नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट
2021-04-30 09:52:27cri
Share with:

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Resturannt Main gate

     चीन भ्रमणमा आउने धेरैजसो नेपालीले ‘कम्युन’ हेर्ने चाहना गर्छन्। कम्युन हेर्ने चाहना राख्ने व्यक्तिहरु स्वाभाविक रुपमा नेपाली कम्युनिष्ट विचार राख्ने व्यक्ति अथवा नेताहरु हुन्। चिनियाँ साहित्य र इतिहास पढेका नेपालीका लागि कम्युनका कथाहरु साँच्चै रोमाञ्चक र आकर्षक हुनुलाई अन्यथा लिन सकिँदैन।

    त्यसो त यो स्तम्भकारलाई पनि चिनियाँ कम्युन हेर्ने इच्छा नभएको कहाँ हो र?चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा बेइजिङमा बसेर काम गर्न थालेको ८ वर्ष पुग्न लागेछ। यसबीचमा नेपाली सञ्चार माध्यममा सयौँको संख्यामा लेखहरु लेखिसकेँछु। लेखनका विषयवस्तु भने चीन बसाइका क्रममा आफूले अनुभव गरेका कुराहरु नै प्राथमिकतामा पर्ने गरेका छन्। कतिपय नेपाली पाठकले चीनका बारेमा आफूलाई चासो परेको विषयमा लेख्नका लागि सुझाव र अनुरोध गर्दछन्। उनीहरुका सुझाव र अनुरोधका अधिकांश विषयलाई लेखमा समेट्ने कोशिस गर्दै आएको छु। उनीहरुले चिनियाँ कम्युनका बारेमा जानकारी दिन थुप्रैपटक जिज्ञासा राखेका छन्।

    छिमेकी मुलुक भएर पनि केही दसक अगाडिसम्म चीनका बारेमा नेपालमा सञ्चारको राम्रो पहुँच थिएन। नेपालीहरुले चीनका बारेमा थाहा पाउनका लागि पश्चिमा सञ्चारमाध्यममाथि भर पर्नु पर्ने अवस्था थियो। चार दशक अगाडिसम्म चीन बन्द समाजमा थियो। त्यसकारण पनि चिनियाँ समाज र चिनियाँ चलनका बारेमा बाँकी दुनियाँलाई सार्‍है थोरै मात्र थाहा थियो। अहिलेको उत्तर कोरियाजस्तै त्यतिबेला चीनलाई एउटा रहस्यमय देशका रुपमा हेरिन्थ्यो। तर अहिलेको अवस्था विकुल्लै फरक छ। चीनले सुधार र खुलापन सुरु गरेको ४० वर्ष नाघेको छ। सुधार र खुलापनसँगै चीनका सबै रहस्यको पर्दा उघारिँदैछ।

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Mao painting

    वर्तमान चिनियाँ समाज कस्तो छ भन्ने कुरा कुनै एउटा लेखमा समेटिने कुरै होइन। आजको लेखमा कम्युनिष्ट चरित्रको सानो अंशका रुपमा रहेको 'कम्युन'का बारेमा केही चर्चा गर्दैछु। सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र चीन स्थापना भएको हो। चिनियाँहरु यो मितिमा नयाँ चीन स्थापना भएको मान्छन्। नयाँ चीन स्थापना भएपछि चीन समाजवादी बाटोमा अगाडि बढ्न थाल्यो। निजी स्वामित्वमा रहेका जग्गा जमिनलाई सरकारीकरण गरियो। ती जग्गामा सामूहिक खेती गर्ने परम्पराको थालनी भयो। चिनियाँ कम्युनिष्ट पार्टीको जनमिलिसियाको स्वामित्वमा रहेको जमिनमा सामूहिक खेती, सामूहिक भोजनालय, उत्पादनको सामूहिक उपभोग, सामूहिक स्वामित्वलाई कम्युन भनिन्थ्यो। सन् १९४९ मा नयाँ चीन स्थापना भएपछि सन् १९८० सम्म चीनमा कम्युन असाध्य लोकप्रिय थियो। कम्युन नभएको चीनका कुनै पनि स्थानीय निकाय नै थिएनन्। यही समयावधिमा लेखिएका चिनियाँ साहित्यमा कम्युन र जनमिलिसियाको उच्च बखान गरिएको हुन्थ्यो। नेपाली भाषामा अनुवाद भएका ती चिनियाँ साहित्यिक रचनाहरु नेपालका कम्युनिष्टका लागि करिष्मा बनेका थिए।

