सी विचारको सार
2020-01-07 10:22:31CRI
Share with:

सी विचारको सार

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशकको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपाले सी विचारलाई अंगीकार गरेको भनी नेपालमा निकै ठूलो हल्लाखल्ला भयो। जुन हल्ला र बहस अहिले पनि जारी छ। विपक्षी दल नेपाली कांग्रेसले कडा टिप्पणी गर्दै विरोध पनि गरेको छ। तर यथार्थमा न नेकपाले स्वीकार गर्दैमा सी विचार नेपालमा प्रवेश गर्ने हो न नेपाली कांग्रेसले विरोध गर्र्दैमा त्यो प्रवेश निषेध हुने हो।

नेपालमा विरोध र समर्थन गर्ने दुवै पक्षले राम्रोसँग सी विचार बुझेकै छैनन्। माक्र्सवाद र लेनिनवादभित्र विकास भएको चिनियाँ चरित्रको समाजवादी व्यवस्था व्यवहारमा उतार्ने मुख्य निर्देशक मार्ग नै सी विचारधारा हो। जनतामा केन्द्रित विकास निर्माण, स्थिर राजनीतिक व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, सांस्कृतिक आदानप्रदान, आन्तरिक मामिलामा अहस्तक्षेपलगायत विषय सी विचारका कूटनीतिक निर्देशन हुन्।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएसँगै सीले अगाडि सारेका सपनाले चीनमा जागरण ल्यायो। सपना देखाएर १ अर्ब ४० करोड चिनियाँलाई राष्ट्र निर्माणमा लगाउन सफल सीले छोटो समयमै गरिबी निवारण गर्र्दै चीनको स्थिर आर्थिक विकास गराएका छन्। सीले चीनको आन्तरिक विकास मात्र गराएनन्, बिआरआइमार्फत सम्पूर्ण विकासोन्मुख मुलुकको पनि विकास गराउने नीति अगाडि सारे। आफ्नो विकाससँगै छिमेकी मुलुकको विकास र समृद्धि चाहेका कारण सी अन्तर्राष्ट्रिय जगत्मा पनि लोकप्रिय हुन थाले। फलस्वरूप सी विचारधारा चीन बाहिर पनि चासोको विषय बन्यो।

सी चिनफिङको 'नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार'लाई विधानमा प्रवेश गराउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को १९औं महाधिवेशन सम्पन्न भएपछि सी विचारधारा चर्चामा आएको हो। महाधिवेशनबाट संशोधित विधानमा सी चिनफिङको 'नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार' लाई माक्र्सवाद तथा लेनिनवाद, माओत्सेतुङ विचारधारा र तङ स्यावो फिङ सिद्धान्त भनिएको छ। यसभन्दा अगाडि सिपिसीको विधानमा माक्र्सवाद र लेनिनवादबाहेक माओ विचारधारा र तङ सिद्धान्त मात्र उल्लेख थिए।

सी विचारको सार

चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सी चिन फिङको नयाँ युगलाई महत्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ। महाधिवेशनमा सीले प्रस्तुत गरेका प्रतिवेदनलाई 'चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद विकास गर्ने राजनीतिक घोषणा पत्र तथा कार्यक्रम निर्देशिका तथा माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको' ठहर गरेको छ। सन् २०१२ मा सिपिसीको महासचिव भएपछि सी चिनफिङलाई निकै शक्तिशाली नेताका रूपमा चित्रण गर्न थालिएको हो। आफ्ना पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कामलाई तीव्र रूपमा अगाडि बढाएका थिए।

सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम चिनियाँ सपनाले गरेको थियो। त्यसपछि उनले अगाडि सारेका रेशमी मार्गको अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्मै हलचल मच्चाएको छ। सी चिनफिङ विचारधारालाई १ वर्षअगाडि नै चिनियाँ विश्वविद्यालयका पाठ्यक्रममा राखिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका क्याडर, चिनियाँ सरकारी अधिकारी र सर्वसाधारणलाई विस्तृत जानकारी दिने उद्देश्यले सी विचार पाठ्यक्रममा समेटिएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रचारप्रसार विभागले त्यतिबेलै स्पष्ट पारेको थियो।

चीनमा माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेताका रूपमा सीलाई लिइन्छ। डेढ वर्षअगाडि संशोधन भएको चीनको संविधानले राष्ट्रपतिको २ वर्षे कार्यकालको सीमा हटाउँदै सीको विचारलाई लिपिबद्ध गराइएको थियो। त्यसभन्दा अगाडि नै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सी विचार प्रवेश गराइएको थियो।

