७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?
2021-04-30 10:39:34cri
Share with:

७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?_fororder_src=http___img.takungpao.com_2017_1209_20171209031617942&refer=http___img.takungpao

    नेपालमा यतिबेला टाउका गन्ने प्रवृत्ति व्यापक छ। कसको आमसभामा कति मान्छे भेला भए भन्ने प्रतिस्पर्धा तीब्र रुपमा चलिरहँदा कोरोना महामारी नियन्त्रण आफैँ छायामा परेको छ। कोरोना महामारी त्रासका कारण दशैँ तिहारमा घर नगईकन काठमाडौँमा बसेका मान्छेहरु अहिले कोचाकोच रुपमा बुटवल, नारायणघाट, धनगडी, बिराटनगर, पोखरा लगायत मुख्य सहरहरुमा आयोजना हुने आमसभा चहारीरहेका छन्। काठमाडौँमा आयोजना हुने आमसभामा त नेपालभरका मान्छे ओसारेर एकले अर्कालाई 'देखाइदिने' कुरा छँदैछ।

       कोरोना महामारीका कारण दुनियाँ ठप्प जस्तै रहेका बेला नेपालका राजनीतिक क्रियाकलापले विश्वलाई रमिता देखाउनु उदेकलाग्दो मात्र नभई दुःखदायी र दीर्घकालीन पीडा दिने हुनेछ। मंगलबारसम्म नेपालमा १५८१ भन्दा बढी कोरोना संक्रमित रहेको तथ्याङ्क छ भने चीनमा जम्मा १६ जना संक्रमित रहेका छन्। तुलना गरेर हेर्ने हो भने यतिबेला नेपालमा चीनकोभन्दा झण्डै सयगुणा बढी संक्रमित देखिन्छन्। नेपालमा पनि नियन्त्रण भएको जस्तो देखिने तथ्याङ्क भए पनि टाउका गन्ने आमसभाहरुले हरेक गाउँ र हरेक परिवारमा कोरोना नपुग्ला भन्न सकिन्न।

    नेपालमा 'भव्य' आमसभामा उपस्थित हुन घरधुरी लगाउँदै तँछाडमछाड गरेर कोरोनालाई जिस्क्याउँदै गर्दा चीनले चाहिँ आफ्ना नागरिकलाई सबैभन्दा ठूलो पर्व 'वसन्त चाड'मा पनि यात्रा नगर्न भनेको छ। परिवारसँग मिलेर चाड मनाउने उमङ्गलाई दबाउँदै चिनियाँहरु शुभकामनामा लेख्छन् 'पहिले महामारी जितौँ, जीवन रहेमा चाडपर्व र पारिवारिक पुनर्मिलनमा फेरि रमाउन पाइन्छ।'

    परम्परागत चिनियाँ पात्रो अनुसार फेब्रुअरी १२ तारिख शुक्रबारदेखि मुसा वर्ष सकिएर गोरु वर्षको थालनी भएको छ। यही नयाँ वर्ष नै चिनियाँहरुको वसन्त चाड हो। वसन्त चाडमा यात्रा गर्ने चिनियाँ चलन ४० दिन रहन्छ जुन गत जनवरी २८ तारिख सुरु भएको छ। यसलाई चिनियाँ भाषामा छुनयुन भनिन्छ। यस अवधिमा चीनमा लगभग ३ अर्ब चिनियाँले यात्रा गर्दछन्। भनिन्छ यो अवधिमा हरेक चिनियाँले सरदर दुईपटकभन्दा बढी यात्रा गर्छ। वसन्त चाडमा यात्रा गर्ने चिनियाँलाई विश्वको सबैभन्दा विशाल मानव आवतजावत मानिन्छ। तर कोरोना महामारी भएपछि गत वर्ष  यो वर्षको वसन्त चाडमा भने यात्रा गर्ने चिनियाँहरु उल्लेख्य रुपमा घटेका छन्। चीन सरकारले आफ्ना नागरिकलाई कार्यरत रहेको क्षेत्रमा चाड मनाउन र कतै घुम्न ननिस्कन भनेकाले सधैँ भिडम्भिड हुने रेलवे स्टेसन र विमानस्थल अहिले सामान्य अवस्थामा रहेका छन्।

७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?_fororder_Chinese People

    चिनियाँ यातायात मन्त्रालयले जनाए अनुसार वसन्त चाडमा सुरु हुने विशाल मानव यातायातको पहिलो दिन ३८ लाख यात्रुले यात्रा गरेका छन्। यो सन् २०२० को तुलनामा ७३.७ प्रतिशतले घटेको हो। चीनको यातायात तथा ढुवानी मन्त्रालयका अनुसार चालु वसन्त चाडको विदाको समयमा यात्रा गर्ने चिनियाँको संख्या १ अर्ब १५ करोड २० लाख हुने अनुमान गरिएको छ। यो संख्या सन् २०२० को तुलनामा २० प्रतिशतले घटेको छ र सन् २०१९ को तुलनामा ६० प्रतिशतले कम भएको हो। यसको अर्थ सामान्य अवस्थाको वसन्त चाडको भन्दा ८० प्रतिशत कम चिनियाँले अहिले यात्रा गरेका छन्।

