बेल्ट एण्ड रोडःटाढाको आफन्तभन्दा नजिकको छिमेकी वेश
2021-10-15 10:19:19cri
Share with:

-------अजय अलौकिक

साझा विकास तथा समृद्धिकालागि व्यापार तथा भौतिक पूर्वाधारको सञ्जाल निर्माण गरी एसियालाई विश्वसँग जोड्ने उद्देश्यसहित सन् २०१३ मा चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोडले आज आठ वर्ष पूरा गरेको छ । आज यो बेल्ट एण्ड रोड जसलाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) पनि भनिन्छ, विकास, निर्माण तथा सम्पर्क सञ्जालको क्षेत्रमा साझा जीत र हित हासिल गर्ने एउटा आशलाग्दो अन्तर्राष्ट्रिय सहकार्य मञ्च बन्न सफल भएको छ ।

आजको कोभिड-१९ महामारीको पृष्ठभूमिमा पनि बिआरआईले चुनौतीको सामना गर्दै मानवीय सुरक्षा र आर्थिक विकासको सुनिश्चितताकालागि प्रयास जारी राखेको छ । बिआरआईमा आबद्ध देशहरूलाई कोभिड-१९ विरूद्ध लड्न र उनीहरूको अर्थतन्त्रलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

चीनले बिआआईमा आबद्ध देशसहित ९० वटा देशहरूलाई कोभिडविरूद्धको ७०० मिलियन डोज खोप उपलब्ध गराइसकेको छ । साथै भाइरसको रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारमा आवश्यक सामग्रीको सहयोग तथा निर्यातसँगै स्वास्थ्य टोलीसमेत पनि खटाएको छ । यो आठ वर्षमा बिआरआई विश्वकै एउटा विशाल मञ्च बनिसकेको छ । हालसम्म विश्वका विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्था गरी १७१ वटा सहभागी यसमा २०५ वटा सहकार्य सम्झौतासमेत भइसकेका छन् ।

यो बिआरआई हाल कोभिडको कहरबीच पनि स्वास्थ्य क्षेत्रसँगै आर्थिक विकास र निर्माणको क्षेत्रमा अग्रसर छ । साथै दिगो विकासकालागि सन् २०३० संयुक्त राष्ट्र संघको एजेण्डा साकार तुल्याउन समेत यसको भूमिका महत्त्वपूर्ण देखिएको छ ।

विश्व बेङ्कको एक रिपोर्टअनुसार, बिआरआईका परियोजनाहरूले विश्वव्यापी रूपमा सन् २०३० सम्ममा पूर्ण गरिबीमा रहेका ७.६ मिलियन मानिस र मध्य गरिबीका ३२ मिलियन मानिसलाई उकास्न सहयोग गर्नेछ ।

सहकार्यको माध्यमबाट विकास र समृद्धिको प्रवर्द्धन गर्ने तथा आपसी समझदारी र विश्वास बढाएर चौतर्फि आदानप्रदानलाई बलियो बनाइ शान्ति र मित्रताको पथमा लम्किँदै साझा जीतको लक्ष्य बोकेको यो मञ्चको पहल आजभन्दा ठीक आठ वर्षघि आजकै (सेप्टम्बर ७) दिन भएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ सेप्टम्बर ७ मा कजाकिस्तानको राजधानी अस्तानास्थित नजरबायेव विश्वविद्यालयमा पहिलो पटक बिआआईसम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गरेका थिए । उनले त्यहाँ ‘हाम्रा मानिसहरूबीचको मित्रताको प्रवर्द्धन र एक उज्ज्वल भविष्यको निर्माणका लागि मिलेर काम गरौँ’ शीर्षकमा आफ्नो मन्तव्य राखेका थिए ।

उनले आफ्नो जन्मथलो सान्शी प्रान्त प्राचिन रेशममार्गको आरम्भ बिन्दु रहेको बताउँदै दुई हजार वर्षअघि हान वंशकालमा, चिनियाँ दूत चाङ छिआनलाई शान्ति र मित्रताकालागि मध्य एसियामा खटाएको कुराको स्मरण गरेका थिए । उनैको दुई पटकको यात्राले चीन र मध्य एसियाली देशहरूका साथै पूर्व र पश्चिम एसिया तथा यूरोप जोड्ने रेशममार्गको मैत्रीपूर्ण ढोका खोलेको उल्लेख गरेका थिए ।