सी विचारको सार

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचारप्रसार विभाग र चीनको शिक्षा मन्त्रालयले संयुक्त रूपमा 'नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङ विचारधारा' शीर्षकमा ३० भागको पाठ्य सामाग्री प्रकाशन गरेका छन्। ३० भागमा वर्गीकरण गरिएको पाठ्य सामग्रीमा नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङको विचारधाराक आधारभूत भावना, आधारभूत विषय, आवश्यकताअनुसार आधारभूत लेख, तस्बिर, भिडियो, अडियोलगायत विषय समेटिएका छन्।

यसभन्दा अगाडि नै सी चिनफिङ र चीनको शासन व्यवस्था विषयका दुई भाग पुस्तक संसारका मुख्य भाषामा अनुवाद भइसकेका छन्। ती दुई पुस्तकमा सत्तामा आएपछि सी चिनफिङले दिएका अभिव्यक्ति, लेख, अन्तर्वार्ता, मन्तव्यलगायत विषय समावेश गरिएका छन्। सत्तामा आएपछि सी चिनफिङले अगाडि सारेका महत्वाकांक्षी कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)लाई चीनका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा यस अगाडि नै समावेश गरिएका छन्।

चीनले विकासमा सहकार्य गर्दै विश्वमा आफ्नो प्रभाव बढाउँदै लगेको छ। यसलाई कतिपयले चीनको 'सफ्ट पावर' भनेर पनि व्याख्या गरेका छन्। सन् १९८० पछि सुधार र खुलापनलाई अँगाल्दै चीनले यथेष्ट रूपमा आन्तरिक विकास गरेको छ। चीनसँग पुँजी, प्रविधि, जनशक्ति र पूर्वाधार विकासमा अथाह अनुभव छन्। ठूला जलविद्युत् आयोजना, विमानस्थल, सुरुङमार्ग, सडक निर्माणलगायत क्षेत्रमा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने औकात अरूले राख्दैनन्। यस्तो अवस्थामा चीनले विदेशमा गर्ने सहयोग र लगानीलाई बिआरआईको फ्रेमवर्कभित्र राखेको छ। बिआरआई सी विचारको एउटा महत्वपूर्ण अंश हो। तसर्थ विदेशमा हुने चिनियाँ लगानी र सहयोगसँगै सी विचार पनि प्रवाह हुनेछ।

बिआरआई र सी विचारबीच अन्योन्याश्रित सम्बन्ध छ। दिगो विकास, जनसहभागिता, वातावरण संरक्षण, गरिबी निवारण, शून्य भ्रष्टाचार, साझा जित, पारस्परिक सद्भाव, सांस्कृतिक संरक्षणलगायत विषय बिआरआईका मुख्य उद्देश्य हुन्। यी सबै विषयलाई चीनले सी चिनफिङ विचारधाराका रूपमा पनि लिपिबद्ध गर्दै छ।

चीनले सी विचारधारालाई औपचारिक रूपमा निर्यात नगर्ने घोषणा गरेको छ। चीनले गरेको विकासका नमुना तथा गरिबी निवारणबारे विश्व अर्थशास्त्रका वैज्ञानिकहरू अध्ययन तथा विश्लेषण गरिरहेका छन्। दुई वर्ष अगाडिदेखि चीनले विदेशी विद्यार्थीका लागि पिएचडीमा बिआरआई छात्रवृत्ति सुरु गरेको छ। अहिले सी विचारधारा र चिनियाँ विकास मोडलमा नयाँ छात्रवृत्ति खुलिसकेका छन्। चीनले उच्च शैक्षिक कार्यक्रममा सी विचारधारा समेटेर विश्वमा विशेषज्ञ उत्पादन गर्दै छ। यसबाहेक चिनियाँ विकासका नमुना जहाँ लागू गरिएका छन्, त्यहाँ पनि सी विचारधारा पुग्नेछ। यसरी विश्वको कुनाकाप्चामा पुग्ने हरेक चिनियाँ नागरिकसँगै सी विचारधारा पनि पुग्नेछ।

सी विचार नेपालका लागि कुनै राजनीतिक दलको कार्यक्रम नभई विकास निर्माणका लागि महत्वपूर्ण बहुद्देशीय हातेमालो हो। यसले सर्वोपरी विकाससँगै गरिबी निवारण, भ्रष्टाचारमा शून्य सहनशीलता, सांस्कृतिक आदानप्रदान, जनसहभागिता वृद्धि र खुला समाजको अवधारणा अँगालेको छ।

साभारः नागरिक दैनिक २०७६ असोज १६ गते (२०१९ अक्टोबर ३) बिहीबार।