चीनको भव्य तर सरल लक्ष्य - जनताका लागि सुन्दर जीवन
2021-10-15 10:12:08cri
Share with:

----------अजय अलौकिक

देश जनताको नाम हो, जनता सङ्घर्षको नाम हो, सङ्घर्ष बलिदानको नाम हो, बलिदान मुक्तिको नाम हो, मुक्ति देशको नाम हो, तिमी जुनसुकै नाम चुन.... सबै प्रेमको नाम हो । यो कवि विमल निभाको कवितांश हो, केही जानकार होलान् । यस कवितालाई जनगायक रामेशले स्वरबद्ध गरेपछि मैले पनि थाहा पाएँ । तर धेरै नेपालीले देश भनेको जनता नै हो भन्ने बुझेका छैनन् । कागजमा कोरेको नक्सामात्रै देश र हामी जनता नै देश भन्ने सत्यको समझ छैन, चेत शुन्य छन् । एक त आमजनता अबुझ र अज्ञानी छन् । त्यसमाथि राजादेखि प्रजाका नामका विभिन्न तन्त्र ताण्डवमा रूमलिएका छन् । सपना र सुखद भविष्यको आशामा सर्वसाधारण जनता सत्ताधारीको बल र छलमा थिचिएका छन् ।

भर्खरै, चौधौँ गणतन्त्र दिवस पनि मनाइयो । यसैको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र बन्न सफल भएको छ । तर हरेक नागरिक समान हुने यो प्रणालीलाई आमनागरिकले यतिका वर्षसम्ममा साँच्चो अर्थमा अनुभूत गर्नपाएका छैनन् । अहिले एकातिर यो व्यवस्था धरमराइरहेको देखिन्छ भने देश भित्र बाहिरबाट पनि धमिलो पानीमा माछा मार्ने काम हुँदै गरेको बुझिन्छ । जबसम्म सर्वोपरि जनताप्रतिको दायित्व बोध गरेर जनताको मत पाएकाहरू जनताको सुरक्षा, टड्कारो रूपमा स्वास्थ्य सुरक्षा, जीवनस्तरका विषयमा एक मत हुँदैनन् तबसम्म अदृश्य शक्तिले सताउने नै छ । भाइ फुटे, गवार लुटे ।   

तथापि, आशातित् रूपमा यसो भनौँ, विविध चरणहरू पार गरिसकेका छौँ, जबसम्म जनताले देश आफ्नो भएको अनुभव गर्न पाउँदैनन् तबसम्म यो क्रम जारी रहने छ । यद्यपि, हालको महासंकटले पनि अवश्य देशलाई ठूलो पाठ सिकाउने छ । यो महासंकटलाई चाँडै नै नियन्त्रणमा लिन सकिएन भने यसले निम्त्याउने विकराल शोकको अवस्था र जनता भोकभोकै मर्ने अवस्थाबाट अरू कुनै दुर्घटना निम्त्याने सम्भावनालाई नकार्न सकिँदैन ।

यता, चीनको विशाल उद्यमाथि इर्ष्या गरिरहेका पश्चिमा मुलुकले बारम्बार चीनमाथि हमला गर्नु कुनै नौलो कुरा रहेन । कोरोना भाइरस (कोभिड-१९) महामारीको आरम्भ बिन्दुमा यी देशहरूले चीनको शासन व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गरेका थिए । यद्यपि, चीनले युद्धस्तरमा आफ्नो स्रोत साधनको परिचालन गरी चार महिनाभित्रै २१औँ शताब्दीको महामारीलाई काबुमा राख्न सफल भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले महामारी फैलिएलगत्तै जनताको जीवन र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न जोड दिँदै युद्धस्तरमा महामारीसँग लड्न निर्देशन दिएका थिए । नयाँ चीन स्थापनायता कै सबैभन्दा ठूलो महामारीको सामना गर्नु परेको यथार्थ व्यक्त गरेका थिए ।

