नानको महिमा
2021-06-25 09:59:55cri
Share with:

नानको महिमा_fororder_625a

नेपाल र चीनबीचमा खानपानमा निकै भिन्नता छ। पाँच हजार वर्षको जीवन्त इतिहास बोकेको चीनले हजारौँ प्रकारका खाद्य संस्कृति समेटेको छ। चीनकै फरक भूगोलमा फरक खालका खानेकुराले स्थानीय संस्कृति र इतिहासलाई अध्ययन र विश्लेषण गर्न सकिन्छ।

नेपालीहरुले बिहानै उठेर नखाइन नहुने चिया पाँच हजार वर्ष अगाडि चीनमा आविष्कार भएको हो। तर चिनियाँहरुले खाने चिया नेपालीकोभन्दा फरक हुन्छ। हामी चियापतिलाई पानीमा उमालेर त्यसमा दूध र चिनी मिसाएर खान्छौँ। अझ हिजोआजा त तेजपत्ता, सुकुमेल, अँलैची, ल्वाङ,अदुवा लगायतका विभिन्न प्रकारका मरमसला मिसाएर खाने चलन छ। चियाको आविस्कार गरेर विश्वको सबैभन्दा धेरै उत्पादन र उपभोग गर्ने चीनमा भने चिया खाने संस्कृति अलिक फरक छ। तातोपानीमा चियाँपति भिजाएर सुरुप सुरुप पिउँछन् चिनियाँहरु। त्यसमा न चिनी मिसाउँछन् न त मरमसला। तर तिब्बती अल्पसंख्यकले खाने चिया चाहिँ अलिक फरक छ। चौँरीको दूधमा घिउ र नुनसँगै टोलङ (ढुङ्ग्रो)मा चिया पारेर खाने चलन छ। नेपालका शेर्पा जातिले पनि ठ्याक्कै त्यसरी नै बनाउँछन् र खान्छन् चिया।

चीनको उत्तरपश्चिममा पर्ने सिन्च्याङ प्रान्तमा भने चिया अलिक फरक तरिकाले खाइने रहेछ। चीन बसाइको आठ वर्षमा पहिलोपटक सिन्च्याङको भ्रमणले अल्पसङ्ख्यक उइगुर जाति र कजाक जाति लगायत स्थानीय मुसलमान धर्म मान्ने जातिका खानपान कताकति नेपालीसँग मिलेको पाउँदा यो आलेख तयार बनाउने जाँगर चलेको हो। सिन्च्याङमा दूध र चियापति पानीमा मिसाएर पकाइने रहेछ। पकाउने शैली नेपालकै जस्तो। त्यसमा उनीहरु थोरै नुन हाल्छन् र नेपाली शेर्पा जातिले खाने चिया अथवा तिब्बती चिया जस्तै स्वादिलो बनाउँछन्।