फानले हाँस्दै भने--"दाई, अन्यथा नसोच्नुहोला। मीठो खाना खान मन नपरेको होइन, डर लागेकाले पो नछोएको हो त। मेरो चिन्ता के छ भने कुखुरा, माछा जस्ता मीठा खाने कुरा खाएपछि फेरि जाउलो र अचार कसरी निल्नसक्ने? तपाईंको मायाको अर्थ मैले राम्ररी बुझेको छु, मसँग मुख नबिगार्नुहोस् है।" यो कुरा सुनेर ती साथी उनको स्वाभिमान सच्चरित्रदेखि झनै प्रभावित भए।
एक पटक एकजना मानिसले फान चोङ आनको मनोकांक्षा बारे जिज्ञासा राख्दा फानले जवाफ दिएका थिए--"मेरो मनोकांक्षा कि त उत्तम चिकित्सक बनूँ, कि त उत्तम प्रधानमन्त्री बनूँ भन्ने छ। उत्तम चिकित्सक हुनुको मतलब सबै रोगीका लागि सेवा-टहल गर्नु हो भने उत्तम प्रधानमन्त्री हुनुको मतलब सुव्यवस्थित ढंगले राज्य व्यवस्था सञ्चालन गर्नु हो।" नभन्दै पछि फान चोङ आन प्रधानमन्त्री भए र सोङ राज-वंशकालका सुविख्यात राजनीतिज्ञ बन्नपुगे।
फान चोङ आनले शिक्षा क्षेत्रको विकास र नोकरशाही संयन्त्रमा सुधार देशलाई शक्तिशाली बनाउनका लागि दुइवटा महत्वपूर्ण काम भएको भन्ठानेर यी दुइ पक्षमा खूब जोड दिएकाथिए। उनले देशका लागि विभिन्न क्षेत्रमका अत्यावश्यक योग्य व्यक्तिहरु तयार पार्नका लागि सबै ठाउँमा पाठशाला खोल्न र त्यहाँ अध्यापक पठाउन ठूलो योगदान गरेका थिए। उनी स्वयमले पनि दक्ष र निपुर्ण व्यक्तिहरुलाई उचित काममा लगाउन सक्दो सहयोग गरेका थिए। ती सहयोग पाउनेहरुमा पछि नाउँ चलेका राजनीतिज्ञ एवम् साहित्यकार औ याङ स्यौ, साहित्यकार चौ त्वन ई तथा दर्शनशास्त्री चाङ चाई आदि थिए।
फान चोङ आन राज्य मामिलामा व्यस्त हुनुपरे तापनि फुर्सदको समयमा मेहनतका साथ लेख्ने गर्दथे र परिणामस्वरुप धेरै राम्रा-राम्रा रचनाहरु तयार पारेका थिए। एउटा उल्लेखनीय कुरा के छ भने उनले भड्किला शब्दहरुमा खोक्रा विषयको रचना गर्ने तिनताकाको प्रचलित शैलीको विरोध गर्नुका साथै साहित्यले वास्तविक समाजसित निकट रही सामाजिक प्रगति तथा मानवीय प्रगतिलाई सम्वर्द्धन गर्नुपर्ने धारणा अघि सारेका थिए। यस धारणाबाट उत्तरकालमा साहित्यको विकासका लागि गहिरो प्रभाव पर्नगएको छ।