यस बाहेक, राष्ट्रपति सीले हरेक सभा, सम्मेलनमा जनता केन्द्रीत विकासको विचारधारालाई कायम राख्नुपर्छ भन्दै जनतालाई सदा प्राथमिकतामा राखेर काम गर्न सुझाउँदै आएका छन् । कोरोना भाइरस संक्रमित तथा रोगीको औषधोपचारको क्रममा आमनागरिकको जीवनको रक्षा नै सर्वोच्च कार्य भएकाले जनस्वास्थ्यको संरक्षणमा भएका खर्चप्रति चिन्ता गर्न नहुने समेत औँल्याएका थिए । उनले सर्वसाधारणको हितलाई पहिलो स्थानमा राख्दै जन केन्द्रीत विकासको प्राथमिकतामा जतिसुकै ठूलो चुनौती तथा दबाव देखिए तापनि जनजीवनको रक्षा नै सर्वोच्च कार्य भएको बताउँदै आएका छन् ।

यसै गरी, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले “सुन्दर जीवनप्रतिको जनताको अपेक्षा” लाई पूरा गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य भएको स्पष्ट रूपमा व्यक्त गर्दैआएका छन् । उनले भनेका छन् – ‘पार्टी र जनताकालागि सेवा गर्नकालागि पार्टी र जनताले नै पार्टीका अधिकारीहरुलाई अधिकार दिएको हो । अधिकार जनहितकालागि मात्र हो ।’

यस वर्ष शतवार्षिकी मनाइरहेको चिनियाँ कम्युनिष्ट पार्टी आजभन्दा एक सय वर्षअघि जनताबाट जनताका लागि स्थापना गरिएको र जनताकै कारण सफल भएको बुझाइ चिनियाँ जनताको छ । हालै सार्वजनिक विविध सर्भेक्षणमा चिनियाँ जनता चिनियाँ कम्युनिष्ट पार्टीप्रति सन्तुष्ट र खुसी रहेको देखाएको थियो । सीले सन् २०१७ मा भनेका थिए, ‘हामीसँग एक भव्य तर सरल लक्ष्य छ, हाम्रो जनताका लागि सुन्दर जीवन ।’

यसै गरी सन् २०१८ मा आयोजित तेह्रौँ चिनियाँ जन काङ्ग्रेस राष्ट्रिय सम्मेलनको पहिलो अधिवेशनमा उनले यसो भनेका थिए । ‘कुनै पनि राज्य अङ्गका कुनै पनि सदस्य जतिसुकै उच्च ओहोदामा आसिन भए तापनि यो कुरा मनन गर्नुपर्दछ कि हाम्रो गणतन्त्र चीनको जन गणतन्त्र हो र हामीले सदा जनतालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ, तनमनले सधैँ जनताको सेवा गर्नुपर्दछ र जनताको रूचि र खुसीका लागि सधैँ मेहनत गर्नुपर्दछ ।’

चीन सरकार तथा चिनियाँ नेता सम्बोधन, भाषण र बैठकमा मात्रै सिमित छैनन् जनताले अनुभूत गर्नपाउने गरी बोली र प्रतिबद्धतालाई तन, मन र वचनले पूरा गरिरहेका हुन्छन् । महामारीबीच सम्पन्न तेह्रौँ चिनियाँ जन काङ्ग्रेस राष्ट्रिय सम्मेलनको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ली खछ्याङले चीनले सार्वजनिक स्वास्थ्य प्रणालीको निर्माणलाई सबल पार्ने, चिनियाँ जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर रोगको प्रतिरोध र नियन्त्रण संयन्त्रलाई सुधार गर्ने साथै भाइरसविरूद्ध खोप, औषधि तथा परीक्षणको प्राविधिक अध्ययनमा लगानी लगाउने र आवश्यक सामग्रीको प्रत्याभूतिलाई सुदृढिकरण गर्ने उद्घोष गरेका थिए ।

चीन सरकारले तेह्रौँ चिनियाँ जन काङ्ग्रेस राष्ट्रिय सम्मेलनको चौथो अधिवेशनअघि नै सम्बोधनका कुराहरूलाई पूरा गरिसकेको थियो । विश्वका अधिकाँश देशमा महामारीले उग्र रूप लिँदै गर्दा यता चिनियाँको जनजीवन सामान्य रूपमा फर्किसकेको थियो । अर्थात् चिनियाँ नेताले गरेको वाचा पूरा भएको थियो ।

