महासङ्कटको सामनामा चीनको अनुभव र सहयोगको खाँचो
2021-10-15 10:10:37cri
Share with:

 

--------अजय अलौकिक

यो महासङ्कटलाई कसरी निस्तेज पार्न सकिन्छ, यस्तै चिन्तनमा छौँ, हामी । यसको रोकथाम र नियन्त्रण कसरी गर्न सकिएला, यसको अन्त कहिले हुने हो र त्यो बेलासम्म यसले के कस्तो विध्वंश र हुण्डरी मच्चाएर जाने हो, यस्तै यस्तै कुराहरू खेलिरहेका छन्, स्वाभाविक हो । हाल, महासङ्कटको यो अवस्था हाम्रो बलबुताबाट बाहिर गइसकेको देखिन्छ र यस क्रममा छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगको नितान्त खाँचो छ । साथै कोरोना महामारी (कोभिड-१९) बाट मुक्ति पाउन चीनले चालेका कदमलाई पछ्याउनु निर्विवाद रूपमा सही छनौट पनि हुनेछ ।

चीनले राक्षसरूपी कोरोनाभाइरसलाई परास्त गर्न अपनाएका कदमहरूलाई अपनाउने हो भने पनि आधा जीत हासिल हुने देखिन्छ । हाल नेपालको अधिकाँश जिल्लामा निषेधाज्ञा जारी रहे तापनि सङ्क्रमणको दर घटेको छैन । यसको अर्थ भनेको सङ्क्रमित मानिस घरटोलभित्रै छन् । यस्तो अवस्था र यो निषेधाज्ञामा गर्नुपर्ने मुख्य काम भनेको टोलटोलमै र्यापिड पिसिआर परीक्षण हो ।

सर्वप्रथम, सङ्क्रमित रोगीको मात्र पहिचान गर्नसकियो भने पनि सङ्क्रमणको दर घट्ने विश्वास गर्न सकिन्छ । कुनै परिवारको एक सदस्यमा सङ्क्रमण देखिएपछि उनी आफ्ना परिवारका अरू सदस्यलाई लाग्ला कि भनेर सचेत हुने छन्, साथै सङ्क्रमित रहेको जानेपछि आफू स्वयम र परिवारले हेरचाह पनि गर्ने छन् । हाल सहज रूपमा सङ्क्रमित भए नभएको थाहा पाउने अवस्था छैन, यसकारण पनि सङ्कट आफ्नो वश बाहिर पुगेको छ ।

यता, चीनले जुन जुन क्षेत्रमा सङ्क्रमित देखियो, त्यस ठाउँका सबै मानिस तथा ट्रेसिङमार्फत् सङ्क्रमितको सम्पर्कमा रहेका सबैको न्यूक्लिक एसिड परीक्षण गर्दैआएको छ । चीनले युद्धस्तरमा न्यूक्लिक एसिड परीक्षण प्रयोगशालाको समेत निर्माण गरी एकैदिन लाखौँ जनताको परीक्षणको चाँजोपाँजो मिलाएको थियो । साथै, अहम कुरा, चीन सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको थियो । यसर्थ, नेपालले निःशुल्क परीक्षणका साथै परीक्षणको दायरा बढाउनु जरूरी छ । चीनसँग तत्कालै परीक्षण किट तथा पोर्टेबल परीक्षण प्रयोगशालाको सहयोग माग्नु उत्तम हुनेछ ।

यसै गरी, चीनलाई विज्ञ स्वास्थ्यकर्मी टोली पठाउन आग्रह पनि गर्नसकिन्छ । गत जुनमा चीनद्वारा जारी ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको श्वेतपत्रमा चीनले यो महामारीको प्रतिकारका लागि गत वर्षको मे ३१ सम्म २७ वटा देशमा २९ वटा विज्ञ स्वास्थ्य टोली पठाउनुका साथै १५० वटा देश तथा ४ अन्तर्राष्ट्रिय संगठनलाई सहायता उपलब्ध गराएको उल्लेख छ ।

गत वर्ष ईटालीमा कोरोनाको सङ्कट चुलिएसँगै चीनले तुरून्तै विज्ञ स्वास्थ्य टोलीलाई पठाएको समाचार धेरैको स्मरणमा अझै ताजै होला । चिनियाँ विज्ञ स्वास्थ्यकर्मी टोलीको आवश्यकता टड्कारो छ । यी टोलीबाट नेपालमा भित्रिएका भाइरस तथा नेपालमा के कस्ता प्रवृत्तिका भाइरस रहेको पत्ता लगाउनेदेखि उपचार तथा उपचार शैलीमा तीव्रता आउने थियो । भयावह नेपालको अवस्थामा चीनबाट नेपालले परीक्षण किटसहितको स्वास्थ्य सामग्री सहयोग तथा विज्ञ स्वास्थ्यकर्मी टोली पठाउनका लागि यथाशिघ्र अनुरोध गर्नु जरूरी छ ।

