघि सारेको प्राचीन रेशममार्गको नविन रूप बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत् विश्वलाई एउटै मालामा उन्ने प्रयास जारी छ। विश्वका १३६ वटा देश र ३० वटा अन्तर्राष्ट्रिय संघसंस्था यसमा आबद्ध भइसकेका छन् र यसअन्तर्गत खरबौं डलरका परियोजनाहरू सञ्चालित छन्। "उनको केवल डेढ, दुई वर्षमा चीनमा यस्तो प्रभाव रह्यो, जसले सबैमा गहिरो छाप छोडेको छ।" अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले सन् २०१४ डिसम्बर ३ मा वासिङ्टनमा आयोजित व्यापार गोलमेच सम्मेलनमा सी चिनफिङको बारेमा यसो भनेका थिए। "मैले राष्ट्राध्यक्ष सीसँग केही पटक भेट गरेको छु, तर उनको दृढ इच्छाशक्ति र साहसबाट म अत्यन्त प्रभावित छु। चीनको नयाँ नेतृत्वले सुधारका श्रृँखलाहरूको प्रस्ताव गरेको छ, यद्यपि यी कार्यहरूको कार्यान्वयन सहज हुने छैन, तर म उनलाई विश्वास गर्दछु। यी कठिनाइहरूलाई पार गर्न र चीनलाई अगाडि बढाउने दृढ इच्छाशक्ति र क्षमता छ।" "उहाँमा निकै उत्साह, खुला हृदय र ज्ञान भरिएको छ, हामी उहाँलाई एक असल मित्रको रूपमा लिन्छौं।" सन् २०१३ मा अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिङ्गरले चीन भ्रमणको बेला सीको यसरी प्रशंसा गरेका थिए। हाल अमेरिका र चीनबीच व्यापार युद्ध जारी नै रहे तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई असल मित्रको रूपमा नै चित्रण गर्दैआएका छन्। त्यस बाहेक अर्का शक्तिशाली नेता भ्लादिमिर पुटिनसँग एकअर्काले जन्मदिवस सँगसँगै मनाउँदै दुईबीच मित्रवत् सम्बन्ध रहेको प्रष्ट्याइसकेका छन्। यस्तै सिङ्गापुरका पहिलो प्रधानमन्त्री तथा सिङ्गापुरको पिताको संज्ञा पाएका लि क्वान यूले सीलाई नेल्सन मण्डेलास्तरको चरित्रको रूपमा समेत प्रशंसा गरेका छन्। उनले सन् २०१३ अगस्तमा "लि क्वान यू, वाचिङ द वल्ड" शीर्षकको पुस्तक सार्वजनिक गरेका थिए। सो पुस्तकमा सन् २००७ को अन्तमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, सी चिनफिङसँग भेट भएको कुरा उल्लेख गरेका छन्। उनले सीलाई उदार र उक्त भेटको क्रममा गहिरो छाप परेको बताएका छन्।

सी चिनफिङको जन्म सन् १९५३ जुन महिनामा पल्लो शान्सी प्रान्तको फुफिङ जिल्लामा एक राजनीतिक परिवारमा भएको थियो। उनको बुवा, सी चोङसुन कम्युनिस्ट पार्टीका नेता र सन् १९५९ देखि ६२ सम्म चीनको उपप्रधानमन्त्री समेत भएका थिए। उनले सन् १९६२ देखि १६ वर्षसम्म राजनीतिक उत्पीडन झेल्नुपरेको थियो र सांस्कृतिक क्रान्ति (१९६६-१९७६) पछि सफाइ पाएपछि सन् १९७८ देखि फेरि पार्टीमा सक्रिय भएका थिए। बुवा सी चोङसुनलाई भ्रष्टाचारको आरोप लागेपछि राजकुमारको जस्तो जीवन व्यतीत गरिएको भनेका सीसामु दुःखका दिन आइपरेको थियो। जुझारू सीले पीडालाई सहजै स्विकार्दै सन् १९६९ देखि १९७५ सम्म पल्लो शान्सी प्रान्तको येनछ्वान जिल्लाको वनआनयी कम्यूनअन्तर्गत ल्याङ च्याह टोलीमा रहेर विद्यार्थी जीवनकालमा श्रमिक युवाको हैसियतले श्रम गरेका थिए। सोही समयमा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत स्थानिय समितिको सचिव भएका थिए। सीले सन् १९७४ मा दश पटकको प्रयासपछि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए। सन् १९७९ देखि १९८२ सम्म राज्य परिषदको कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव भएका सी सन् १९८२ मा हपै प्रान्तको चङतिङ जिल्ला समितिका उप-सचिव हुँदै १९८५ देखि ८८ सम्म चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत