कोभिड-१९ विरूद्धको चिनियाँ लडाइँको दस्तावेज
2021-01-14 14:25:17cri
Share with:

    -----------अजय अलौकिक

कोभिड-१९ विरूद्धको चिनियाँ लडाइँको दस्तावेज_fororder_src=http___inews.gtimg.com_newsapp_match_0_11388314357_0&refer=http___inews.gtimg

यस शताब्दीकै भंयकर ठूलो रोगको रूपमा देखा परेको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९)ले विश्वलाई आफ्नो पकडमा लिएको पनि झण्डै ६ महिना बितिसकेको छ। यस अघि देखिएका इबोला, जिका तथा कोरोना भाइरसकै अरू प्रकारका सार्स, मर्सभन्दा यो कोभिड-१९ अझै घातकसिद्ध बनेको छ र व्यापक रूपमा विश्वभरि फैलिरहेको छ। यी अघिल्ला विषाणु तथा रोगहरू केही क्षेत्र विशेष या केही समय परिधि भित्रमात्र अति सक्रिय देखिएको थियो भने नयाँ कोरोना भाइरसले क्रमिक रूपमा सबै क्षेत्र र महादेशमा आफ्नो विषको सञ्जाल फैलाउँदै लगेको देखिन्छ। हाल, यो कोभिड-१९ मानवजातिका लागि नै ठूलो त्रास बनेको छ।

यही कोभिड-१९ बाट सङ्क्रमित बिरामी सर्वप्रथम चीनमा पत्ता लागेको थियो। सन् २०१९ को डिसम्बर २७ मा चीनको ऊहान शहरका बिरामीमा निमोनियाजस्तै लक्षण देखिएपछि अनुसन्धानबाट यो कोरोना नामक भाइरसकै प्रजाति देखिएपछि कोरोनाभाइरस निमोनिया नाम दिइएको थियो र पछि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग २०१९ नामाकरण गरेको थियो, जसलाई छोटकरीमा कोभिड-१९ भनिन्छ। सन् २०१९ डिसम्बरको अन्तदेखि फेब्रवरीसम्म यस कोभिड-१९ ले चीनलाई निकै आच्छुआच्छु पारेको थियो। त्यो समयमा चीनबाहेक केही मुलुक मात्र यसको चपेटामा परेका थिए भने हाल सारा संसार प्रभावित भएको छ।

अहिले, यस भाइरस तथा रोगको उद्गमस्थल मानिएको ऊहान क्रमिक रूपमा पूर्ववत् स्थितिमा फर्कने प्रयत्नमा छ। केही साताअघि मात्र पनि झण्डै १ करोड ऊहानवासीको कोरोनाभाइरस परीक्षण गरिएको थियो जहाँ सबै जना सङ्क्रमणमुक्त देखिएका छन्। यद्यपि विदेशबाट चीन प्रवेश गरेकाहरूमा फाटफुट रूपमा देखिँदा चीन कोभिड-१९बाट सङ्क्रमणमुक्त भइसकेको छैन। समस्त विश्वले यस भाइरसलाई पूर्ण रूपमा निस्तेज गर्न सकेमा मात्रै सबै देशले राहतको सास लिन सक्ने छ। तापनि आजको अवस्थामा चीनले कोभिड-१९ लाई नियन्त्रणमा लिइसकेको छ र यसमाथि विजय प्राप्त गरिसकेको छ भन्दा फरक पर्दैन। तर यही विजय प्राप्त गरेको कुरा बाँकी विश्वलाई अपत्यारिलो लागेको पनि देखिन्छ। शङ्काको नजरले पनि हेरेका छन्। यसै गरी विश्वका कतिपय भागमा हाल पनि यस विषाणुको प्रभावमा कुनै कमी नआउँदा ती देश र मानिसले चीनप्रति इर्ष्या पनि गरेका छन्। यसैबीच भाइरसविरुद्धको लडाइँमा गरेको प्रयास तथा अनुभव बाँकी विश्वलाई समेत जानकारी दिने उद्देश्यले चीनले हालै श्वेतपत्र जारी गरेको छ।

चीनको राज्य परिषद प्रेस कार्यालयले जुन ७ तारिख आइतबार यसै कोभिड-१९ को युद्धमा चीन र चिनियाँ नेताको दूरदर्शिता, नेतृत्व क्षमता, चिनियाँ जनताले गरेका काम तथा श्रम, बगाएका रगत र पसिना तथा त्याग, बलिदान र अनुसन्धानमा खर्चेका समय तथा संयमित चिनियाँ जनताको धीरताको व्याख्या गर्दै विश्वसमक्ष ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’शीर्षकको श्वेतपत्र जारी गरेको हो।

