ल्हासाबाट सामग्रीहरूको नेपाल आयात सुरु
2021-04-16 15:30:49cri
Share with:

रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको उपकरण आयात सुरु भएको छ।  कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ। 

वैशाख अन्तिमसम्ममा सबै सामान आइसक्ने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो ‘अहिले सामग्री आउने क्रम सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘उपकरण आएपछि चिनियाँ कामदारले जडान सुरु गर्नेछन्।’ इलेक्ट्रोमेकानिकलको धेरैजसो सामान चीनबाट आउँछ। ती उपकरण उतै रोकिँदा समस्या भएको थियो। कोभिड–१९ का कारण चिनियाँ कामदार नआउँदा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलको उपकरण जडान सुरु नभएको उहाँको भनाइ छ। ‘चिनियाँ टोली आएपछि उपकरण जडानको काम सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘काम सुरु भएको नौ महिनाभित्रमा उत्पादन सुरु हुन्छ।’ आयोजनाले दिएको जानकारी अनुसार २०७८ असोजमा परीक्षण उत्पादन र पुसदेखि व्यावसायिक उत्पादन गरिने छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना रहेको नागरिकन्यूज डट कममा खबर छ।

यो आयोजना निर्माणका लागि हालसम्म तीनपटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीनपटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटरको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेको छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्सट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ। 

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। यसले गर्दा आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित बिजुली जोड्न सकिने उहाँले बताउनुभयो। हब निर्माण भएपछि उत्पादित बिजुली हबमा नै जोडिने छ।