    सन् २०२० को मध्यदेखि नै चीनमा कोरोना महामारी लगभग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको थियो। चीनले गत सेप्टेम्बरमा बेइजिङमा भौतिक रुपमै उपस्थित हुने गरी अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको आयोजना गरेको थियो। महामारीपछि गत अक्टोबर १ तारिख राष्ट्रिय दिवसको लामो विदामा ६० करोडभन्दा बढी चिनियाँले यात्रा गरेपछि कोरोनापछिको विशाल मानव आवतजावतका रुपमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए।

    गत डिसेम्बरदेखि चीनमा कोरोना संक्रमणका केही नयाँ केसहरु भेटिन थालेपछि चीनको टाउको दुखाइ बल्झिन थाल्यो। तसर्थ परम्परागत चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडमा सकेसम्म यात्रा नगर्नका लागि चीन सरकारले आफ्ना नागरिकलाई आह्वान गरेको हो।

    सरकारले आफ्ना नागरिकलाई घर नगईकन आफू बसेकै ठाउँमा चाड मनाउन आह्वान मात्र गरेन उनीहरुलाई विभिन्न आर्थिक सुविधाका प्याकेजहरु पनि अवलम्बन गर्‍यो। ठूला कारखानाहरुले मजदुरलाई विदाको दिन काम गर्दा दोब्बर पारिश्रमिक दिने व्यवस्था गरेका थिए भने उनीहरुका घरमा रहेका बाबाआमा तथा वृद्धवृद्धालाई विशेष उपहारहरु पठाउने व्यवस्था पनि गरेको थियो। चीनको यस्तो नीतिको प्रशंसा गर्दै बेलायतको डेली टेलिग्राफले लेखेको छः नगद अनुदान, निःशुल्क चलचित्रका टिकट लगायतका कल्याणकारी कार्यक्रममार्फत चीनले आफ्ना नागरिकलाई तत्स्थानमै बसेर वसन्त चाड मनाउन प्रोत्साहन गरेको छ। जर्मनी विसर कुरियरका अनुसार, चीनका विभिन्न स्थानले विभिन्न सक्रिय प्रोत्साहन कदम चलाएर मनोरन्जक तथा स्वस्थ कार्यक्रम प्रदान गरेको छ।

    वसन्त चाड लक्षित अनलाइन पर्व उपहार कार्यक्रम पनि चीनले यसपटक चलाएको छ। यस्तो योजना गत जनवरी २० तारिखदेखि इन्टर्नेटमा 'वसन्त चाड कोसेली महोत्सव' सुरू भएको हो। चीनको वाणिज्य मन्त्रालयले फेब्रअरी ४ तारिख प्रकाशन गरेको तथ्याङ्क अनुसार कोसेली महोत्सवमा फेब्रुअरी ३ तारिखसम्म चीनभरि इन्टर्नेटमा भएको खुद्रा बिक्री रकम ५ खर्ब १० अर्ब चिनियाँ युआन पुगेको थियो। जन्मथलो फर्कन नपाएकाहरुले अनलाइनबाट अर्डर गरेको कोसेली आफ्ना आमाबुवाको हातमा पुर्‍याइदिएका छन्।

    चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तले वसन्त चाडका अवसरमा कामदारहरुलाई ठूलो उपहार र यात्रा कार्ड वितरण गरेको छ। त्यसैगरी पश्चिममा पर्ने सछ्वान प्रान्तले विभिन्न उमेरका नागरिकको रुचिलाई ध्यान दिएर परम्परागत र आधुनिक गुण समेटिएको वसन्त चाड मनाउने रङ्गीचङ्गी कार्यक्रमको आयोजना गरेको छ। फुचियान प्रान्तले इन्टरनेटमार्फत १० वटा सौन्दर्यलाई जोडेर १० हजार शब्दमा शुभकामनाका आफ्ना भावना लेख्ने प्रतियोगिता चलाएको छ। सो प्रतियोगितामा थुप्रै प्रकारका उपहार जित्नका लागि एउटै परिवारका थुप्रै सदस्यले भाग लिन पाउने भन्दै सकेसम्म धेरैलाई सहभागी हुन भनिएको छ।

    वयस्क छोराछोरी चाड मनाउन घरमा नफर्किएपछि बृद्ध बाबुआमाको चित्त दुख्ला भनेर चीनको नागरिक मामिला मन्त्रालयले शहर तथा ग्रामीण क्षेत्रका आबास क्षेत्र, स्वयमसेवक, पेगशागत निवृत्तिभरण सेवाका संस्थाहरू परिचालन गरेको छ। जसले छोराछोरी घरमा नफर्किएका बृद्धबृद्धाहरूका लागि चिकित्सा सेवा, खाद्यान्न ढुवानी, किनमेल र हेरचार लगायतका सेवा प्रदान गरिरहेका छन्। च्याङसु प्रान्तस्थित चिनछन कपडा उद्योगले चाडमा घर नफर्कने कर्मचारीहरूलाई लक्षित गरी चार्ड खर्च, ओभरटाइम तलब वितरण गरेको छ। पर्वका बेला काम गर्ने कामदारले पर्वपछि आलोपालो गरेर नातेदार भेट्न घर जान पाउने छन्। फुच्यान प्रान्तमा एक उद्यमले कर्मचारीहरूलाई बसन्त चाड काम गरेवापत ३ करोड चिनियाँ युआन वितरण गरेको छ।