चीनले महामारी विरूद्धको लडाइँको कठिन अवधिमा भए गरेका सबै काम विवरण सो श्वेतपत्रमा विस्तृतमा उल्लेख छ। प्रस्तावना र उपसंहारबाहेक, श्वेतपत्रमा चार खण्ड छन्, ‘महामारीविरूद्ध चीनको लडाइँ - अग्नी परीक्षा’, ‘सुव्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको समन्वय’, ‘भाइरस प्रतिकारका लागि एक शक्तिशाली बलको निर्माण’र ‘सबैका लागि स्वास्थ्य विश्व समुदायको निर्माण’। एक अर्ब चालीस करोड जनसंख्याको विशाल मुलुक चीनले छोटो समयमा नै महामारीलाई कसरी नियन्त्रणमा लिन सक्यो भन्ने कुरा स्पष्ट रूपमा श्वेत पत्रमा उल्लेख छ।

पहिलो खण्ड, महामारीविरूद्ध चीनको लडाइँ - अग्नी परीक्षालाई पाँच भागमा विभाजन गरिएको छ। ‘सार्वजनिक स्वास्थ्य आपतकालीनप्रति द्रुत प्रतिक्रिया (डिसम्बर २७ देखि जनवरी १९ सम्म)’, ‘भाइरस नियन्त्रणमा प्रारम्भिक प्रगति (जनवरी २० देखि फेब्रवरी २० सम्म)’, ‘चीनको मुख्यभूमिमा पुष्टि भएका घरेलु सङ्क्रमणलाई एक अङ्कमा झार्ने (फेब्रवरी २१ देखि अप्रिल २८ सम्म)’, ‘ऊहान र हुपै - एक महत्वपूर्ण युद्धमा प्रारम्भिक विजय’ र ‘रोकथाम र नियन्त्रण जारी (अप्रिल २९, २०२० देखि) ’ छन्।

कोभिड-१९ विरूद्धको चिनियाँ लडाइँको दस्तावेज_fororder_u=1163366389,3012031593&fm=15&gp=0

चीनले ठूलो मूल्य चुकाउनु परेको र शुरुमा महामारीको फैलावट रोक्नका लागि एक महिनाभन्दा बढी समय लागेको तथ्य तथ्याङ्क प्रस्तुत गर्दै श्वेतपत्रले करीब तीन महिनासम्म रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाएपश्चात् ठूलो उपलब्धि हात परेको र हरेक बिरामीको जाँच गरिएको जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिन फिङले जनताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल हुपै प्रान्त र ऊहान शहरलाई बन्द गर्ने निर्देशन दिएका थिए। असामान्य अवस्थामा असामान्य कदम चाल्ने निर्णयबाट राष्ट्रपति सीको रणनीतिक साहस तथा जनतामाथिको जिम्मेवारीबोध देखिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख एवं राज्य परिषदको प्रेस कार्यालयका प्रमुख स्यु लिनले उक्त श्वेतपत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै चीनको महामारी विरुद्ध लडाइँले चीनको शासन क्षमता र समग्र राष्ट्रिय शक्ति प्रदर्शन गरेको बताए। चीनले महामारी विरूद्ध लडाइँमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेको साथै उपलब्ध सबै उपाय अवलम्बन गरी सङ्क्रमितको उपचार गरेको र प्रभावकारी निर्देशन प्रणालीको स्थापना गरेको पनि बताए। सन् २०२० को मे ३१ सम्म चीनमा कोरोना भाइरस सङ्क्रमित निको भएको दर ९४.३ प्रतिशत छ।

आपतकालीन अवस्थामा, जनवरी २४ देखि मार्च ८ सम्म ४२,६०० जना स्वास्थ्यकर्मी तथा ९०० जना स्वास्थ्यविज्ञ सम्मिलित ३४६ वटा स्वास्थ्य टोली साथै जन मुक्ति सेनाका ४ हजार स्वास्थ्यकर्मीलाई ऊहान तथा हुपै प्रान्तमा खटाएको उल्लेख छ। यसै गरी कोरोना महामारीको अवधिमा ४० लाख सामुदायिक कर्मचारीहरू ६ लाख ५० हजार वटा गाउँ तथा शहरी समुदायमा खटेका थिए। सो अवस्थामा चिकित्सा सामग्रीको उत्पादन तथा आपूर्तिलाई सशक्त बनाउन समेत उत्पादन क्षमताको विस्तार गरेको थियो।