साथै उनले दुई हजार वर्षअघिको मित्रताको त्यो अध्याय आजसम्म पनि रहेको उल्लेख गर्दै एकता, आपसी विश्वास, समानता, समावेशी, पारस्परिक अध्ययन तथा साझा जीतको आधारमा विभिन्न जाति, धर्म र आस्था र सांस्कृतिक पृष्ठभूमि भएका देशहरू शान्ति र विकासको साझेदारी गर्न पूर्ण रूपमा सक्षम रहेको देखाउनुका साथै प्राचीन रेशममार्गबाट बहुमुल्य प्रेरणा मिलेको बताएका थिए । उनले यसै पृष्ठभूमिमा उभिएर नविन रेशममार्गको निर्माणको उद्घोष गरेका थिए ।

उनले भने, आर्थिक सम्बन्धलाई नजिक ल्याउन, सहयोगलाई गहन बनाउन र यूरेसियाली क्षेत्रमा विकासको विस्तार गर्न हामीले एक नविन दृष्टिकोण लिनुपर्छ र संयुक्त रूपमा सिल्क रोडको साथमा आर्थिक बेल्टको निर्माण गर्नुपर्छ । उनले अगाडि भने, यो मार्ग सबै देशलाई लाभान्वित गर्ने एउटा विशाल बाटो हुनेछ । यसलाई वास्तविकतामा बदल्नकालागि हामीले आआफ्नो क्षेत्रमा काम सुरू गर्नुपर्छ र समयसँगै सम्पूर्ण क्षेत्रलाई जोड्नुपर्छ ।

राष्ट्रपति सीले यहीँ नजरबायेव विश्वविद्यालयलाई सम्बोधन गर्दै यसो पनि भनेका थिए, टाढाको आफन्तभन्दा नजिकको छिमेकी काम लाग्छ । उनले पुस्तापुस्तामा मित्रता हस्तान्तरण गर्न जोड दिँदै सदा सौहार्द वातावरणमा बस्ने असल छिमेकी बन्न आग्रह पनि गरेका थिए । साथै उनले चीन शान्तिपूर्ण विकास र स्वतन्त्र परराष्ट्र नीतिका लागि प्रतिबद्ध रहेको भन्दै विभिन्न देशका जनताहरूले स्वतन्त्र रूपमा रोजेको नीतिहरूलाई सम्मान गर्ने पनि औँल्याएका थिए ।

यसै गरी, सन् २०१३ अक्टुबरमा ईण्डोनेसिया भ्रमण क्रममा राष्ट्रपति सीले सामुद्रिक रेशममार्गको उद्घोष गरेका थिए । सोही वर्षको नोभेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ अधिवेशनको तेस्रो पूर्ण बैठकले बेल्ट एण्ड रोड ईनिसिएटिभलाई अगाडि बढाउने निर्णय पारित गरेको थियो ।

नेपाल पनि सन् २०१७ देखि चीनको यो नविन रेशममार्गमा आबद्ध भएको छ । नेपालको उत्तरतर्फको छिमेकी देश चीन हिमाल र नदीले जोडिएको प्रागैतिहासिक कालदेखि मित्रवत् सम्बन्ध रहेको देश हो । नेपालमा बिआरआई फ्रेमवर्कमार्फत् परियोजनाहरू सञ्चालित छन् । कोभिड-१९ महामारीबीच आर्थिक विकास तथा पूर्वाधार निर्माणको क्षेत्रमा सुस्तता देखिए तापनि स्वास्थ्य क्षेत्रमा सहयोग जारी छ साथै कोभिडपछि नेपालमा बिआरआई फ्रेमवर्कमार्फत् हिमाल वारपार सम्पर्क सञ्जाललगायत विविध परियोजनाहरूले तीव्रता पाउने छ ।

(इकागजमा भदौ २२, २०७८ मा प्रकाशित)