म्याराडोना तिमी महान छौ
2021-10-15 10:16:09cri
Share with:

सन्दर्भः कोपा अमेरिका २०२१

 

---------अजय अलौकिक

मेसीको उत्कृष्ट खेल कौशल र नेतृत्वमा अर्जेन्टिनाले लामो पर्खाइपछि विजेताको ट्याग भिड्न सफल भएको छ । अर्जेन्टिनाले सदाबहार प्रतिद्वन्द्वी ब्राजिललाई कोपा अमेरिका २०२१ को फाइनलमा पराजित गर्दै यस्तो सफलता प्राप्त गरेको हो । योसँगै अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले सन् १९९३ पछि पहिलो पल्ट (ओलम्पिकबाहेक) कुनै ठूलो फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अर्जेन्टिना कोपा अमेरिका विजेता भएसँगै विश्वभरका मेसी, म्याराडोना र अर्जेन्टिनाका प्रशंसक ज्यादै हर्षित भएका छन् । यी सबै प्रशंसक र शुभचिन्तकको सपनाले आकार पाएको छ । पछिल्लो अवस्थालाई नियाल्दा अर्जेन्टिनाका लागि यो एउटा दुर्लभ क्षण हो । यसै बीच भीडमा अर्जेन्टिनाका लागि हुटिङ गर्ने एक ‘डाइहार्ड प्रशंसक’ को कमि खट्किएको छ भने आमप्रशंसकले पनि ‘ब्याड्ली मिस’ गरेका छन्, फुटबलका जादुगर म्याराडोनालाई ।

म्याराडोना फुटबलका उत्कृष्ट कलाकार हुन् । जहाँ फुटबलको कुरा उठ्छ, त्यहाँ म्याराडोनाको चर्चा हुने गर्छ नै । यसकारण, म्याराडोनालाई फुटबलको पर्यायवाची नाम भन्दा फरक पनि पर्दैन । जो जसले सन् १९८६ को फुटबल विश्वकप हेरेका छन्, अधिकाँशले म्याराडोनाको खेल कौशलको तारिफ गरेर थाक्दैनन् । उनले आफ्नो भागदेखि सेन्टर कटाउँदै, विपक्षी खेलाडीलाई छलाउँदै र डिबक्समा गोलकिपरलाई छकाउँदै गोलपोस्टमा बल छिराएको दृश्य अझै पनि प्रशंसकको मन मस्तिष्कमा ताजै छ ।

जसरी अहिले मेसीलाई फुटबलको जादुगर मानिन्छ, त्यस्तै गत शताब्दीको असीको दशकमा म्याराडोना थिए । विश्व फुटबल प्रेमी तथा प्रशंसकले त म्याराडोनालाई शताब्दीकै महान खेलाडीको रूपमा नै दर्ज गरेका छन् । हिजो न आजको दिनसम्म उनीजस्तो कोही नभएको ठोकुवा नै गर्छन् ।

सन् १९८२ देखि उदाएका म्याराडोनाको सन् १९९४ को विश्वकपसम्म खेलकलाको मजा लिनपाइएको थियो । त्यसपछि भने अर्जेन्टिना र विश्वमा नै म्याराडोनाको खोजी हुनथालेको थियो । अन्ततः यो खोजी अर्जेन्टिनाका अर्का जादुगर मेसीमा गएर टुङ्गिएको छ । यद्यपि मेसी अगाडि पनि धेरै म्याराडोनाजस्तै देखिए तर म्याराडोना हुन सकेनन् । हुन त मेसी पनि म्याराडोना भइसकेका छैनन् । या उनलाई म्याराडोनाभन्दा अर्कै जिनिस पनि भन्नसकिन्छ । तर एउटा सत्य कुरा के हो भने नि म्याराडोना सधैँ म्याराडोना नै रहेर यो धर्तीबाट विदा भए ।

उनी सशरीर रहुञ्जेल उनलाई जित्ने कोही भएनन् । अवश्य, मेसीले सन् २०१४ को विश्व कप उचाल्न सकेको भए म्याराडोनाको स्थान मेसीले ओगट्ने सम्भावना धेरै थियो । तर, त्यस्तो हुन सकेन ।

