वसन्त चाड : चिनियाँ दशैँ
2020-01-31 19:40:18CRI
Share with:

वसन्त चाड : चिनियाँ दशैँ

चीनमा दशैँ आएको छ। सडक, गल्ली, बजार, अफिस, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपटि्ट बत्ती बालिने सामग्री) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुलहरु, रातै सिँगारटारले चीन यतिबेला राताम्मे बनेको छ। नेपालमा दशैँतिहारकै झल्को दिने गरी चीनमा मनाइने वसन्त चाडमा चिनियाँहरु झुमिरहेका छन्। वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो। यो परम्परागत चिनियाँ पात्रो अनुसार चिनियाँहरुको नयाँ वर्ष हो। नेपाली शेर्पा, तामाङ, गुरुङहरुले जस्तै चिनियाँ परम्परागत पात्रोको पनि मुसा वर्षबाट सुरु भएर सुँगुर वर्षमा टुङि्गने १२ वर्षको चक्र हुन्छ। यही माघ १० गते शुक्रबार मध्यरातदेखि चिनियाँहरुले सुँगुर वर्षलाई बिदा गरेर मुसा वर्ष भित्र्याउँदैछन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साताको सार्वजनिक विदा हुन्छ। यो अवधिमा आकस्मिक सेवा बाहेकका सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुन्छन्। ठूला मलहरु खुले पनि साना बजार र खुद्रा पसलहरु बन्द रहन्छन्। अध्ययन, जागिर, अवसर र सुविधाको खोजीमा परिवारबाट टाढा भएकाहरु वसन्त चाडमा घरमा भेला हुन्छन्। लामो बिदा भएकाले परिवार लिएर घुमफिर गर्ने मौका पनि यही हो।

वसन्त चाड : चिनियाँ दशैँ

चिनियाँ वसन्त चाडमा थुप्रै रुढिवादी प्रचलन छन्। नयाँ वर्षको अघिल्लो दिनदेखि एक साता मनाइने वसन्त चाडको परम्परागत मान्यता र अन्धविश्वास पनि घतलाग्दो छ। चिनियाँ चन्द्रमासको पात्रोअनुसार वर्षको अन्तिम दिनलाई 'छु सी' भनिन्छ। यो रात बत्ती निभाउनुहुँदैन र चाँडै सुत्नु पनि हुँदैन। नयाँ वर्षको स्वागत गर्नका लागि घरपरिवारका सबै व्यक्तिहरु रातको १२ बजेसम्म जाग्राम बसेका हुन्छन्। यो साँझ कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबैभन्दा ठूलो अशुभ मानिन्छ। कुनै व्यक्तिलाई गाली गर्ने अथवा हप्काउने गर्नु हुँदैन। विशेष गरी बालबच्चालाई गाली गर्नु हुँदैन भन्ने विश्वास रहेको छ। यो दिन घरमा बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्ने गर्न पनि निशेध हुन्छ। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने म्यानता चिनियाँमा रहेको छ। चिनियाँहरुले नयाँ वर्षको पहिलो दिन घर सार्नु हुँदैन। बिरामी भए पनि डाक्टरलाई देखाउनु हुँदैन। लुगाकपडा र सिरकका खोल तथा बेड कभर धुनु हुँदैन। कपाल काट्नु हुँदैन। कुराकानीका क्रममा कसैसँग पनि मृत्यु, रोग, प्रकोपका प्रसङ्ग उप्काउनु हुँदैन। यसो गरेमा वर्षभरि नै यस्तै समस्याका विषयहरु थोपरिने विश्वास गरी राम्रा र शुभ कुराका विषयमा मात्र गफ गर्ने चिनियाँ परिपाटीमा कायम छ। यो दिन रुनु पनि हुँदैन। नयाँ वर्षको पहिलो दिन बिहे गरेर घर गएकी छोरी माइतिघरमा आउनु हुँदैन। नयाँ वर्षको दोस्रो दिन बिहे गरेकी छोरीले कोसेली र उपहार लिएर माइतिघर आउने चलन छ। त्यसैगरी तेस्रो दिनमा कोही पनि घरबाहिर जानुहुँदैन र आफ्ना साथीहरुलाई पनि घरमा भेट्न निमन्त्रण गर्नु हुँदैन। चौथो दिनमा परिवारका सदस्यहरुले घरमा बसेर रमाइलो गर्छन् र पाँचौं दिनमा सबैजनाले एक हप्तादेखिको फोहोर सफा गर्ने, घर बढारकुढार गर्ने काम गर्छन्। छैटौँ दिनमा साथीहरुसँग भेटघाट गर्ने, साथीहरुकोमा जाने र आफ्नो घरमा पनि निमन्त्रण गर्ने र बजार गएर किनमेल गर्ने चलन छ। वसन्त चाडको अन्तिम दिन अथवा नयाँ वर्षको सातौँ दिन पनि सक्केसम्म घर बाहिर जानु हुँदैन भन्ने विश्वास छ। वसन्त चाडको एक हप्ताभरि धारिलो हतियारहरु चलाउनु हुँदैन, मारकाट गर्नुहुँदैन। जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुने संभावना हुन्छ। तर मासु नभइ नहुने चिनियाँहरुले एक हप्ता अगाडि नै मासु किनेर फ्रिजमा राखेका हुन्छन्। उनीहरुले बजारबाट ल्याएको मासुलाई टुक्रा गर्न पनि नहुने भएकाले सबै हात हतियार लुकाएर राखेका हुन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकट पनि यो अवधिमा चलाउन पाइन्न।

