वालक कालमा चलाख, वयस्कमा कुन्नि-1
2021-02-10 09:30:53cri
Share with:

वालक कालमा चलाख, वयस्कमा कुन्नि-1_fororder_01

 

ईसा पूर्व छैठौं‌ शताब्दीमा जन्मेका कन्फ्युसियस चीनको इतिहासमा एकजना प्रसिद्ध विचारक तथा गुरु हुनुहुन्थ्यो। उहाँको सिद्धान्त पछिका पुस्ताका लागि चीनको सँस्कृतिको एक निकै महत्वपूर्ण विषय बनिसकेको छ। चीनको लामो सामन्ती अवधिमा शासकहरुले कन्फ्युसियसको विचारलाई औपचारिक परम्परागत विचारका रुपमा सम्मान गर्नेगरेका थिए। त्यसैले कन्फ्युसियस परीवार सधैं नै एक कुलिन परीवार मानिएको थियो। कन्फ्युसियसका पछिका पुस्तामा केही प्रसिद्ध व्यक्तिहरु पनि देखा परेका थिए। उनका बीसौं पुस्ताका नाति खुन् रुन तीमध्येका एक थिए। अब हामीले बयान गर्नलागेको “वालक कालमा चलाख, वयस्कमा कुन्नि”भन्ने कथा यीनै खुन् रुनका बारेको एक कथा हो।

यो कथा प्राचीनकालीन चीनको एक प्रसिद्ध उपन्यासबाट लिइएको हो। त्यसमा नैतिकता, सच्चरित्रता, राजनितिक कुरा तथा साहित्य आदि विषयहरु समावेश थिए।

खुन् रुन ईस्वी सम्बत दोस्रो शताब्दीमा चीनको हान् वंशका एकजना प्राज्ञ थिए। परीवारको प्रभावका कारण सानैदेखि निकै चलाख खुन् रुन उच्च वाकशक्ति भएका क्षमतावान व्यक्ति थिए। उमेर त्यति धेरै नभए तापनि उनको नाम चल्नथालिसकेको थियो।

दश वर्षको उमेरमा खुन रुन आफ्ना पितासँगै त्यस बेलाको राजधानी लो याङमा स्थानीय प्रशासक लि युआन् लिसित शिष्टाचार भेट गर्नगएका थिए। लि युआन् लि एकजना प्रसिद्ध र घमण्डी विद्वान थिए र हरेक दिन उनीसँग भेट गर्न धेरै मानिसहरु आउने गर्दथे। भेट-घाट गर्न आएकाहरु प्रसिद्ध व्यक्ति नभएमा पालेले लि युआन् लिलाई जानकारी नै दिंदैनथ्यो।

दश वर्षको उमेर मात्र भएका खुन् रुनले ती विद्बानसित भेट गर्ने विचार गरेका थिए। एक दिन, खुन् रुनले लि युआन् लिको कार्यालयमा आएर पालेलाई लि युआन् लिलाई आफू आएको जानकारी दिन अनुरोध गरे। तर पालेले एकजना किशोर देखेर जसरी-तसरी उसलाई धपाउने विचार गर्‍यो। खुन् रुनले मगज खियाउंदै पालेलाई भनेः “म श्री लियुआन् लिको नातेदार हुँ, उहाँ अवश्य मसँग भेट गर्नुहुन्छ।"

पालेको जानकारी सुनेपछि आफ्नो यो नाता नभएकोले लि युआन् लिलाई अचम्म लागेको थियो । तैपनि खुन् रुनसित भेट नगरी नछोड्ने निधो लि युआन् लिले गरे।

लि युआन् लिले खुन् रुनलाई भेट गर्दा अचम्म लागेर भनेः “तिमी र मेरा बीच के नाता सम्बन्ध छ?"

खुन् रुनले भनेः “म कन्फ्युसियसको पछिका पुस्ता र तपाई‍ ला‌ओ चको पछिका पुस्ताका व्यक्ति हौं। सबै मानिसहरुले के थाहा पाएका छन् भने कन्फ्युसियसले लाओ चलाई शिष्टाचारका कुरा बारे विनम्रताकासाथ सोधेका थिए। त्यसैले उहाँहरुका बीच गुरु र शिष्यको सम्बन्ध थियो। त्यसैले म र तपाई‌का बीच पनि पुस्तौं पुस्ताको सम्बन्ध रहेको भन्न सकिन्छ।”