अहिले, नेपालको अवस्था निकै नै नाजुक छ । सङ्क्रमण दर तथा मृत्यु दरको ग्राफ ठाडिएर उक्लेको छ । गत बैशाख महिनामा मात्र एक लाख ५८ हजार बढीमा कोरोना सङ्क्रमण देखिएको छ साथै एक महिनामा मात्रै ६ सय ११ जनाले ज्यान गुमाएका छन् । यता १.४१ अर्ब जनसङ्ख्याको विशाल देश चीनमा नयाँ कोरोनाभाइरस महामारी फैलिएदेखि आजसम्म ९० हजार ८ सय ४७ सङ्कमित भएकामध्ये ८५ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् भने ४ हजार ६ सय ३६ को मृत्यु भएको छ । नेपालले चीनलाई उछिनिसकेको छ ।

यसमध्ये, चीनको हुपैको ऊहान जहाँ सर्वप्रथम नयाँ कोरोनाभाइरस पत्ता लगाइएको थियो, त्यहाँ ५० हजार बढी सङ्क्रमित भएकामा ३ हजार ८ सयको मृत्यु भएको थियो । विश्वले रोग के हो खुट्याउन नसकेको अवस्थामा एक करोड जनसङ्ख्या रहेको ऊहान झण्डै चार महिना लामो युद्धस्तरको लडाइँपछि पूर्ववत् स्थितिमा फर्कन सम्भव भएको थियो ।

यो तथ्याङ्क हेरेपछि चीनको उपलब्धि र प्रयासमाथि गर्व गर्न सकिन्छ तर नेपालको अवस्था हेर्दा इर्ष्या गरूँ जस्तो भएन तपाईँलाई ? तीन करोड नेपालीको देशमा पछिल्लो तथ्याङ्क अनुसार, ४ लाख ४८ हजार बढी सङ्क्रमित र ४ हजार बढीको मृत्यु भइसकेको छ । यस्तो सूची सङ्कलनको अन्त कहिले हो, अझै पत्तो छैन । देश महासङ्कटमा भासिएको छ, भयङ्कर कष्टकर अवस्थाबाट गुज्रिरहेका छन्, आमनेपाली । यस अवस्थामा चीनसहित अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्नै पर्छ ।

यस क्रममा चीनले नेपाललाई आवश्यक सहयोग गर्न तत्परता देखाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे ७ तारिख नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यथासक्य सहयोग पुर्याउन तत्पर रहेको बताएका थिए ।

हाल, नेपालमा अक्सिजन र अक्सिजन सिलिण्डर अभाव सबैभन्दा विकराल समस्या बनेपछि चीनले प्रदान गरेको पाँच मिलियन चिनियाँ युआन बराबरको ३५०० थान सिलिण्डर अनुदान सहयोग दिने घोषणा गरे अनुरूप नेपाल भित्रिने क्रम जारी छ । जुन स्थलमार्ग तथा राष्ट्रियध्वजाबाहक विमानले हवाईमार्गबाट चीनबाट निरन्तर ओसारिरहेको छ ।

चीनले महामारीविरूद्धको लडाइँमा नेपाललाई निरन्तर रूपमा सक्दो सहयोग गर्दैआएको छ । नेपाललाई सक्दो सहयोग गर्दै आएको चीनले आठ लाख डोज खोप अनुदान स्वरूप सहयोग गरिसकेको छ । यसबाहेक सहयोग दिएका स्वास्थ्य सामग्रीका सूचीको फेहरिस्त लामो नै छ । चीनको केन्द्र सरकारमात्रै होइन चिनियाँ प्रान्तीय सरकार तथा विविध चिनियाँ संगठन र संस्थाहरूले पनि नेपाललाई सहयोग गर्न तत्परता देखाएका छन् र कतिपय सहयोगहरू नेपाल भित्रिसकेका पनि छन् ।

यसबाहेक, आमचिनियाँ र सामाजिक सञ्जालतिर नेपाल अर्को भारत बन्दैगएको अवस्थाप्रति चिन्तित देखिन्छन् । उनीहरू यसरी सोध्ने गर्छन्, नेपालले किन अझै सिमाना बन्द नगरेको ? भारतको भन्दा नेपालमा सङ्क्रमण दर बढ्दै गएको छ, नेपालको पूर्वाधार भारतको जति राम्रो छैन, कसरी प्रतिकार गर्ने ?