वसन्त चाड : चिनियाँ दशैँ

वसन्त चाडका अवसरमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरा 'च्यावो च' हो। यो एक प्रकारको मम हो तर पानीमा डुबाएर पकाउने गरिन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ। सामान्यत: बसन्त चाडमा रातो लुगा लगाउने चलन छ। यो वसन्त चाडबाट मुसा वर्ष सुरु हुने भएकाले मुसा वर्षमा जन्मिएका हरेक व्यक्तिले यो वसन्त चाडमा भित्री अनिवार्य रुपमा लुगा रातो रङको लगाउनु पर्छ भन्ने मान्यत छ। चिनियाँ नयाँ वर्ष आउनुभन्दा महिना दिन अगाडि देखि नै बजारमा राता बिकनीहरु सजाएर बेच्न राखिएको हुन्छ। रातो पोशाकले शुभ र सुस्वास्थ्य हुने विश्वास रहेको छ।

चीनमा वसन्त चाडको सबैभन्दा ठूलो महत्व टाढा रहेका परिवारजनहरु भेला हुनु हो। औपचारिक रुपमा एक साताको बिदा भए पनि वसन्त चाड सुरु हुनुभन्दा केही अगाडिदेखि चालीस दिनसम्म चिनियाँहरुको यात्रा जारी रहन्छ। यो अवधिलाई चीनमा 'छुन युन' भनिन्छ र यो अवधिमा चीनमा हवाइ टिकट र रेलको टिकट महङ्गो र प्राप्त गर्न धेरै कठिन हुन्छ। वसन्त चाडको चिनियाँको यात्रा नै संसारको सबैभन्दा ठूलो मानव आवतजावत हो। गत वर्षको वसन्त चाडको समयमा चीनमा विभिन्न सवारी साधन गरेर यात्रा गर्ने यात्रीको संख्या ३ अर्ब नाघेको थियो। एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा वसन्त चाडका बेला सरदर हरेक नागरिकले तीनपटक यात्रा गर्छन्। वसन्त चाडको अर्को महत्वपूर्ण विशेषता भनेको सार्वजनिक पार्कमा आयोजना हुने मेलापनि हो। यस्तो मेलामा सिंहनृत्य, लौरीखुट्टी नृत्य, ओपेरा, सर्कस, एक्रोब्याटिक सो तथा गायन समारोहरु आयोजना गरिन्छ। चिनियाँ टेलिभिजनले नयाँ वर्षको अघिल्लो राति प्रत्यक्ष प्रसारण हुने सांगितिक गाला विश्वमा सबैभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन कार्यक्रम हो। नेपालीको दशैँसँग वसन्त चाडका केही मिल्दाजुल्दा पक्षहरु छन्। नेपालामा दशैँमा लामो बिदा हुन्छ। टाढा पुगेका आफन्तहरु दशैँमा भेला हुन्छन् र मिठो मसिनो खाँदै चाड मनाउँछन्। चीनमा पनि बसन्त चाडको समयमा लामो समय बिदा हुन्छ र टाढा पुगेकाहरु परिवारमा भेला भएर मिठो खाँदै चाड मनाउँछन्। दशैँमा आफूभन्दा सानालाई टीका लगाएर दक्षिणा दिने चलन छ भने चीनमा टीका नलगाए पनि दक्षिणा दिने चलन छ। पहिले बैंकबाट नयाँ नोट ल्याएर रातो खाममा हालेर दिइन्थ्यो। चीनमा दक्षिणा दिने रातो खामलाई 'होङ पावो' भनिन्छ। चिनियाँ भाषामा 'होङ' भनेको रातो हो र 'पावो' भनेको लिफा हो। डिजिटल युगमा प्रवेश गरिसकेकाले वीच्याट, अलिपे, पाइतु जस्ता विभिन्न सामाजिक संजालमाफ दक्षिणा आदानप्रदान गरिन्छ। गत वर्ष सन् २०१९ को वसन्त चाडमा ८२ करोड ३० लाख व्यक्तिले वीच्याटबाट दक्षिणा आदानप्रदान गरेका थिए। सोही वर्ष पाइतुबाट १ अर्ब ९० करोड चिनियाँ युआनको दक्षिणा आदानप्रदान भएको थियो। गत वर्ष चीनका विभिन्न ८ वटा इन्टरनेट एपले ४ अर्ब ४० करोड युआन बराबरको दक्षिणा आफ्ना प्रयोगकर्तामाझ वितरण गरेका थिए। नेपालमा दशैँ निकै खर्चिलो भए जस्तै चिनियाँहरुको वसन्त चाडको खर्च वर्षभरिको एक तिहाइ हुनेगर्छ।

वसन्त चाड : चिनियाँ दशैँ

परम्परागत चिनियाँ पात्रो अनुसार अब ४७१८ नयाँ वर्ष लाग्दैछ। तर धेरै चिनियाँहरुलाई यो कतिऔँ वर्ष हो भन्ने कुरा थाहा हुँदैन। उनीहरु मुसा वर्ष २०२० भनेर सम्बोधन गर्छन्। यसो हुनुको मुख्य कारण परम्परागत चिनियाँ पात्रो दैनिक जीवनमा प्रयोग नभएर हो।

साभारः नागरिक दैनिक २०७६ माघ ९ गते (२०२० जनवरी २३) बिहीबार।