फुचेन प्रान्तको स्यामन शहर समितिको स्थायी सदस्य एवम् स्यामन शहरको उप-मेयर भएका थिए। उनले सन् १९८५ देखि २००२ सम्म आफ्नो जीवनको झण्डै १७ वर्ष फुचेन प्रान्तलाई दिएका थिए। यसबीच चिनियाँ कम्युनिष्ट पार्टीको फुचेन प्रान्त समितिका उप-सचिव, फुचेन प्रान्तका प्रमुख, फुचेन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख, फुचेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नरको पद पनि सम्हालेका थिए। यसै गरी सन् १९९९ देखि २००२ सम्म नानचिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उप-प्रमुखको कार्यभार पनि सम्हालेका थिए। साथै सन् १९९८ देखि २००२ सम्म कामबाहेक छिङह्वा विश्वविद्यालयबाट मानवतावादी तथा समाजशास्त्र विषयअन्तर्गत माक्सवादी सिद्धान्त तथा वैचारिक राजनैतिक शिक्षण बिषयको अध्ययनका साथै कानून विषयमा विद्यावारिधी पनि गरेका थिए। सन् २००२ मा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत चच्याङ प्रान्त समितिका उप-सचिव, चच्याङ प्रान्तका कार्यवाहक प्रमुख, चच्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिको प्रमुख हुँदै २००७ सम्म चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत चच्याङ प्रान्त समितिको सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको चच्याङ प्रान्तको सैनिक समितिको प्रथमसचिव, चच्याङ प्रान्तको जनकाँग्रेसको स्थायी समितिको प्रमुखको कार्यभार सम्हालेका थिए। यसै गरी सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत शाङहाई शहर समितिका सचिवका साथै चिनियाँ कम्युनिष्ट पार्टीको शाङहाई रक्षक सेनाका प्रथम सचिव भएका थिए। सन् २००७ देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयको सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी स्कुलको प्रमुखको जिम्मेवारी बहन गर्दै सन् २००८ मा जन गणतन्त्र चीनको उप-राष्ट्राध्यक्ष भएका थिए। चीनको उपराष्ट्राध्यक्षसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयको सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी स्कुलको प्रमुखको जिम्मेवारी बाहेक सन् २०१० बाट चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष पनि भएका थिए। सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महासचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य आयोगका अध्यक्ष भएका थिए। सन् २०१३ देखि जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षको पद सम्हाल्दै सीले रहस्यमय चीनलाई साझा हित र जीतको संकल्पसँगै विश्वभर प्रसार गरिरहेका छन्। उनले सन् २०१४ मा प्राचीन रेशममार्गलाई ब्युताउँदै साझा हितसँगै विश्वलाई जोड्ने बेल्ट एण्ड रोड इनिसिएटिभको अवधारणा विश्वसमक्ष प्रस्तुत गरेका थिए। साथै विकासोन्मुख राष्ट्रमा भौतिक पूर्वाधार निर्माण र विकासका लागि सन् २०१६ जनवरी एसियाली पूर्वाधार बेङ्कको स्थापना समेत गरियो। उनले सुधार तथा खुलापनको प्रवर्द्धन गर्दै विश्वकै पहिलो अन्तर्राष्ट्रिय आयात मेलाको अवधारणा अघि सारेका थिए र सन् २०१८ मा साङहाइले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफल आयोजना गरेको थियो। साथै सन् २०१३ मा पहिलो पल्ट शाङहाईमा शाङहाई स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको औपचारिक रुपमा स्थापना गरेको थियो। र हाल चीनमा १७ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू छन्।

