कृषि क्रान्तिः तरकारी कारखाना
2021-10-15 09:59:58cri
Share with:

------अजय अलौकिक

 

कृषि क्रान्तिः तरकारी कारखाना_fororder_src=http___www.168mh.com_wp-content_uploads_2019_09_62e5afda133942f&refer=http___www.168mh

हिजोसम्म तरकारी उमार्न माटो चाहिन्छ, बारी, खेत नै चाहिन्छ भन्ने थियो । गलत रहेछु । हामी मानिसले अब चाँडै नै अरू ग्रहमा बस्ती बसाउने कुरामा समेत अझै विश्वस्त भएको छु । सागसब्जी, तरकारी घाम बिना, माटो बिना कोठामा नै उत्पादन गर्नसकिने रहेछ, गजब! मानिसको दिमाग । तपाईँ शीर्षक पढेर क्लिक गर्नुभएको हो भने एकदम सही हुनुहुन्छ । हाम्रो भान्सामा पाक्ने सागसब्जी यानि कि तरकारी उत्पादन गरिने कारखाना कै चर्चा गर्न गइरहेको छु । जसरी कुनै सरसामान निर्माण या उत्पादन गर्ने ठाउँलाई हामी कारखाना भन्छौँ, यहाँ तरकारी उत्पादन गरिन्छ ।

एउटा भवनभित्र मात्र ५०० वर्गमिटरको कोठामा तरकारी कारखाना खोलिएको छ र त्यहाँ १२०० वर्गमिटर क्षेत्रफलमा तरकारी रोपण गरिएको छ । यस कारखानाको नाम चङहङ कृषि वनस्पति कारखाना हो । यहाँ ३० भन्दा बढी किसिमका सागसब्जी तथा विविध तरकारीहरू उत्पादन गरिन्छ । यो कारखानाले हाल प्रति दिन १८० किलो सागसब्जी उत्पादनसँगै लक्जरी होटल र रेस्टुराँमा आपूर्ति गर्दैआएको छ । यसबाहेक यहाँ शुद्ध अर्गानिक तरकारी उत्पादन हुन्छ, जुन सिधै रूपमा खानसकिन्छ । यहाँ उत्पादित हाइजेनिक, स्वस्थकर तरकारीलाई धुनु भनेको दूषित या अस्वस्थकर बनाउनु हो । आश्चर्यलाग्दो छैन ? चाखलाग्दो छैन ?

केही दिनअघि अफिसमा (चाइना मिडिया ग्रुप, नेपाली सेवा बेइजिङ) चिनियाँ सहकर्मी ल्यू सान ( नेपाली नाम लालिमा) ले कृत्रिम प्रकाश र माटोबिना तरकारी उत्पादन गर्ने ठाउँको रिपोर्टिङ तथा भिडियो छायाङ्कन गर्ने प्रस्ताव मलाई राखेकी थिइन् । त्यसै क्षण म अवाक् भएको थिएँ । कसरी ? माटो पनि नचाहिने ? घरमा मनीप्लान्टलगायतका केही वनस्पति बिना माटो पानीमा हुर्काएको पनि बिर्सेछु, त्यस बखत । उनले भनिन्, यो खेती जमीनमा होइन, भवनमा हो । प्रतिदिन झण्डै २०० किलो साग उत्पादन हुन्छ । यसो भनिरहँदा मेरो जिज्ञासाको पारो तुरून्तै चरम बिन्दुमा पुगिहाल्यो । ओहो, माटोबिना नै २०० केजी तरकारी उत्पादन । इजरायलले धेरैअघि कृषि क्रान्ति गरेको सुनेको पढेको मैले यता चीनले गरेको अर्को क्रान्ति हेर्नपाउने भएँ भनेर मख्ख परेँ ।

