चिनियाँ युआनको स्थिर अन्तर्राष्ट्रियकरणद्वारा "चीनको विश्वास" अभिव्यक्त
2020-08-20 10:12:37CRI
Share with:

चिनियाँ युआनको स्थिर अन्तर्राष्ट्रियकरणद्वारा "चीनको विश्वास" अभिव्यक्त

चीनको केन्द्रीय बैंक अर्थात् चिनियाँ जन बैंकद्वारा सार्वजनिक "सन् २०२० चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण सम्बन्धी प्रतिवेदन" अनुसार, सन् २०१९ मा विश्वमा चिनियाँ युआनको उपयोग तीव्र गतिले बढेको छ। चालू वर्षको आरम्भदेखि नयाँ कोरोना भाइरस महामारीले विश्व व्यापार, बैंकिङ् तथा आर्थिक क्षेत्रमा गम्भीर प्रभाव पारेको पृष्ठभूमिमा पनि विश्वमा चिनियाँ युआनको उपयोगमा स्थिर रुपमा वृद्धि हुँदै आएको छ। जसबाट चीनको स्थिर आर्थिक वृद्धिप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास अभिव्यक्त भएको देखिन्छ। हालसम्म विश्वका ७० मुलुकका केन्द्रीय बैंकले चिनियाँ युआनलाई विदेशी विनिमय संचयमा राखिसकेका छन्।

एउटा ध्यानाकर्षणको विषय भनेको सन् २०१९ मा स्टक लगानी चिनियाँ युआनको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने मुख्य शक्ति बनेको थियो। धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय लगानीकर्ताले चिनियाँ युआनलाई स्वागत गरेका छन्। सन् २०१९ को अन्तसम्म विदेशी संस्थाले राखेको चिनियाँ युआनको शेयर बजार मूल्य र ऋणपत्र परिमाण सन् २०१८ को तुलनामा क्रमशः ८२ र २६.७ प्रतिशतले बढेको देखिन्छ। उदाहरणका लागि ऋणपत्र बजारमा महामारी फैलिए यता चीन सरकारको ऋणपत्र लोकप्रिय बन्दै गएको छ।《वाल स्ट्रिट जर्नल》ले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा विदेशी पूँजीले सन् २०१८ यता सबैभन्दा द्रुत गतिले चीन सरकारको ऋणपत्र बजारमा भित्र्याइएको देखिन्छ। रक्षात्मक क्षमतासहित चीन सरकारको ऋणपत्र आय सिर्जना गर्नसक्ने पूँजी हो।

चिनियाँ युआनको अन्तर्राष्ट्रियकरणले निरन्तर रुपमा अन्तर्राष्ट्रिय स्तरमा आकर्षण गरेको छ। इन्डोनेशियाको इस्लाम विश्वविद्यालयका वरिष्ठ शिक्षक मुहम्मद राखमाटको अमेरिकी कूटनीतिक वेबसाइटमा "इन्डोनेशियामा चिनियाँ मुद्राको अन्तर्राष्ट्रियकरण" लेख छापेको छ। जस अनुसार, हाल इन्डोनेशियामा करिब १० प्रतिशतको अन्तर्राष्ट्रिय व्यापार चिनियाँ युआनबाट चल्छ। आगामी केही वर्ष भित्र चिनियाँ युआन इन्डोनेशियामा अझ व्यापक र लोकप्रिय हुन सक्ने छ।

पेशागत व्यक्तिको विश्लेषणका अनुसार, हाल विश्वको आर्थिक तथा बैंकिङ् स्थितिमा गहन परिवर्तन हुँदै आएको छ। अन्तर्राष्ट्रिय संचिति मुद्रा अमेरिकी डलरमा मात्र केन्द्रित हुनु एउटा ठूलो बैंकिङ जोखिम भएको हुनाले त्यसमा विविधता आवश्यक छ। नयाँ कोरोना भाइरस महामारीको स्थितिमा पनि चीनको अर्थतन्त्र स्थिरताका साथ बढ्ने परिस्थितिमा कुनै परिवर्तन भएको छैन, चिनियाँ युआनको अन्तर्राष्ट्रियकरणलाई अरु बढी बजारले मान्यता दिनसक्ने सम्भावना छ।