चीनले कोरोना महामारीविरूद्धको लडाइँ जितेपछि विश्वभर यसविरूद्ध चालेका कदमहरूलाई श्वेतपत्रको रूपमा पनि सार्वजनिक गरेको छ । साथै उ हाल विश्वलाई यसविरूद्ध साथ, सहयोग र समर्थन दिँदैआइरहेको छ । पछिल्लो समयमा स्वास्थ्य सामग्रीका साथै खोपको उत्पादन, आपूर्ति तथा अनुदान सहयोगमा लागिरहेको छ । नेपाललाई पनि पछिल्लो समय दश लाख खोपसँगै अठार लाख खोप अनुदान सहयोग गरिसकेको छ । नेपालमा अभाव भएको अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरूको पनि निरन्तर सहयोग गरिरहेको छ ।

भर्खरै मात्र सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरूबीचको एक अनलाइन मिटिङमा सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले कोरोनाभाइरसको महामारी तथा नियन्त्रण सम्बन्धमा चीनले गरेको प्रयासका साथै नेपाललाई गर्दैआएको सहयोगको विषयमा चर्चा गरेका थिए ।

महामारीविरूद्ध एकजुट भएर लडौँ र मानिसको जीवन रक्षा गरौँ – महामारीविरूद्ध चीन नेपाल राजनीतिक पार्टीबीच संयुक्त सहकार्य अनलाइन मिटिङको खास उद्देश्य नेपाली पक्षलाई एकजुट भएर महामारीविरुद्ध लड्न चीनको सधैँ समर्थन रहेको जनाउनु हो । उनले सहभागी नेताहरूलाई जनतालाई महत्व दिन सुझाएका थिए । जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरे मात्र जनताको विश्वास जित्न सकिने यथार्थ कुरा सम्झाएका थिए ।

हुन त चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणको क्रममा पनि चिनियाँ राष्ट्रपतिले नेपाली राजनैतिक पार्टीहरूलाई देशमा स्थायित्व रहेपछि सहजै आर्थिक फड्को मार्नसकिने भन्दै एकजुट हुनुपर्ने आशय व्यक्त गरेका थिए ।

विश्वकै उदाउँदो शक्ति छिमेकको यो अनुभवबाट खै त नेपालको कम्युनिस्ट भन्‍ने नेतृत्वले सिकेको र काम गरेको ? सल्लाह सुझाव लिने तर पनि त्यसको कार्यावन्यन नगर्ने नेतृत्वका लागि लड्ने कार्यले चीन पनि नेपाली नेतृत्वसँग हैरान देखिन्छ । हामीले सुझाउँदा र साथ दिँदा पनि किन अग्रगामी विकासमा पछि पर्दै सधैँ अस्थिरताउन्मुख भन्‍ने जिज्ञासा बेइजिङको छ । विश्वकै एक शक्तिशाली राष्ट्र तथा मित्रवत् छिमेकीले बारम्बार देशको अग्रगामी विकासको मन्त्र बताउँदा पनि नेपाल अस्थिरता उन्मुख छ ।

आखिर, यो अस्थिरताबाट पिरोलिने जनता नै हुन् र लाभ उठाउने अराष्ट्रिय तत्वले हो । वर्तमान अवस्थामा कोरोनामहामारीविरूद्ध पनि यिनीहरू एकजुट नभइदिँदा गणतन्त्र, संविधान धरापमा पर्दैगएकोमा विज्ञहरू चिन्तित छन् । यस्तै अवस्थामा भोलि गएर आमजनतामा कुनै पार्टी, वाद वा तन्त्रमाथि सरोकार नरहन पनि सक्छ । साथै जनताका साझा विषय र तत्कालको आवश्यकताभन्दा पर भविष्यवाणी र जन्मपत्रमा सत्ताधारी या शासक बन्ने कुराको प्रसारमा रमाउँछन् भने फेरि पनि देशकालागि जनता उठ्ने छन् ।

देश जनताको नाम हो, .... न्याय, अधिकार सबै जनता र सबै जीवनका नामहरू हुन् । सरकार र सत्ताले जनताका लागि सुन्दर जीवनको लक्ष्य बनाउनु पर्छ र लक्ष्य पूरा गर्ने पथमा लम्किनु पर्छ, जनताको सांस फेर्ने अधिकार खोस्ने होइन । वर्तमान अवस्थामा जनताको जीवन रक्षा गर्दै कोरोना महामारीको रोकथाम नै सबैभन्दा महत्त्वपूर्ण कार्य हो ।

(इकागजमा जेठ १८, २०७८ मा प्रकाशित)