अद्भुत सफलता हासिल गर्दै विश्वलाई आश्चर्यचकित् बनाएको चीनले विश्व अर्थव्यवस्थामा समेत योगदान पुर्याउँदै आएको छ। सन् २०१३ देखि २०१८ सम्म विश्व अर्थव्यवस्थामा २८.१ प्रतिशतको योगदानसँगै चीनले विश्वमा पहिलो स्थान ओगटेको छ। एक तथ्याङ्क अनुसार, सन् २०१२ देखि १८ सम्म ६ वर्षमा ८ करोड गरिबी जनसंख्या घटाएर चीनले अर्को चमत्कार गरेको छ। सीले राष्ट्राध्यक्षको पद सम्हालेपछि चीनले ७० लाखभन्दा बढी रोजगारको सिर्जना गरिसकेको छ। सन् १९८२ देखि चालिएको एक सन्तान नीति खारेज गर्दै अर्थतन्त्रलाई थप चलायमान बनाउने श्रेय पनि उनलाई जान्छ। उनले हरेक वर्ष विभिन्न प्रान्त र सहरको निरिक्षण भ्रमण गर्ने गरेका छन् हालसम्म ५० भन्दा बढी पटक भ्रमण गरिसकेका छन्। साथै सुशासनलाई केन्द्रबिन्दुमा राखेर पार्टी तथा राष्ट्रिय अङ्गको समेत पुनःसंरचना गर्दै राष्ट्रिय सुपरिवेक्षण आयोगको गठन गरेका छन्। उनले भ्रष्टाचारविरूद्ध व्यापक कारवाही चालेका छन्। हालसम्म २० लाख भन्दा पार्टी सदस्यमाथि छानबिन भइसकेको छ। उनको यो कदमले चिनियाँ जनतामाझ अझै लोकप्रियता हासिल गरेका छन्। विज्ञान, नवप्रविधिका साथै अन्तरिक्ष अन्वेषन, अनुसन्धानलाई अगाडि बढाएका छन्। सैन्य क्षेत्रमा पनि व्यापक सुधार गरेका छन्। तीस मिनेटमा अमेरिकासम्म मार हान्नसक्ने क्षेप्यास्त्र चीन स्वयमले निर्माण गरेको छ। योसँगै चीनको सैन्यबल पनि विश्वमा शक्तिशाली बन्दैगइरहेको छ। राष्ट्राध्यक्ष पद सम्हालेको पाँच वर्षपछि सीले सन् २०१७ मा सी विचारधारा प्रस्तुत गरेका थिए। जुन पार्टीको विधानमा समेत स्थापना गरिएको छ। नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादका लागि सी विचारधाराको मुख्य लक्ष्य दुई शताब्दी योजना हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष र नयाँ चीन स्थापनाको एक सय वर्षसम्म चीनलाई समृद्ध बनाउने र विश्वमा नेतृत्वदायी भूमिकाका लागि तयार गर्ने हो। सन् २०२० सम्म पूर्ण रूपमा गरिबी निर्मुल पार्दै २०२१ मा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय विकास र कानुनी शासनसँगै सामान्य समृद्ध मुलुक बनाउने र २०४९ मा नयाँ चीन स्थापनाको सय वर्षमा समग्र चिनियाँ जनताको साझा समृद्धि तथा समृद्ध, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा अग्रणी, सौहार्द, सभ्य र सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउने रहेको छ। उनले चिनियाँ जनतालाई महान भावना, असल नैतिकता र उच्च आकांक्षाको साथमा अघि बढ्दै गुणस्तरीय शिक्षा, उत्तम स्वास्थ्य सेवा तथा आमनागरिकको आरामदायी जीवनका लागि निरन्तर प्रयास गर्दै समृद्ध समाजको निर्माण गर्न आह्वान गर्दैआएका छन्। साथै सीले मानव भाग्य समुदायको पहल गर्दै विश्वका प्राचीन सभ्यतालाई एकापसमा घनिष्टता ल्याउन यसै वर्ष २०१९ देखि एसियाली सभ्यता संवार्ताको आरम्भ गरेका छन्।

हालै जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा सीले सम्बोधन गर्दै चीनको हिजो मानव जातिको इतिहासमा लेखिएको र चीनको आज अरबौं जनताको हातमा सिर्जना भइरहेको भन्दै चीनको भोलि अवश्य पनि थप उज्यालो हुने विश्वास व्यक्त गर्दै 'दुई शताब्दी'को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुनःउत्थानको चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न आह्वान गरेका छन्।

२१औं शताब्दीका शक्तिशाली नेताःसी चिनफिङ
(अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिकमा अक्टुबर १२ मा प्रकाशित)