सबैको ध्यान चिनियाँ खोपतिर
2021-05-04 20:42:17cri
Share with:

सबैको ध्यान चिनियाँ खोपतिर_fororder_src=http___news.91160.com_uploads_allimg_200202_45-200202152SCN&refer=http___news.91160

    सन् २०२० इतिहासमै सर्वथा भयानक वर्षका रुपमा सावित भएर गयो। कोरोना महामारीसँगै विश्वमा देखिएको बहुपक्षीय र एकपक्षीयबीच भयंकर द्वन्द्व पनि सबैभन्दा टड्कारो रुपमा सन् २०२० मै देखियो। नयाँ वर्षको शुभकामना दिने सबैले सन् २०२० भयावह भए पनि सन् २०२१ मा सहज रुपमा कोरोना विरुद्धको खोप प्राप्त होस् भनेर व्यक्त गरेका छन्। अहिले सबैको चासो कोरोना खोपमा केन्द्रित छ।

सन् २०२० को डिसेम्बर ३१ तारिख चीनको राष्ट्रिय औषधि नियामक र व्यवस्थापन ब्युरोले कोरोना विरुद्धको खोप सञ्चालनलाई अनुमति दिएको छ। चिनियाँ खोपको प्रतीक्षा चिनियाँले मात्र होइन विश्वका विकासोन्मुख मुलुकका सबै नागरिकले गरिरहेका छन्।

चीनले कोरोना विरुद्धको खोपलाई सार्वजनिक सम्पतिको रुपमा मान्नुपर्ने र विशेष गरी विकासोन्मुक मुलुकहरुका लागि सर्वसुलभ बनाउनुपर्ने कुरालाई सुरुदेखि उठाउँदै आएको छ। पाँचवटा चिनियाँ कम्पनीहरु खोप अनुसन्धानमा जुटिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले यस्तो अडान प्रस्तुत गर्दा नेपाल लगायत विकासोन्मुख मुलुकहरुको आशा चीनतिर छ भने अमेरिका लगायतका पश्चिमा मुलुकले चीनमाथि 'खोप कुटनीति' अँगालेको आरोप लगाएका छन्।

    कोरोनाले विश्वलाई अठ्याएर प्याकप्याक बनाइरहेका बेला चीनले महङ्गोमा खोपको व्यापार गरेर महामारीमा गुमेको आर्थिक क्षतिलाई तुरुन्तै पूर्ताल गर्न सक्थ्यो। तर ठूलो राष्ट्र, विश्वको दोस्रो ठूलो अर्थतन्त्र र एउटा जिम्मेवार मुलुकका रुपमा चीनले त्यस्तो अनुचित कार्य कहिल्यै सोचेन। चीनले साँच्चै इमानदारपूर्वक सबैको हितमा व्यक्त गरेको सो भनाइलाई बारम्बार दोहोर्‍याउँदै आएको छ।

    चीनले राम्रो गरे पनि गलत देख्ने अमेरिकी नजर खोपमा पनि प्रष्टिएको छ। अमेरिकी वाल स्ट्रिट जर्नलले चिनियाँ खोपमा स्वार्थ रहेको आरोप लगाएको छ। अल्प विकसित मुलुकलाई कोरोना महामारीको खोप प्रदान गर्ने कार्यका पछाडि चिनियाँ स्वार्थ रहेको लेखमा उल्लेख छ। त्यसैगरी केही समय अगाडि बेलायती द गार्जिएन अखबारले पनि खोपका बारेमा आएको चिनियाँ वचनबद्धता अल्पविकसित मुलुकमाथि लादिएको खोप कुटनीति भनेर आरोप लगाएको छ। महामारीको आरम्भमा विश्वले चीनमाथि लगाएको दोष र आलोचनाबाट बच्न चीनले विकासोन्मुक मुलुकलाई खोप दिन लागेको उक्त लेखमा बताइएको छ। त्यति मात्र होइन चिनियाँ बायोटेक कम्पनीहरुलाई विशाल आर्थिक हित पुग्ने गरी चीनले विकासोन्मुख मुलुकलाई खोप बेच्ने पनि औंल्याइएको छ। थुप्रै अमेरिकी सञ्चारमाध्यमले 'चिनियाँ खोप कुटनीति शुरू' शीर्षकमा लेख प्रकाशन गर्दै चिनियाँ अन्तर्राष्ट्रिय खोप सहयोगमाथि प्रहार गरेका छन्।