    सन् १९८० ताका लेखिएका चिनियाँ साहित्यिक कृतिको प्रभाव नेपालमा अझै गाढा रुपमा बनेको छ। विशेष गरी नेपालका कम्युनिष्ट विचार बोक्ने नेता तथा कार्यकर्ताहरुका लागि कम्युन एउटा गीता मन्त्र जस्तै बनेको थियो। वि.सं. २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहले कम्युनको नारालाई थप सौन्दर्य प्रदान गर्‍यो। माओवादी नेता गिरिराजमणि पोखरेलको पहलमा स्थापित कम्युन अझै सञ्चालनमा रहेको यदाकदा सुनिन्छ। चीन भ्रमणमा आएका नेपालका माओवादी पृष्ठभूमिका नेताहरु चीनमा कम्युन हेर्ने चाहना राख्छन्। बेइजिङमा भेट भएको बेला देव गुरुङले एकपटक भनेका थिए 'मलाई कम्युनमा पुगेर प्रत्यक्ष अवलोकन गर्ने इच्छा छ तर खै कसरी जाने होला?' देव गुरुङले जस्तै लालबाबु पण्डितले पनि बेइजिङमा भएको भेटमा भनेका थिए ‘चिनियाँ कम्युन जस्तै हामीले पनि कृषि क्रान्ति गर्न सकिन्छ कि?’ नेताद्वय गुरुङ र पण्डितजस्तै त्रिभुवन विश्वविद्यालयबाट निवृत्त भएका इलामका धरणी गौतम र दाङका पुराना शिक्षक तुलसीराम अधिकारीले पनि चिनियाँ कम्युन हेर्ने तीब्र इच्छा राखेका थिए। 

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Mao and his famous poem

         नेपाली नेताहरुको इच्छा जस्तै मलाई पनि कम्युन हेर्ने इच्छा थियो तर मौका पाएको थिइँन। सुधार र खुलापनका प्रवर्तक तङ स्याओ फिङले सरकारीकरण गरिएका नागरिकका घरजग्गा फिर्ता गर्ने नीति ल्याए। कम्युनमा काम गर्दा सयौँ मान्छे एकैचोटि भेला हुने भएकाले कसले कति काम गर्‍यो मूल्याङ्कन गर्न गार्‍हो हुने भएकाले चीनमा खाद्यान्न संकट चुलीमा पुगेको थियो। काम ठग्ने तर खान चाहिँ पेट भरि चाहिने परम्पराले कम्युनलाई ठग्ने चौतारोमा परिणत गर्दै लगेको थियो। चीनमा सुधार र खुलापन सुरु भएपछि नागरिकले निजी सम्पत्ति राख्न पाउने, सरकारलाई कर तिरेर सम्पत्ति कमाउन सक्ने, सहकारीबाट नाफामुलक उद्योगधन्दा तथा व्यापार चलाउने नीति अगाडि सारियो। तङ स्याओ फिङको यही नीतिले चीनको अर्थतन्त्र फड्को मार्दै अगाडि बढ्यो। यही प्रगतिलाई चिनियाँ चरित्रको समाजवादी अर्थ व्यवस्था भन्ने गरिएको हो।