अर्जेन्टिना र अर्जेन्टिनाका प्रशंसकलाई फेरि पनि विश्वकप उचालेको ऐतिहासिक क्षणको प्रतिक्षा सन् १९९० को फाइनलमा दोस्रो स्थानमा चित्त बुझाउनुपरेदेखि कै हो । यो सपना सन् २०१४ मा पनि त्यही जर्मनीसँग फाइनलमा पराजित भएर तुहिएको थियो । त्यो एउटा सुवर्ण अवसर अर्जेन्टिनाले गुमाएको थियो । त्यस बेला, फुटबल महारथी मानिने अर्जेन्टिनाले २४ वर्षको लामो अन्तरालपछि आफ्नो लय समात्दै त्यहाँसम्मको यात्रा तय गरेको थियो । म्याराडोनाको जादु र उनको गहिरो छापअघि उनीसम्म भेट्ने अर्जेन्टाइन कोही भएनन् ।

हुन त, लामो फुटबल इतिहास बोकेको अर्जेन्टिनाले सन् १९७८ मा मात्र पहिलो पल्ट विश्व कप चुमेको थियो । त्यसपछि सन् १९८६ मा म्याराडोनाको जादुई कलाले फेरि पनि अर्जेन्टिना विश्व विजेता बनेको थियो र उनकै नेतृत्वमा सन् १९९० मा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर सन् १९८६ मा म्याराडोनको उन्माद र खुसीमा जसरी दर्शक रमाएका थिए त्यसरी नै सन् १९९० को फाइनलमा उनीसँगै भावुक बनेका थिए । सबै प्रशंसक आँसुको आहालमा डुब्नपुगेको थियो र सन् १९९४ मा शक्तिवर्धक औषधिको प्रयोग गरिएको पाएपछि अर्जेन्टिनाको फुटबल पनि म्याराडोनासँगै ओरालो लागेको थियो ।

अर्जेन्टिनाले सन् १९९१ फेब्रअरी १९ देखि दुई वर्ष चार महिनाबढीको समयसम्म खेलिएका ३३ वटा खेलमा अपराजित रहेको थियो । यो क्रम सन् १९९३ अगस्त १५ मा कोलम्बियासँग एकका विरूद्ध दुई गोलले पराजित भएसँगै टुङ्गिएको थियो । साथसाथै सन् १९९३ मा ईक्वेडरमा आयोजित कोपा अमेरिका विजेताको उपाधि रक्षा गरेपछि अर्जेन्टिनाको गरिमामय इतिहास ओझेलमा पर्दैआएको छ । सो फाइनलमा मेक्सिकोलाई एकको विरूद्ध दुई गोलले जितेको थियो ।

सन् १८९३ मा स्थापित अर्जेन्टिना फुटबल संघ विश्वकै सबैभन्दा पूरानो फुटबल संस्थामध्येको एक हो । अर्जेन्टिना सन् १९१२ मा दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा आबद्ध हुने पहिलो देश थियो । हालसम्म सन् १९७८, १९८६ मा दुई पटक विश्व विजेता बनेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा फाइनलसम्मको यात्रा तय गरेको थियो । सन् १९९३ पछि कुनै ठूलो प्रतियोगिता नजिते तापनि सन् २००४ र २००८ मा लगातार एथेन्स तथा बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । यस पटक कोपा अमेरिका अर्जेन्टिनाको पोल्टोमा पार्ने म्यान अफ डि म्याच एञ्जल डि मारियाको गोलमा नै नाइजेरियालाई हराउँदै अर्जेन्टिनाले लगातार ओलम्पिक स्वर्ण जितेको थियो ।