    खोप निर्यात गरेर चीनले आफ्ना बायोटेक कम्पनीलाई विशाल आर्थिक फाइदा दिन खोजेको भन्ने भनाइ पनि आफैँमा हाँस्यास्पद छ। सन् २०२० को मे महिनामा आयोजित ७३ औँ विश्व स्वास्थ्य महाधिवेशनमा चीनका राष्ट्रपति सी चिन फिङले चीनले दुई वर्षमा २ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय उद्धार रकम प्रदान गरी कोरोना महामारी प्रभावित मुलुक विशेषगरी विकासोन्मुख राष्ट्रलाई आर्थिक र सामाजिक पुनरूत्थानका लागि दिने घोषणा गरेका थिए। अहिले चीनले विकासोन्मुक मुलुकलाई उपलब्ध गराउने खोप यही बास्केटभित्र रहने प्रष्ट्याइसकेको छ। गत अक्टोबरमा चीनले औपचारिक रूपमा ‘कोरोना भाइरस विरूद्ध खोप लागू योजना’ कार्यान्वयन गर्दै विश्वभर खोपको समान वितरण गर्ने कार्यलाई अघि बढाउने भनेर थप प्रष्ट्याएको थियो। अमेरिकीहरु कहिले चीनलाई ‘भाइरसको मूल’ भन्दै हिलो छ्याप्ने काम गर्छन् भने कहिले ‘मास्क कुटनीति’ भन्दै आफैँ मास्क लुट्ने काम गर्छन्। अहिले ‘खोप कुटनीति’ भन्दै आफ्नो जलन र पीडा व्यक्त गरिरहेका छन्।

सबैको ध्यान चिनियाँ खोपतिर_fororder_src=http___spider.ws.126.net_special_7d874489ac3c4fe05036f50525498ac8&refer=http___spider.ws.126

    सन् २०२० को सुरुदेखि चीनमा महामारी तीब्र गतिमा फैलिरहेको थियो। सो समयमा चीनका विभिन्न मित्रराष्ट्रहरुले मास्क लगायतका महामारी रोकथाममा आवश्यक सामग्री सहयोग गरेका थिए। नेपालले पनि उल्लेख्य मात्रामा चीनलाई मास्क सहयोग स्वरुप उपलब्ध गराएको थियो। चिनियाँ नेताहरुले नेपालले गरेको उक्त सहयोगलाई बेला बेलामा उल्लेख गर्दै आएका छन्। चीनले दत्तचित्तले काम गर्‍यो र प्रभावकारी रुपमा महामारी नियन्त्रण गर्न सफल पनि भयो। त्यसपछि पनि चीन चुप लागेर बसेन। उसले अन्य देशलाई महामारी नियन्त्रणका लागि विभिन्न सामग्रीहरु उत्पादन गरेर नियमित आपूर्ति गर्न थाल्यो। गत डिसेम्बरको मध्यसम्ममा चीनले २ खर्ब भन्दा बढी मास्क, २ अर्ब सुरक्षा पोशाक र ८० करोड टेस्ट किटहरू विभिन्न देशलाई प्रदान गरिसकेको छ। चीनले १५० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई महामारी प्रतिरोधमा सहयोग उपलब्ध गराएको छ र ३६ चिकित्सा विशेषज्ञ समूहलाई ३४ देशमा पठाएर महामारी नियन्त्रणमा काम गरेको छ।

    सधैँ अरुमाथि औँला ठड्याउने अमेरिकामा चाहिँ कोरोना महामारीको अवस्था कस्तो छ त? अमेरिकाले न अरु राष्ट्रलाई महामारी नियन्त्रण गर्न सघाएको छ न आफ्नै देशमा महामारी नियन्त्रण गरेको छ। अमेरिकाको पछिल्लो अवस्थाका बारेमा केही चर्चा गर्नु प्रासङ्गिक होला।