बेइजिङको पूर्वी क्षेत्र सुनयीमा अवस्थित त्यो कारखानासम्म जाँदैगर्दा पनि एउटा रोपाइँको सामान्य नियम सम्झिरहेँ । माटो गोडमेलपछि बीउ छर्ने, रोप्ने अनि अंकुरण र हुर्काइ त्यसबीच घाम, मलजल, स्याहारसुसार र पूर्ण रूपमा उम्रेपछि टिप्ने, उखेल्ने, यही त हो नि परम्परागत तरिका । यसबीच तरकारी उत्पादनसम्बन्धि वैज्ञानिक पद्धतिबारे जानकारी लिने चेष्टा पनि गरेँ । सायद, सन् १९५० को दशकबाट तरकारी उत्पादनमा वैज्ञानिकहरूले विविध प्रयोग गर्दैआएका छन् । तरकारी कारखानाको पहिलो खुड्किलो ग्रीनहाउस हो ।

वातानुकुलित रूपमा तरकारी उत्पादनबाट सुरू हुँदै कृत्रिम प्रकाश र माटोबिना तरकारी उत्पादनको पद्धतिसम्म पुगेको रहेछ । मलाई भवन अगाडि उभिँदासम्म पनि अचम्म लागिरहेको थियो । यही भवन हो, अजयजी, हामी सिधै तेस्रो तल्ला जाने हो, लालिमाले भनिन् । त्यो भवन अरू सँगैका भवनभन्दा केही कुराले फरक देखिएको थिएन । सायद त्यसै भवनमा आवतजावत गर्ने कतिपय मानिसहरू पनि उक्त भवनको तेस्रो तल्लामा सागसब्जी उत्पादन गर्ने कारखाना छ भन्ने कुराबाट बेखबर नै होलान् ।

हामीलाई उक्त कारखानाबाट प्रत्यक्ष प्रसारण गर्न या भित्र बस्न आधा घण्टाको समय उपलब्ध गराएको थियो । पिपिई, पञ्जा, मोजा, मास्क लगाउनुका साथै आफ्नो शरीर र क्यामेरा, मोबाइल कीटाणुशोधन गरेर कारखानाभित्र प्रवेश गरियो । त्यहाँ भित्र त र्याक र्याकमा सागहरू उमारिएको रहेछ । गुलाबी रङ्गको प्रकाश अनि पानीको आवाज र थरिथरिका सागसब्जीहरू देखियो । हाल नेपालमा कौसी खेती मौलाएको पढेकोथेँ । तर यता कोठामा, र्याकमा साग खेती, त्यो पनि एक हात लामो, सामान्य सागजस्तै केही फरक छैन ।

करेसाबारी छैन, जग्गाजमिन छैन भनेर कौसी खेती होइन, कोठाभित्रै खेती गर्नसकिने रहेछ । एलइडीको प्रकाशसँगै छ तल्ले र्याकमा विभिन्न थरिका सागहरूको रङ्ग गुलाबी देखिन्थ्यो । यो कृत्रिम प्रकाश एलइडी निभाएको ठाउँमा भने सागहरू हरिया नै थिए । भित्र प्रवेश गरेसँगै वनस्पति विज्ञ डाक्टर युआन, जो अमेरिकी विश्वविद्यालयबाट यस विषयमा अध्ययन गरेर आएका रहेछन्, उनलाई प्रश्न गरेँ । ‘कति दिनमा यहाँको सागसब्जी खानलायकको हुन्छ ? ’ ‘बीउदेखि पूर्ण रूपमा ८० ग्रामको साग तयार हुन ४२ दिन लाग्छ ।’ मैले जिज्ञासा राख्दै गएँ, उनले बताउँदै गएँ ।

कृषि क्रान्तिः तरकारी कारखाना_fororder_src=http___img011.hc360.cn_g2_M00_24_AE_wKhQuFLUqeaEc0bUAAAAALhzpu0020&refer=http___img011.hc360

जमिनमा झण्डै दुई महिना लाग्छ, यहाँ छिटो हुन्छ । साथै जमिनमा प्राकृतिक प्रकोपजस्तै बाढी, वर्षा तथा कीरा लागेर भनेजति उत्पादन हुनसक्दैन । यहाँ सधैँ स्थिर रहन्छ । अहिले हामीले यहाँबाट दैनिक १८० किलोग्राम उत्पादन गरिरहेका छौँ । माग बढ्दै गएमा त्यही अनुसार खेती प्रबन्ध थप्दै लैजाने छौँ ।

