शिक्षा क्षेत्रमा कार्यरत् पाकिस्तानी महिला कर्मचारीले महिलाहरुले राष्ट्रको विकासका लागि योगदान पुर्‍याउनसक्ने ठहर
2020-03-30 14:53:20CRI
Share with:

शिक्षा क्षेत्रमा कार्यरत् पाकिस्तानी महिला कर्मचारीले महिलाहरुले राष्ट्रको विकासका लागि योगदान पुर्‍याउनसक्ने ठहर

पाकिस्तानमा युगको विकासमा महिला सहभागिताका साथै शिक्षा आर्जन गर्ने महिलाहरुको संख्या बढ्दै आएको परिप्रेक्ष्यमा धेरै भन्दा धेरै महिलाहरुले रोजगारी गर्दै उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। पाकिस्तानका लागि चाइना मिडिया ग्रुपको कन्फ्युसियस क्लासरुमकी जिम्मेवार व्यक्ति मोना कनवाल तीमध्येकी एक हुन्। महिलाहरुले परिवारका लागि मात्रै नभई मुलुकका लागि पनि आवश्यक योगदान पुर्‍याउनसक्ने ठहर उनले गरेकी छिन्।

चाइना मिडिया ग्रुपको कन्फ्युसियस क्लासरुमले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सधैँ एक जना प्रेरित पाकिस्तानी महिला भेट्नसकिन्छ। मोना कनवाल नाम गरेकी सो महिला पाकिस्तानको तेस्रो ठूलो शैक्षिक समूह रुट्स मिलेनियम विद्यालयका उच्च स्तरीय मेनेजर हुनुका साथै पाकिस्तानका लागि चाइना मिडिया ग्रुपको कन्फ्युसियस क्लासरुमकी जिम्मेवार व्यक्ति पनि हुन्। हाल आफ्नो कार्यमा धेरै उपलब्धि हासिल गरे तापनि उनको पहिलेको अनुभवमा धेरै कठिनाई थियो। उनी भन्छिन्,

मेरा बुवा पहिले सैनिक हुनुहुन्थ्यो। त्यसबेला जागिरको सिलसिलामा उहाँलाई सधैं नै पाकिस्तानका विभिन्न ठाउँहरुमा खटाइएको थियो। उहाँ जुन जुन ठाउँमा सरूवा हुनुभयो म पनि सँगै गएँ र ती ठाउँहरूमा पढें। प्राथमिक विद्यालयदेखि १७ वर्षको उमेरसम्म विभिन्न ठाउँहरूमा बसाइ सरियो। यो एकदम गाह्रो थियो। किनभने आफू नयाँ वातावरण तथा स्कूलसँग अभ्यस्त भएपछि बाध्य भएर अर्को शहरमा सर्न धेरै कठिन थियो।

निरन्तर रुपमा वातावरणको परिवर्तन किशोरी मोनाका लागि ठूलो परीक्षण थियो। तैपनि, यसबाट उनको अरुसँग व्यवहार गर्ने क्षमता भने उकासेको थियो। हरेक नयाँ ठाउँ पुग्नेवित्तिकै उनका बुवाले मोना तथा उनका दिदी भाईहरुलाई सबैभन्दा राम्रो स्थानीय स्कूलको व्यवस्था गर्नुभएको थियो।

मेरा बुवा अरुहरूको बुवाको तुलनामा अलि फरक हुनुहुन्छ। उहाँले हामीलाई सम्पत्ति छोडेर जानु नभए तापनि हामी सबैलाई सबैभन्दा कुशल शिक्षा दिनुभएको छ। कहिलेकाहीं उहाँलाई स्कूलको पैसा तिर्न पनि गाह्रो थियो। उहाँले पैसा बचत गरी हामीलाई पढाउनुभएको अवस्था अहिलेसम्म मेरो सम्झनामा छ। किनभने त्यस बेलामा सैनिकहरुको तलब कम थियो। मेरा बुवाले सधैं मलाई विज्ञान र गणित विद्या सिकाउनु हुन्थ्यो। उहाँले मेरो भविष्य उज्ज्यालो हुनसक्ने आशा राख्नुभएको थियो।

आफ्ना बुवाको हेरचाहमा मोना उत्कृष्ट उपलब्धिमार्फत पाकिस्तानको फतिमा जिन्नाह महिला विश्वविद्यालयमा भर्ना भएकी थिइन्। त्यसपछि उनले सो विश्वविद्यालयबाट एमबीए डिग्री पनि हासिल गरिन्। तथापि विश्वविद्यालयबाट स्नातकोत्तर भएपछि उनी पाकिस्तानका अत्याधिक महिलाहरु जस्तै विवाह गरी बच्चा जन्माएर गृहिणी महिला बनिन्। बच्चा हुर्कंदै गएपछि उनले रोजगारी खोजे। असल शिक्षाको पृष्ठभूमि भएकाले उनले रुट्स मिलेनियम विद्यालयमा अङ्ग्रेजी भाषाकी शिक्षिकाको काम पाए। एक वर्षपछि उनको उत्कृष्ट प्रदर्शन र व्यवहारका कारण उनलाई विद्यालयको शिक्षा निर्देशकमा नियुक्त गरियो।

सन् २०१० मा चाइना मिडिया ग्रुपको कन्फ्युसियस क्लासरुमले फतिमा जिन्नाह महिला विश्वविद्यालयसँगको सहयोगमा सो विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण खोलेको थियो। मोनाले विद्यालयका अरू विद्यार्थीहरुसँगै चीनमा आएर कन्फ्युसियस क्लासरुमको कार्यक्रममा भाग लिनुका साथै पैचिङ भाषा विश्वविद्यालयमा चिनियाँ भाषा पनि पढेकी थिइन्। जसबाट उनले चिनियाँ भाषा प्रशिक्षणप्रति चासो राखेकी थिइन्। सन् २०१५ मा मोनालाई कन्फ्युसियस क्लासरुम पाकिस्तानका लागि जिम्मेवार व्यक्ति नियुक्त गरिएको थियो। त्यसपछि उनले चिनियाँ शिक्षकहरुसँगै कन्फ्युसियस क्लासरुमको संचालन तथा विभिन्न कार्यक्रममा भाग लिएकी छिन्। उनी भन्छिन्,

चीन हाम्रो असल छिमेकी तथा पूरानो मित्र हो। हाम्रो विद्यालय र कन्फ्युसियस क्लासरुम बीचको सहयोगको क्रममा पाकिस्तान र चीन बीचको मैत्रीपूर्ण सम्बन्ध अरु सबल हुँदै आएको छ। जुन हाम्रा विद्यार्थीहरु तथा पाकिस्तानका लागि फाइदाजनक छ। पाकिस्तानका विद्यार्थीहरुले चिनियाँ भाषा पढेपछि भविष्यमा यसबाट लाभान्वित हुने छन्।