    चीनभित्र मात्र होइन विदेशमा बसेका चिनियाँलाई पनि सकेसम्म यो समयमा चीनमा नफर्कन भनिएको छ। त्यसकारण विदेशमा रहेका चिनियाँलाई चाडको न्यास्रो मेट्नका लागि सम्बन्धित देशका दूताबासले केही प्याकेजहरु अगाडि सारेका छन्। वसन्त चाड आउनुभन्दा एक महिना अगाडि नै जनवरी १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले विदेशस्थित चिनियाँ दूतावासले वसन्त चाडअघि चिनियाँ विद्यार्थी र अन्य प्रवासी चिनियाँलाई 'वसन्त चाडको प्याकेज' वितरण गर्ने जानकारी गराएका थिए।

७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?_fororder_caef76094b36acaf5db255de71d98d1001e99c46

    वसन्त चाडपूर्व र चाडका समयमा चिनियाँ रेल र विमानबाट यात्रा गर्नेको संख्या गत वर्षको तुलनामा ठूलो मात्रामा घटेको छ भने चीनका ३६ वटा ठूला शहरमा ग्रामिण क्षेत्र तथा अन्य प्रान्तबाट गएर काम गर्नेहरु गत वर्षभन्दा ४ करोड ८० लाखभन्दा बढी घर नफर्किन चाड मनाएका छन्। महामारी नियन्त्रण गर्नका लागि चिनियाँ जनताले आफ्नो खुशी र पारिवारिक मिलनलाई वलिदान दिएको सन्दर्भमा विश्व स्वास्थ्य संगठनका महानिर्देशकका वरिष्ठ सल्लाहकार एलवर्डले भनेका छन् 'चिनियाँमा जिम्मेवार र समर्पण भावना देखिन्छ। चिनियाँको यस्तो भावनाले महामारी नियन्त्रण गर्न योगदान दिनेछ।'

    करोडौँ चिनियाँले सरकारको अनुरोध, निर्देशन अथवा नीतिलाई सहजै स्वीकार गरेको देखेर विश्व चकित छ। यसको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको शासन शैली र जनतालाई प्रामथिकतामा राखेर काम गर्ने प्रवृत्ति भएको भन्दै सबैले प्रशंसा गरेका छन्।

    एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा नौ करोड २० लाख जति मात्र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य छन्। साढे ६ प्रतिशत चिनियाँलाई मात्र सदस्य बनाएको सीपीसीले ७२ वर्षदेखि चीनमा शासन गरिरहेको छ। जनता केन्द्रित शासन भएकाले सीपीसीका गैर सदस्यले पनि सीपीसी र चीनको शासन व्यवस्थालाई उत्तिकै सम्मान र आदर गर्छन्।

    पछिल्लो समय अमेरिकी लगायत विभिन्न थिङ्कट्याङ्कहरुले गरेको अनुसन्धान अनुसार सबैभन्दा धेरै जनताले मन पराएको शासन व्यवस्थामा चीन अग्र स्थानमा छ। सन् २०२० मा अमेरिकी नामी सार्वजनिक सम्बन्ध कम्पनी एडेलमानको सर्वेक्षण अनुसार चीन सरकारमाथि चिनियाँ नागरिकको विश्वास दर ९५ प्रतिशत पुगेको छ। विश्वमा सरकारमाथिको विश्वासदर ६५ प्रतिशत औसत रहेको अवस्थामा चीनको सबैभन्दा उच्च देखिएको हो। महामारीपछि धेरै देशमा शासनसत्ताप्रति नागरिकको गुनासो र असन्तोष छाएको बेला चीनमा चाहिँ बढेको देखिन्छ। सिङ्गापुरको ल्यानह चाउपो समाचारपत्रले फेब्रअरी ७ तारिख प्रकाशन गरेको समाचार अनुसार महामारी प्रतिरोधको सफलताबाट चिनियाँ युवायुवतीमाझ देशप्रेम भावना अभिप्रेरित भएको छ। २० औं शताब्दीको असी र नब्बेको दशक र सन् २००० पछि जन्मेका चिनियाँ युवायुवतीहरूले चीनको राष्ट्रिय व्यवस्थाको उच्च प्रशंसा गरेका छन्।

    जनताका पीरमर्का बुझ्ने शासनसैली भएपछि जनताले पनि राष्ट्रलाई संकट परेको बेला सहयोग गर्छन् भन्ने उदाहरण चिनियाँले देखाएका छन्। नेपाली जनता यतिबेला देशका लागि हैन आफ्ना नेताको स्वार्थपूर्तिका लागि आमसभामा तानिँदैछन्। नागरिकमा देश र माटोको माया हुनुपर्छ न कि कुनै व्यक्ति विशेष नेता।

साभारः नेपाल खबर अनलाइन।