ज्येष्ठ नागरिकको सम्मानका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
2021-10-01 16:48:51cri
Share with:

आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ।

अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ। गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ।

ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको बताउनुभयो।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिँदै ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।