    चीनमा बसेर काम गर्दा विभिन्न प्रान्तमा गएर गरिबी निवारणका कार्यलाई नजिकैबाट हेर्ने मौका पाइयो। स्थानीय स्तरमा सञ्चालित होमस्टे, विभिन्न सीप विकासका कार्यक्रम, सहकारीबाट सञ्चालित उद्योगधन्दाहरु, डिजिटल वाणिज्य देख्न पाए पनि कम्युन कहिल्यै देख्न पाइएन। नेपाली कम्युनिष्ट नेतालाई जस्तै मलाई पनि कम्युन हेर्ने रहर मरिसकेको थिएन।

    मार्च २५ तारिख बिहीबार बेइजिङको केन्द्रमै कम्युनको अवलोकन गर्ने अवसर प्राप्त भयो। राजधानी बेइजिङङको तेस्रो चक्रपथभित्र रहेको कम्युन हेर्न जाँदा म उत्साही त थिएँ नै त्यहाँ केकस्तो होला भनेर विभिन्न कल्पना गरिरहेको थिएँ। 'सामूहिक खेती, उत्पादन ब्रिगेडियरले सञ्चालन र नियन्त्रण पद्धति' यस्तै कुरा मेरो दिमागमा फनफनी घुमिरहेको थियो। हामी चढेको ट्याक्सी एउटा भव्य रेष्टुरेन्टको अगाडि रोकियो। रेष्टुरेन्टको बाहिर माओ चतुङको उभिएको पुरानो ठुलो पेन्टिङ थियो। रेष्टुरेन्टको ढोकामाथि राता अक्षरमा चिनियाँ भाषामा लेखिएको थियो 'जनकम्युन फलामको बोल' अर्थात् 'पिपुल्स कम्युन आइरन बोल'। चिनियाँ सहकर्मीहरु ललिता, हिमा र प्रतिभाको पछि लागेर म रेष्टुरेन्टभित्र छिरेँ। रेष्टुरेन्टभित्र छिर्दै गर्दा हिमाले भनिन् 'कम्युनलाई सांकेतिक रुपमा बोकेको यही रेष्टुरेन्ट नै आजको हाम्रो गन्तव्य हो।' उनको कुराले म खङ्ग्रङ्गै भएँ।

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Menu

    भव्य रेष्टुरेन्टको सजावटमा भिन्न रुप देखियो। मक्कैका झुत्ताहरु झुण्ड्याएका थिए। ठाउँ ठाउँमा पुराना लालटिनहरु थिए। चीनका पुराना बाजागाजा सहित बाँसबाट बनेका विभिन्न घरायसी औजारहरुले जोसुकैलाई पचास वर्ष अगाडिको चिनियाँ समाजमा पुर्‍याउँथ्यो।

    रेष्टुरेन्टको भित्रपट्टि ठाउँ ठाउँमा माओको पेन्टिङ र फोटो टाँसिएको थियो। काँचो इँटाबाट बनाइएका पर्खाल नै बस्ने सिट थिए। भित्तामा सन् १९८० को दसकमा प्रकाशित पिपुल्स डेली पत्रिका टाँसिएको थियो। संयुक्त राष्ट्र संघमा चीनले भिटो अधिकार पाएको समाचार ती पत्रिकाको प्रथम पृष्ठमा छापिएको रहेछ। टेबुलमा राखिएका कपमा पनि माओको फोटो प्रिन्ट गरिएको रहेछ।

    हामी बसेपछि रेष्टुरेन्टकी परिचारिकाले मेनु ल्याएर टेबुलमा राखिन्। मेनुको कभर पृष्ठमा पनि माओकै फोटो थियो। कभरको भित्रपट्टि माओको फोटोसँगै उनले लेखेको प्रख्यात कविता थियो। मैले मेनु ल्याउने युवतीको अनुहार चियाएँ। मलाई उनको अनुहारभन्दा पनि पोशाकले तान्यो। अन्य रेष्टुरेन्टका परिचारिकाले लगाउने भन्दा उनको पोशाक फरक छ। हरियो रङको खाकी पोशाक, देब्रे छातीमा ताराभित्र माओको फोटो अंकित लकेट, सर्टको कलरमा रातो फिता। ओहो किताबमा पढेको जनमिलिया सङ्गुलै अगाडि देख्न पाइयो।