यसै गरी चीनले कोभिड-१९ को प्रतिकारका लागि मै ३१ सम्म २७ वटा देशमा २९ वटा विज्ञ स्वास्थ्य टोली पठाउनुका साथै १५० वटा देश तथा ४ अन्तर्राष्ट्रिय संगठनलाई सहायता उपलब्ध गराएको छ। मार्च १ देखि मै ३१ सम्म चीनले २०० वटा देशमा स्वास्थ्य सामग्री निर्यात गरेको थियो, ७०.६ बिलियन मास्क, ३४० मिलियन सुरक्षात्मक पोशाक, ११५ मिलियन जोडीको सुरक्षात्मक चश्मा, ९६,७०० भेन्टिलेटर्स, २२५ मिलियन परीक्षण किट्स र ४०.२९ मिलियन इन्फ्रारेड थर्मोमिटर निर्यात गरेको छ। साथै विश्व स्वास्थ्य संगठनलाई दुई पटक गरी कूल ५० मिलियन डलर सहायता रकम उपलब्ध गराएको श्वेतपत्रमा उल्लेख छ।

विश्वलाई मानवभाग्य समुदायको अवधारणालाई समर्थन गर्न तथा महामारी अन्त्य गर्नका लागि एकता र सहकार्य नै अन्तर्राष्ट्रिय समुदायको लागि सबैभन्दा शक्तिशाली हतियार रहेको भन्दै सबै देशलाई संयुक्त रुपमा मानव स्वास्थ्य समुदाय निर्माण गर्न आह्वान गरिएको छ। चीनले उच्चस्तरीय वार्तासँगै अन्तर्राष्ट्रिय संस्था तथा अन्य देशहरूसँग सूचना आदानप्रदान गर्नुका साथै वैज्ञानिक अनुसन्धानमा सहयोग पुर्‍याएको छ। चीनले पारदर्शिता तथा जिम्मेवार पूर्ण व्यवहारका साथ तुरुन्तै अन्तर्राष्ट्रिय समाजलाई महामारीको बारेमा जानकारी गराउनुका साथै यसको रोकथाम, नियन्त्रण र उपचार अनुभव सबै देशहरूसँग बाँडेको छ। जुन विश्वका लागि मार्गदर्शनका रूपमा लिनसकिन्छ साथै विश्व सार्वजनिक स्वास्थ्य सुरक्षाप्रति चीनको उच्च जिम्मेवारी पनि प्रतिविम्वित भएको छ। साथै भाइरसविरुद्धको विश्वव्यापी लडाइँमा सहयोग पुर्‍याउन यथासक्दो प्रयास गर्दैआएको छ।

कोभिड-१९ विरूद्धको चिनियाँ लडाइँको दस्तावेज_fororder_W020200325308493898132

 

 

 

उक्त श्वेतपत्र सार्वजनिक समारोहमा चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ च काङले नयाँ कोरोना भाइरसको खोपको विकास र चिकित्सकीय परीक्षणपछि प्रयोगको लागि तयार भएमा विश्वलाई सार्वजनिक उत्पादनको रूपमा प्रदान गर्ने बताएका थिए। यसै गरी जुन ४ तारिख आयोजित विश्व खोप शिखर भिडियो सम्मेलनलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले चीनले कोभिड १९ को खोप, औषधि र परीक्षण कार्यहरूमा अनुसन्धान बढाइरहेको भन्दै खोप अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोगलाई महत्व दिएको बताएका छन्।

चीन विपत्तिका कारण कहिल्यै विचलित भएको छैन। यी कठिनाइहरूको सामनाले चीनलाई अझ अगाडि बढ्न मद्दत गरेको छ। यस कोभिड-१९ को पनि सफल रूपमा सामना गरिसकेको चीनले यस युद्धमा प्राप्त विजय अनुभवलाई अन्य देशहरूसँग बाँड्न तथा मिलेर अगाडि बढ्न चाहेको छ। वर्तमान समयमा विश्वमा महामारी समाप्त भइसकेको छैन। यस अवस्थामा कुनै पनि देश एक्लो रहन सक्दैन। यो परिस्थितिमा चीनद्वारा प्राप्त उपलब्धिलाई पछ्याउने तथा मानव भाग्य समुदायको अवधारणालाई समर्थन गर्नु समग्र विश्वलाई लाभकारी हुने छ। तसर्थ, मानवजातिको साझा शत्रु भाइरसको सामना गर्न अन्तर्राष्ट्रिय समाज ऐक्यवद्ध हुनु आजको आवश्यकता हो।