कोपा अमेरिकामा पनि गरिमामय रेकर्डको बावजुद पछिल्लो समय अर्जेन्टिनाले कुनै जादु देखाउन सकेको छैन । सन् १९२१ मा पहिलो पटक कोपा अमेरिका जितेको अर्जेन्टिनाले २००४, २००७ र पछिल्लो समयमा २०१५ र २०१६ मा फाइनलसम्मको यात्रा तय गरेको थियो । यसबाहेक, अर्जेन्टिनाको युवा टिमले (अण्डर २०) को राष्ट्रिय टिमले हालसम्म ६ पटक अण्डर २० विश्व कप जितेको छ । पछिल्लो पटक सन् २००७ मा जितेको थियो ।

यसरी ओलम्पिक तथा अण्डर २० विश्व कपमा विजेता रहे तापनि सन् १९९३ पछि गरिमामय अर्जेन्टिनासँग प्रतिभाशाली, होनहार खेलाडीहरूको बावजुद नयाँ इतिहास कोर्न सकेको थिएन । मेसीको जादुले पनि म्याराडोनाको उचाइ छुनसकेको छैन । स्वयम म्याराडोनाको चाहना पनि फेरि अर्जेन्टिनालाई विश्व विजेता भएको हेर्नु नै थियो । उनले दर्शक दिर्घामा उपस्थित रहेरसमेत आफ्ना खेलाडीलाई सदा हौस्याउने गर्दथे ।

उनले अर्जेन्टिनालाई विश्व विजेता र च्याम्पियन बनाइसकेपछि पनि आफ्नो उत्तरार्द्धमा नयाँ पुस्ताले पनि अर्जेन्टिनालाई जिताएको हेर्न चाहेका थिए तर त्यो उनी बाचुञ्जेल कहिले सम्भव भएन । यानि कि उनी म्याराडोनाको रूपमा रहुञ्जेल उनी विश्वकै एक मात्र सफल फुटबल जादुगरको रूपमा रहिरहे भन्दा उपयुक्त हुन्छ ।

सन् १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास लिए तापनि उनको फुटबलप्रतिको प्रेम, लगावले निरन्तरता पाएको थियो र अर्जेन्टिनलाई फेरि एक पटक विश्व विजेता बनाउने लक्ष्यसहित अगाडि बढेका थिए । उनी सन् २००८ मा अर्जेन्टिनाको प्रशिक्षक भए र २०१० को विश्व कप क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएसँगै फेरि एक पटक सपना चकनाचुर भएको थियो । सायद, यो भाग्य विधातालाई पनि मञ्जुर थिएन । उनी यो धर्तीमा म्याराडोना भएर रहुञ्जेल अर्जेन्टिना र विश्वलाई अर्को म्याराडोना या म्याराडोनालाई पछि पार्ने अर्को जादुगर चाहेनन् ।

यस पटक, सन् २००७ मा ब्राजिलसँग तीन सुन्नाले हारेको अर्जेन्टिनाले बदला मात्र लिएको छैन, आफ्ना महान खेलाडी म्याराडोनालाई श्रद्धाञ्जलि पनि टक्र्याएको छ । उनै फुटबलका सर्वकालीन महान खेलाडीको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ तारिख ह्रदयघातका कारण मृत्यु भएपछि विश्व फुटबलले महान जादुगरलाई गुमाएको थियो ।

अर्जेन्टिनाले आफ्नो महान खेलाडी मात्रै होइन एक डाइहार्ड प्रशंसक पनि गुमाएको थियो । उनले आफ्नो उत्तरार्द्धमा नयाँ पुस्ताले अर्जेन्टिनालाई जिताएको हेर्न चाहेका थिए तर त्यो उनी बाचुञ्जेल कहिले सम्भव भएन ।

म्याराडोना, तिमी यो धर्तीमा रहुञ्जेलमात्रै होइन अनन्तसम्मै विश्वकै एक मात्र सफल फुटबल जादुगरको रूपमा रहने छौ । अझै पनि अर्जेन्टिनालाई पछिल्लो पटक विश्व कप उपाधि जिताउने जादुगरको नाउँमा तिम्रै नाम उल्लेख छ । यसकारण, म्याराडोना तिमी महान छौ ।   

(इकागजमा असार २७, २०७८ मा प्रकाशित)