    सन् २०२१ जनवरी १ तारिख नयाँ वर्षको पहिलो दिन अमेरिकामा नयाँ कोरोना भाइरस संक्रमितको संख्या २ करोडभन्दा बढी पुगेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकका अनुसार सन् २०२० को जनवरी २१ का दिन अमेरिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको थियो। पहिलो संक्रमित व्यक्ति फेला परेको तीन महिनापछि अप्रिल २८ सम्म, अमेरिकामा संक्रमितहरुको संख्या १० लाख नाघेको थियो। अमेरिकामा संक्रमितको वृद्धिदर १ बाट १० लाख पुग्नलाई ९९ दिन मात्र लागेको उक्त तथ्याङ्कबाट पुष्टि हुन्छ। सो बेलादेखि अमेरिकामा प्रत्येक १० लाखले संक्रमितको संख्या वृद्धि हुनका लागि समय क्रमशः संकुचित हुँदै गयो। गत नोभेम्बर ९ तारिख अमेरिकामा पुष्टि भएका संक्रमितहरूको संख्याले पहिलोपटक १ करोड नाघ्यो। त्यसपछि एक हप्तामै १० लाख संक्रमित थपिए। एक करोड सक्रमित भएको ५३ दिनमै अमेरिकामा थप अर्को एक करोड संक्रमित भए।

    अमेरिकी सञ्चारमाध्यमले कयौँ अमेरिकी विज्ञहरूलाई उद्धृत गर्दै लेखेका छन् कि अमेरिकामा सबैभन्दा खराब अवस्था आउन अझै बाँकी छ। अमेरिकी मिडिया र अर्थशास्त्रीहरूले महामारीका कारण अमेरिकामा धनी र गरिबबीचको खाडल विशाल बनेको उल्लेख गरेका छन्। महामारीको बढ्दो प्रभावले अमेरिकी जनता विशेष गरी निम्न आय-समूहलाई बाँच्नका लागि कष्टपूर्ण बनाएको छ। अमेरिकी श्रम विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार गत डिसेम्बर २६ तारिखसम्म बेरोजगारी लाभका लागि आवेदन दिने व्यक्तिहरूको संख्या ७ लाख ८७ हजार पुगेको छ।

    अमेरिकामा यस्तो अवस्था निम्त्याउन त्यहाँको राजनीतिक नेतृत्वले मुख्य भूमिका निर्वाह गरेको छ। अमेरिका दुई ठूला राजनीतिक दलहरू डेमोक्राटिक र रिपब्लिकनले अहिले आएर एक अर्कालाई आरोप प्रत्यारोप लगाए पनि महामारीको सुरुमा नियन्त्रणका कुनै कदम चालेका थिएनन्। अमेरिकीहरु सुरुमा कोरोना भाइरस चीनको मात्र समस्या भन्ठानेर रमाइलो मान्दै हेरिरहेका थिए। विश्वमा अमेरिका पहिलो नारा लगाउनेहरुसँग महामारी रोक्न न कुनै पूर्वाधार थियो न ठोस योजना नै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स र उनका विदेशमन्त्री माइक पोम्पेओले अत्यन्त गैरजिम्मेवारपूर्ण रुपमा चीनमाथि लान्छना लगाउने काम मात्र गरे। उनीहरुको हेलचेक्र्याइँ र चटकीपनले थुप्रै अमेरिकीहरुको ज्यान जोखिममा परेको छ।

    आफ्ना कमजोरी र त्रुटीहरु ढाकछोप गर्दै महामारीलाई राजनीतिकरण गरियो। आफ्नो राजनीतिक स्वार्थका लागि कोरोना महामारीलाई प्रयोग गर्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराउँदै आएको सहयोगमा पनि रोक लगायो। सबैले मिलेर महामारीको प्रतिरोध गर्नु पर्नेमा अमेरिका एक्लियो र महामारी विरुद्धको विश्वव्यापी सहकार्यमा ठूलो धक्का लाग्यो।

       डिसेम्बर २९ तारिख युएसए टुडे  र सुफोक विश्वविद्यालयले गरेको सर्वेक्षण अनुसार करिब एक चौथाई उत्तरदाताले सन् २०२० लाई नराम्रो वा भयानक विशेषण लगाएर दुस्कारेका छन्। ती मध्ये १५ प्रतिशतले यति खराब शब्द प्रयोग गरे कि सञ्चारमाध्यमले ती शब्द प्रयोग गर्न सक्दैनन्। अमेरिकीहरुमा आएको निरास र आक्रोश कोरोना महामारीकै उपज हो। अमेरिकाले ठूलो मात्रामा कोरोना विरुद्धको खोप दिन सुरु गरेको छ। तर नयाँ संक्रमितको संख्या, अस्पताल भर्नादर र मृत्युदरले नयाँ रेकर्ड राख्दै आएको छ।

