प्रेमी सम्राटलाई पर्खिरहेको रहस्यमय ताल
2021-06-21 14:17:18cri
Share with:

प्रेमी सम्राटलाई पर्खिरहेको रहस्यमय ताल_fororder_1

सन् २०२१ को जुन १९ देखि २६ तारिखसम्म चिनियाँ मिडिया 'सीएमजी'मा कार्यरत विदेशी पत्रकार तथा चिनियाँ पत्रकारहरुको टोलीले चीनको सिन्च्याङ स्वायत्त प्रदेशको अवलोकन भ्रमणका क्रममा 'थिआनछ' तालको अवलोकन गरेको छ। 'थिआनछ' ताल सिन्च्याङ स्वायत्त प्रदेशको 'थिआनसान' पहाडी शृङ्खलामा पर्छ। यो उरुमुछी सहरदेखि ११० किलोमिटर पूर्वमा रहेको छ।

थिआनसान विश्वका सात पर्वतीय शृङ्खलामध्ये एक हो। यो पूर्वदेखि पश्चिमसम्म चीन, कजाकिस्तान, किर्गिजस्तान र उज्बेकिस्तान लगायत चारदेशमा फैलिएको छ। यसको लम्वाइ दुई हजार पाँच सय किलोमिटर छ भने उत्तरदेखि दक्षिणको औसत चौडाई दुई सय पचासदेखि तीन सय पचास किलोमिटर छ। यसको चौडाइमा सबैभन्दा बढीमा आठ सय किलोमिटर छ।

चिनियाँ भाषामा 'थिआन' भनेको स्वर्ग अथवा आकाश हो। 'छ' भनेको ताल हो। तसर्थ 'थिआनछ' को अर्थ स्वर्गीय ताल हुन्छ जसलाई अंग्रेजीमा 'हेभन्ली लेक' भनिन्छ। बोगडा पहाडको उत्तरी क्षेत्रमा पर्छ यो ताल। बोगडा मंगोलियन भाषाबाट चिनियाँ भाषामा आएको शब्द हो जसको अर्थ हुन्छ पहाडको देउता। बोगडा पहाड थिआनसान पहाडी शृङ्खलामा पर्दछ। यो तालको पुरानो नाम 'याओछ' अर्थात् 'जेडको ताल' भन्ने थियो। सन् १७८३ मा उरुमुछी कमाण्डर मिङलिआङले नाम परिवर्तन गरेर 'थिआनछ' बनाएका हुन्। यो ताल समुद्री सतहदेखि १९०७ मिटर उचाइमा छ र तालको क्षेत्रफल ४.९ वर्गकिलोमिटर रहेको छ। ताल ३४४ फिट गहिरो रहेको छ। सन् २००६ मा तालको संरक्षणमा चीन सरकारले ८० करोड चिनियाँ युआन खर्च गरेको थियो। त्यस बेला ताल वरिपरीको संरक्षित क्षेत्रलाई १५८ वर्ग किलोमिटरबाट बृद्धि गरेर ५४८ वर्ग किलोमिटर बनाइएको हो। यही ताल नै चीनको सबैभन्दा उचाइमा रहेको लोकप्रिय पर्यटकीय स्थल पनि हो।