आर्थिक समृद्धिको लय समात्दै चीन
2021-10-14 10:37:44cri
Share with:

                                     ------अजय अलौकिक

आर्थिक समृद्धिको लय समात्दै चीन_fororder_src=http___pic.vshijie.cn_image_20190506_20190506143641384138&refer=http___pic.vshijie

मानव इतिहासमा सन् २०२० कोरोना महामारी (कोभिड-१९) को वर्षको रूपमा अङ्कित रहने छ । गत वर्ष (२०२०) समग्र विश्व नै यसै कोभिड-१९ को चपेटामा पर्यो । विकसित तथा उदीयमान अर्थव्यवस्था सँगसँगै पूरा विश्व अर्थव्यवस्था नै धरायशी भएको छ । आमनागरिकको सामान्य दिनचर्या समेत बिथोलिएको यस्तो जटिल परिस्थितिले विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ । हालको अवस्थालाई नियाल्दा पनि सङ्केत राम्रो देखिँदैन । चालु वर्ष २०२१ को पूर्वार्ध पनि यसै कहरको सामना र प्रतिकारमा बित्ने देखिन्छ । साथै विश्वव्यापी अर्थव्यवस्थाको पुनःस्थापना अझै कठिन देखिन्छ ।

यस्तो विषम परिस्थितिमा पनि दोस्रो आर्थिक शक्ति राष्ट्र चीनको सन् २०२० को आर्थिक वृद्धि दर भने धनात्मक रह्यो । चीनबाहेक अरू कुनै पनि ठूला अर्थव्यवस्थाले यस्तो सकारात्मक वृद्धि दर कायम राख्न सकेनन् । यद्यपि चीनको वार्षिक वृद्धि दर २.३ प्रतिशत मात्रै थियो तर कोभिड-१९ र त्यसको प्रभावमा देखिएको मन्दीको अवस्थामा यो ठूलो उपलब्धि हो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जनवरी १८ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार चीनको कुल गार्हस्थ उत्पादन (जीडिपी) गत वर्ष २.३ प्रतिशतले वृद्धि भएको छ । यस बाहेक गत वर्षको जीडिपीले पहिलो पटक १०० खर्ब चिनियाँ युआनको थ्रेसहोल्ड पार गर्दै एउटा इतिहास पनि रचेको छ । सन् २०२० को जीडिपी १०१.६० खर्ब युआन (१५.४२ खर्ब डलर) पुगेको छ ।

कोरोना महामारीका कारण विश्व आर्थिक जगत्सँगै चिनियाँ अर्थतन्त्र पनि डाँवाडोल भएको थियो । सन् २०१९ को पहिलो त्रैमासिकमा चीनको जीडिपी ६.८ प्रतिशतले ऋणात्मक रहेको थियो । तर दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतको वृद्धि गर्न सफल भएको थियो । यसबाट चीनले कोभिड-१९ लाई तीन महिनामा नियन्त्रणमा लिनुका साथै आर्थिक गतिविधि चलायमान गर्न सफल भएको स्पष्ट हुन्छ । जब कि गत वर्ष मै महिनामा आयोजित चीनको दुई अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले सो वर्षको आर्थिक लक्ष्य नै तोकेका थिएनन् । त्यस बेला प्रधानमन्त्री लीले कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमा पुगेको क्षतिबाट जोगिने सम्भावना न्यून रहेको समेत औंल्याएका थिए ।

यस्तो महामारीको अवस्थाबीच चीनले निर्णायक कदम चालेर सतर्कता तथा सावधानीपूर्वक व्यवस्थापन गर्दै औद्योगिक उत्पादन तथा आपूर्ति शृङ्खलालाई प्रभावकारी ढंगमा अगाडि बढाएको थियो । यस्ता विविध कदमहरू चालेर दोस्रो त्रैमासिकमा नै सकारात्मक वृद्धि गर्न सफल भएको थियो । आर्थिक गतिविधि चलायमान गर्न आर्थिक कुपन बाँड्नुका साथै साना ठूला व्यापारीलाई सहज वातावरण सिर्जना गराइएको थियो । साथै विज्ञान र प्रविधिको प्रयोग, रिमोट वर्क तथा अनलाईनका माध्यमबाट कारोबारहरू अघि बढाइएको थियो ।

महामारीको अवधिमा प्रत्यक्ष रूपमा हुने सामाजिक गतिविधि बन्द भए तापनि इन्टरनेट अनलाईन बजार निकै फस्टाएको थियो । १ अर्ब ४० करोड बढी जनसंख्या, ४० करोडभन्दा बढी मध्यम आय समुदाय र ८० करोड बढी इन्टरनेट प्रयोगकर्ताको यो उपभोग बजार चिनियाँ अर्थतन्त्र पुनःस्थापनको बलियो आधार हो । कुल ४ सय १२ खर्ब चिनियाँ युआनबराबरको उपभोग्य वस्तुको विक्रीले चीनभित्र निकै सशक्त बजार रहेको प्रष्ट हुन्छ । सन् २०२० मा उपभोक्ता ख‌र्चले जीडीपीमा ओगटेको अनुपात ५४.३ प्रतिशत रहेको छ ।