अर्को सोचनीय प्रश्न छ, चिनियाँ खोप लगाउन भारतीयहरू नेपाल प्रवेश गरेका छन् नि, किन ? चीनले मित्रराष्ट्र नेपाल र नेपालीलाई सहयोग स्वरूप दिएको खोप भारतीयलाई किन दिएको होला ? त्यसो मात्र होइन, भारतीय व्यापारी तथा चीनमा अध्ययनरत् भारतीय विद्यार्थीहरू नेपालमा आइ चिनियाँ खोप लगाए भनेर बुझ्ने पनि छन् । तर, यसो सोची ल्याउने हो भने चार लाख नेपालीलाई दुई डोज पुग्ने खोपलाई किन यसरी हलुको रूपमा लिइएको हो ।

६० बढी देशमा माँग भएको विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको र चीनसहित विश्वभरका करोडौँ मानिसले विश्वास गरेको खोपप्रति नेपालले भरोसा नगरेको अवश्य पनि होइन । किनभने चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले हिजोअस्ति मात्रै साइनोफार्मसँग तुरून्तै २० लाख खोप माँग गरेका थिए र नेपाल सरकारले ६० लाख खोपको माँग गरेको बुझिएको छ । यो कोरोना महामारीविरूद्धको कोरोना खोप एउटा सञ्जीवनी बुटी हो । तत्काल आवश्यक भएकाले खरीद प्रक्रियामा जानसमेत नेपाल सरकार तयार रहेको राजदूतको भनाइ छ ।

यद्यपि नेपाल सरकारले खोप खरीदमा चुस्तता देखाएको भए देशको स्थिति आजको जस्तो नहुनसक्ने आकलन गर्न सकिन्छ । कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको सरकारको अकर्मण्यताका कारण पहिलो डोज लगाएकाहरू दोस्रो डोजको प्रतीक्षामा छन् ।

नेपालले हालसम्म भारत सरकारले उपहार स्वरूप दिएको कोभिसिल्ड खोप १० लाख डोज, नेपाली सेनालाई दिइएको एक लाख डोज र भारतसँग खरिद गरिएको १० लाख डोज र कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त ३ लाख ४८ हजार डोज बाहेक चीनबाट साइनोफार्मको भेरोसेल खोप ८ लाख प्राप्त गरेको छ । यी सहयोगबाहेक यथाशिघ्र नेपालले अनुमति दिएका र विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त खोप खरीद गरी अहिलेको कहाली अवस्थाबाट सारा नेपालीलाई उकास्न छिटोभन्दा छिटो खोप ल्याउने, लगाउने तर्फ ध्यान केन्द्रित गर्नु पहिलो काम हो ।

सरकार जनताप्रति केन्द्रीत हुनु पर्ने हो तर सत्ता र शक्तिको लाजनीतिमा छ । हो, गल्ती लेखेको होइन, राजनीतिको नाममा जुन गलत भइरहेको छ, त्यही लेखेको, ‘लाजनीति’ । उसो त जनता पनि कम नकचरा होइनन्, एक थान सिलिण्डरले कयौँ बिरामीले जीवनदान पाउँथे तर आपत्कालीन अवस्थालाई भनी घरमा सजाएका छन् । जस्तो देश उस्तो भेष ।

जे जस्तो भए पनि, यस विषम घडीमा आफू सुरक्षित रहँदै र आफ्नो परिवारलाई पनि सुरक्षाको घेरा भित्र राखी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै एक अर्कालाई सहयोग गर्न सकियोस् । यो महामारीको अन्त छेउको भेउ थाहा नपाइसकेको अवस्थामा दैनिक श्रम गरेर छाक टार्नेका लागि कोरोनाभाइरस अझै उग्र देखिएको छ । भौतिक दुरीको आवश्यकता भए तापनि एक अर्कालाई सहयोगको खाँचो पनि उत्तिकै छ । त्यसबाहेक, कोरोनाभाइरसविरूद्ध चीनको लडाइँ र त्यसमाथिको जीत अनुभव साथै चीनसँग आवश्यक स्वास्थ्य सामग्रीको उत्पादन र आपूर्ति क्षमता भएकोले चीनसँग छिटोभन्दा छिटो सहयोगका लागि अपिल गर्नु हितकर हुनेछ, जनता बाँच्नेछन् ।

(इकागजमा जेठ ४, २०७८ मा प्रकाशित)