धुनी जगाएर सरदारहरुलाई छकाउने कथा-2
2021-04-28 15:23:39cri
Share with:

धुनी जगाएर सरदारहरुलाई छकाउने कथा-2_fororder_01

जब ती सरदारहरु हतार-हतार गर्दै लि-शान पर्वतको फेदीमुनि पुगे, राजा चौ यौ वाङ तथा उनकी पत्नी मण्डपमाथि बसेर मदिरा पिउँदै मोजमजा गरिरहेको देखे। खोई, आइलाग्ने शत्रु, राजाले आफूलाई छकाएको पो रहेछ! ती सरदारहरु चूर भएर पनि केही बोल्न नसकेर फर्केर लुरुलुरु जान विवश भए। अरु दिनमा शिर ठाडो पारेर हिंड्ने ती सरदारहरु अब ख्याल-ठट्टाको शिकार भई नून खाएको कुखुरा जस्तो देखिएको हुँदा सौती पाओ-सले यो कुरा रमाइलो मानेर आफूलाई थाम्न नसकी मुसुक्क हाँसिन। आफ्नी प्यारी बल्ल हाँस्न थालेको देखेर राजा पनि अति हर्षित भए।

ती सबै सरदारहरु फर्केर गइसकेपछि राजा चौ यौ वाङले फेरि रक्षकहरुलाई धुनी बाल्न लगाए। सरदारहरु फेरि हडबड भई फौज लिएर आए। राजा तथा उनकी सौती दुबै यी सरदारहरु फेरि ठगिएको देखेर खित्का छोडेर हाँसे। यसरी, राजाले बारम्बार खेलवाड गरिरहेको देखेर अन्तमा फेरि धुनी बालिए तापनि यस अघि राजाद्बारा झुक्क्याइएका कुनै पनि सरदार राजाको सहयोगका लागि आएनन।

त्यसपछि धेरै समय बित्न नपाउँदै राजा चौ यौ वाङले पत्नी पाओ-सलाई रानी बनाउने र पाओ-सका छोरालाई युवराज बनाउने आशय अनुरुप तत्कालीन रानी तथा युवराज दुबैलाई पदच्युत गररिदिए। ती रानीका पिता अर्थात् अर्को शङ राज्यका राजा आफ्नी छोरी अन्यायमा परेको थाहा पाएपछि निकै क्रोधित भए। उनले छिट्टै नै अरु राज्यसित सम्पर्क गरी चौ राजवंशलाई निर्मूल पार्न सेना पठाए। चौ यौ वाङले सरदारहरुलाई बोलाउन अविलम्ब धुनी बाल्न आदेश दिए।

तर राजा चौ यौ वाङप्रति विश्वास हराइसकेकाले मण्डपमा धुनी बलिरहे तापनि उनको सहयोगका लागि कुनै पनि सरदार आएन। केही समयमै चौ राजवंशको राजधानीको रक्षा-मोर्चा पराजित भयो र निज राजाको हत्या गरियो, निज पत्नीलाई कब्जामा लिइयो र चौ राजवंशको पनि अन्त भयो।