यसै गरी देशभित्र बाहेक देशबाहिरको माँग अनुसार मास्कलगायत स्वास्थ्य सामग्रीको जोडतोडले उत्पादनसँगै निर्यात गरिएको थियो । गत मार्चदेखि डिसेम्बरसम्म चीनले २ खर्ब २४ अर्ब २० करोड मास्क निर्यात गरेको थियो । साथै सन् २०२० मा टेक्सटाइल, चिकित्सासम्बन्धी उपकरण तथा वस्तु र औषधिको कुल निर्यात मात्रा ३१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

उपभोगपछि निर्यात चिनियाँ अर्थतन्त्रको अर्को मुख्य चालक शक्ति रहेको छ । सन् २०२० मा चीनको कुल आयात तथा निर्यात अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढेर ३२.१६ खर्ब युआन पुगेको छ । निर्यातमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धिसँगै कुल रकम १८.५९ खर्ब युआन र आयातमा ०.२ प्रतिशतको कमीसँगै १३.४२ खर्ब युआन भएबाट चीनले ५.१७ खर्ब युआन व्यापार बचत (सरप्लस) गरेको छ । विश्वव्यापी रूपमा फैलिँदै गएको महामारी, विश्व अर्थतन्त्रमा देखिएको मन्दी र संरक्षणवादको अवस्थामा चीनको यो उपलब्धि उल्लेखनीय छ ।

यस बाहेक, गत वर्ष चीनले क्षेत्रीय वृहत् आर्थिक साझेदारी (आरसिइपी) मा हस्ताक्षर गरेको छ । यूरोपेली यूनियनसँग पनि सम्झौता भएको छ । आरसिइपीका अरू १४ सदस्यसँगको चीनको वैदेशिक व्यापार १०.२ खर्ब युआन पुगेको छ । जसले चीनको कुल आयात निर्यातको ३१.७ प्रतिशत भाग ओगटेको छ ।

यसै गरी, महामारीको प्रभावबीच पनि चीनले साङहाईमा सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म ७२.६२ अर्ब डलर बराबरको कारोबार सम्झौतासँगै नयाँ रेकर्ड बनाउँदै तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सफलताका साथ आयोजना गरेको थियो । प्रेस सम्मेलनमा, उक्त एक्स्पो ब्युरोका उपनिर्देशक सुन छङहाईले एक्स्पोको अघिल्लो संस्करणमा गरिएका सम्झौताभन्दा यस पटक २.१ प्रतिशतले बढेको बताएका थिए । अघिल्ला दुई संस्करणमा क्रमशः ५७.८३ र ७१.१३ अर्ब डलर बराबरको सम्झौता भएको थियो ।

कोभिड-१९ को नियन्त्रण, विशाल घरेलु बजार, निर्यात तथा वैदेशिक लगानीका लागि सुरक्षित वातावरणका कारणले गर्दा बाकी दुई त्रैमासिकमा चीनको आर्थिक वृद्धि गतिले तीव्रता पाएको थियो । तथ्याङ्क अनुसार, सन् २०२० को तेस्रो त्रैमासिकमा ४.९ र चौथोमा ६.५ प्रतिशतले वृद्धि भएको थियो । यसबाट पनि चीन आर्थिक समृद्धिको लयमा रहको स्पष्ट देखिन्छ । उपभोग, निर्यातपछि लगानी चिनियाँ अर्थतन्त्रको अर्को खम्बा हो ।

सन् २०२० मा चीनले वास्तविक प्रयोग गरेको विदेशी पुँजी ९ खर्ब ९९ अर्ब ९८ करोड चिनियाँ युआन पुगेको छ र यो ६.२ प्रतिशतले बढेको छ । विदेशी पुँजी भित्र्याउने लगानी गन्तव्यको रुपमा चीनको आकर्षण निरन्तर बलियो देखिएको छ । यसै गरी, सन् २०२० चीनको सेवायुक्त व्यवसायले वास्तविक प्रयोग गरेको विदेशी पुँजी ७ खर्ब ७६ अर्ब ७७ करोड चिनियाँ युआन पुगेको छ, जुन १३.९ प्रतिशतले बढेको छ । उच्च प्राविधिक उद्योगले भित्र्याएको विदेशी पुँजी ११.४ प्रतिशतले बढेको छ । यस क्रममा चीनले लगातार दुई वर्षअघिदेखि विदेशी लगानीकर्ताको लगानी व्यवसायको प्रोत्साहन सूची संशोधन गर्दै वैदेशिक व्यवसायकालागि नयाँ अवसरहरू सिर्जना गर्दैआएको छ । सन् २०२० जनवरी १ बाट वैदेशिक लगानी कानुन औपचारिक रुपमा लागू भएको थियो ।