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Mao photo in cup

    रेष्टुरेन्टको संरचनाले कम्युनको चित्रण दिँदै थियो। संरचना हेरेर कम्युनको कल्पना गरिरहेका बेला आएको खानेकुरा देखेर म थप रोमाञ्चक बनेँ। खानेकुरा पनि कम्युनको सम्झना गराउने खालका थिए। सगरखण्ड, बन तरुल, बदाम, च्याउ, तामा, उसिनेको हरियो मकै आदि। माओ चतुङले चीनमा लङमार्च गर्दाको समयमा चिनियाँ जनमुक्ति सेनाले अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको ललिताले बताउँदै थिइन्। हजारौँ किलोमिटर पैदल यात्रा गरेर लङमार्च गर्दा जनमुक्ति सेना भोकै हुन्थ्ये। त्यतिबेला उनीहरुका लागि खानेकुराका विकल्पमा घाँस, माटो हुन्थ्यो। अवस्था यति विकराल थियो कि उनीहरुले आफूले लगाएको छालाको पेटी पानीमा भिजाएर खान्थे रे।

    ललिताको कुराले मलाई निकै भावुक बनायो। त्यसो त चीनमा जनमुक्ति सेनाको लङ मार्चमा मात्र होइन सन् १९६० को दसकमा पनि निकै ठूलो खाद्यान्न संकट आइलागेको थियो। त्यतिबेलाका किसानको मुख्य खानेकुरा नै सगरखण्ड, बनतरुल, बदाम, च्याउ, तामा, उसिनेको हरियो मकै र कमलको जरा हुन्थे। त्यही कुराको झल्को दिने खानेकुरा हाम्रा टेबुलमा थिए। चीनको उत्तरपूर्वी क्षेत्रमा खाइने विशेष प्रकारका अत्यन्त स्वादिष्ट खानेकुरा तर निकै परम्परागत। खानाले पनि यति जीवन्त इतिहास बोक्ने रहेछ भन्ने कुरा मलाई पहिलोपट आभाष भयो।

नेपाली नेतालाई देखाउनुपर्ने 'कम्युन' रेष्टुरेन्ट_fororder_Waitress

    अहिले चिनियाँहरुलाई मासु नभई खान रुच्दैन। चिनियाँहरु समृद्धि हुँदै जाँदा उनीहरुको भोजनालय पनि भरिपूर्ण हुन थाल्यो। एक्काईसौँ शताब्दी लागेपछि त धेरै जसो चिनियाँहरु घरमाभन्दा रेष्टुरेन्टमा रमाउन थालेका छन्। आफूलाई चाहिनेभन्दा धेरै खानेकुरा अडर गरेर आधा मात्र खाएर बाँकी खानेकुरा छोडेर हिँड्नु चिनियाँको इज्जत र प्रतिष्ठा हुन थाल्यो। सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि खाद्यान्न सुरक्षामा ध्यान दिन नागरिकलाई विशेष निर्देशन दिए। रेष्टुरेन्टमा खाना खडर गर्दा खान सक्ने मात्र गर्ने र उब्रिएको खानेकुरा घरमा लगेर अर्को दिन खान भनेपछि हिजोआज चिनियाँहरु रेष्टुरेन्टबाट निस्कदा बट्टामा खानेकुरा पनि बोकेर निस्कन्छन् चाहे ती प्रोफेसर अथवा उच्च व्यापारी किन नहुन्।

    कम्युनको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि खाना खाने समयभित्रै चीनको लामो इतिहास बोकेको कम्युनलाई नजिकैबाट जान्ने मौका पाउँदा प्राप्त खुशीमा चीनकै स्वादिष्ट मानिएको खानेकुराले थप सन्तुष्ट बनायो। अब चाहिँ नेपालबाट आएका कम्युनिष्ट नेताहरुलाई त्यही रेष्टुरेन्टमा लगेर चिनियाँ कम्युन देखाउने बिचार गरेको छु।

साभारः नेपाल खबर अनलाइन।