यो कारखानाभित्र प्रवेशअघि व्यवस्थापकसँगको केही जिज्ञासामा उनले निकट भविष्यमा साङहाईमा यो चङहङ कारखानाको शाखा खोल्ने तयारी भइरहेको बताएका थिए । उनीहरूका हालको ग्राहक हाइएण्ड रेस्टुराँ र होटल भएको बताएका थिए । खेतीयोग्य जग्गाजमिनको अभाव, जनसङ्ख्या वृद्धि, ताजा तरकारीको अभावका कारण यस किसिमको खेती या कारखानाको माग बढ्दैगएको उनले बताए ।

यसरी कोठाभित्र र्याकको साग खेतीले अवश्य पनि मानिसको माग धान्न सकिने छ, स्थिर रूपमा बाह्रै महिना सागसब्जी उपलब्ध हुने छ । त्यति मात्रै होइन, मानिसको चन्द्रमा र अरू ग्रहमा बस्ती बसाउने सपनासमेत चाँडै साकार हुने देखिन्छ । हुन त अमेरिकाको नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन नासा तथा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पनि वनस्पति तथा अन्न खेतीको अनुसन्धान भइरेहको यदाकदा सुन्न पाइन्छ ।

मलाई सबैभन्दा आश्चर्यचकित बनाएको कुरा भनेको बिना माटो उब्जनी हो । डाक्टर युआनले र्याकमाथि सागहरू उम्रिरहेको बोर्ड उठाउँदै देखाए । माटो थिएन, पानीमा जरा डुबेको थियो । घामबिना कृत्रिम प्रकाशमा तरकारी उत्पादन गर्ने तरिका केही समय अगाडिदेखि नै भएको हो । मुख्यत वनस्पतिका लागि रातो र नीलो रङ्गको प्रकाश चाहिन्छ, यी एलइडी त्यस्तै प्रकारको छ । तर माटो बिना र कृत्रिम प्रकाशमा उत्पादनका लागि जापानका डाक्टर तोयोकी कोजाइको अनुसन्धान उल्लेखनीय रहेको छ ।

डाक्टर तोयोकी कोजाइ वनस्पति कारखानाको पिता भनेर चिनिन्छ । उनले कृषि क्षेत्रमा नियन्त्रित वातावरण सम्बन्धि अध्ययन अनुसन्धान गर्दैआएका छन् । उनले यस सम्बन्धमा रिसर्च पेपर, पुस्तकसमेत प्रकाशित गरिसकेका छन् । सन् २०१० देखि जापान, अमेरिका, चीन जस्ता राष्ट्रले यस क्षेत्रमा उपलब्धि हासिल गर्दैआएको छ ।

हाल यो चिनियाँ कारखानाले व्यवसायिक रूपमा उत्पादन सुरू गरेको डाक्टर युआनको भनाइ थियो । ‘वनस्पति विकासलाई प्रकाश, हावा, पानी र खनिज चाहिन्छ । यहाँ मैले यी सागहरूलाई चाहिने पोषण तत्व अनुसारको झोल बनाएको छु । यो मैले विकास गरेको हो, ’ उनी भन्छन् । ‘जमिनमा माटोमार्फत् आवश्यक तत्वहरू नाइट्रोजन, फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर पाइन्छ । त्यसै गरी आइरन, म्यागनिज, बोरन, जिङ्क, कप्पर, मोलिब्डेनम धेरै थोरै चाहिन्छ । मैले आफैले ती खनिज तत्वहरू मिलाएर यो झोल बनाएको हुँ । यसो भएपछि माटो किन चाहियो । माटोमात्रै होइन, कीटनाशक औषधिको पनि प्रयोग गर्नु परेन । ’

कुरा यस्तो पो रहेछ, उमार्न, फल्न, फलाउन यसकारण माटो नभए पनि हुने रहेछ । विज्ञानको चमत्कार । थरि थरिका वनस्पति अनुसार पोषण झोल बनाउने रहेछ । विस्तारै अरू विविध तरकारी उत्पादन गर्ने तयारी भइरहेको पनि उनले बताए ।