यसबाहेक, चीनले आफ्नो बजारलाई विश्वको बजार बनाउन जोड दिँदै बजारमूलक, कानुन सम्बद्ध र अन्तर्राष्ट्रिय व्यापार मैत्री वातावरणको सिर्जना पनि गर्दैआएको छ । गत वर्षको जुलाईमा राष्ट्रपति सी चिनफिङले व्यवसायीहरूसँगको एक सम्मेलनमा यो नयाँ ढाँचा अर्थात् दूल सर्कुलेसन (दोहोरो चक्र) को प्रस्ताव राखेका थिए । बढ्दो संरक्षणवाद, विश्वव्यापी आर्थिक मन्दी र बिग्रिएको अन्तर्राष्ट्रिय बजारको यस्तो अवस्थामा चीनले आफ्नो विशाल घरेलु बजारको फाइदा उठाउँदै चीन र विश्व अर्थव्यवस्थाको पुनःस्थापनाका लागि पहल गर्नुपर्ने औंल्याएका थिए । यो दोहोरो चक्रमा चीनको घरेलु बजारलाई मुख्य आधारको रूपमा लिएर आन्तरिक तथा विदेशी बजारको उत्थानलाई एक अर्काले प्रवर्द्धन गर्दछ ।

यसै गरी, गत वर्ष चीनले समग्र रूपमा गरिबी निवारणसँगै सम्पन्न समाजको निर्माणको लक्ष्य पूरा गरेको छ । चीनले आठ वर्षमा १० करोड गरिब जनतालाई गरिबीमुक्त गर्दै गत वर्ष चीनभरि बाँकी रहेका सबै गरिब गाउँठाउँहरू गरिबीबाट मुक्त भएका छन् र चीनले संयुक्त राष्ट्र संघको दिगो विकासका लागि २०३० एजेण्डाअनुरूप निर्धारित गरिबी निवारण लक्ष्य दश वर्षअघि हासिल गरेको छ । यस बाहेक यस वर्षबाट चीनको १४औं पञ्च वर्षीय योजना पनि आरम्भ भएको छ । यो योजना तथा वर्षबाट चीनको पूर्ण रूपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माण गर्ने नयाँ यात्रा पनि आरम्भ भएको छ । यसलाई दोस्रो शताब्दी लक्ष्यतिरको पहिलो पाँच वर्षे योजना पनि मान्न सकिन्छ भने चालु वर्ष पहिलो शताब्दी लक्ष्य प्राप्तिको वर्ष हो ।

यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी हो । चीनले नयाँ चरणको यात्रासँगै निश्चित रूपमा उच्च गुणस्तरीय विकाससँगै स्थिर रूपमा आर्थिक वृद्धि गर्ने छ । अवश्य चुनौतीहरू हुने छन् तर चीनले विश्वव्यापी आर्थिक सुधार, स्थायित्व तथा विकासमा योगदान पुर्याउने छ । गत डिसेम्बर १६ देखि १८ तारिखसम्म बेइजिङमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठकले महामारीबाट आएको परिवर्तन र बाह्य वातावरणमा धेरै अनिश्चितता भएबाट चिनियाँ अर्थतन्त्रको पुनःउत्थानको आधार बलियो नभएको मूल्याङ्कन गरेको छ । साथै सो बैठकले बहुपक्षवादी झण्डा फहराउँदै विश्व संचालनको सुधारमा सक्रियताकासाथ भाग लिँदै मावनजातिको संयुक्त भाग्य समुदायको निर्माणलाई अघि बढाउँदै जाने पक्षमा जोड दिएको छ । यसबाहेक, सन् २०२१ मा समष्टिगत नीतिको निरन्तरता र आर्थिक पुनःउत्थानलाई समर्थन गर्दै हतार नगरी दीर्घकालीन रूपमा स्थिर वृद्धि तथा खतराबाट जोगिने दीर्घकालीन सन्तुलन नीतिप्रति केन्द्रित रहने जनाइएको छ ।

यसै बीच, यो वर्ष चीनको अर्थतन्त्र ७.९ प्रतिशत पुग्ने अनुमान विश्व बैंकको छ । यसै गरी अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको आर्थिक वृद्धि दर ८.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । जब कि विश्व अर्थव्यवस्था ५.५ प्रतिशत रहने उसको अनुमान छ । आर्थिक सहकार्य तथा विकास संगठनद्वारा जारी विश्व आर्थिक आउटलुक रिपोर्टमा सन् २०२१ मा चीनले विश्व आर्थिक विकासमा एक तिहाईभन्दा बढी योगदान गर्ने अनुमान गरिएको छ ।

यसर्थ, कोभिड-१९ को अवधिमा नै आर्थिक वृद्धिलाई सकारात्मक राख्न सफल चीन यो चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको महत्वपूर्ण वर्षमा अझै अग्रगामी छलाङ मार्नेमा कुनै शंका छैन । अन्तर्राष्ट्रिय संघसंस्थाको प्रक्षेपण, घरेलु बजार, दोहोरो चक्र ढाँचा, खुला तथा सुधार नीति र बहुपक्षीयवादको झण्डा बोकेको चीन सुनिश्चित रूपमा आर्थिक समृद्धिको लयमा देखिन्छ ।

(इकागजमा माघ १५, २०७७ मा प्रकाशित)