आजदेखि पहिलो पटक पैचिङ-काठमाडौं सिधा हवाई उडान शुरू
2019-10-27 18:41:11CRI
Share with:

आजदेखि पहिलो पटक पैचिङ-काठमाडौं सिधा हवाई उडान शुरू

चिनियाँ र नेपालीको संयुक्त लगानीमा संचालित हिमालय एयरलाइन्सले आजदेखि चीन र नेपालको राजधानीलाई हवाईसेवा मार्फत् प्रत्यक्ष रूपमा जोड्न थालेको छ।

पैचिङस्थित नवनिर्मित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच हिमालय एयरलाईन्सले दुवै देशका हिमाल पार गर्दै पैचिङदेखि काठमाडौंका लागि प्रत्यक्ष उडानको शुभारम्भ गरियो। काठमाडौंबाट ६४ यात्रु लिएर हिमालय एयरलाईन्सको ए-९ ६६५ नम्बरको विमान पैचिङ समयअनुसार साँझ ५ बजेर १० मिनेट जाँदा तासिङ विमानस्थलमा अवतरण गरेको थियो।

शुभारम्भ समारोहमा चिनियाँ अधिकारीहरूले भर्खरै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरिसकेपछि नेपाल र चीनबीच धेरै संभावनाहरू उजागर गरेको एउटा प्रतीकको रूपमा अर्थ्याए। चीनका लागि नेपाली राजदूत पौड्यालले बेइजिङ काठमाडौं सिधा हवाई उडान उड्ययन सहकार्यको नयाँ गति भएको बताउनुभयो। उहाँले भन्नुभयो, 'यस उडान सहकार्यबाट दुवै देशका जनताबीचको सम्बन्ध, लगानी तथा व्यापार प्रवर्द्धनमा टेवा पुग्नेछ।'

आजदेखि पहिलो पटक पैचिङ-काठमाडौं सिधा हवाई उडान शुरू

तिब्बत स्वशासित क्षेत्रका उपाध्यक्ष लुओ मेइ, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, तिब्बत सरकारका उप महासचिव र सिचाङ नागरिक उड्ययन विकास तथा लगानी कर्पोरेसन लिमिटेडका कार्यकारी निर्देशक एवं हिमालय एयरलाइन्स व्यवस्थापन समितिका प्रमुख छि थङ्वु लगायत शुभारम्भ समारोहमा उपस्थित थिए।

नेपाल र चीनबीच नागरिक उड्ययनको क्षेत्रमा नयाँ सिलसिला शुरू गरेको हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र शुक्रबार गरी सातामा ३ दिन उडान गर्नेछ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आरम्भ गरिएको सिधा उडानले बेइजिङका पर्यटकहरूलाई नेपाल आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा छ। साढे ५ घण्टा दूरी र तुलनात्मक महँगो भाडादरका कारण हिमालयन एयरलाइन्सले बेइजिङका धनाढ्य पर्यटक तान्न प्रयास गर्नेछ।

नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालित हिमालयन एयरलाइन्सले यसअघि बेइजिङ र छोङछिङ नगरमा चार्टर्ड उडान भरेको थियो।