यसैबीच उनले यो सिधै खानसकिन्छ भन्दै मलाई एउटा पत्ता चुँडालेर दिए । मैले पनि सही थापेँ । एक त भित्र प्रवेश गर्दा होल बडी स्यानिटाइज गरेका थियौँ, त्यसमाथि पेस्टीसाइडको प्रयोग छैन । मेरो वाक्य पूर्ण नहुँदै उनले भने । ‘यो कोठालाई हण्ड्रेड थाउजेण्ड क्लिन रूम भनिन्छ ।’ ‘कस्तो हो यो, एक लाख स्वच्छ कक्ष ? ’ ‘यहाँ पेस्टिसाइड, फङ्गस, ब्याक्टेरिया केही पनि छैन । अर्को भनेको यहाँको वायु एकदम स्वच्छ छ, फिल्टरड एयर हो, जम्स फ्रि (कीटाणुरहित), डस्ट फ्रि वायु हो । त्यसैगरी यहाँ प्रयोग गरिने पानी पनि फिल्टरड हुन्छ, जिरो हेभि मेटल, जिरो माइक्रोव्स । त्यसकारण यहाँबाट उत्पादित तरकारी पखाल्नुपर्दैन । यदि यसलाई पानीमा पखालेमा त्यो अनहाइजेनिक हुनजान्छ ।’

कृषि क्रान्तिः तरकारी कारखाना_fororder_src=http___qiniu.69cy.net_20150126040426827&refer=http___qiniu.69cy

यसर्थ, यहाँबाट उत्पादित तरकारी सिधै खानमिल्ने होइन रहेछ, सिधै खानुपर्ने रहेछ । यहाँको तरकारीलाई धोइ पखाली गरे उल्टै अस्वस्थकर हुनेछ । यसरी कोठाभित्र शुद्ध अर्गानिक तरकारी उत्पादन गर्नसकिने रहेछ । जापानबाट सुरू भएको हण्ड्रेड थाउजेण्ड क्लिन रूम अवधारणाबाट व्यापार व्यवसायको क्षेत्रमा प्रवेश गर्ने उनीहरूको कारखाना पहिलो रहेको पनि बताए । त्यस बाहेक उनी भन्छन्, ‘हामी जरासहित जिउँदो तरकारी विक्री गर्दछौँ, ग्राहकले ताजा खान पाउँछन् । उनीहरूले आफ्नो टेबलमा मार्छन् । ’

उक्त कारखानाको भ्रमणपछि पनि त्यो पहिलो पल्ट सुन्दाखेरिको जस्तै आश्चर्यजनक भाव अझै छ । र्याक र्याकमा तरकारी उमारिरहेको दृश्य रोमाञ्चक छ । सायद मेसोपोटामिया (हालको इराक) को ह्याङ्गिङ गार्डेन अफ बेबिलोन, आकाशमा तैरिएको उद्यान यस्तै नै पो हो कि ।

अन्तमा, यसरी कोठाभित्र पूर्ण नियन्त्रण र स्वच्छ वातावरणमा कृत्रिम प्रकाश, हाइड्रोपोनिक्स ( माटो बिना), थोरै पानी तथा कीटनाशकको प्रयोग बिना तरकारी उत्पादन गर्नु कृषि क्रान्ति नै हो । प्राकृतिक प्रकोप तथा वातावरणीय समस्याहरूबीच पनि यो तरिकाबाट बाह्रै महिना स्थिर रूपमा ताजा तरकारी उपलब्ध सम्भव छ । साथै मानिसले यथाशिघ्र अरू ग्रहमा पनि बस्ती बसाउनका लागि पनि यो विधि कोशेदुङ्गा साबित हुने छ । आगामी दिनहरूमा विज्ञानले यसरी नै मानिसलाई आवश्यक थरिथरिका तरकारी, फलफुल, खाद्यबाली तथा जडीबुटीहरू समेत कोठामै उत्पादन गर्ने तरिका विकास गर्दै जानेछन् भन्ने आशा गर्ने ठाउँ यथेष्ट छ ।

(इकागजमा चैत्र २०, २०७७ मा प्रकाशित)