    यस्तो भयावह अवस्था आउँदा पनि अमेरिकी नेतृत्वले ऐनमा आफ्नो अनुहार हेर्ने प्रयास गर्दैन। अरुमाथि दोष र लान्छना लगाएर आफ्नो गल्ती ढाकछोप गर्दा नै अमेरिकाको सम्पूर्ण उर्जा खर्च भइसकेको छ। अमेरिकी नीति विकासोन्मुख मुलुकमा खोप दिएर सहयोग गर्ने होइन हतियार दिएर युद्ध थोपर्न केन्द्रित छ।

     आफ्नो देशभित्र प्रभावकारी रुपमा महामारी नियन्त्रण गरेर चीनले अन्य देशलाई पनि विभिन्न विधिबाट महामारी नियन्त्रणमा सहयोग उपलब्ध गराउँदै आएको छ। यसभन्दा अगाडिका सानातिना सहयोगसँगै विकासोन्मुख मुलुकहरु अब चिनियाँ खोपको पर्खाइमा रहेका छन्।

    चीनमा परीक्षण कालमै १० लाखभन्दा बढी चिनियाँहरुले कोरोनाको खोप लिइसकेका छन्। चीनबाहिर ब्राजिल, इन्डोनेसिया, इजिप्ट, टर्की लगायतका मुलुकमा गरिएको क्लिनिकल परीक्षणमा कुनै गम्भीर प्रतिकूल स्वास्थ्य समस्या देखिएको छैन। उही समयमा अमेरिका र जर्मनीद्वारा संयुक्त विकास गरेको फाइजर खोप पनि बिस्तारै युरोप र अमेरिकामा आइसकेको छ। केही इजरायली सञ्चार माध्यमले उल्लेख गरे अनुसार फाइजर खोप लगाएका २४० इजरायलीमा फेरि कोरोना संक्रमण भएको छ। त्यसैगरी अमेरिका,स्पेन आदि मुलुकमा पनि भाइजर खोप लगाएका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको छ। अहिले प्रयोगमा आएका चिनियाँ खोप र विदेशी खोपबीच मुख्य समानता के हो भने यिनीहरुको प्रभावकारिता ८५ प्रतिशतभन्दा बढी रहेको छ। तर भण्डारण तापमानको सम्बन्धमा चिनियाँ खोप र विदेशी खोपबीच निकै ठूलो भिन्नता छ। अमेरिकाको मोडेर्ना र फाइजर दुई खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा मात्र राख्न सकिन्छ। यस्तो पूर्वाधार प्रायजस्तो विकासोन्मुख मुलुकमा छैन। त्यसैले यी खोपको ढुवान र भण्डारमा निकै जटिलता छ। तुलनात्मक रुपमा चिनियाँ खोप केही सहज छ। किनभने चिनियाँ खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा निश्चित समयका लागि भण्डारण गर्न सकिन्छ। लामो समयको भण्डारणका लागि माइनस २० देखि १८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ जुन यस अगाडिका अन्य खोपको भण्डारण जस्तै हो।

पश्चिमी जगत चीनमाथि खोप राष्ट्रवाद अँगालेको आरोप लगाउँछ तर व्यवहारतः उनीहरु नै खोपराष्ट्रवाद अपनाउँछन्। यसको उदाहरण क्यानाडा लगायतका मुलुकलाई लिन सकिन्छ। उनीहरुले आफ्नो देशको जनसंख्याभन्दा पाँचगुणा बढी खोप किनेर राखेका छन्। विकसित भनाउँदा देशको यस्तो चालाले विकासोन्मुख मुलुकमाथि थप चिन्ता उब्जाएको छ। यसैले पनि सबै विकासोन्मुख मुलकुको आशा चीनतिर सोझिएको हो।

 

साभारः नेपाल खबर अनलाइन।